तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनमा एकै पटक धेरैतिर रुसी हमला, कम्तीमा ३० जनाको मृत्यु
युक्रेनभरि भएका व्यापक रुसी हमलामा परेर ३० जना मारिनुका साथै दर्जनौँ मानिस घाइते भएका छन्।
युक्रेनको सेनाका अनुसार रुसले १५८ ड्रोन र क्षेप्यास्त्रहरूले "व्यापक" रूपमा हमलाहरू गरेको थियो।
वायु सेनाले "निकै धेरै स्थानलाई एकै पटक निशाना बनाइएको यसअघि कहिल्यै नदेखिएको" जनाएको छ।
यो रुसले अतिक्रमण गरेयता युक्रेनमाथि सम्भवतः सबैभन्दा ठूलो स्तरमा बमबारी हुनसक्ने ठानिएको छ।
किएभमा रहेका बीबीसी संवाददाताले व्यापक हमलाका कारण हवाई प्रतिरक्षा प्रणालीमा भार परेको बताएका छन्।
हमला
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले "लगभग सबै खाले अस्त्र" प्रयोग गर्दै घरहरू र एक प्रसूति अस्पतालमा हमला गरेको जनाएका छन्।
हमलामा परेका युक्रेनी सहरहरूमा राजधानी किएभसहित पश्चिममा लभिभ, दक्षिणमा ओडेसा र ज्यापोरिज्या र पूर्वमा ड्निप्रो र खार्किभ रहेका छन्।
क्षेत्रीय अधिकारीहरूले हताहत हुनेको सङ्ख्या उच्च हुनसक्ने बताएका छन्।
आक्रमणमा परी १६० जनाभन्दा बढी घाइते भएका छन्।
उद्धारकर्ताहरूले भग्नावशेषभित्र जीवित व्यक्तिहरू हुनसक्ने आशङ्कामा खोजी जारी राखेका छन्।
निन्दा
यसै साताको सुरुमा युक्रेनले एउटा रुसी युद्धपोतलाई ब्ल्याक सीस्थित रुस अधीनस्थ क्राइमियाको फिओदोसियामा हमला गरेको पृष्ठभूमिमा पछिल्ला बमबारी भएका हुन्।
युक्रेनका लागि राष्ट्रसङ्घीय मानवीय दूतले "धेरै मानिसहरू बसिरहेका क्षेत्रमा भएका हमलाको जघन्य शृङ्खला" भन्दै शुक्रवार बिहानका घटनाको निन्दा गरेका छन्।
युक्रेनका लागि अमेरिकी राजदूतले किएभका लागि थप सहायता अहिल्यै आवश्यक देखिएको भन्दै त्यसका लागि आह्वान गरेका छन्।
यद्यपि भावी सहायता सम्बन्धी संवादहरू अमेरिकी संसद्मा रोकिएका छन्।
युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुखले हमलाहरूलाई "कायर" र "जथाभाबी" भन्दै निन्दा गरेका छन्।
ईयूले समेत युक्रेनलाई दिन लागेको ५५ अर्ब अमेरिकी डलरको सहायतालाई हङ्गेरीले भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्दै रोकेको छ।
ईयू नेताहरूले सहायतासम्बन्धी वार्ता सन् २०२४ को सुरुमा पुनः हुने बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।