कांग्रेससँग संसद्‌मा प्रचण्डले गरे पाँच गुनासा

प्रचण्ड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बुधवार संसद्मा प्रचण्डले विश्वासको मत मागेका छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा विश्वासको मत लिनुअघि धारणा राख्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग कैयौँ गुनासा राखेका छन्।

गठबन्धन तोडेर नेकपा एमालेसहितका दलसँग नयाँ समीकरण गरेकोमा कांग्रेसका नेताहरूले प्रधानमन्त्रीमाथि धोका दिएको आरोप लगाउँदै आएका थिए।

तर आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै प्रचण्डले बरु कांग्रेसले नै पटकपटक आफूलाई धोका दिएको दाबी गरेका छन्।

विश्वासको मत लिने दिन नचाहँदा नचाहँदै आक्षेपहरूको खण्डन गर्नु बाध्यता भएको उनले टिप्पणी गरे।

'कांग्रेसभित्रको द्वन्द्वले आजित'

प्रधानमन्त्रीले कांग्रेसभित्रका विचार समूहरूले युद्धविराम नै गरेर उनीप्रति निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेका आरोप लगाएका छन्।

नयाँ गठबन्धन बनाउनुको कारणबारे उनले भनेः “पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु।”

"साथीहरूलाई आग्रह छ यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नूस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नूस्। त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुनसक्छ।"

'प्रधानमन्त्री पदमा विश्वासघात'

प्रधानमन्त्री प्रचण्डले आफ्नो तर्फबाट कांग्रेसलाई कुनै धोका नभएको बताएका छन्।

प्रचण्डले विगतमा आफू कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भए पनि माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री भएका उल्लेख गरेका छन्।

“मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ, तर कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो।”

“आज मलाई गाली गरिरहेका साथीहरूलाई म सोध्छु मैले कहिल्यै यो संसद्‌ र बाहिर धोकाको शोकगीत गाएँ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरूको मानमर्दन गरेँ? गरिनँ। मलाई त बरु प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरूले आरोप लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन।”

प्रतिनिधिसभा

तस्बिर स्रोत, RSS

'माओवादी उम्मेदवारमाथि अन्तरघात'

प्रचण्डले कांग्रेसबाट धोका पाएको लामो फेहरिस्त आफूसँग भएको टिप्पणी गरेका छन्।

उनले प्रश्न गरेः “माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम?”

'कांग्रेसबाट सहयात्रीको अवमूल्यन'

हालै सम्पन्न कांग्रेसको महासमिति बैठकमा गठबन्धनलाई लिएर विभिन्न टीकाटिप्णी भएको थियो।

गठबन्धनबारे बैठकका सहभागीहरूको मत विभाजित भएको थियो। एकथरीले कांग्रेस आफ्नै बुतामा बढ्न सक्नुपर्ने धारणा राखे।

प्रचण्डले प्रश्न गरेः “महासमिति बैठकमा विनासन्दर्भ गठबन्धनको निन्दा र भर्त्सना सहयात्रीको अवमूल्यन हो कि होइन?”

'कांग्रेसबाट संविधानमाथि धोका'

प्रधानमन्त्री प्रचण्डले संसद्‌को सबैभन्दा ठूलो दल कांग्रेसबाट संविधानमाथि नै धोका भएको आरोप लगाएका छन्।

कांग्रेस महासमिति बैठकमा केही नेताले हिन्दू राष्ट्रको पक्षमा अभियान चलाएका थिए। उनीहरूले हस्ताक्षरसमेत सङ्कलन गरेका विवरण बाहिर आएका थिए।

सो प्रसङ्गलाई उल्लेख गर्दै प्रचण्डले प्रश्न गरेः “महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन?”

तर त्यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आक्रमण गर्न आफूले नचाहेको प्रधानमन्त्रीले जिकिर गरे।

उनले राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढङ्गबाटै हुनुपर्ने भन्दै कांग्रेसका नेताहरूबाट पनि त्यही अपेक्षा गरेको बताए।

ओलीको आह्वान

केपी ओली

तस्बिर स्रोत, RSS

प्रधानमन्त्रीपछि प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यकाल बाँडफाँट भएको कुराको खण्डन गरे।

उनले प्रधानमन्त्री हुनका लागि गठबन्धन नबनेको उल्लेख गर्दै भनेः “प्रधानमन्त्रीको कार्यकाल १३/१३ वर्ष, १५/१५ वर्ष बाँडेको बजारभरि देख्छु। यसले यो सरकार परिवर्तन किन भएको, यसमा नेताहरू सहभागी किन भएका भन्ने प्रश्नको गरिमालाई घटाएको छ।”

शान्ति प्रक्रिया टुङ्गिन नसकेकोबारे ओलीले कांग्रेसलाई प्रश्न गरे। “कसले शान्ति प्रक्रियालाई टुङ्ग्याउन दिएन?”

मुलुकका समस्या समाधानका लागि बसेर कुराकानी गर्न ओलीले कांग्रेस नेतृत्वलाई आह्वानसमेत गरे।

प्रतिपक्षीको प्रश्न

विश्वप्रकाश

तस्बिर स्रोत, RSS

त्यसपछि आफ्नो धारणा राख्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशको अवस्था बदल्नतिर लाग्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन नै बदलेको टिप्पणी गरे।

राजनीतिक रूपमा अविश्वासको अवस्था रहेको समयमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उनले उल्लेख गरे।

प्रचण्डप्रति इङ्गित गर्दै शर्माले प्रश्न गरेः “पालैपालो विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने नि? धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि? तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू?”

राप्रपाद्वारा आलोचना

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले नयाँ गठबन्धन सत्ता केन्द्रित स्वार्थ पूर्तिका लागि बनाइएको आरोप लगाएका छन्।

उनले भनेः "सत्तालाई आफ्नो सुरक्षा कवचका रूपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो। त्यसमा केही धेरै भनिराख्नुपर्दैन।"

सत्ताको खेलमा आफ्नो पार्टी नलाग्ने भन्दै लिङ्गदेनले प्रधानमन्त्रीलाई संसद्‌मा विश्वासको मत नदिने प्रस्ट पारे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।