ब्रिटिश राजकुमारी केटले पारिवारिक तस्बिर सम्पादन गरेको स्वीकार गरिन्

तस्बिर स्रोत, PRINCE OF WALES
- Author, टमस म्याकिन्टोश
- Role, बीबीसी न्यूज
प्रिन्सेस अफ वेल्सले केन्सिङ्टन प्यालेसले आइतवार जारी गरेको एउटा पारिवारिक तस्बिर सम्पादन गरेको स्वीकारेकी छन्।
एक सोसल मिडिया पोस्टमा उनले कैयौँ फोटोग्राफरहरूलेझैँ बेलाबखत आफूले समेत तस्बिर सम्पादनको अभ्यास गर्ने गरेको बताइन्।
उनले उक्त पारिवारिक तस्बिरले सिर्जना गरेका द्विविधाप्रति क्षमा याचना गरेकी छन्।
उक्त तस्बिर उनका पति प्रिन्स विलियमले लिएका थिए, जसमा प्रिन्सेस अफ वेल्ससहित उनीहरूका तीन जना सन्तान देखिन्छन्।
यसअघि के भएको थियो?
यसअघि पाँचवटा प्रसिद्ध फोटो समाचार एजेन्सीहरूले आफूहरूले सेवाग्राहीहरूका लागि उपलब्ध गराएको प्रिन्सेस अफ वेल्सको पारिवारिक तस्बिर फिर्ता लिएका थिए।
तिनमा ‘केही तलमाथि गरिएको’ हुनसक्ने आशङ्का व्यक्त भइरहँदा तस्बिर फिर्ता गरिएका थिए।
प्रिन्स विलियमले खिचेका भनिएको र उनको कार्यालय केन्सिङ्टन प्यालेसले ब्रिटेनको मातृ दिवस 'मदर्स डे' का अवसरमा जारी गरेको उक्त तस्बिरमा केट मिडल्टनका नामले परिचित प्रिन्सेस अफ वेल्स क्याथरिन र उनका तीनजना सन्तान देखिन्छन्।
सबैभन्दा पहिले उक्त तस्बिर फिर्ता लिइएको सूचना समाचार एजेन्सी असोसिएटेड प्रेसले जारी गरेको थियो।
एजेन्सीले उक्त तस्बिरले आफ्नो स्थापित फोटो मापदण्ड ‘पालना नगरेको’ जनाइएको छ।
उक्त एजेन्सीले केन्सिङ्टन प्यालेसले उपलब्ध गराएको तस्बिरमा आमासँग बसेकी केटकी छोरी ‘राजकुमारी शार्लटको देब्रे हातको समन्वयमा अनियमितता’ देखिएको जनाएको थियो।
उक्त तस्बिरमा प्रिन्सेस केट मेचमा बसेको र उनको वरिपरी प्रिन्सेस शार्लट, प्रिन्स लुई र प्रिन्स जोर्ज छन्। प्रिन्स जोर्जले आफ्नी आमालाई अँगालो हालेका छन्।
प्रयोगसम्बन्धी निर्देशिकासहित पठाइएको तस्बिर

तस्बिर स्रोत, PRINCE OF WALES
दुई महिनाअघि पेटको शल्यक्रिया गराएपछिको यो प्रिन्सेस अफ वेल्सको पहिलो औपचारिक तस्बिर हो। पेटको शल्यक्रियापछि उनी सार्वजनिक जीवनबाट टाढा रहँदै आएकी थिइन्।
उक्त तस्बिर प्रिन्स र प्रिन्सेस अफ वेल्सको सोशल मिडिया अकाउन्टहरूबाट सार्वजनिक गरिएको थियो र तस्बिरसँगै क्याथरिनको सन्देश पनि थियो : “गत दुई महिनादेखि मलाई प्राप्त भइरहेको तपाईँहरूको शुभेच्छा र निरन्तरको साथका लागि धेरै धन्यवाद छ।”
“सबैलाई मदर्स डे को शुभकामना।”
ती शाही दम्पतीले विशेष पारिवारिक अवसरहरूमा आफ्ना तस्बिरहरू नियमितजसो सार्वजनिक गर्ने गरेका छन्।
त्यस्ता तस्बिर धेरैजसो क्याथरिनले नै खिचेको हुने गर्छन् र ती तस्बिरहरूको प्रयोगसम्बन्धी निर्देशिकासहित तिनलाई सञ्चार माध्यमहरूमा पठाइने गरिन्छ।
मदर्स डेको ब्रिटिश राजपरिवारको उक्त तस्बिरलाई ब्रिटेनका कैँ राष्ट्रिय समाचारपत्रहरू र बीबीसी न्यूज लगायतका वेबसाइटहरूले पहिलो पृष्ठमा स्थान दिएका थिए।
त्यसैगरी बीबीसी लगायतका टेलिभिजन च्यानलहरूले पनि समाचार बुलेटिनहरूमा त्यसको प्रयोग गरेका थिए।
फिर्ताको क्रम
तर आइतबार अबेरतिर उक्त फोटो सेवाग्राहीहरूलाई उपलब्ध गराएका थुप्रै अन्तर्राष्ट्रिय एजेन्सीहरूमध्येको एक असोसिएटेड प्रेसले “किल नोटिफिकेशन” निर्देशन जारी गरेको थियो।
सञ्चार जगत्को दैनिक व्यवहारमा त्यस्तो सूचनाको अर्थ 'उक्त तस्बिर प्रयोग नगर्नू र तत्काल फिर्ता लिनू' भन्ने हो।
एपीको सूचनामा भनिएको छ, “उक्त तस्बिरलाई नजिकबाट परीक्षण गरी हेर्दा उक्त तस्बिर उपलब्ध गराउने स्रोतले त्यसमा केही तलमाथि गरेको हो कि जस्तो देखिन्छ। सो तस्बिरको बदलामा अर्को तस्बिर पठाइने छैन।”
दोस्रो समाचार एजेन्सी रोएटर्सले पनि “तस्बिर प्रकाशित भइसकेपछि गरिएको समीक्षापछि” उक्त तस्बिर आफूले फिर्ता लिएको जनाएको छ।
त्यसपछि तेस्रो समाचार एजेन्सी एएफपीले पनि तस्बिर फिर्ता लिइएको बताउँदै “अनिवार्य किल नोटिस” वा उक्त तस्बिर प्रयोग गर्नै नहुने व्यहोराको सूचना जारी गरेको थियो।
तस्बिर फिर्ता लिइएको जनाउने चौथो एजेन्सी गेटी इमेजेज् रह्यो।
यूकेको सबैभन्दा ठूलो समाचार एजेन्सी पीए मिडियाले समेत सो तस्बिर आफ्ना सेवाग्राहीहरूबाट फिर्ता लिएको जनाएको छ। यही संस्थामार्फत राजपरिवारले नियमित रूपमा आफ्ना आधिकारिक सूचनाहरू बीबीसी लगायतका संस्थाहरूलाई जारी गर्छ।
त्यसअघि उक्त एजेन्सीका एक प्रवक्ताले उक्त तस्बिरमा तलमाथि गरिएको भन्ने विषयमा उत्पन्न चिन्ताहरूका सम्बन्धमा केन्सिङ्टन प्यालेसबाट शीघ्र स्पष्टीकरण खोजेको बताएका थिए।
धेरैजसो समाचार संस्थाहरूले केही परिवर्तन गरिएका तस्बिरहरूको प्रयोगका सम्बन्धमा आआफ्ना कडा निर्देशिकाहरूको पालना गर्ने गर्छन्।
त्यस्ता प्राविधिक रूपमा तलमाथि गरिएका तस्बिरहरूको प्रयोग गर्दा मूल तस्बिरहरूमा केकस्ता परिवर्तन सहित नयाँ तस्बिर प्रस्तुत गरिएको हो भन्ने जानकारी पनि सँगै दिने गरिन्छ।
त्यसै कारण एपीजस्ता समाचार एजेन्सीहरूले आफ्ना सेवाग्राहीहरूसमक्ष आफूले वितरण गर्ने वा उपलब्ध गराउने तस्बिरहरू असली हुने र तिनमा डिजिटल प्रविधिको प्रयोगले परिवर्तन गरिएको हुँदैन भनेर प्रतिबद्धता व्यक्त गरेका हुन्छन्।
एपीको मापदण्डअनुसार विशेष परिस्थितिमा मात्रै तस्बिरहरूमा केही तलमाथि पार्न पाइन्छ, त्यो पनि क्यामराको सेन्सरमा रहेको हुन सक्ने धुलो हटाउनेजस्ता अवस्थामा मात्र।
सामाजिक सञ्जालमा चर्चा
बयालीस वर्षीया क्याथरिनले पेटको शल्यक्रियापछि लन्डनको रिजेन्ट्स पार्कनजिकै अवस्थित चिकित्सालय, लन्डन क्लिनिकमा १३ रातसम्म बस्नुपरेको थियो।
उनी त्यहाँ हुँदा उनका श्रीमान् प्रिन्स विलियम भेट्न गएका थिए भने राजा चार्ल्सले पनि त्यही स्थानमा उनको उपचार हुनुअघि क्याथरिनसँग भेट गरेका थिए।
सामाजिक सञ्जालहरूमा निकै अनुमान, चर्चा र बहसको विषय बनिरहेको उनको स्वास्थ्य अवस्थाका बारे निकै थोरै जानकारी मात्र राजदरबारले सार्वजनिक गरेको छ।
राजदरबारले उनको स्वास्थ्य अवस्था क्यान्सरसँग सम्बन्धित नभएको जनाएको छ।
लन्डन क्लिनिकमा रहँदा आफ्नो निजी स्वास्थ्य जानकारीहरू निजी नै रहनुपर्ने प्रिन्सेस अफ वेल्सको चाहना रहेको राजदरबारले बताएको थियो। साथै उनले आफ्ना “बच्चाहरूका लागि सम्भव भएसम्म सामान्य अवस्था कायम राख्न चाहेको” पनि बताइएको थियो।
राजदरबारले राजकुमारीको स्वास्थ्य उपचारका सम्बन्धमा उल्लेखनीय जानकारी उपलब्ध भएमा मात्र त्यसलाई सार्वजनिक गरिने पनि बताएको छ।
आइतबार बिहानसम्म प्रिन्सेस अफ वेल्स र उनका बच्चाहरूको नयाँ तस्बिरले सार्वजनिक जीवनमा उनी नदेखिँदा उत्पन्न विभिन्न अनुमान र अड्कलबाजीहरूलाई केही हदसम्म सम्बोधन गर्ने ठानिएको थियो।
तर त्यो तस्बिर सार्वजनिक भएको केही घण्टाभित्रै प्रिन्सेस शार्लटको देब्रे हात र प्रिन्स लुईको हातको औँलाहरूको जूम गरिएका तस्बिरहरूले सामाजिक सञ्जाल भरिभराउ हुन पुगेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




