तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन-रुस युद्ध: प्रथम महिला भन्छिन्: 'यूकेले पैसामा कन्जुस्याईँ गर्दा हामी हताहति गनिरहेका छौँ'
युक्रेन युद्धको आर्थिक प्रभाव अन्य देशहरूमा चर्को परेको बताउँदै युक्रेनकी प्रथम महिलाले ब्रिटिशहरूले 'पैसामा कन्जुस्याईँ गर्दा' युक्रेनीहरूले 'हताहति गनिरहेको' टिप्पणी गरेकी छन्।
ओलेना जेलेन्स्काले बीबीसीलाई दिएको अन्तर्वार्तामा यदि युक्रेनले दह्रो समर्थन प्राप्त गरेको भए अहिलेको सङ्कटको समयावधि छोटो हुने बताइन्।
किएभमा दिइएको अन्तर्वार्तामा उनले युद्धका कारण भएको मानवीय क्षति उजागर गरिरहनु महत्त्वपूर्ण भएको पनि बताएकी थिइन्।
जेलेन्स्काले आफूले विरलै आफ्ना श्रीमानलाई देख्न पाए पनि दुवै जनाबीच प्रत्येक दिन कुराकानी भने हुने गरेको बताइन्।
प्रथम महिला जेलेन्स्का र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सन् २००३ मा विवाह भएको थियो।
जेलेन्स्काले के भनिन्?
आइतवार प्रसारण हुने अन्तर्वार्तामा जेलेन्स्कालाई रुसले युक्रेनमा अतिक्रमण गरेपछि महँगो ऊर्जा शुल्क तिरिरहेका ब्रिटिश नागरिकलाई के सन्देश दिनुहुन्छ भनेर सोधिएको थियो।
उनलाई उक्त युद्धले विश्वव्यापी ग्यास र तेल मूल्यमा परेको प्रभावका बारेमा पनि प्रश्न गरिएको थियो।
जेलेन्स्काले भनिन्, "मलाई थाहा छ अवस्था ज्यादै कठिन छ। तर म सम्झन्छु कि कोभिड-१९ को महामारी जुन अझै पनि हामीसँग छ, त्यति बेला पनि मूल्यवृद्धि भएको थियो। युक्रेन पनि प्रभावित भएको थियो।"
"युक्रेनमा पनि मूल्यवृद्धि भइरहेको छ। त्यसमाथि हाम्रा मानिसहरूलाई मारिएको छ। त्यही भएर जब तपाईँ आफ्नो ब्याङ्क खातामा वा गोजीमा भएको रकम गन्न थाल्नुहुन्छ, हामी पनि त्यसरी नै हाम्रो तर्फ भएका क्षति र शव गन्छौँ,"उनले भनिन्।
अघिल्लो महिना किएभको भ्रमण गरेका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले युरोपका देशहरूले जीविकोपार्जनको लागतसँग जुझ्नुपर्ने र युक्रेनमाथिको रुसी अतिक्रमणविरुद्ध दह्रो गरी उभिनुपर्ने बताएका थिए।
यूकेमा यो वर्ष मुद्रास्फीति ४२ वर्षकै उच्च अर्थात् १३.३ प्रतिशत पुगेको छ भने त्यहाँको अर्थतन्त्र एक वर्षभन्दा बढी अवधि सङ्कुचित हुने ठानिएको छ।
ओलना जेलेन्स्का को हुन्?
- सन् १९७८ फेब्रुअरी १६मा मध्य युक्रेनको रुसी भाषी क्षेत्रमा जन्म
- विश्वविद्यालयमा वास्तुकला अध्ययन
- सन् २००३ को सेप्टेम्बरमा भोलोदिमिर जेलेन्स्कीसँग विवाह
- दुई सन्तानकी आमा
- सन् २०१९ मा आफ्ना श्रीमान् राष्ट्रपति चुनिएपछि प्रथम महिलाको जिम्मेवारी
मानवीय सङ्कटको चर्चा
जेलेन्स्काले युक्रेन बाहिरका मानिसहरूलाई युद्धले त्यहाँ पारिरहेको प्रभाव बुझ्न कठिन रहेको बताउँदै द्वन्द्वले पारेको मानवीय असर अरूलाई पनि जानकारी दिनु आवश्यक रहेको उल्लेख गरिन्।
उनले धेरै अभिभावकहरूले गएको मार्चमा पोल्यान्डको सीमा पार गर्दै गर्दा आँसुको अहालमा डुबेका युक्रेनी किशोरको भिडिओ हेर्दा स्तब्ध हुने पनि उल्लेख गरिन्।
"मलाई लाग्छ त्यो भिडिओ हेर्ने बुवा र आमाहरूले आँसु रोक्न सक्नुहुन्न। म सधैँ आफूलाई त्यो ठाउँमा उभ्याउँछु र सोच्छु संसारका सबै मानवहरूले त्यस्तै महसुस गर्छन्।"
उनले खसालिएका बमको सङ्ख्या र खर्च भएको रकमभन्दा पनि मानवीय कथाहरू सुनाइनुपर्ने जोड दिइन्।
जेलेन्स्का र उनका श्रीमान् एउटै सहरबाट आएका हुन् र दुवै जनाले एक अर्कालाई विश्वविद्यालय पढ्दादेखि नै चिन्ने गर्थे।
उनले आफ्ना टेलिभिजनमा अभिनय गर्ने श्रीमान् युद्धको समयका नेता भएकोमा आश्चर्यचकित भएका कतिपय व्यक्तिले आफ्नो अपमान समेत गरेको बताइन्।