युक्रेन युद्ध: रुसले बेहोरिरहेको क्षतिले पुटिनलाई के फरक पार्छ?

    • Author, स्टिभ रोजेनबर्ग
    • Role, रुस सम्पादक, मस्को

सामान्यतः रुसी सरकारी टेलिभिजनको समसामयिक विषयको चर्चित साप्ताहिक कार्यक्रममा क्रेम्लिनको सफलताको गुणगान सुन्न पाइन्छ।

तर आइतवार त्यो कार्यक्रममा एउटा दुर्लभ स्वीकारोक्ति उजागर भएको थियो। 

मलिन देखिएका कार्यक्रम प्रस्तोता दिमित्री किसलेभले भने, "[युक्रेनमा] भइरहेको विशेष कारबाहीको अग्रमोर्चामा यो साता अहिलेसम्मकै कठिन रह्यो।"

"खार्किभको मोर्चामा त्यो खास कठिन रह्यो जहाँ हामीभन्दा धेरै सङ्ख्यामा रहेका शत्रु फौजबाट हामीलाई आक्रमण भएपछि [रुसी] फौजहरू यसअघि उनीहरूले मुक्त पारेका नगरहरू छाड्न बाध्य भए।"

"कब्जा गरिएका" स्थानलाई रुसले "मुक्त पारिएको" भन्ने गर्छ। 

मस्कोले ती क्षेत्रहरू महिनौँअघि नियन्त्रणमा लिएको थियो। तर युक्रेनी सेनाले प्रत्याक्रमण सुरु गरेपछि रुसी सेनाले उत्तरपूर्वी युक्रेनको उल्लेख्य क्षेत्र गुमाएको छ। 

तर अझै रुसी सरकारी सञ्चारमाध्यमहरूले बहादुरीपूर्ण कुराहरू अगाडि सारिरहेका छन्। 

औपचारिक रूपमा खार्किभमा जे भइरहेको छ त्यसलाई यहाँ "पछि हटेको रूपमा" उल्लेख गरिएको छैन।

"रुसी रक्षा मन्त्रालयले बालाक्लिया, इज्युम र कुपियान्स्कबाट रुसी फौज भागेको भन्ने निराधार हल्लालाई खण्डन गरेको छ," सरकारी पत्रिका रसिस्किया गजिएटाले लेखेको छ। 

"उनीहरू भागेका होइनन्। यो पुनः सङ्गठित भएर पुनः तयारी गर्नका लागि हो।"

ट्याब्लोइड पत्रिका मोस्कोस्की कन्सोमोलेट्समा एक सैन्य विश्लेषकले फरक दृष्टिकोण राखेका छन्।

उनको भनाइ छ, "हामीले शत्रुलाई कम आँक्यौँ भन्ने कुरा स्पष्ट भइसक्यो। [रुसी फौजले] प्रतिक्रिया जनाउन लामो समय लिए र अहिले पतनको अवस्था आयो...फलतः, हामीले एउटा हार बेहोर्‍यौँ र हाम्रा फौजहरू उनीहरूका घेराबन्दी नपरून् भन्दै उनीहरूलाई फिर्ता बोलाएर क्षति कम गर्ने प्रयास गर्‍यौँ।" 

त्यो "हार"ले रुस पक्षधर सामाजिक सञ्जालहरूमा "देशभक्त" रुसी ब्लगहरूमाझ आक्रोश उत्पन्न गराएको छ जसले आफ्ना सैनिकहरूलाई गल्ती गरेको आरोप लगाएका छन्।

त्यसो ठान्नेमा चेचन्याका एकजना प्रभावशाली नेता रमजान कदिरोफ समेत छन्। 

"यदि आज वा भोलिमा रणनीतिमा कुनै परिवर्तन गरिएन भने," कदिरोफले चेतावनी दिए, "म रक्षा मन्त्रालय र देशको नेतृत्वसँग कुरा गर्न बाध्य हुनेछु र उनीहरूलाई धरातलीय अवस्थाबाट आफूहरूलाई स्पष्ट पार्न भन्नेछु। यो निकै रोचक अवस्था हो। यो अद्भुत छ।"

भ्लादिमिर पुटिनले युक्रेनमा पूर्णाकारको हस्तक्षेप गर्न आदेश दिएको ६ महिनाभन्दा धेरै समय भइसकेको छ। 

त्यसयताका दिनमा रुसी नेता, टिप्पणीकार र विश्लेषकले यहाँका टेलिभिजनमा क्रेम्लिनले भन्ने गरेको "विशेष सैन्य कारबाही" केही दिनमै सम्पन्न हुन्छ भन्ने गरेका थिए।

उनीहरूले रुसी फौजलाई स्वतन्त्र गराउन आएका मानिसका रूपमा स्वागत हुने र युक्रेनको सरकार तासका पत्ती ढलेझैँ ढल्ने समेत भन्ने गर्थे। 

तर त्यसो भएन। 

बरु ६ महिनाभन्दा बढी समयपछि रुसी सेनाले धरातलीय पकड गुमाइरहेका छन्। 

त्यसैले यहाँ मुख्य प्रश्न उब्जन्छ: के यसको भ्लादिमिर पुटिनमाथि राजनीतिक असरहरू पर्नेछ?

बीस वर्षभन्दा बढी समयदेखि रुसी शक्तिशाली वर्गमाझ पुटिन विजेताको रूपमा देखा परेको आफ्नो प्रसिद्धिमा रमाइरहेका छन्। 

उनले आफूलाई अजेय देखाइरहेका छन्। 

अहिलेसम्म पुटिन चर्चित कलाकार ह्यारी हुडिनी जस्तै जस्तोसुकै किला वा साङ्लोले बाँधे पनि फुत्कन सफल भएका थिए। 

तर त्यो फेब्रुअरी २४ पछि फेरियो।

पछिल्लो ६ महिनाको अवस्था हेर्दा युक्रेन आक्रमण गर्ने पुटिनको निर्णय एउटा ठूलो गलत आकलन भएको देखाउँछ। 

तीव्र गतिमा जित सुनिश्चित गर्न नसकेको रुस लामो, रक्तपातपूर्ण लडाइमा फसेको छ र उसले शृङ्खलाबद्ध रूपमा लज्जास्पद हार बेहोरेको छ। 

जब निरङ्कुश नेतालाई आफू अजेय भन्ने विश्वास टुट्छ तब त्यस्ता नेता समस्यामा आउँछन्। 

भ्लादिमिर पुटिनले रुसको इतिहास थाहा पाउनेछन्। विगतमा युद्ध लडेर त्यसमा नजित्ने रुसी नेताहरूको अन्त्य राम्ररी भएको छैन।

जापानले रुसलाई पराजित गराएपछि त्यसले सन् १९०५ को रुसी क्रान्ति सिर्जना गराएको थियो। 

प्रथम विश्वयुद्धमा भएको सैन्य विफलताले १९१७ को क्रान्ति भयो र जारहरूको अन्त्य भयो। 

यद्यपि सार्वजनिक रूपमा राष्ट्रपति पुटिन पराजित हुने मनस्थितिमा देखिँदैनन्। 

सोमवार उनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, "[रुसी] विशेष सैन्य कारबाही जारी छ र सुरुमा तय गरिएका कुरा हासिल नहुँदासम्म जारी रहनेछ।"

त्यसले मुख्य सवालसम्म पुर्‍याउँछ: पुटिनले अब के गर्छन्?

भ्लादिमिर पुटिनले के सोचिरहेका वा योजना बनाइरहेका छन् भन्ने थाहा पाउने मानिस भेट्ने काम निकै कठिन छ। 

धेरै कुराहरू उनले आफ्ना सेना वा गुप्तचर प्रमुखहरूबाट पाइरहेका सूचना कति ठिक छन् भन्नेमा निर्भर रहन्छ। 

तर थाहा भएको दुईवटा कुरा छन्: रुसी राष्ट्रपतिले दुर्लभ रूपमा गल्ती गरेको स्वीकार्छन् र उनले दुर्लभ रूपमै यू-टर्न लिन्छन्। 

सरकारी सञ्चारमाध्यमहरूले भनिरहेका कुराहरू हेर्दा हामीले अहिले नै युद्ध मैदानमा असफलताका सङ्केत देख्छौँ। 

जसको लागि युक्रेनलाई गरिएको पश्चिमा सहयोगलाई दोष लगाइएको छ।

रुसी सरकारी टिभीले घोषणा गरेको छ, "नेटोको साथ पाएको किएभले प्रत्याक्रमण सुरु गरेको छ।"

कैयौँ महिनादेखि पृष्ठभूमिमा देखा परेको एउटा अर्को असहज प्रश्न यस्तो पनि छ: यदि परम्परागत अस्त्रबाट जित हासिल गर्न सकिँदैन भने के राष्ट्रपति पुटिन परमाणुमा जालान्?

केही दिन अघि मात्रा युक्रेनी सैन्य प्रमुख भालेरी जाजुज्नीले चेतावनी दिए: "रुसी सशस्त्र बलबाट केही निश्चित अवस्थामा रणनीतिक परमाणु अस्त्र प्रयोगको प्रत्यक्ष जोखिम छ।"

हाललाई क्रेम्लिनमा सन्त्रासको केही खुला सङ्केत देखिँदैन। रुसी सरकारी टेलिभिजन थप सकारात्मक देखिन्छ। 

तिनले युक्रेनी ऊर्जा पूर्वाधारमा भएका रुसी क्षेप्यास्त्र हमलाहरूलाई "विशेष सैन्य कारबाहीको एउटा मोड"को रूपमा व्याख्या गरेको छ।

क्रेम्लिनका नेताका लागि गत शनिवार युक्रेनबाट आएका खबरमा रुसले भूभाग गुमाइरहेको जनाइएको थियो। 

मस्कोमा भने त्यसको असर परेको नदेखिने गरी भ्लादिमिर पुटिनले युरोपकै अग्लो रोटेपिङ उद्घाटन गरिरहेका थिए। 

मस्कोको नयाँ ठूलो रोटेपिङ जसरी रुसी राष्ट्रपति अझै "विशेष कारबाही" पनि आफ्नो पक्षमा फर्कनेमा निश्चिन्त देखिन्छन्।