भीषण इजरेली हमलामा मध्य बेइरुतमा आठ तले भवन ध्वस्त

उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी कार्य जारी राखेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी कार्य जारी राखेका छन्

इजरेलले गरेको एउटा भीषण आक्रमणमा लेबननको राजधानी बेइरुतको मध्य भागमा अवस्थित एउटा आवासीय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तिमा ११ जना मानिसहरू मारिएका छन् भने ६० भन्दा धेरै घाइते भएका छन्।

आठ तले उक्त भवन बढी जनघनत्व रहेको राजधानीको बास्ता जिल्लामा अवस्थित रहेको लेबननको राष्ट्रिय समाचार समितिले जनाएको छ।

स्थानीय समय अनुसार ४ बजे सो हमला भएको थियो जसका कारण सो सहर नै हल्लिएको थियो।

इजरेली सेनाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

पछिल्लो हमलाबारे के विवरण आएका छन्?

आपत्कालीन उद्धारकर्ताहरू बास्ता पुग्दा विशाल खाल्डोबाट धुवाँको मुस्लो उडिरहेको दृश्य देखेका थिए। उक्त स्थानबाट भग्नावशेष हटाउने कार्य अझै जारी रहेको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेलले मध्य बेइरुतमा यसै साताभित्र गरेको यो चौथो हमला हो।

भग्नावशेष हटाउने काम जारी रहँदा मृतकको सङ्ख्या अझै बढ्नसक्ने ठानिएको छ। स्वास्थ्य मन्त्रालयले पीडितहरूको पहिचान गर्नका लागि डीएनए जाँच गरिने जनाएका छन्।

स्थानीय बासिन्दा निमार जरारियाले उनी र उनको परिवार सुतिरहेको बेला सबेरै सो हमला भएको बताए।

उनले भने, “हामी गहिरो निद्रामा थियौँ र त्यही बेला नै हमला भयो र त्यसपछि दोस्रो हमला भयो। हामीलाई के भइरहेको थियो थाहा भएन।”

“त्यहाँ धुलो र क्षतविक्षत घर थियो, मानिसहरू भागिरहेका थिए र कराइरहेका थिए। मेरी श्रीमती र छोरी अस्पतालमा नै छन्। काकी अस्पतालमा नै हुनुहुन्छ।”

सोमबार इरानको समर्थन पाएको हिज्बुल्लाहले आफ्ना प्रवक्ता मोहम्मद अफिफ एउटा हवाई हमलामा मारिएको जनाएको थियो।

शनिवार सबेरैको उक्त हमलापछि पनि थप आक्रमणहरू पनि गरिएका थिए। इजरेलको डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिण बेइरुतको ‘हिज्बुल्लाह केन्द्र र स्वार्थ’ क्षेत्र नजिकै बसिरहेका मानिसहरूलाई उक्त स्थान खाली गर्न भनेको थियो।

एक घण्टापछि नै लडाकू विमानहरूले कैयौँ निशानाहरूमा आक्रमण गरेका थिए र आईडिएफले त्यसमा ‘हतियार भण्डारण गर्ने गोदाम’ पनि रहेका जनाएको छ।

इजरेलले मध्य बेइरुतमा गरेको आक्रमणका क्रममा देखिएको धुवाँको मुस्लो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेलले मध्य बेइरुतमा यसै साताभित्र गरेको यो चौथो हमला हो

हालैका महिनाहरूमा इजरेली आक्रमणहरूमा बेइरुतमा कैयौँ वरिष्ठ हिज्बुल्लाह नेताहरूले ज्यान गुमाएका छन्। मारिनेमा उक्त समूहका नेता हसन नस्रल्लाह पनि पर्छन्।

इजरेली डिफेन्स फोर्सले गएको सेप्टेम्बरमा हिज्बुल्लाहमाथि ठूलो स्तरको आक्रमण गरेको थियो। त्यसक्रममा उसले हवाई हमलाहरू गरेको थियो भने दक्षिण लेबननमा फौजहरू पनि पठाएको थियो।

हिज्बुल्लाहले दक्षिण इजरेलमा गएको वर्षको अक्टोबर ७ मा हमला गर्ने प्यालेस्टिनी समूह हमासप्रति ऐक्यबद्धता जनाउँदै श्रृङ्खलाबद्ध रकेट हमला गरेपछि द्वन्द्व थप चर्किएको थियो।

हिज्बुल्लाह विरुद्धको लडाइँमा इजरेलले उक्त समूहको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका ६० हजार बासिन्दाको पुनर्स्थापनालाई आफ्नो घोषित नीति बनाएको छ।

लेबननमा उक्त द्वन्द्वले ३५ सय भन्दा बढी मानिसहरूको ज्यान गएको छ र १० लाख भन्दा धेरै आफ्ना घरबाट विस्थापित भएका छन्।

यसै हप्ताको प्रारम्भमा युद्धविरामको उपाय खोजी गर्ने प्रयासमा एक जना अमेरिकी मध्यस्थकर्ताले इजरेल र लेबनन दुवै देशको भ्रमण गरेका थिए।

आमोस होक्स्टिनले केही प्रगति हासिल भएको बताएपनि सार्वजनिक रूपमा कुनै पनि कुराको व्याख्या गरेका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।