माओवादीको दृष्टिकोणमा कांग्रेससँगको गठबन्धन भत्किनुका कारण यस्ता

तस्बिर स्रोत, RSS
सोमवार बिहान हरेक जसो राजनीतिक पार्टीका बैठक तारन्तार भइरहेका थिए।
त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण अनि सबैको चासो चाहिँ माओवादीको कार्यालय बैठक तर्फ रह्यो।
बैठकलगत्तै बीबीसीसँग बोल्दै पार्टी प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले आइतवारदेखि नै चलिरहेका गाइँगुइँलाई पुष्टि गर्दै भने, “मन्त्रिमण्डल पुनर्गठन गर्नाका लागि कार्यालयको बैठकले सुझाव दिएको छ।”
अर्थात् नयाँ गठबन्धन गर्न बाटो खुलेको उनले बताए।
भत्कनुको कारण
२०७९ सालको संसदीय चुनावलगत्तै सुरुमै एमालेसँग अनपेक्षित गठबन्धन गरेका प्रधानमन्त्री प्रचण्डले त्यो बेला केही महिनामै गठबन्धन परिवर्तन गरेर चुनावी तालमेल गरेको नेपाली कांग्रेससँग नै मिलेका थिए।
त्यो मिलन पाँच वर्षको मात्र नभइ अझै लामो समय जाने भनेर माओवादीकै नेताहरूले भन्दै आएका पनि थिए।
तर १३ महिना नवित्दै त्यो सबै भत्किएको छ।

तस्बिर स्रोत, RSS
त्यसको सबभन्दा मुख्य कारण चाहिँ प्रधानमन्त्रीलाई 'काम गर्न अनुकूल नभएको अनुभूति' नै रहेको प्रवक्ता सापकोटाले बताएका छन्।
“प्रधानमन्त्रीले सामाजिक न्यायसहितको सुशासन र समृद्धिमा जोड दिँदै आउनु भएको हो। त्यसमा पूर्ण गतिमा काम गर्न मलाई अनुकूलता भएन भनेर वहाँले मन्त्रिमण्डल पुनर्गठन गर्न खोजिरहनु भएको थियो। तर त्यसमा सहमति जुट्न सकेन,” उनले भने।
केही समयदेखि नै कतिपय मन्त्री फेरबदल गर्न प्रधानमन्त्री प्रचण्ड इच्छुक रहेको तर नेपाली कांग्रेस त्यसमा तयार नभएको भन्ने विवरणहरू आइरहेका थिए।
महासमितिले थप गिजोलियो सम्बन्ध
दुई साता अगाडि भएको नेपाली कांग्रेसको महासमिति बैठकमा भएका छलफल तथा पारित प्रस्तावहरूले पनि माओवादी चिढीएको सापकोटाको भनाइले प्रस्ट पार्छ।
“त्यहाँ असान्दर्भिक अनि अस्वाभाविक ढङ्गले हाम्रा विरुद्ध कुराहरू परिलक्षित भए,” महासमितिमा आगामी चुनावमा कांग्रेसले निर्वाचनपूर्व गठबन्धन नगर्ने जस्ता विषय पारित भएको तर्फ इँगित गर्दै उनले भने।
“साथै १२ बुँदे सहमति, शान्ति सम्झौता र २०७२को संविधानमाथि नै प्रश्न उठ्ने गरी घटनाक्रम अगाडि आएको देखियो।”
‘आजै मन्त्रिमण्डल पुनर्गठन हुने’
नयाँ ढङ्गको गठबन्धन बनाउन तारन्तार विभिन्न पार्टीका बैठकहरू जारी रहँदा प्रवक्ता सापकोटाले सोमवार नै मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना ‘प्रबल’ रहेको बताएका छन्।
हाल प्रतिपक्षमा रहेको नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले 'प्रधानमन्त्रीले नयाँ राजनीतिक मार्ग तय गरेको हुँदा त्यसका निम्ति सकारात्मक सहयोग गर्न आफ्नो पार्टी तयार भएको' बताएका छन्।
नयाँ बन्ने सरकारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी हुने सङ्केत देखिएका छन्।
उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले त्यसबारे ठोस निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिइएको बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








