एक भारतीय 'माताजी' को दुनियाँ भित्रको कथा

कालो कपाल, रातो र सुनौला पहिरनमा दाहिने हात उठाएकी राधे माँ
तस्बिरको क्याप्शन, भारतका विवादास्पद 'बाबा र माता' हरूको सूचीमा राधे माँ पनि एक हुन्
    • Author, दिव्या आर्य
    • Role, बीबीसी हिन्दी

उनी चमत्कार गर्न सक्ने दाबी गर्छिन् र उनका भक्तहरू उनी देवी नै भएको विश्वास गर्छन्। राधे माँ भारतका विवादास्पद र बढ्दो माताजी र बाबाहरूको जमातमा रहेकी केही महिलामध्ये एक हुन् र उनका अनुयायीहरूको सङ्ख्या विशाल छ। बीबीसीले यस्ता धर्मगुरुहरूको विश्वास र भयको दुनियाँको पर्दा उघार्न विशेष पहुँच पाएको छ।

लुई भुइटोँ र गुची जस्ता महँगा ब्रान्डेड झोला हातमा लिने, सुन र हीराका गहना लगाएर परम्परागत पहिरनमा सजिएका महिलाहरू उनको मध्य रातको दर्शनका लागि जम्मा हुँदै छन्।

उनलाई अन्य साधुसन्त जस्तो बिहान सबेरै उठ्न, साधारण कपडा पहिरिन या लामो प्रवचन दिन मन पर्दैन र उनी स्वयंलाई "चमत्कारी माता" भन्छिन्।

"साँचो के हो भने मानिसहरूले चमत्कारलाई महत्त्व दिने गर्छन्। नत्र त कसैले पनि पैसा दान गर्दैनन्। "

"उनीहरूको लागि चमत्कार हुन्छ, उनीहरूको काम बन्छ तब न उनीहरू दान दिन्छन्," राधे माँले मलाई बताइन्।

कसरी उनको आशीर्वादका कारण निःसन्तानका बच्चा भए, कसरी छोरी मात्रै जन्माउँदै आएका आमाहरूले छोरा जन्माउन सके, कसरी बिरामीहरूलाई उनले सञ्चो बनाइदिइन् र कसरी कसैको डुब्दै गरेको व्यापार व्यवसाय उनले बचाइदिइन् लगायतका कथाहरू सुनाउने गरिन्छ।

दिव्य शक्तिको दाबी राधे माँमा मात्र सीमित छैन। भारतमा तथाकथित 'साधुसन्त' हरूको भिड छ। तिनको सङ्ख्या कति छ भन्ने कसैले गणना नगरेको भए पनि त्यो हरेक वर्ष बढ्दै गएको जस्तो देखिन्छ।

ती मध्ये केहीविरुद्ध नराम्रो काम गरेको, भ्रष्टाचार गरेको र यौन हिंसा गरेको समेत आरोप लागेको छ। राधे माँमाथि पनि कालो जादु गरेको भारतमा प्राविधिक रूपमा गैरकानुनी रहेको दाइजो उपलब्ध गराउन सहयोग गरेको आरोप पनि लागेको छ। तर प्रहरीको अनुसन्धानपछि ती सबै मुद्दा अदालतमा खारेज गरिए।

तर हजारौँ भक्तजनहरू अझ पनि यस्ता बाबा र माताको दर्शन गर्न आउने गर्छन्।

सन् २०२४ मा यस्तै एक भिडभाडमा भागदौड मच्चिँदा १२० जना मानिसको ज्यान गएको थियो।

रातो र सुनौला पहिरनमा सजिएकी राधे माँ भक्तहरूको भिडमा
तस्बिरको क्याप्शन, राधे माँका कैयौँ भक्तहरू धनी व्यापारिक घरानाका छन्

अखिल भारतीय अन्धविश्वास निर्मूल समितिका प्रमुख रहेका प्रोफेसर श्याम मानव भन्छन् , "ज्यादा जसो भारतीय परिवारको विश्वास हुन्छ कि यस्ता दैवी शक्ति वा सिद्धि प्रार्थना, ध्यान र पूजाबाट प्राप्त गर्न सकिन्छ र त्यस्ता शक्ति प्राप्त व्यक्तिले चमत्कार गर्न सक्छन्।"

"यस्ता सिद्धि प्राप्त व्यक्तिलाई मानिसहरू बाबा या माता मान्छन्।"

राधे माँका भक्त को हुन्?

गरिब या अनपढ मानिसहरू यस्ता सोचबाट ज्यादा प्रभावित हुन्छन् भन्ने आम धारणा हुने गर्छ। तर राधे माँका कैयौँ भक्त धनी, पढे लेखेका र व्यापारिक घरानाका छन्।

मैले भेटेका पुष्पिन्दर भाटियाले अक्सफर्ड युनिभर्सिटीको सैद बिजनेस स्कूलमा पढेका हुन्। उनले 'एजुकेशन कन्सलटेन्सी' चलाउँछन्। उनी राधे माँको दर्शनका लागि बसेका महिलाको लाइनमा कुरिरहेका थिए। उनले मलाई भने - दैवी शक्तियुक्त मानव रूपको अनुयायी बनुँला भनेर उनले कहिल्यै सोचेका थिएनन्।

पुष्पिन्दरले बताए, "सुरुआतमा मनमा कैयौँ प्रश्न थिए, 'के भगवान् मानव रूपमा आउँछन्? के यो सत्य हो? के उनले यस्तो आशीर्वाद दिन्छिन् कि त्यसले तपाईँको जीवनै बदलिन्छ? यस्ता तथाकथित चमत्कार कसरी हुन्छन्?''

पुष्पिन्दर भाटिया राधे माँको सम्पर्कमा त्यस बखत आए जब उनको परिवार एक बडो दुःखद घटनासँग जुझिरहेको थियो।

केहीले त्यस्तो बखतमा उनी कमजोर थिए त्यसैले त्यस्तो लाग्यो भन्ने ठाने पनि उनलाई लाग्यो राधे माँले उनको साँच्चिकै रेखदेख गरिन्।

उनले भने, "मलाई लाग्छ पहिलो दर्शनमा नै उनको आभा मण्डलले मलाई आकर्षित गर्‍यो। मेरो विचारमा जब तपाईँ उनको मनुष्य रूपभन्दा अलग्गै उनलाई हेर्नुहुन्छ तब तत्काल उनीसँग जोडिएको महसुस गर्नुहुन्छ।"

पुष्पिन्दर भाटिया
तस्बिरको क्याप्शन, अक्सफर्ड युनिभर्सिटी सैद बिजनेश स्कूल पढेका पुष्पिन्दर भाटियाले बीबीसीसँग आफू "राधे माँको आभा मण्डल" बाट आकर्षित भएको बताए

रातो र सुनौला कोठामा भएको दर्शन

राधे माँको दर्शनका लागि भक्तहरू लालायित रहन्छन्। मैले दिल्लीको एक घरमा त्यस्तै दर्शनको मौकामा प्रत्यक्षदर्शी बन्ने मौका पाएँ।

त्यहाँ आएका सयौँ भक्तमध्ये ठूला व्यापारी र एकजना वरिष्ठ प्रहरी अधिकारीका परिवार पनि थिए जो उनको दर्शनका लागि हवाई यात्रा गरेर आइपुगेका थिए।

म त्यहाँ पत्रकारको रूपमा दृश्यहरू हेर्न गएकी थिएँ। तर मलाई सबभन्दा पहिले उनको आशिर्वाद लिन भनियो। म उनको दर्शन पाउने लाइनको सबभन्दा अगाडि राखिएँ। त्यसपछि मलाई कसरी प्रार्थना गर्नुपर्छ भनेर सिकाइयो। अनि प्रार्थना सही रूपमा नगरे मेरो परिवारमाथि कति विपद् पर्न सक्छ भन्ने चेतावनी दिइयो।

राधे माँ लाई मन पर्ने रातो र सुनौलो रङमा सजाइएको उक्त कोठामा सबै कुरा उनको आँखाको इशारामा भइरहेको जस्तो लाग्थ्यो।

उनी एक पलमा खुसी हुन्थिन् भने तत्कालै आक्रोशित पनि … र त्यो आक्रोश कसरी हो उनको भक्तमा सर्थ्यो र उनी बेहोशीको अवस्थामा पुग्थे। पूरा कोठा शान्त हुन पुग्यो जब ती भक्त भुइँमा लडिबुडी गर्न थालिन्।

तर केही छिनपछि राधे माँका भक्तहरूले राधे माँसँग आक्रोश छोडेर माफ गरिदिन आग्रह गरे। एउटा लोकप्रिय बलिवुडको गीत बजाइयो। राधे माँ नाच्न थालिन् र जुन अब सबकुरा सामान्य भयो भन्ने संकेत थियो।

भक्तहरूको लाइन फेरि अगाडि बढ्न थाल्यो।

सुनौलो र रातो रङले सजाइएको शयनकक्ष
तस्बिरको क्याप्शन, भक्तहरूलाई राधे माँको दर्शन उनलाई मन पर्ने रातो र सुनौलो रङको कोठामा मिल्ने गर्छ

उनी 'माताजी' कसरी बनिन्

राधे माँ पन्जाबको गुरुदासपुर जिल्लाको एउटा सानो गाउँको मध्यम-वर्गीय परिवारमा जन्मिइन्। उनका आमा बाबाले उनको नाम सुखविन्दर कौर राखे।

उनले गुरुबाट पाएको मन्त्रको बलमा दैवी शक्ति प्राप्त गरेको दाबी गरिन्।

सुखविन्दर कौरकी बहिनी रजिन्दर कौरले मलाई बताइन्, "बच्चाहरूले भन्छन् नि म पाइलट बन्छु वा डाक्टर बन्छु। राधे माँ सानो हुँदा सोध्ने गर्थिन्: म को हुँ? त्यसैले पिताजीले उनलाई एक जाने मानेका गुरुकहाँ लग्नुभयो। ती गुरुले भने कि उनी भगवतीकी स्वरूप हुन्।"

रजिन्दर कौरले अहिले राधे माँको नाममा बनेको एक कोठे मन्दिर व्यवस्थापन गर्छिन् जुन सुखविन्दरका पति मोहन सिंहले विदेशमा कमाइ गरेर बनाइदिएका थिए।

बीस वर्षको उमेरमा उनको बिहे मोहन सिंहसँग भयो र उनी मुकेरियाँ सहरमा बस्न थालिन्। उनका पति कमाउनका लागि विदेश गए।

रजिन्दर कौर भन्छिन्, "हामी उनलाई 'ड्याडी' भन्छौँ। उनी माँ हुन् त उनी हाम्रा पिता भए।"

जब राधे माँका पति विदेशमा थिए उनी आफ्ना दुवै छोरालाई आफ्नी बहिनीसँग छोडेर आफू भक्तहरूको घरमा बस्न थालिन्। उनका ज्यादा जसो भक्त व्यापारी थिए।

एक सहरदेखि दोस्रो सहर हुँदै उनी भारतको व्यापारिक राजधानी मुम्बई पुगिन्। त्यहाँ उनी एक दशकभन्दा बढी एक व्यापारी परिवारसँग बसिन्। र अन्ततः आफ्नो परिवारमा फर्किइन्।

जस जसको घरमा राधे माँ बसिन् उनीहरू ठान्छन् देवी माँको चरण परेका कारण उनीहरूको घरमा समृद्धि आयो। उनीहरू अहिले सबभन्दा ठूला भक्त हुन् उनका।

'देवीको' सांसारिक दुनिया

राधे माँको दुनियाँ अनौठो छ। यसमा दिव्यताको साथमा सांसारिक चिजबिज र नाता सम्बन्धको जालो पनि छ।

उनी आफ्ना व्यापारी छोराहरूले बनाएको ठूलो महलमा बस्छिन्। छोराहरूको बिहे ठूला व्यापारिक घरानासँग भएको छ।

बाँकी परिवारबाट अलगै राधे माँ हवेलीको एक अलग तलामा बस्छिन्। कसैलाई दर्शन दिन परेमा वा कुनै सार्वजनिक कार्यक्रममा भाग लिन हवाई जहाजबाट दोस्रो सहर जान परे मात्र उनी घरबाट बाहिर निस्कन्छिन्।

माथिबाट देखिएको सुनौलो संरचनायुक्त राधे माँ मन्दिर
तस्बिरको क्याप्शन, राधे माँको नामको मन्दिर उनका श्रीमान् मोहन सिंहले बनाइदिएका छन्

राधे माँका सबै सार्वजनिक कार्यक्रम उनकी ठूली बुहारी मेघा सिंह व्यवस्थापन गर्छिन्।

मेघा भन्छिन्, "पहिलो त उहाँ हामीसँग बस्नुहुन्न। हामीमाथि उहाँको कृपा छ र हामी उहाँको शरणमा छौँ। दोस्रो, उहाँले हामीलाई परिवार होइन भक्तका रूपमा लिनुहुन्छ। "

राधे माँ को नाममा आउने दानको हिसाब-किताब उनको परिवारका मानिस र नजिकका भक्तहरूले राख्छन्।

मेघा भन्छिन्, "राधे माँको दिशा-निर्देश अनुसार बनेको एक सोसाइटी भक्तहरूले चलाउँछन्। त्यसमा जरुरत परेकाहरूले आवेदन दिन्छन्। उनीहरूको जरुरतबारे जाँच पडतालपछि उनीहरूलाई मद्दत गरिन्छ वा उपहार दिइन्छ। राधे माँ आफै भने सब सांसारिक चिजहरूबाट टाढा छिन्। "

तर राधे माँ लाई तडक-भडक वाला कपडा र गहना मन पर्छ।

बीबीसीसँगको कुराकानीमा राधे माँले भनिन्, "म राम्रा कपडा र रातो लिपस्टिक लगाउन मन पराउँछु जुन हरेक विवाहित महिलाले गर्नुपर्छ। मलाई मेक अप गर्न भने मन पर्दैन।" तर उनी मेकअपमा नै भेटिन्छिन्।

मेघा भन्छिन्, "तपाईँ सधैँ भगवानको मूर्तिका लागि सबभन्दा सुन्दर भेसभुसा किन्नुहुन्छ। तब जिउँदो देवीलाई किन त्यसो नगर्ने? हामीसँग एक देवी हुनुहुन्छ, हामी भाग्यमानी हौँ ।"

सन् २०२० मा राधे माँ आफ्नो उही रातो पहिरन र हातमा त्रिशूलसहित रियालिटी टीवी शो बिग बोसका सहभागीहरूका घरलाई आशीर्वाद दिन आइन्। त्यसबेला पनि उनलाई चिनाउने रातो पहिरन र सुनौलो रङको त्रिशूल लिएर आएकी थिइन्।

उनको आजको रूप उनको पुरानो रूपभन्दा असाध्यै फरक छ। मैले पन्जाब गएर उनका भक्तहरूसँग भेट्दा उनीहरूले मलाई उनको पुरानो तस्बिरहरू देखाए।

पन्जाबकी सन्तोष कुमारीले आफ्नो घरको मन्दिरमा भगवान् शिव र पार्वतीको तस्बिरसँगै राधे माँको तस्बिर पनि राखेकी छन्।

उनले मलाई बताइन् - उनका पतिलाई हृदयाघात भएर अस्पताल भर्ना भएका बेला उनी राधे माँसँग आशीर्वाद लिन गइन्।

सन्तोष कुमारीले भनिन्, "देवी माँकै कारण म आज पनि सधवा छु। देवी माँको मुखबाट त्यसबेला रगत आयो। त्यही रगत मेरो सिउँदोमा लगाइदिँदै माँले भन्नुभयो - केही नराम्रो हुने छैन तिम्रो श्रीमानलाई सञ्चो हुन्छ।"

मलाई आश्चर्य लाग्यो उनका कैयौँ भक्तहरूले राधे माँको दैवी शक्तिका कारण कैयौँ पटकउनको जिब्रोमा रगत देखिने गरेको विश्वास गर्छन्।

श्री राधे माँ च्यारिटेबल सोसाइटीले हरेक महिना सन्तोष कुमारीसमेत करीब पाँच सय महिलालाई एकदेखि दुई हजार रुपैयाँ पेन्सन दिने गर्छ। यस्तो पेन्सन पाउने ज्यादाजसो विधवा या एकल महिला छन्।

पेन्सन पाउने गरेका यी भक्तहरूले चमत्कारका कैयौँ कथा भने। तर उनीहरूमा भयको मात्रा पनि थियो।

एकजना महिलाले देखाएको राधे माँको पुरानो तस्बिर
तस्बिरको क्याप्शन, केही भक्तहरूले आफ्नो घरको पूजाकोठीमा राधे माँको तस्बिर राखेका छन्

भय

सुरजीत कौरले भनिन्, "हामी उनको बारेमा केही भन्न सक्दैनौँ किनभने त्यसले हामीलाई नराम्रो गर्न सक्छ। मैले दियो नबाल्ने हो भने मलाई नोक्सान हुने गर्छ, म बिरामी पर्छु।"

कौर राधे माँको दैवी शक्तिबारे यति आश्वस्त छन् कि माँको नाममा हरेक दिन तस्बिर अगाडि बत्ती बाल्छिन्।

प्रोफेसर मानव भक्तहरूमा देवी माँको आशीर्वाद हराउला भन्ने त्रास रहने बताउँछन्।

उनी भन्छन्, "ल अफ प्रोबेबिलिटी अनुसार केही भविष्यवाणी सत्य हुन्छन्, त्यसको श्रेय बाबाहरूले पाउँछन्। तर जुन सत्य हुँदैनन् त्यसो नहुनुको दोष बाबासम्म पुग्दैन। भक्तहरू आफैमाथि दोष दिन थाल्छन्। हाम्रै भक्तिमा केही कमी हुन पुग्यो या मेरो भाग्य नै यस्तो हो भन्दै भक्तहरूले आफैलाई दोष दिन थाल्छन्।"

राधे माँको सार्वजनिक कार्यक्रममा आएकाहरूमध्ये उनको चमत्कारको दाबीमाथि अविश्वास गर्नेहरू पनि मैले कैयौँ भेटेँ।

दिल्लीको एक कार्यक्रममा भेटिएकी एक महिलाले यी दाबीलाई "काल्पनिक" भनिन्।

दोस्री महिलाले पनि कुनै चमत्कार आफ्नो आँखाले नदेखेको बताइन्। मेकअप गर्दैमा र महँगो कपडा पहिरिँदैमा कोही व्यक्ति भगवान् बन्दैन।

र पनि यिनीहरू राधे माँको कार्यक्रममा आएका थिए। रियालिटी टीवी शोमा हेरेपछि खासमा राधे माँ कस्ती रहीछन् भनेर हेर्न मन लागेर आएको उनीहरूले बताए।

यो अनुसन्धानका क्रममा मैले त्यस्ता मान्छे पनि भेटेँ जो कुनै बेला राधे माँका भक्त थिए। उनीहरूले राधे माँको चमत्कार या आशीर्वादले काम नगरेको बरु उल्टै नोक्सान भएको आरोप लगाए। तर उनीहरूमध्ये कसैले पनि आफ्नो परिचय खुलाउन चाहेनन्।

उनीहरूसँग कुराकानीपछि उनका भक्तबारे तथा उनको दैवी शक्तिमाथि उनीहरूको विश्वास र उनीहरूले गर्न चाहेको सेवाका बारे मेरो जिज्ञासा थप बढ्यो।

राधे माँको तस्बिर अगाडि तस्बिर खिचाउँदै राधे माँका दुई छोरा र बुहारीहरू
तस्बिरको क्याप्शन, राधे माँ उनका छोरा र बुहारीसहित एक विशाल भवनमा बस्छिन्

अन्धविश्वास कि आस्था

एक साँझ राधे माँले आफ्नो कोठाको जमिनमा बसेका आफ्ना सबभन्दा नजिकका भक्तसँग जनावरहरूको आवाज निकाल्न भनिन् र उनीहरूले माने त्यो देखेर म स्तब्ध भएँ।

राधे माँले उनीहरूलाई कुकुर र बाँदरको जस्तो व्यवहार गर्न भनिन्। उनीहरू आज्ञा पालन गरेर भुक्न र चिच्याउन थाले र कन्याएको अभिनय गर्न थाले।

मैले यस्तो कहिल्यै देखेकी थिइनँ।

राधे माँ की बुहारी मेघा सिंह पनि त्यही कोठामा थिइन्। मैले उनलाई भक्तहरूको त्यस्तो व्यवहारबारे प्रश्न गरेँ।

उनले कत्ति पनि आश्चर्य मानिनन् ।

उनका अनुसार राधे माँ पछिल्लो तीन दशकदेखि दर्शन दिनुबाहेक अरू समय आफ्नो कोठाभित्रै रहन्छिन्।

मेघाले भनिन्, "त्यसैले उनीसँग मनोरञ्जनको यो एक मात्र उपाय छ। हामी ठट्टा गरेर या चुट्किला सुनाएर उनी मुस्कुराऊन् भन्ने चाहन्छौँ। "

यो जबाफले मलाई त्यो चेतावनी सम्झना गरायो जुन मलाई बारम्बार दिइएको थियो - भक्तहरूले पूरा श्रद्धा राख्न जरूरी छ।

जस्तो कि, जब मैले पुष्पिन्दर सिंहसँग सोधेँ - राधे माँ आफ्ना भक्तहरूसँग के माग्छिन्?

उनले भने, " केही पनि माग्दिनन्। उनी भन्छिन्, 'जब मसँग आउँछौ त दिल र दिमाग खोलेर आऊ' । मैले देखेकी पनि छु कि मानिसहरू नयाँ हुन् या पुराना उनीहरूका लागि राधे माँ ले चमत्कार गर्नुहुन्छ। यदि तपाईँ उनको परीक्षा लिन आउनु हुन्छ भने तपाईँ त्यो सङ्गतमा जोडिनु हुन्न। "

उनीहरूले मलाई भनेको के हो भने आस्थाले तर्कसहित सबै कुराको समर्पण माग्छ।

प्रोफेसर मानवका अनुसार सवाल नगरीकनै पूर्ण श्रद्धा राख्नु नै 'अन्धविश्वास' हो।

उनले भने, "जसले आफ्नो गुरुमाथि अडिग श्रद्धा राख्छ उसैलाई ज्ञान प्राप्त हुन्छ भनेर हामीलाई भन्ने गरिन्छ । जो शङ्का गर्छ वा जाँच्ने कोसिस गर्छ उसले आफ्नो आस्था गुमाउँछ। "

अन्धविश्वास भनौँ वा आस्था, राधे माँलाई यकिन छ: उनका भक्त उनको पक्षमा रहने छन्। जसलाई उनको चमत्कारमाथि यकिन छैन या उनलाई ढोँगी मान्छन् राधे माँलाई त्यसको कुनै फिक्री छैन।

राधे माँ मुस्कुराउँदै भन्छिन्, "आई डोन्ट केयर।"

"किनकि भगवानले माथिबाट हेरिरहनु भएको छ र मेरो रक्षा गरिरहनु भएको छ।"