म राजा भएपछि राजतन्त्रमा परिवर्तन गर्छु: राजकुमार विलियम

यूजीन लेवी र राजकुमार विलियम पार्कमा हिँडिरहेका छन् र विलियम हाँसिरहेका छन्

तस्बिर स्रोत, AppleTV+/PA

तस्बिरको क्याप्शन, राजकुमार विलियम र अभिनेता यूजीन लेवी
    • Author, ड्यानिएला रेल्फ
    • Role, वरिष्ठ राजपरिवार संवाददाता

ब्रिटेनका प्रिन्स अफ वेल्सले आफू राजा बनेपछि राजतन्त्रमा परिवर्तन ल्याउने एउटा अन्तर्वार्ताका क्रममा बताएका छन्, दरबार स्रोतका अनुसार राजकुमार विलियमको यो अहिलेसम्मकै खुला कुराकानी भनिएको छ।

द एपल टीभी प्लस शो द रिलक्टन्ट ट्राभलरका लागि राजकुमार विलियम अभिनेता यूजीन लेवीसँग कुराकानी गरिरहेका थिए।

अन्तरवार्तामा अभिनेताले राजकुमार विलियमलाई राजाको रूपमा उनको भावी भूमिकाबारे प्रश्न सोधेका थिए।

"मेरो विचारमा परिवर्तन मेरो अजेन्डामध्ये एक हो भन्नु सुरक्षित नै हुन्छ होला," उनले भने। "राम्रोका लागि परिवर्तन र म त्यसलाई स्वीकार गर्छु। म परिवर्तनमा खुशी हुन्छु। मलाई त्यसबारे डर लाग्दैन। केही परिवर्तन गर्न सक्छु भन्ने विचारले मलाई उत्साही बनाउँछ। धेरै क्रान्तिकारी परिवर्तन होइन, तर मलाई आवश्यक छ भन्ने लागेको परिवर्तन।"

उनीहरू नजिकैको पबमा गएर गिनिस र स्वीट साइडर पिएका थिए

तस्बिर स्रोत, AppleTV+/PA

राजकुमारले अभिनेतालाई विन्डसर क्यासलका भव्य कक्ष घुमाए

राजकुमार विलियमले विन्डसर क्यासलको चउरमा आफूले इलेक्ट्रिक स्कूटर चलाउने गरेको बताए

तस्बिर स्रोत, AppleTV+/PA

विलियम एउटा इलेक्ट्रिक स्कूटर चढेर अभिनेतालाई भेट्न आइपुगेका थिए। जुन उनले क्यासलको चउरमा पनि चलाउने गरेका बताएका थिए।

विलियमले आफू अमेरिकन पाइ सिरिज अफ फिल्मको प्रशंसक रहेको बताए - यी यौन पनि समेटिएका युवावस्थाका फिल्महरू थिए जसमा लेवीले लामो समयदेखि पीडित बाबुको भूमिका निर्वाह गरेका थिए।

क्यासलका केही भव्य कक्षहरू घुमाउँदा प्रिन्स विलियमले आफ्नो परिवारको इतिहासबारे पनि कुराकानी गरेका थिए।

"यदि तपाईँ सावधान हुनुहुन्न भने इतिहास तपाईँका लागि बोझ बन्न सक्छ। तपाईँ त्यसबाट उकुसमुकुस हुन सक्नुहुन्छ र त्यसबाट निकै कुरामा प्रतिबन्धित जस्तो पनि।"

"र मलाई लाग्छ वर्तमानमा जिउनु महत्त्वपूर्ण छ।"

प्रिन्स विलियमले परम्पराको महत्त्वमा जोड दिए, तर राजतन्त्रलाई सान्दर्भिक बनाइराख्न आफूलाई प्रश्न सोध्न डर नलाग्ने बताए।

"कैयौँ पटक यस्तो हुन्छ कि कैयौँ परम्परा आज पनि उपयुक्त छन् र? के त्यो अहिले पनि गर्नु सही हुन्छ? के अहिले हामी अत्यन्त प्रभाव पार्ने काम जुन हुनुपर्थ्यो त्यो गरिरहेका छौँ त?"

"त्यसैले म प्रश्न गर्न चाहन्छु र त्यो मैले गरिरहेको छु।"

वार्ता गर्दै राजकुमार र अभिनेता क्यासल वरिपरि पारिवारिक कुकुर ओर्लासँगै हिँड्छन्।

पिता र पत्नीको रोगको कुरा

राजकुमार विलियमले यस अघि पनि आफ्नी पत्नीको रोगले दिएको तनावबारे बोलेका थिए

तस्बिर स्रोत, Press Association

उनीहरू परिवार, बच्चा, मिडियाको हस्तक्षेप र फुटबल क्लब एस्टन भिलाको प्रशंसक भएको बारे कुराकानी गर्छन्।

उनका पिता र पत्नीले क्यान्सरसँग जुझ्नुपरेको बारे पनि उनीहरूको वार्तालापमा बारम्बार कुरा हुन्छ।

"परिवारसँग जोडिएको कुराले कहिलेकाहीँ मलाई निकै गाह्रो हुन्छ। परिवारका बारेको चिन्ता र तनावले मलाई निकै घेर्छ।"

राजकुमारले अभिनेतालाई विन्डसर क्यासल नजिकै रहेको टु ब्रुअर्स पबमा लग्छन्।

लेवीले एक पाइन्ट गिनिस अर्डर गर्छन् र राजकुमार विलियमले स्वीट साइडरको एक पाइन्ट।

यो अनौपचारिक वातावरणमा राजकुमार अत्यन्त सहज देखिन्छन् र खास गरी आफ्नो परिवारबारेको कुराकानी र कसरी आफ्नी श्रीमती बिरामी पर्दा आफ्ना बच्चाले परिस्थिति सामना गरे भन्ने बारेको कुराकानीमा।

उनले लेवीलाई भने "हामी उनीहरूलाई आवश्यक पर्ने सुरक्षा र र सहजता सुनिश्चित गर्न प्रयत्न गर्छौँ।"

"हामी असाध्यै खुला परिवार छौँ जे ले हामीलाई समस्या दिएको छ त्यसबारे हामी कुरा गर्छौँ, तर त्यसको कालान्तरमा कस्तो प्रभाव पर्ला हामीलाई थाहा छैन।"

"त्यसैले एक अर्काका लागि उपस्थित रहनु र बालबच्चालाई सबैकुरा ठीक छ भनेर सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ।"

राजकुमार विलियमव यूजीन लेवीसँग कुरा गर्दै

तस्बिर स्रोत, AppleTV+/PA

तस्बिरको क्याप्शन, राजकुमार विलियमलाई उनका बच्चाहरूबारे र उनी कस्ता राजा बन्न चाहन्छन् भन्नेबारे सोधिएको थियो

आफ्नो हुर्काइबारे विलियमले के भने

अन्तर्वार्ताले राजकुमार ह्यारीसँगको सम्बन्धबारे छोएको छैन।

तर राजकुमार विलियमलाई राजपरिवारमा उनको हुर्काइ र उनका बाबुआमाप्रति मिडियाको कडा निगरानीको सामनाबारे सोधिएको प्रश्नमा उनले आफ्नो भाइबारे पनि बोलेका छन्।

"म र ह्यारी हुर्किरहेका बेलाको जस्तो अवस्था नहोस् भन्ने आशा गर्छु। र त्यो अवस्था आइनलागोस् भनेर मैले सकेजति सुनिश्चित गर्न प्रयत्न गर्छु।"

पत्नी र पिताप्रति गर्व

राजकुमार विलियम, राजकुमार जोर्ज, क्याथरिन - प्रिन्सेस अफ वेल्स, राजकुमार लुइस र राजकुमारी श्यार्लट एक समारोहमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजकुमार विलियम, राजकुमार जोर्ज, क्याथरिन - प्रिन्सेस अफ वेल्स, राजकुमार लुइस र राजकुमारी श्यार्लट एक समारोहमा

बीबीसीसँग बोल्दै लेवीले राजकुमारको स्पष्टवादिताबाट आफू आश्चर्यचकित भएको बताए।

"मेरा लागि त्यो केवल एक कुराकानी थियो। मैले मेरो दिमागमा कुनै स्कूप वा विशेष कुराकानी गर्दै छु भन्ने राखेको थिइनँ," उनले भने।

"उनी मसँग आफ्ना विचारहरू प्रकट गरिरहेका थिए र हामी एक अर्कासँग कुराकानी गरिरहेका थियौँ। मेरालागि त्यो अद्भुत दिन थियो।"

राजकुमार र अभिनेताले आफ्नो पाइन्ट र दिन बीट मार्दै गर्दा राजकुमारले भने - उनले यस्तो संसार बनाउन चाहन्छन् जसमाथि उनका छोराले गर्व गर्ने छन्।

"तपाईँलाई थाहा छ जीवन हामीलाई परीक्षा लिनका लागि पठाइएको हो र त्यो निश्चित रूपमा कुनै कुनै बेला चुनौतीपूर्ण हुन्छ।"

"म मेरा पिता र श्रीमतीले कसरी सम्पूर्ण गत वर्ष कसरी सम्हाले भन्ने प्रति असाध्यै गर्व गर्छु। मेरा बच्चाहरूले पनि असाध्यै राम्रोसँग परिस्थितिको सामना गरे।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।