विपक्षीको अवरोधबीच संसद्‌मा प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रतिनिधिसभामा विश्वासको मत माग्दै पु्ष्पकमल दाहाल प्रचण्ड

तस्बिर स्रोत, RSS

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिएका छन्।

सोमवार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलहरूले नाराबाजी र वेल घेराउ गर्दागर्दै सभामुख देवराज घिमिरेले विश्वासको मतको प्रस्तावमा मतदान गराएका थिए।

मतदान प्रक्रियामा १५८ सांसद उपस्थित भएकोमा प्रचण्डको पक्षमा १५७ मत परेको र एक सांसदले मत दिन्नँ भनेको मतपरिणाम घोषणा गर्ने क्रममा सभामुखले बताए।

प्रधानमन्त्रीले पाएको मत प्रतिनिधिसभामा कायम सांसदको कुल सङ्ख्याको बहुमत भएको भन्दै घिमिरेले विश्वासको मतका लागि प्रस्तुत प्रस्ताव पारित भएको घोषणा गरे।

विपक्षीको विरोधबीच सदनमा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्दा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित थिएनन्।

संसद्‌मा के भयो

सोमवार बसेको पहिलो बैठकपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि बसेको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत माग्न समय दिए।

संसद्

तस्बिर स्रोत, RSS

त्यस क्रममा अवरोध गर्न खोज्ने विपक्षी सांसद्‌हरूलाई मर्यादापालकहरूले घेरेर राखेका थिए।

सभामुखले मर्यादापालकहरूलाई प्रधानमन्त्रीलाई बाटो बनाएर रोस्ट्रममा पुर्‍याउन निर्देशन दिएपछि मर्यादापालकको सुरक्षामा उभिएर प्रचण्डले विश्वासको मत मागेका थिए।

मतपरिणाम घोषणा गरेपछि सभामुखले सोमवारका सबै कार्यसूची स्थगित गर्दै मङ्गलवार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेको घोषणा गरे।

नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको चर्चा चलेको भन्दै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

त्यसबारे समिति बनाउने विषयमा गत साता नै सहमति जुटेको बताइएको थियो। तर समितिको कार्यादेशबारे सहमति अझै जुट्न सकेको छैन।

संसद्

तस्बिर स्रोत, RSS

विश्वासको मत किन आवश्यक

सरकारलाई समर्थन दिएको जनता समाजवादी नेपाल पार्टी फुटेपछि प्रचण्डले प्रधानमन्त्री बनेको १६ महिनामा चौथो पटक विश्वासको मत लिनुपरेको हो। संविधानको धारा १०० को उपधारा २ मा त्यसबारे प्रावधान छ।

केही साताअघि उक्त दल फुटेको थियो र उपेन्द्र यादवसमूह सरकारबाट बाहिरिएको थियो।

संवैधानिक व्यवस्थाअनुसार सरकारलाई दिएको समर्थन कसैले फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

प्रचण्डले नेपालको इतिहासमा १६ महिनामा चौथौ पटक विश्वासको मत लिने अवसर उत्पन्न भएको भन्दै नेपाली कांग्रेसलाई पनि आफूलाई समर्थन गर्न आग्रह गरेका थिए।

प्रचण्डले के भने

प्रचण्डले "नेपाल बन्दैन भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यसलाई वर्तमान सरकारले चिर्ने प्रयास गरेको" दाबी गरे। उनले आफ्नो सरकारले नेपालमा आशा जगाएको दाबी गरे।

उनले आफ्नो 'रिपोर्ट कार्ड'कै आधारमा आफूलाई विश्वास मत दिन कांग्रेसहित सबै दललहरूलाई आग्रह गरे।

प्रचण्डका पक्षमा बोल्दै सत्तासाझेदार दल नेकपा एमालेका नेता विष्णु पौडेलले विपक्षी कांग्रेसको आलोचना गरेका थिए।

पौडेलले विश्वासको मत दिने बताएपछि जबाफ दिने क्रममा पुनः बोलेका प्रचण्डले नेपाली कांग्रेसले संसद्‌मा गरेको गतिविधि नेपालको इतिहासमा "कलङ्क"को रूपमा स्थापित हुने टिप्पणी पनि गरे।

आफूले नेपाली कांग्रेसलाई बारम्बार साथ दिएको तर आफूलाई "संविधानअनुसार विश्वासको मत लिन नदिएर" कांग्रेसले गलत गरेको बताए।

"त्यसको मूल्य चर्को पर्ने छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।