पोल्यान्डमा भेटियो रुसी जासुसहरूको सञ्जाल, तोडफोड गरेको आरोपमा पक्राउ

    • Author, एडम स्टोन
    • Role, बीबीसी न्यूज, वार्सा

रुसका लागि जासुसी गरेको आशङ्कामा विदेशी नागरिकको एक समूहलाई पक्राउ गरिएको पोल्यान्डका दुई सरकारी अधिकारीहरूले बीबीसीलाई जानकारी दिएका छन्।

रेडियो स्टेसन आरएमएफ एफएमका अनुसार त्यहाँको पोलिस सुरक्षा बलले रुसको लागि काम गर्ने गुप्तचरहरूको सञ्जाल बन्द गराएको छ।

युक्रेनलाई सहायता सामग्री पुर्‍याउन प्रयोग गरिने सवारी साधन र अन्य पूर्वाधारहरूमा भिडिओ खिच्न गोप्य क्यामेरा जडान गरेको आशङ्कामा छ जना सन्दिग्धलाई पक्राउ गरिएको हो।

उक्त समूहले तोडफोडको समेत तयारी गरेको एफएमले जनाएको छ।

रुस र पश्चिमा देशहरूबीच दशकौँदेखि जारी जासुसी द्वन्द्व युक्रेन युद्ध सुरु भएपछि झनै चर्किएको छ।

पोल्यान्ड युक्रेनको सबैभन्दा सशक्त सहयोगीमध्ये एक हो। यस देशको सुरक्षा बलले गत फेब्रुअरीमा आक्रमण सुरु भएयता रुसको लागि जासुसी गरेको आरोपमा उल्लेख्य सङ्ख्यामा मानिसलाई गिरफ्तार गरेको छ।

रेडियो स्टेसनका अनुसार उक्त समूहले युक्रेनको सिमाना जोडिएको पोल्यान्डको पोड्कारपास्की प्रान्तमा अवस्थित रेलमार्गका प्रमुख बिन्दुहरू र महत्त्वपूर्ण ढुवानी मार्गहरूको वरपर दर्जनौँ क्यामेराहरू जडान गरेको थियो।

यो पनि पढ्नुहोस्

तीमध्ये केही युक्रेनलाई सैन्य तथा मानवीय सहायता पुर्‍याउने अन्तर्राष्ट्रिय केन्द्र बनाइएको एउटा सानो क्षेत्रीय विमानस्थल नजिकै फेला परेका थिए।

जेसूफ-यसोन्का विमानस्थलबाट अमेरिका र युरोपभरका सैन्य तथा कार्गो विमानहरूले नियमित उडान गर्छन्। त्यहाँ वरपर अमेरिकी सेनाहरू आफ्नो विशेष सैन्य सवारी साधनसहित उपस्थित देखिन्छन् जो करिब १०० किलोमिटर टाढा रहेको युक्रेनी सीमासम्म सहायता सामग्री पुर्‍याउन खट्छन्।

यी क्षेत्रहरूलाई निकै संवेदनशील मानिन्छ र त्यहाँ वाशिङ्गटनले हवाई क्षेत्रको सुरक्षाका निम्ति यूएस प्याट्रियट नामक वायु रक्षा प्रणालीहरू तैनाथ गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो पछिल्लो किएभ भ्रमणको क्रममा यसै विमानस्थल हुँदै यात्रा गरेका थिए।

आरएमएफ एफएमका अनुसार महत्त्वपूर्ण पूर्वाधार रहेका क्षेत्रहरूमा सुरक्षा बढाइएको भनिएको छ।

पोल्यान्डको आन्तरिक मन्त्री मारियस कामिन्स्की जिम्मेवार रहेका आन्तरिक सुरक्षा सम्बन्धी मामिला हेर्ने निकाय एबीडब्ल्यूका अधिकारीहरूले जासुसी समूहलाई पक्राउ गरेको बताइएको छ। मन्त्रीले बिहीवार यस विषयमा सञ्चारमाध्यमसँग कुरा गर्नेछन्।

सन् २०२२ मा जासुसी गरेको आरोपमा थुप्रै व्यक्तिहरू पक्राउ परेका छन्।

गत महिना लामो समयदेखि पोल्यान्डमा बस्दै आएका एक रुसी नागरिकलाई सन् २०१५ देखि २०२२ सम्म रुसको लागि जासुसी गरेको आरोपमा मुद्दा चलाइएको थियो।

भिडिओ हेर्नुहोस्

पोल्यान्डमा व्यवसाय गर्ने ती व्यक्ति ऐतिहासिक पुनर्निर्माण समूहमा संलग्न रहेको आरोप छ। त्यहाँ रहेर उनले पोल्यान्डका सैनिकहरूसँग सम्बन्ध बनाएका थिए।

गत वर्षको एप्रिलमा उनलाई देशको उत्तर-पूर्वी भेगमा रहेका पोलिस सैन्य एकाइहरूको सङ्गठनात्मक संरचनाबारे जानकारी सङ्कलन गरेको सम्बन्धी अनुसन्धानपछि पक्राउ गरिएको थियो।

रुसी मूलको एक स्पेनी नागरिकलाई पनि रुसको सैन्य गुप्तचर निकाय जीआरयूको लागि काम गर्ने मानिसको रूपमा पहिचान गरिएको थियो।

ती व्यक्तिलाई पनि गत वर्ष एबीडब्ल्यूले मस्कोको लागि जासुसी गरेको आशङ्कामा पक्राउ गरेको थियो।

गत वर्ष मार्चमा टोमाज एल भनेर चिनिने, वार्सा रजिस्टरी कार्यालयका एक पोलिस कर्मचारीले रुसी गुप्तचर सेवाहरूमा महत्त्वपूर्ण तथ्याङ्क तथा जानकारीहरू स्थानान्तरण गरेको आशङ्कामा पक्राउ गरिएको थियो।

फरक प्रसङ्गमा रुसले बुधवार ब्ल्याक-सीमा खसेको अमेरिकी ड्रोनको अवशेष निकाल्ने प्रयास गर्ने बताएको छ। निगरानीका लागि प्रयोग हुने एमक्यू-९ मङ्गलवार समुद्रमा खसेको हो।

अमेरिकाले रुसी विमानले उक्त ड्रोन खसालेको आरोप लगाएको छ तर मस्कोले ती दाबीहरूको खण्डन गरेको छ।

सरकारी टेलिभिजनमार्फत रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले मस्कोले विमान खोज्ने प्रयास गरिरहेको पुष्टि गरे।

उनले उक्त मानवरहित विमान भेटिनु आवश्यक भएको बताएका थिए।