तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एप्स्टीनले सन् २०१९ मा पक्राउ पर्नुभन्दा केही दिनअघि मोरकोमा दरबार किन्ने प्रयास गरेका थिए
- Author, एमिर नडेर
- Author, स्यामुअल ओअर्स
- Role, बीबीसी आई इन्भेस्टिगेशन्स
- पढ्ने समय: ६ मिनेट
जेफ्री एप्स्टीन आफ्नो पक्राउको अघिल्लो दिन मात्रै मोरकोमा करोडौँ डलर मूल्य पर्ने एउटा दरबार किन्ने प्रयासमा रहेको अमेरिकी न्याय मन्त्रालयले गत महिना सार्वजनिक गरेका दस्ताबेजहरूमा उल्लेख छ।
एप्स्टीनले सन् २०११ बाटै बिन अन्नाकील दरबार किन्ने प्रयास गरेका थिए। तर त्यसका बिक्रेतासँगको मूल्य खरिद सम्झौताबारेको विवाद वर्षौँसम्म लम्बियो।
म्यारकेश नगरको पाल्मरेई क्षेत्रमा रहेको यो दरबारलाई १,३०० जना शिल्पकारले भित्तामा कुँदेका कलाकृतिका कारण वास्तुकलाको एउटा अद्भुत नमुना मानिन्छ।
एप्स्टीनको 'आशय'
एप्स्टीनले आफू पक्राउ पर्ने अघिल्लो दिन एक करोड ४९ लाख अमेरिकी डलर बैना पठाउन हस्ताक्षर गरेका थिए। उक्त दरबारको स्वामित्व रहेको तथा कुल दुई करोड १२ लाख अमेरिकी डलर मूल्य कायम भएको एउटा अफशोर कम्पनी खरिदका लागि उनले सम्झौता गरेका थिए।
सार्वजनिक भएका दस्ताबेजअनुसार अमेरिकी अधिकारीहरूले यौन व्यापारको अभियोगमा न्यूयोर्कबाट पक्राउ गर्नुअघि एप्स्टीनको सबैभन्दा पछिल्लो ठूलो आर्थिक कारोबार यही थियो।
एप्स्टीन पक्राउ परेको तीन दिनपछि उनका लेखा अधिकृत रिचार्ड कानले बैनाका लागि पठाउन लागिएको पैसा रोकेका थिए र दरबार खरिदको काम रोकिएको थियो।
अमेरिकाको मोरोक्कोसँग सुपुर्दगी सन्धि नभएका कारण उनले त्यहाँ बसाइँ सरेर अमेरिकामा हुने सम्भावित पक्राउ र थप अभियोगहरूबाट बच्ने बाटो रोजेका हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यद्यपि एप्स्टीनका पूर्वसहयोगीले नाम नखुलाउने सर्तमा बताएअनुसार उनलाई आफू तत्काल पक्राउ पर्न सक्नेबारे "कुनै पूर्वसङ्केत थिएन"।
उनीहरूका अनुसार "उनले त्यहाँ आफू राजाजसरी बस्न खोजेका" थिए।
सार्वजनिक भएका दस्ताबेजहरूमा एप्स्टीनले अमेरिकी प्रशासनबाट बच्नका लागि आफूले शरण लिने ठाउँका रूपमा उक्त देश उपयुक्त भए वा नभएकोबारे कुनै कुराकानी गरेको भेटिँदैन।
एप्सटीनको मोरको सम्बन्ध
सन् २०००को दशकको प्रारम्भिक वर्षहरूदेखि एप्स्टीनको मोरकोसँग सम्बन्ध नै थियो। उनलाई आरोप लगाउनेमध्येकी एक जना भर्जिनिआ जुफ्रेले आफ्नो संस्मरणमा एप्स्टीनसँग केही विलासी सम्पत्तिहरूको डिजाइन हेर्न मोरकोको एक तटीय सहर पुगेको उल्लेख गरेकी छन्।
त्यही समयमा एप्सटीनले टापुमा रहेको आफ्नो घर पनि मोरकन शैलीमा पुनः डिजाइन गर्ने चाहना राखेका थिए।
सन् २००२ मा एप्स्टीन मोरकोका राजा मोहम्मदको विवाहमा सहभागी भएका थिए। उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई पनि निम्तो गरिएको थियो।
एप्स्टीन सन् २००८ मा उमेर नपुगेकी बालिकासँग यौनसम्पर्क प्रस्ताव गरेको आरोपमा दोषी ठहर भएका थिए। सन् २०१० मा नजरबन्दबाट मुक्त भएपछि उनको रुचि मोरकोमा बढेको देखिन्छ।
त्यही वर्षको जस्तो देखिएका दस्ताबेजहरूमा एप्स्टीनले यूकेको लेबर पार्टीका पूर्वमन्त्री पीटर म्यान्डल्सनसँग म्यारकेशमा आफूलाई घर खोज्नका लागि एक जना सहयोगी खोजिदिन भनेका छन्।
सार्वजनिक भएका दस्ताबेजहरूमा सन् २०१२पछि एप्स्टीनले मोरकोमा बाक्लै आउजाउ गरेको देखिन्छ। उनी त्यहाँ जाँदा विशिष्ट व्यक्तिहरू बस्ने गरेको पाल्मरेईमा बस्ने गरेका थिए। यो ठाउँमा विदेशका धनाढ्यहरू बस्ने गर्छन्। एप्स्टीनले आफ्ना अरबी दाजु भन्ने गरेका कतारी राजपरिवारका जाबोर अल थानी पनि मोरको आउँदा यहीँ बस्ने गरेका थिए।
एप्स्टीन फाइल्समा उल्लेख हुनु वा तस्बिरमा देखिनु आफैँमा कुनै गलत कामको सङ्केत होइन।
बिन एन्नकील र 'मिस्टर किस'
एप्स्टीनसँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी करिना शुलिककले म्यारकेशमा महल खोज्ने कामको नेतृत्व लिएर काम सुरु गरिन्। त्यसका लागि कैयौँ भ्रमणहरू भए र उनको नामबाट इमेलहरू गरिएका दस्ताबेजहरू फेला परेका छन्।
किङ्स्टन लक्जरी प्रपर्टिजका एक साझेदार मार्क लिअनले बीबीसीलाई बताएअनुसार एप्स्टीनको मन सन् २०११मा बिन एन्नकीलमा अडिएको थियो। अरबी भाषामा यसको अर्थ "पामका रुखहरूको तट" भन्ने हुन्छ।
त्यस बेला एप्स्टीनले जर्मन धनाढ्य गन्टर किसका नाममा रहेको त्यो सम्पत्तिको मूल्य ६ करोड अमेरिकी डलरभन्दा धेरै राखिएको थियो। उक्त मूल्य धेरै नै भएको भन्दै एप्स्टीनले निकै कम मूल्य प्रस्ताव गरे। आफ्नो सम्पत्तिको मूल्य निकै कम गरिएको भन्दै बिच्किएका किसले एप्स्टीनसँग थप कुरा नै नगर्ने अडान लिएको उनीनिकट स्रोतले बीबीसीलई बताएको छ।
लगत्तै एप्स्टीनले आफ्नी प्रेमिका शुलिअक र मोरकोमा रहेको आफ्नो सञ्जाललाई त्यो दरबार हेर्न पठाए। सन् २०१८मा एप्स्टीन आफैँ पुगेर त्यो दरबार हेरेका थिए। त्यसबेला एप्स्टीन उनका अर्बपति साथीले खरिद गर्न लागेको बहाना बनाएर त्यो दरबार हेर्न पुगेका थिए।
तर त्यो दरबार किन्न जोख्ने व्यक्ति एप्स्टीन नै थिए भन्ने कुरा खुल्न लामो समय लागेन। इमेलहरूमा कुरा गर्ने व्यक्ति एप्स्टीन नै रहेको किसले थाहा पाए पनि उनले संवाद जारी राखेको दस्ताबेजहरूमा देखिनुका साथै बीबीसीसँग कुरा गरेका एप्स्टीननिकट स्रोतहरूले पनि बताएका छन्।
एप्स्टीनको नजर गढेको मोरोकन दरबारको भित्री भाग
दस्ताबेजमा एक चरणमा किङ्स्टन लक्जरी प्रपर्टिजले एस्टीनसँग कम कर तिर्ने गरी बिक्री गर्ने रणनीति अपनाएको देखिन्छ।
मोरकोको प्रशासनमा उक्त सम्पत्ति एक करोड १८ लाख डलरमा बिक्री गरिएको देखाएर थप दुई करोड ३६ लाख डलर यो दरबारको स्वामित्व रहेको कम्पनीमा लगानी गर्ने उपायबारे दुई पक्षबीच संवाद भएको छ।
यो सहमतिअनुसार दरबार एप्स्टीनका नाममा हुन्थ्यो र मोरकोको सरकारलाई तिर्नुपर्ने कर कम हुन्थ्यो।
तर किङ्स्टन लक्जरी प्रपर्टिजले बीबीसीसँगको कुराकानीमा कर कम गर्न कुनै पनि अनैतिक र गैरकानुनी प्रयास नभएको दाबी गर्यो।
"यो कारोबारले कुनै पनि करसम्बन्धी नियम उल्लङ्घन गर्दैन," यसका अधिकारीले मार्क लिअन बीबीसीसँग भने।
"एप्स्टीनले त्यसो गर्नुपर्ने आवश्यकता नभए पनि त्यो सम्पत्ति आफ्नै नाममा राख्न मोरकोमा दर्ता शुल्क तिर्न चाहेका थिए।"
त्यस बेला यो सम्पत्ति यूकेको एउटा कम्पनीको साझेदार स्थानीय घरजग्गा कम्पनीको नाममा थियो। अन्ततः एप्स्टीनले विदेशी कम्पनीको नाममा रहेको शेअर स्वामित्व पनि खरिद गरेर सबै सम्पत्ति आफ्नै नाममा बनाउन चाहेका थिए। सन् २०१९ मा पक्राउ पर्दा उनले त्यो दरबार कसरी आफ्नो नाममा दर्ता हुन सक्छ भनेर बुझ्ने प्रक्रिया अघि बढाएका थिए।
एप्स्टीनको ध्यान खिचेको मोरकोको दरबारभित्र के छ?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।