तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन-रुस युद्धः एक रुसी आमा जो युद्धबन्दी बनाइएका आफ्नो छोरा फिर्ता चाहन्छिन्
- Author, तैमूर साजोनोभ
- Role, बीबीसी रुसी
फेब्रुअरी २४ बिहीवार, युक्रेन आक्रमणको पहिलो दिन, रुसी सेनाको बर्दीमा रहेका दुई पुरुषको तस्बिर सार्वजनिक भयो। युक्रेनका सशस्त्र बलका कमान्डर-इन-चीफ भ्यालेरी जालुज्नीको फेसबुक पेजमा राखिएको उक्त तस्बिरमा ती पुरुषलाई युद्धबन्दीका रूपमा व्याख्या गरिएको थियो।
त्यसपछि मात्र आफ्नो छोरा रफिक रख्मानकुलोभ युद्धमा होमिएकोबारे थाहा पाएको नतालिया डिनेका बताउँछिन्।
बीबीसी रुसी सेवासँगको अन्तर्वार्तामा ४० वर्षीया उनले आफूलाई त्यस तस्बिरबारे पहिलो पटक आफ्नी बहिनीले जानकारी दिएको बताइन्।
नतालियाले अझै पनि रफिकको अवस्था पुष्टि नभएको बताइन्।
"मैले ऊ संलग्न सैन्य एकाइका केही अधिकारीहरूसँग सम्पर्क गरेकी छु र घटनाबारे बताएकी छु," उनले भनिन्।
"उनले गुप्तचरहरूले रफिक बन्दी बनेका थिए या थिएनन् भनेर अनुसन्धान गर्ने बताएका थिए तर हालसम्म उसको अवस्था पुष्टि भएको छैन," नतालियाले भनिन्।
एक वर्षभन्दा कम समयअघि सेनामा भर्ना भएका १९ वर्षीय रफिकलाई युक्रेनको मोर्चामा पठाइएको कुरा सैन्य अधिकारीले उनीसँग स्वीकार गरे।
'आफूहरूलाई त्यहाँ लगिन्छ भन्ने उसलाई थाहा थिएन'
नतालियाका अनुसार उनको छोरा फोर्थ गार्ड ट्याङ्क डिभिजनका कम्ब्याट इन्जिनियर हुन्। उनलाई आक्रमणका लागि खटाइएको छ भन्नेबारे आफूलाई थाहा नभएको उनको दाबी छ।
"मेरो छोरालाई उनीहरूलाई त्यहाँ लगिन्छ भन्ने थाहा थिएन। उनीहरूले त्यहाँ पुगेपछि मात्र थाहा पाए।"
नतालियाले रफिकसँग अन्तिम पटक फेब्रुअरी २३ मा कुरा गरेकी थिइन्। तब उनले आफ्नो कार्य क्षेत्र युक्रेनी सीमानजिकै भएको बताएका थिए।
"मैले उसलाई आफ्नो सरुवाबारे किन केही नबताएको भनेर सोधेकी थिएँ। उसले तपाईँ चिन्ता नलिनुहोस् भन्यो, उसले मलाई अवस्था पूर्ण रूपमा शान्त भएको समेत बताएको थियो।"
बन्दीहरूको तस्बिर भाइरल हुन थालेपछि रुसी टीभी च्यानल रुस-२४ ले यसलाई 'फेक न्यूज' भएको दाबी गरेको थियो।
स्थिर आयको आशा
नतालियाले सैनिकहरूका आमाहरूको समिति, एउटा रुसी गैरसरकारी संस्थालगायत विभिन्न सङ्घसंस्थासँग सम्पर्क गरेको बताइन्।
"उनीहरूले मसँग तथ्याङ्क लिए तर अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन," उनी भन्छिन्।
"मलाई के गर्ने थाहा छैन। हाम्रा सन्तानहरू पक्राउ परेकोबारे सञ्चारमाध्यम मौन छ। वा उनीहरूलाई यसबारे थाहा छैन।"
नतालियाका अनुसार रफिक सन् २०२१ को जुन महिनामा सेनामा भर्ती भएका थिए। कानुनले उनलाई लडाइँमा पठाउनबाट रोक लगाउँछ।
तर रफिककी प्रेमिका लिलियाले बीबीसी रुसीलाई बताएअनुसार आफूले रोक्ने प्रयासका गरेको भए पनि गत डिसेम्बरमा उनले "आफ्नो भविष्य परिवारको लागि समर्पण गर्ने" भन्दै सैनिक बन्न गएका थिए।
रफिक प्राविधिक कृषि विद्यालयमा पढ्दै थिए। तर सेनामा भर्ती हुनकै लागि उनले पढाइ छोडेको उनकी आमा बताउँछिन्। रफिकले सेनामा हुनुलाई आर्थिक रूपमा सुरक्षित हुनु मानेका थिए।
"सेनालाई बस्नका लागि आवास दिइन्छ। तपाईँले त्यहाँ सामान्य तलब पाउनुहुन्छ। अहिले त देशमा अरू कुनै काम छैन," नतालिया भन्छिन्।
"मेरो छोरालाई सैनिक पेसामा खासै रुचि थिएन। यो त उसका लागि आफ्नो खुट्टामा उभिने र एक प्रकारको स्थिर आय गर्ने अवसर थियो।"
रफिक नतालियाका तीन सन्तानमध्ये एक हुन्।
'मेरो छोरो स्वेच्छाले त्यहाँ गएन'
युक्रेनमा रुसी आक्रमणबारे नतालियाको धारणा सोध्दा उनले आफूलाई राजनीतिमा चासो नभएको र आफूले समाचारहरू नहेर्ने बताइन्।
"इमानदारीपूर्वक भन्नुपर्दा यो सबै केका लागि हो मैले बुझेकी छैन," उनी भन्छिन्। "हाम्रो देशमा केही मानिसहरूसँग खानका लागि कहीँ छैन। म कुनै युद्ध वा सैन्य कारबाही बुझ्दिनँ।"
उनले द्वन्द्वमा आफ्नो छोरा तैनाथ भएको बारेमा सामाजिक सञ्जालका टिप्पणीहरू पढिन्। विशेष गरी रफिक र युक्रेनमा सम्भावित बन्दी बनाइएका रुसी सैनिकहरूविरुद्ध धम्कीहरू पढेर उनी दुःखी भएको स्पष्ट देखिन्छ।
"मेरो छोरो स्वेच्छाले त्यहाँ गएको होइन। सशस्त्र सेना प्रमुखले उसलाई त्यहाँ पठायो," उनी भन्छिन्।
"केका लागि लगियो? म त्यसको जबाफ दिन सक्दिनँ। म र मेरो छोरो, हामी दुवैलाई यसको आवश्यकता थिएन।"
उनी प्रश्न गर्छिन्, "मेरो सन्तान फिर्ता पाउन म कसको ढोका ढकढक्याऊँ?"
युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
यो पनि हेर्नुहोस्