यूकेः चार्ल्स तृतीय कस्ता राजा बन्लान्?

चार्ल्स

तस्बिर स्रोत, Getty Images

    • Author, सीन कोग्लन
    • Role, शाही संवाददाता
1px transparent line

ब्रिटिश इतिहासकै सबैभन्दा लामो समय राजगद्दीको उत्तराधिकारी भई सेवा गरेका राजकुमार चार्ल्स नयाँ राजा बनेका छन्। सत्तरी वर्षसम्म पाएको उत्तराधिकारीको प्रशिक्षणले उनलाई शासन गर्न सम्पूर्ण रूपमा तयार र सबैभन्दा पाको उमेरका नयाँ राजा बनाएको छ।

त्रिहत्तर वर्षीय राजा चार्ल्स तृतीय आफ्नी आमाको शासनकालमा उनीसँगै थिए। उनले विश्वनेताका कैयौँ पुस्ता आएको र गएको देखेका छन्। तीमध्ये यूकेका १५ प्रधानमन्त्री र अमेरिकाका १४ राष्ट्रपति पर्छन्।

महारानी एलिजाबेथ द्वितीयाको विशिष्ट र युग परिभाषित गर्ने शासनपछि हामी कस्तो खालका राजाको अपेक्षा गरिरहेका छौँ त?

अनि कसरी विभिन्न विषयमा आफ्ना धारणा राख्ने गरेका राजकुमारले राजाको तटस्थतालाई आत्मसात् गर्लान्?

राजाको भूमिकामा चार्ल्सको आफ्नै राहदानी वा चालक अनुमतिपत्र हुनेछैन वा सर्वसाधारणमाझ दह्रो खालको विचार पनि रहनेछैन। राजा बन्नुले व्यक्तिगत धारणालाई विस्थापित गर्छ।

अग्रणी संवैधानिक तथा प्राध्यापक भर्नन बोग्डनोर भिन्न भूमिका र भिन्न नियमका कारण त्यस्तो व्यवस्था भएको भन्ठान्छन्।

उनले भने, "उनले आफ्ना प्रारम्भिक दिनदेखि नै थाहा पाएका छन् कि उनको शैली परिवर्तन हुनुपर्छ। सर्वसाधारण मानिसले एउटा अभियान चलाउने राजा चाहेका छैनन्," प्राध्यापक भर्नन बोग्डनोरले भने।

राजा चार्ल्सले मितभाषी हुनुको महत्त्व राम्ररी बुझेका छन्। "म त्यति मूर्ख छैन। मलाई थाहा छ राजा हुनु भनेको भिन्न उत्तरदायित्व हो," सन् २०१८ मा बीबीसीसँगको अन्तर्वार्तामा उनले भनेका थिए। "म कुनै हिसाबमा त्यही तरिकाले अघि बढ्छु भन्ने अवधारणा पूर्ण रूपमा अर्थहीन छ।"

नयाँ राजाको राज्यारोहण भएपछि सिक्कामा रहेको शाही चित्र विपरीत दिशामा प्रस्तुत गरिन्छ। राजाको चार्ल्स तृतीयको शासनमा पनि फरक प्राथमिकता हुनेछ।

राजा चार्ल्सले शासन गर्ने देश उनकी आमाले गद्दी सम्हाल्दा पाएकोभन्दा अझ व्यापक विविधतापूर्ण बनेको छ। प्राध्यापक बोग्डनोर नयाँ राजाले बहुसांस्कृतिक र बहुधार्मिक बनिसकेको ब्रिटेनको भावना बुझ्ने र तीसमक्ष पुग्ने अपेक्षा गरेका छन्।

राजाले सबैलाई एकतामा बाँध्ने शक्तिका रूपमा काम गर्ने प्रयास गर्ने अपेक्षा गरेका उनले त्यसका लागि देखिनेगरी जातीय अल्पसङ्ख्यक र पछि परेका समुदायसँग जोडिने प्रयास गरिनुपर्ने बताए।

1px transparent line
ब्रिटिस एसियन ट्रस्टसँगको साइकल र्‍याली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ब्रिटिश एशियन ट्रस्टसँगको साइकल र्‍याली
1px transparent line

कला, सङ्गीत र संस्कृतिमा पनि अझ बढी शाही संरक्षकत्व हुने भन्दै शेक्सपीअर बढी र घोडादौड कम प्राथमिकतामा पर्ने आफ्नो अपेक्षा रहेको प्राध्यापक बोग्डनोर बताउँछन्।

राजा चार्ल्ससँग उनको प्रिन्स ट्रस्ट च्यारिटीमा लामो समयसम्म काम गरेका सर लोइड डोर्फ्मन जलवायु परिवर्तन र प्राङ्गारिक कृषिजस्ता विषयमा उनको आबद्धता पूर्ण रूपमा नरोकिने ठान्छन्।

"उनीसँग असाध्यै धेरै ज्ञान छ र उनी प्रभावकारी छन्। उनले आफू राजा हुनासाथ त्यसलाई चटक्कै छाड्छन् भनेर कल्पना गर्न गाह्रो हुन्छ," उनले भने।

राजाले "छाँटिएको" राजतन्त्र चाहेकोबारे धेरै चर्चा भएको छ। यसको अर्थ राजपरिवारका काम गर्ने सानो तर प्रमुख सदस्यसहितको (चार्ल्स र कमिला, राजकुमार विलियम र केट) समूहको मुख्य भूमिकामा हुनेछ।

यद्यपि नयाँ शासनको सबैभन्दा महत्त्वपूर्ण सन्देश भनेको निरन्तरता र स्थायित्व रहने शाही टिप्पणीकार भिक्टोरिया मर्फी बताउँछिन्।

"ठूलो र हलचल मच्चिने परिवर्तनको अपेक्षा नगर्नुहोस्। उनी एकदमै सतर्क रहनेछन्," उनले भनिन्।

"हामीले महारानीलाई राष्ट्रिय जीवनमा स्थायी ठानिरह्यौँ तर उनीबाहेक सार्वजनिक जीवनमा कुनै पनि राजनीतिक नेताभन्दा लामो समय चार्ल्स रहेका छन्,"शाही टिप्पणीकार तथा लेखक रोबर्ट हार्ड्म्यान भन्छन्।

1px transparent line
सन् २०२२ को जुनमा बकिङ्गम दरबारको बार्दलीमा राजपरिवारका सदस्यहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२२ को जुनमा बकिङ्गम दरबारको बार्दलीमा राजपरिवारका सदस्यहरू
1px transparent line

इतिहासकार तथा लेखक सर एन्थनी सेल्डन राजा चार्ल्स जलवायु परिवर्तनको चेतावनीजस्ता विषयमा सही प्रमाणित भएकाले उनको अवस्था बलियो छ। कुनै बेला ठट्टाको पात्र बनाइने गरेका उनी अहिले "एटन्ब्र-आभायुक्त" रहेको सर एन्थोनी बताउँछन्।

उदाहरणका लागि, सन् २०२१ मा ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्मेलनमा चार्ल्सलाई अमेरिकी राष्ट्रपति जो बाइडनजस्ता व्यक्तित्वले गम्भीर रूपमा लिएको हार्ड्म्यान बताउँछन्। विश्वमञ्चहरूमा उनको हैसियतले राजाका रूपमा चार्ल्सलाई लाभ पुग्ने उनको भनाइ छ।

"यो सामान्य कुरा मात्रै थिएन। उनीहरू दुवै जना सँगै एउटा कुनामा बसे र बाइडनले भनिरहेका थिएः तपाईँले राम्रोसँग यो गरिरहनुभएको छ।"

तर हामी नयाँ राजामा कस्तो चरित्र देख्छौँ त?

उनलाई नजिकबाट चिन्ने मानिसहरूका अनुसार उनी भित्रबाटै लजालु र अन्तर्मुखी स्वभावका व्यक्ति हुन्। एउटा शब्दमा भन्दा उनी "संवेदनशील व्यक्ति" हुन्।

1px transparent line
राजकुमारको रूपमा १८ औँ जन्मदिनको आधिकारिक तस्बिर

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, राजकुमारको रूपमा १८ औँ जन्मदिनको आधिकारिक तस्बिर
1px transparent line

त्यसमा विद्यालयमा अध्ययन गर्दा दुर्व्यवहार गरिएको र एक्लो बनाइएको गुनासो गर्ने एक्लोपन बेहोरेको बालकको पनि सङ्केत भेटाउन सकिन्छ। "उनीहरूले मलाई पूरै रातभरि चप्पल वा सिरानीले हान्छन् वा कोठामा दौडिएर आउँछन् अनि जतिसक्दो कस्सिएर मलाई हान्छन्," विद्यालयको छात्रावासमा भोगेको पीडाबारे उनले घरमा पठाएको चिट्ठीमा लेखेका थिए।

अहिले क्वीन कन्सोर्टको उपाधि पाएकी उनकी पत्नी कमिलाले चार्ल्सका बारेमा भनेकी छन्, "उनी ज्यादै अधीर छन्। उनी अघिल्लो दिन नै काम भइसकोस् भन्ने चाहन्छन्। उनी त्यसरी नै काम गर्छन्।"

चार्ल्सको ७० औँ जन्मदिनमा दिएको अन्तर्वार्तामा उनले सार्वजनिक जीवनमा देखिएको एकाग्र व्यक्तित्वबाहेक उनको विनोदी पक्ष पनि छ।

कमिला भन्छिन्, "उनीहरूले उनलाई गम्भीर व्यक्तिका रूपमा लिन्छन् जुन उनी छन् पनि। तर म मानिसहरूले उनको ठट्यौलो पक्ष पनि देखून् भन्ने चाहन्छु।"

"उनी घुँडा टेकेर केटाकेटीहरूसँग खेल्छन् र उनीहरूका लागि ह्यारी पोटर पढिदिन्छन् र विभिन्न खालका आवाज निकाल्छन्।"

1px transparent line
आफ्ना नाति राजकुमार लुइससँग चार्ल्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नाति राजकुमार लुइससँग चार्ल्स
चार्ल्स र कमिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चार्ल्स र कमिला
1px transparent line

सर्वसाधारणहरूलाई भेट्दा चार्ल्स शान्त र सम्पर्क गर्न सकिने व्यक्ति बनेका छन्। श्रोतालाई उनी आफूलाई होच्याइएका ठट्टा पनि सुनाउँछन्। सम्भवतः राजाको रूपमा त्यसमा परिवर्तन हुनेछ तर राजकुमारका रूपमा उनले हजुरबुबाको शैलीको र अमित्रवत् नलाग्ने मिलनसार व्यवहार विकास गरेका छन्।

उमेर ७० नाघे पनि राजाले आफ्नो गति घटाउने लक्षण देखाएका छैनन्।

प्रिन्सज् टीचिङ इन्स्टिट्यूटमा चार्ल्ससँगै काम गरेका क्रिस पोप असाध्यै व्यस्त, अरूलाई डोर्‍याउने व्यक्तित्व र विशाल जिम्मेवारीको भार उठाउन सक्ने ऊर्जा भएका व्यक्तिका रूपमा नयाँ राजालाई चित्रण गर्छन्।

"उनी वास्तविक रूपमा नै नयाँ पुस्ताको कल्याण होस् भन्नेमा सङ्कल्पित छन्। उनले गर्ने कैयौँ कामहरूमा तपाईँ त्यो देख्न सक्नुहुन्छ," पोप भन्छन्।

राजकुमारको परोपकारी काममा सम्पदा र परम्परागत शिल्पकलाको संरक्षण पनि पर्छ। त्यसबाहेक उनले अन्वेषण र परिवर्तनलाई पनि प्रोत्साहन गर्ने गरेका छन्।

पोप भन्छन्, "परम्परा नमासियोस् भन्नेमा सधैँ उनको चासो छ, तर त्यो भनेको हामीले समय फेरि पछाडि धकेल्नुपर्छ भन्ने होइन।"

नयाँ राजाको स्वभाव मानिसहरूलाई विभिन्न अवधारणामा एक ठाउँमा उभ्याउनु हो। त्यसलाई परिवर्तन चाहने र संरक्षण गर्न इच्छुक रहेका फरक दिशामा रहेका व्यक्तिहरूलाई आफूतर्फ तान्न खोज्नुका रूपमा पनि लिन सकिन्छ। उनी एक किसिमका सम्भ्रान्त क्रान्तिकारीजस्तै हुन्।"

1px transparent line
राजकुमार चार्ल्स

तस्बिर स्रोत, Getty Images

ग्लास्गो जलवायु सम्मेलनमा सम्बोधन गर्दै राजकुमार चार्ल्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ग्लास्गो जलवायु सम्मेलनमा सम्बोधन गर्दै राजकुमार चार्ल्स
1px transparent line

उनी कतिपय बेला अठारौँ शताब्दीको चित्रकलाबाट निस्किएका राता गाला भएका जमिनदारजस्ता देखिन्छन्।

कतिपय अवस्थामा उनी निराश सुधारवादीजस्ता देखिन्छन् जो कतिपय समुदायलाई उपेक्षा गरिएको र असन्तुष्ट पारिएकोमा चिन्तित छन्।

उनले आफ्नी आमाको विरासतबाट प्राप्त गरेको जिम्मेवारीको भावनाले धेरै कुरालाई डोर्‍याउँछ तर उनले आफ्नी आमाको धार्मिक आस्था र ख्यालठट्टा गर्नुपर्ने बानी पनि जन्मजात पाएका छन्।

हितन मेहताले सन् २००७ मा ब्रिटेन एशियन ट्रस्ट स्थापना गर्न सहयोग गर्दादेखि उनीसँग काम गरेका छन्।

उनले भने, "उनी मनैदेखि उपकारी व्यक्ति हुन्। मलाई लाग्छ उनले कति ध्यान दिन्छन् भन्ने कुरालाई मानिसहरू बेवास्ता गर्छन्। उनी आफ्ना नातिनातिनालाई छाडेर जाने विश्वको विषयमा बारम्बार चर्चा गर्छन्। यसलाई लिएर उनी चिन्तित पनि छन्।"

यसको अर्थ काम गर्न सीधै आग्रह गर्नु पनि हुनसक्छ। "सम्भवतः त्यतिबेला शुक्रवार रातिको नौ बजेको थियो र उनले मलाई फोन गरेर र भने - मैले पाकिस्तानमा गएको बाढीबारे भर्खरै सुनेँ। यसमा हामी के गर्दै छौँ? उनी व्यस्त नहुने मानिस होइनन्। तर जब उनी समस्या सुन्छन् त्यसमा लागिहाल्छन्। उनी वास्तवमै ध्यान दिन्छन्," मेहताले भने।

"यी त्यस्ता व्यक्ति हुन् जो एकदमै ढिलो रात्रिकालीन भोजन गर्छन् र त्यसपछि आफ्नो डेस्कमा जान्छन् र आफ्ना टिपोटहरूमै निदाउँछन्," राजकुमार ह्यारीले आफ्ना पिताबारे भनेका छन्।

1px transparent line
चार्ल्सको जन्म सन् १९४८ मा बकिङ्गम दरबारमा भएको थियो

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, चार्ल्सको जन्म सन् १९४८ मा बकिङ्गम दरबारमा भएको थियो
1px transparent line

चार्ल्स फिलिप आर्थर जोर्जको जन्म बकिङ्गम दरबारमा सन् १९४८ को नोभेम्बर १४ मा भएको थियो। बीबीसीले उनको जन्म घोषणा गर्दा महारानीले छोरा जन्माइन् भनिएको थिएन बरु उनकी आमाले 'सुरक्षित रूपमा राजकुमारलाई जन्म दिएको' भनिएको थियो। चार वर्षपछि उनी राजगद्दीका प्रथम उत्तराधिकारी बनेका थिए।

"मैलै आफूलाई यो विशेष पदका लागि जन्मिएको पाएँ। म यसमा सकेसम्म सेवा गर्न प्रतिबद्ध छु। अनि आवश्यक पर्ने जेसुकै सहयोग गर्न तयार छु," चार्ल्सले सन् २००५ को अन्तर्वार्तामा भनेका थिए।

उनी ४०० वटाभन्दा बढी संस्थाको संरक्षक वा अध्यक्ष छन्। सन् १९७६ मा उनले रोयल नेभीमा सेवा गरेपछि अवकाश लिँदा प्राप्त गरेको रकम प्रयोग गरेर परोपकारी संस्था द प्रिन्सज् ट्रस्ट स्थापना गरेका थिए। त्यसले देशको विपन्न भेगका झन्डै पछि परेका नौ लाख युवालाई सहयोग गरेको थियो र उनलाई पनि कैयौँ सामाजिक समस्याबारे जान्ने मौका दिएको थियो।

प्रिन्सज् ट्रस्टमार्फत् "समाजमा पहुँच कायम गर्न कठिन रहेका मानिसहरूसँग" जोडिने उनको योजना सधैँ राम्रोसँग अघि बढ्न भने सकेन।

उनले भने, "गृह मन्त्रालयले त्यो राम्रो अवधारणा भएको ठानेको थिएन। त्यसलाई सञ्चालनमा ल्याउन नै कठिन भएको थियो," उनले सन् २००८ मा बीबीसीलाई अन्तर्वार्तामा भनेका थिए।

उनको कामले राजनीतिक हस्तक्षेप निम्त्याएको आरोप लागेको थियो। विशेषतः "ब्ल्याक स्पाइडर मेमोज" सँग जोडिएर हस्तक्षेप गरेका आरोपहरू उनले सामना गर्नुपरेको थियो। माकुराजस्तो देखिने चार्ल्सका अक्षरबाट नाम राखिएका ती मेमो उनले सरकारका मन्त्रीहरूलाई सन् २००४ पछि लेखेका निजी पत्रहरू थिए।

ती पत्रहरूमा खेतीपाती, सहरी विकास, वास्तुकला, शिक्षा र प्याटगोनीअन टूथफिश (एक जातको माछा) को संरक्षणजस्ता विषयमा सरकारको अवधारणामाथि प्रश्न उठाइएका थिए।

1px transparent line
राजकुमार चार्ल्स

तस्बिर स्रोत, Getty Images

1px transparent line

चार्ल्सले पैरवी गर्दा त्यस्ता पत्र प्राप्त गर्ने एक पूर्वमन्त्रीले आफूले ठूलो दबाव महसुस नगरेको र नयाँ राजाको विषयमा आफ्नो सम्झना मिश्रित खालको रहेको बताए।

उनले चार्ल्सलाई आफूले तर्कवितर्कमा संलग्न हुन इच्छा राख्ने व्यक्तिका रूपमा नभई आफूले चाहेका कुरा अघि बढाउन पूर्वनिर्धारित धारणा लिएर आउने व्यक्तिका रूपमा हेरेको बताए।

"मैले धम्की दिए जस्तो महसुस गरिनँ। उनी हस्तक्षेप गर्थे र तपाईँले चिट्ठी पाउनुहुन्थ्यो। उनले यही गर्नुपर्छ भनेर जोडबल गर्दैनथे। उनी अभद्र थिएनन्।"

हस्तक्षेपका दाबीबारे सन् २००६ को अन्तर्वार्तामा चार्ल्सले भनेका थिए, "यदि त्यो हस्तक्षेप थियो भने मलाई त्यसमा गर्व छ।" तर उनले आफू "फलदायी अवस्थामा" नरहेको स्वीकार गरेका थिए।

उनको भनाइ थियो, "यदि तपाईँले केही पनि गर्नुभएन भने उनीहरूले त्यसबारेमा गुनासो गर्नेछन्। यदि तपाईँले प्रयास गर्नुभयो र त्यसमा नै अड्किनुभयो र सहयोग गर्न केही गर्नुभयो भने त्यसमा पनि उनीहरूले गुनासो गर्नेछन्।"

पछिल्लो एउटा अन्तर्वार्तामा उनले आफू दलीय राजनीतिबाट टाढै बसेको तर "मानिसहरूले आफूले खेपिरहेको अवस्थाबारे" प्रश्नमा बोल्न बाध्य भएको बताएका थिए।

लेबर पार्टीका पूर्वमन्त्री क्रिस मुलिनले आफ्ना डायरीहरूमा चार्ल्ससँगको एउटा ब्रीफिङबारे चर्चा गरेका छन्। त्यसमा उनले एकचित्त भएर काम गर्ने र अरूको कार्यक्षेत्रभित्र छिरेर जोखिम लिन खोज्ने चार्ल्सको बानी देखेर आफू चकित भएको जनाएका छन्।

"उनी उही बिन्दुमा फर्किन्छन्। विशेषगरी एक्लिएका, दुर्भाग्यमा परेका र गलत काम गरेका युवाहरूको सोच कसरी फराकिलो बनाउने। मैले स्वीकार गर्नैपर्छ म ज्यादै प्रभावित भएको छु। उनी त्यस्ता व्यक्ति हुन् जसले चाहेको भए आफ्नो जीवन केही नगरी र भोगविलासमा बिताउन सक्थे।"

1px transparent line
आफ्नो ७० औँ जन्मदिनमा परिवारसँग खिचिएको चार्ल्सको तस्बिर

तस्बिर स्रोत, Chris Jackson / Clarence Hous via Getty images

तस्बिरको क्याप्शन, आफ्नो ७० औँ जन्मदिनमा परिवारसँग खिचिएको चार्ल्सको तस्बिर
1px transparent line

आफ्नो शासनमा राजा चार्ल्सले कति जनसमर्थन प्राप्त गर्लान् त?

"राजतन्त्रजस्तो चाखलाग्दो कुरा यदि तपाईँले मानिसहरूको मतलाई सम्मान गर्न सक्नुभएन भने जीवित रहन सक्दैन। अन्ततः यदि मानिसहरूले नै चाहेनन् भने उनीहरूले यसलाई राख्दैनन्," चार्ल्सले भनेका छन्।

सन् २०२१ को डिसेम्बरमा यूगभले गरेको एउटा अनुसन्धानले उनको लोकप्रियता बढिरहेको छ र लगभग दुईतिहाइ मानिसले उनलाई सकारात्मक रूपमा लिएका छन्।

तर मतसर्वेक्षणहरूले निरन्तर उनलाई आफ्नी आमा महारानी एलिजाबेथ द्वितीया र छोरा राजकुमार विलियमभन्दा कम लोकप्रिय देखाएको छ। त्यही भएर उनले उल्लेख्य जनसङ्ख्याको मत जित्नु आवश्यक देखिन्छ। मुख्य रूपमा कम उमेरका व्यक्तिहरूमाझ उनको लोकप्रियता कम रहेको देखिन्छ।

सन् १९९७ को अगस्टमा कार दुर्घटनामा ज्यान गुमाएकी उनकी पत्नी राजकुमारी डायनासँगको उनको सम्बन्धबारे टेलिभिजन शोहरू र चलचित्रहरूमा देखाइएका सहानुभूतिहीन चित्रणले पनि त्यस्तो देखिएको हुनसक्ने भिक्टोरिया मर्फी बताउँछिन्।

ती तथ्य र कल्पनाको मिश्रण हुनसक्छन् तर ती निकै प्रभावशाली हुन्छन्।

"पछिल्ला वर्षमा राजपरिवारको वर्णन गरिँदा कसरी डायना निरन्तर रूपमा देखा परिहेकी छन् भन्ने कुरा रोचक छ," मर्फी भन्छिन्।

1px transparent line
राजकुमार चार्ल्स

तस्बिर स्रोत, PA Media

1px transparent line

चार्ल्स गद्दीनजिक पुग्दा यो सार्वजनिक धारणामा परिवर्तन ल्याउने प्रयास भएको यूनिभर्सिटी अफ लन्डनको सेन्टर अफ द स्टडी अफ मोडर्न मोनार्कीकी प्राध्यापक पाउलिन मक्लारन बताउँछिन्।

प्राध्यापक मक्लारनका अनुसार 'स्पिटिङ इमेज' जस्ता कमेडी शोमा ठट्टाको विषय बनाउने विगतको अभ्यासभन्दा भिन्न बिस्तारै उनको छविलाई पर्यावरणको विषयमा गम्भीर कुरा गर्ने सम्मानित 'सन्त' को जस्तो बनाउन खोजिएको छ।

सर्वसाधारणको रुचि सधैँ उच्च नैतिक व्यवहारको मात्रै हुँदैन। अनि राजपरिवारको प्रमुखको नाताले उनले विश्वव्यापी रूपमा चासो देखाइएको राजकुमार ह्यारी र डचिस अफ ससिक्स मेगन तथा राजपरिवारसँगको उनीहरूको सम्बन्धका विषयमा समाचारहरूको सामना गर्नुपर्नेछ।

राजपरिवारका कथाहरू टेलिनाटकका चर्चित व्यक्तिहरूको जीवनसँग मिसिन थाल्दा त्यो उनको आफ्नो स्वाभाविक क्षेत्र हुनेछैन।

राजा चार्ल्सले कठिन पारिवारिक निर्णयहरू पनि लिनुपर्ने हुनसक्छ। जस्तै, भर्जिनिया जूफ्रीले गरेको यौन दुर्व्यवहार दाबीबारे मिलापत्रपछि राजकुमार एन्ड्रूको भावी भूमिका वा भूमिका विहीनताबारे उनले निर्णय लिनुपर्नेछ।

यूकेबाहिर एउटा प्रमुख चुनौती कमनवेल्थसँगको थप आधुनिक सम्बन्ध पुनः परिभाषित गर्नुहुनेछ। नयाँ प्रमुखका रूपमा कमनवेल्थ देशहरूमा उनको भ्रमणले कसरी उपनिवेशवादको जटिल विरासत र दासताजस्ता सवालहरू सम्बोधन गर्छ?

राजा चार्ल्स यूकेसहित १४ वटा देशका राष्ट्रप्रमुख बनेका छन्। तीमध्ये कतिपयले कमनवेल्थमा नै रहेर गणतन्त्रात्मक पद्धति अँगाल्न चाहन सक्छन्। राजा चार्ल्सले परिवर्तनबारे आफू खुलेर कुरा गर्न इच्छुक रहेको पहिल्यै स्पष्ट पारिसकेका छन्।

उनको नयाँ शासनलाई सहज पार्नका लागि निर्णयहरू लिइएका पनि छन्। आफ्नी आमाले हस्तक्षेप गरेर कमिलालाई राजकुमारीको सट्टा क्वीन कन्सोर्टको पदवी दिनुपर्ने भन्दा उनी प्रसन्न भएको हुनुपर्छ।

अधिकांश मानिसहरूले अवकाश लिने उमेरमा विश्वकै एउटा उच्चतम पद सम्हाल्न पुगेका उनलाई कमिलाको सहयोग निक्कै महत्त्वपूर्ण हुनेछ।

यो क्षणले उत्साहपूर्वक उनलाई आजीवन प्रतीक्षा गरिरहेको थियो। अब राजा चार्ल्सले अवसर पाएका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, लाइनमा बसेका मानिसलाई भेट्न पुगे राजा चार्ल्स र राजकुमार विलियम
भिडिओ क्याप्शन सुरु हुँदैछ, राजा चार्ल्स