तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध: रुसी ड्रोन हमलाले युक्रेनभरि विद्युत् आपूर्ति 'सङ्कटपूर्ण'
रुसी सेनाले युक्रेनको उर्जा सेवालाई फेरि निसानामा पार्दा राजधानी किएभका केही क्षेत्रसहित अन्य सहरमा बिजुली र पानी आपूर्ति बन्द भएको छ।
अभियोजनकर्ताहरूले राजधानीमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको बताएका छन्।
डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्र वरपरबाट धुवाँको मुस्लो निस्किएको देखिएको छ।
किएभको पश्चिममा रहेको जितोमीरमा बिजुली र पानीको आपूर्ति काटिएको छ र डिनिप्रोमा दुईवटा केन्द्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।
"पहिलो कुरा बिजुली बचत गर्न र दोस्रो यदि आक्रमण जारी रह्यो भने अन्धकारमा बस्न पनि सबैजना तयार हुनुपर्छ," युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले भने।
"सम्पूर्ण जनसङ्ख्या कडा जाडोको लागि तयार हुन आवश्यक छ।"
किएभलाई "कामिकाजी" ड्रोनले प्रहार गरेको २४ घण्टापछि पछिल्लो आक्रमण भएको हो।
इरानमा निर्मित ठानिएको उक्त मानवरहित ड्रोन आक्रमणबाट राजधानी किएभमा कम्तीमा पाँच जना र उत्तरी सहर सुमीमा चार जनाको ज्यान गएको तथा सयौँ सहर र गाउँहरूमा विद्युत् आपूर्ति बन्द भएको विवरणहरू आएका छन्।
ती हमलाहरूले कैयौँ महत्वपूर्ण पूर्वाधारहरूमा प्रहार भएको बताइएको छ।
जेलेन्स्की के भन्छन्?
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलवार ट्विटरमा लेखेका छन्, "गएको आठ दिनमा युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरू ध्वस्त भएका छन् त्यसले गर्दा देशभरि व्यापक अन्धकार भएको छ।"
रुसले हालैका साताहरूमा युद्धको अग्रमोर्चाभन्दा टाढाका सहरहरूमा विद्युत् तथा अन्य पूर्वाधारहरूमा आक्रमण बढाएको छ।
अधिकारीहरूले क्षतिग्रस्त संरचनाहरूको मर्मत गरिरहेका छन् तर आउँदो जाडोअघि प्रणालीले कसरी काम गर्छ भन्ने चिन्ता बढेको छ।
आक्रमणहरूमा ड्रोनहरू कुन हदसम्म संलग्न थिए भन्ने प्रारम्भमा स्पष्ट भएको थिएन।
यद्यपि युक्रेनले रुसले क्षेप्यास्त्रहरू प्रहार गरेको र कतिपयको ज्यान गएको जनाएको थियो।
युक्रेनी के गर्दैछन्?
केही सहरहरूमा युक्रेनीहरूले ऊर्जा उत्पादनका लागि जेनरेटरहरू र ग्यास बर्नरहरू खरिद गरिरहेका छन्।
देशैभरिका मानिसहरूलाई मुख्य विद्युत् खपत हुने समयमा त्यसको खपत कम गर्न भनिएको छ।
केही सहरहरूले पहिले नै विद्युत आपूर्ति अभावको समस्या बेहोरिरहेका छन्।
एकजना युक्रेनी सांसदले बीबीसीलाई भनिन्, "रुसले ऊर्जा तथा सार्वजनिक पूर्वाधारमाथिको आक्रमणलाई तीव्र पार्छ र शरद ऋतुमा शहरी युद्धलाई बढाउँछ भन्ने हामीले अपेक्षा गरेका थियौँ। अहिले हामीले त्यस्तै देखिरहेका छौँ।"
आफ्नो पछिल्लो विश्लेषणमा रक्षा क्षेत्रका ब्रिटिश गुप्तचरहरूले हालैका साताहरूमा युद्धको मैदानमा आफ्नो असफलतापछि रुसले सैन्य लक्ष्यका अतिरिक्त नागरिकहरूले प्रयोग गर्ने पूर्वाधारमा प्रहार गर्न थालेको हुनसक्ने ठानेका छन्।
रुसी भनाइ
युक्रेन र उसका पश्चिमी साझेदारहरूले इरानले परमाणु अस्त्रसम्बन्धी एउटा संयुक्त राष्ट्रसङ्घीय सम्झौतालाई उल्लङ्घन गर्दै इरानले ड्रोनहरू रुसलाई बिक्री गरेको आरोप लगाएका छन्।
रुसले चाहिँ युक्रेनमा आक्रमण गर्न इरानी ड्रोन प्रयोग गरेको अस्वीकार गरेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई उक्त हतियारको बारेमा कुनै जानकारी नभएको बताए।
तेहरानले पनि उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ।