रुसी क्षेप्यास्त्र आफ्नो आकाशमा प्रवेश गरेर युक्रेनतर्फ गएको पोल्यान्डको भनाइ

    • Author, एडम इस्टन
    • Role, बीबीसी न्यूज, वार्सा

पोल्यान्डका सेना प्रमुखले रुसी क्षेप्यास्त्र पोल्यान्डमा करिब तीन मिनेटसम्म उडेको र त्यसपछि युक्रेनी हवाई क्षेत्रमा फर्किएको विश्वास गरेको बताएका छन्।

जेनरल भिअसल कुकुलाक शुक्रबार बिहान उक्त क्षेप्यास्त्र पोल्यान्डको आकाशमा ४० किलोमिटर भित्रसम्म प्रवेश गरेको बताए।

पोल्यान्डलाई सतर्क बनाएको यस घटना युक्रेनले 'युद्ध सुरु भए यताकै ठूलो रुसी बमबारी' बताएको दिनसँग मिलेको छ।

राष्ट्रसङ्घका लागि पोल्यान्डका राजदूतले यस घटनाको सम्बन्ध शुक्रवार युक्रेनभर व्यापक रूपमा भएका बमबारीसँग रहेको बताएका छन्। 

पोल्यान्डमा के गरियो?

राष्ट्रपति आन्जे डुडाले त्यस्तो वस्तुबारे रडारले थाहा दिएपछि आपत्कालीन सुरक्षा बैठक बोलाएका थिए।

कतै त्यो आफ्नो भूभागमा खसेको त छैन भनेर त्यस क्षेत्रमा झण्डै २०० सुरक्षाकर्मीले सोधखोज गरेका छन्।

पोल्यान्ड नेटो सैन्य गठबन्धनको सदस्य हो।

शुक्रवार बिहान सात बजेको त्यस घटनापछि पोल्यान्ड र गठबन्धनका विमानहरू आपत्कालीन अवस्थाका लागि तैनाथ हुन तयारी अवस्थामा बसेका थिए।

विस्फोटन भएका कुनै विवरण आएका छैनन्।

अपरेसनल कमाण्डका प्रवक्ताले एउटा अपरिचित वस्तु युक्रेनबाट दक्षिण पश्चिम पोल्यान्डको लुब्लिन क्षेत्रमा प्रवेश गरेको जनाएका थिए जुन सीमाबाट धेरै पर होइन।

लुब्लिन क्षेत्रबाट नजिकै रहेको युक्रेनी सहर लभिभसहित किएभ, ओडेसा, ड्निप्रो, खार्किभ र अन्य सहरमा भएका हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।

नेटो 'सावधान'

पोल्यान्डको सेनाले त्यस रात भइरहेका रुसी क्षेप्यास्त्र हमलाहरूलाई निगरानी गरेको थियो।

नेटो महासचिव जेनरल येन्स स्टोलटेनबेर्गले सैन्य सङ्गठन पोल्यान्डको साथमा रहेको र "सावधान रहेको" बताएका छन्।

एक अपुष्ट विवरणमा लुब्लिन प्रान्तकै हुरुवियस्ओफ नगरनजिकै खोजतलासको काम भइरहेको जनाइएको छ।

पोल्यान्ड सरकारले त्यो रुसी उक्साहट हुनसक्ने कुरालाई अस्वीकार गरेका छैनन्।

"त्यो उक्साहट थिएन वा हाम्रो प्रतिक्रियाको परीक्षण थियो भन्ने कुराको हामीले जाँच गर्नुपर्छ। दुवै परिस्थितिको हामीले सजगतापूर्वक जाँच गर्नुपर्छ," सहायक रक्षा मन्त्री स्टनिस वजिआटेकले टिभीएन२४लाई बताए।

पोल्यान्डका एकजना सैन्य विज्ञ कमाण्डर माक्सेमिलियान दुराले टिभीएन२४ सँग कुरा गर्दै त्यो रुसी क्षेप्यास्त्र भएको निष्कर्ष निकालिहाल्न हतार हुने बताए।

"किनकि त्यो भेटिएको छैन र सम्पर्क हराउँदैमा त्यो पोल्यान्डको आकाशबाट बाहिरिएको निश्चित हुँदैन।"

लुब्लिन क्षेत्रका एकजना शीर्ष अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्: "कृपया शान्त र धैर्य रहनुहोस् सेवाहरूले काम गरिरहेका छन्।"

विगतमा के भएको छ?

रुसले युक्रेनमा लडाइँ सुरु गरेयता तीन वटा क्षेप्यास्त्र पोल्यान्ड छिरेका छन्।

सन् २०२२ को नोभेम्बरमा युक्रेनी सीमा नजिकैको एक गाउँमा खसेको क्षेप्यास्त्रका कारण पोल्यान्डका दुई किसानको मृत्यु भएको थियो।

उक्त क्षेप्यास्त्र रुसी हमलालाई विफल पार्ने क्रममा युक्रेनी वायु सेनाले प्रहार गरेको ठानिन्छ।

तर डिसेम्बरमा क्षतिविहीन तर एक लज्जास्पद घटना घटेको थियो।

बेलारुसबाट प्रहार गरिएको ठानिएको एक वस्तु निःशस्त्र रुसी केएच-५५ क्रुज क्षेप्यास्त्र ठानिएको थियो।

जुन पोल्यान्डको भूभागमा प्रवेश गरेर एक जङ्गलमा खसालिएको थियो।

आफ्नो भूभागमा प्रवेश गरेको कुरा पोल्यान्डको हवाई प्रतिरक्षा प्रणालीले थाहा पाए तापनि उक्त बस्तु सन् २०२३ को एप्रिलमा मात्र मध्य पोल्यान्डको बिगोच सहर नजिकै भेटिएको थियो।

यसै वर्ष बेलारुसतर्फबाट पोल्यान्डको आकाशमा प्रवेश गरेको अर्को अपरिचित वस्तु सम्भवतः एउटा निगरानी गर्ने बलुन थियो।

जससँगको रडार सम्पर्क मध्य पोल्यान्डको रिपिन नजिकै टुटेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।