महारानी एलिजाबेथ द्वितीयाः नजिक रहेर काम गरेका भूतपूर्व गोर्खा अधिकृत महारानीको मृत्युले 'स्तब्ध र दु:खी'

तस्बिर स्रोत, Getty Images
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
महारानी एलिजाबेथ द्वितीयाको निधनले आफूहरू "स्तब्ध बनेको" उनको 'अर्डर्ली'का रूपमा काम गरेका भूतपूर्व गोर्खा अधिकृतहरूले बताएका छन्।
कतिपय भूतपूर्व गोर्खा अधिकृतहरूले चाहिँ "महारानीको अन्तिम संस्कारमा सामेल हुन नसक्ने अवस्था बन्दा आफूहरूलाई निकै नरमाइलो लागेको" बताए।
त्यसरी दु:खी हुनेमा कुनै बेला महारानीको 'अर्डर्ली' समेत रहेका भिक्टोरिया क्रस विजेता भूतपूर्व क्याप्टेन रामबहादुर लिम्बुसमेत छन्।
हाल झापाको दमकमा रहेका ८८ वर्षका उनीसँग बीबीसीले उनकी पत्नी र भतिजीको सहयोगमा कुराकानी गरेको थियो। उनी भिक्टोरिया क्रस पाउने १३ नेपालीमध्ये एक मात्र जीवित व्यक्ति हुन्।
'नम्र बोल्ने रानी'
रामबहादुरकी पत्नी पुनिमाया र भतिजी मोनाको सहयोगमा गरिएको कुराकानीमा उनले महारानीको निधनले आफू निकै "दु:खी र भावुक" बनेको बताए।
उनले भने, "मलाई रानीले आफ्नै हातबाट भिक्टोरिया क्रस दिनु भएको थियो। ल रामबहादुर तिमीले राम्रो गर्यौ भन्नुभएको थियो।"

तस्बिर स्रोत, MOna Hangma Thebe
"उहाँ छिटो नबोल्ने बिस्तारै बोल्नुहुन्थ्यो, जानुभयो। दु:ख लाग्यो।"
उनले सन् १९६६ मा बकिङ्घम दरबारमा आयोजित एक समारोहमा महारानी एलिजाबेथको हातबाट भिक्टोरिया क्रस पाएका थिए।
इन्डोनेसिया-मलेशिया द्वन्द्वका बेलामा उनले देखाएको "बहादुरी"का लागि भन्दै उक्त पदक प्रदान गरिएको थियो।
महारानीको मृत्युपछि उनलाई एलिजाबेथको अन्तिम संस्कारमा सहभागी हुने निम्तो आएको उनकी पत्नी पुनिमायाले बताइन्।
त्यसबारे कुरा गर्दै लिम्बुले भने, "मेरो स्वास्थ्यको कारणले म जान नपाउने भएँ। मलाई बोलावट आएको थियो। उहाँको आत्माले शान्ति पाओस्।"
लिम्बुले क्याप्टेन बनेपछि सन् १९८३ देखि एक वर्षसम्म महारानी एलिजाबेथको क्वीन्स गोर्खा अर्डर्ली अफिसर (क्यूजीओओ) भएर काम गरेका थिए।
पुनिमायाका अनुसार महारानी बितेको खबर सुनेपछि लिम्बुले आँसु झारेका थिए।
उनले भनिन्, "खबर सुनेपछि बूढो मान्छेले नराम्रो मन गर्यो। आँसु झार्यो।"
"पोहोर पनि रानीलाई भेट्न मन छ कि भनेर खबर आएको थियो जान पाएन। अन्तिम अवस्थामा भेट्न पाइएन भनेर पिर गर्यो।"
उनका अनुसार बकिङ्घम राजदरबारमा सन् २०१८ मा भएको ३०औँ भिक्टोरिया क्रस र जोर्ज क्रस (भीसी-जीसी) पुनर्मिलन कार्यक्रमका लागि निम्ता आएको थियो।
तर हरेक दुई-दुई वर्षमा हुने उक्त कार्यक्रममा उनी जान पाएनन्। त्यसअघिको त्यस्ता कार्यक्रममा भने उनी सहभागी भएका थिए।
'साह्रै दु:ख लाग्यो'
अवकाशप्राप्त गोर्खा मेजर सुरजबहादुर थापाले पनि सन् १९९१ देखि १९९२ सम्म क्यूजीओओका रूपमा काम गरेका थिए।

तस्बिर स्रोत, Surajbahadur Thapa
क्वीन्स गोर्खा इन्जिनियर्स रेजिमेन्टबाट छानिएर क्यूजीओओ बनेका उनले पनि महारानीको निधनको खबरले आफूलाई निकै दु:खी बनाएको बताए।
बीबीसीसँग उनले भने, "महारानीको मृत्युको खबर सुनेपछि मलाई साह्रै दु:ख लागेको छ।"
उनले महारानीको निधनले आफूलाई उनको सेवा गर्दाका दिनहरू झलझली याद आएको बताए।
"हुन त हाम्रो उहाँसँग कुराकानी नै हुने गरी भेट हुने भनेको अर्दली नियुक्त हुँदा र अन्तिममा बिदाइका बेला मात्र हो," उनले भने।
"तर पनि उहाँको निधनले मलाई निकै नरमाइलो लागेको छ।"
अहिले पनि 'अर्डर्ली'का रूपमा आफू नियुक्त हुँदा महारानीले "कुन रेजिमेन्टबाट आएको?" भनेर सोधेको कुरा अझै आफ्नो स्मरणमा रहेको उनले बताए।
'अन्तिम संस्कारमा सहभागी हुने कोसिस गर्छु'
महारानीको 'अर्डर्ली'का रूपमा सन् १९९५ देखि १९९६ सम्म काम गरेका अर्का भूतपूर्व गोर्खा क्याप्टेन चित्रबहादुर राईले पनि महारानीको निधनको खबरले आफू "स्तब्ध बनेको" बताए।
सोमवार काठमाण्डूस्थित आफ्नै निवासमा बीबीसीसँग कुरा गर्दै उनले भने, "उहाँ यत्रो लामो समय राजगद्दीमा रहेर पनि ठूला विवादमा पर्नुभएको थिएन।"
"उहाँ जानुभयो भन्दा हिजो मैले उहाँको सेवामा गरेका कामको याद आइरहेको छ। कस्तो कस्तो लागेको छ।"

उनले महारानीको मृत्युले आफू निकै दु:खी भएको बताए।
यद्यपि उनी महारानीको अन्तिम संस्कारमा सहभागी हुन पाउने आशामा रहेका छन्।
"उहाँको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिखमा हुने भनिएको छ। म १८ तारिखमा जाँदैछु। सकेसम्म म उहाँको अन्तिम संस्कारमा सहभागी हुन्छु," उनले भने।
यद्यपि आफ्नो ब्रिटेन यात्रा महारानीको मृत्युअघि नै तय भएको उनले बताए।
क्यूजीओओ को हुन्?
ब्रिटिश गोर्खासँग सम्बन्धित विभिन्न विवरण अनुसार राजा एडवार्ड द्वितीयका बेलादेखि ब्रिटिश भारतीय सैनिकहरू ब्रिटिश राजा वा रानीको अर्दली हुन थालेका थिए।
सुरुमा ६ जना भारतीय अधिकृतहरूलाई 'अर्डर्ली' छानिएको थियो। त्यसपछि चारजना भारतीय अधिकारी छान्ने चलन बस्यो।
चारमध्ये दुई गोर्खा अधिकृतहरू हुने व्यवस्था गरिएको विभिन्न विवरणमा उल्लेख छ।
द गोर्खा ब्रिगेड एसोसिएसनका अनुसार सन् १९५४ को मार्च ११ मा महारानी एलिजाबेथले उक्त प्रक्रियालाई पुन: सुरु गराइन्।
त्यसबेलादेखि दुईजना गोर्खा अधिकृतलाई हरेक वर्ष छानेर 'अर्डर्ली'को कमाण्ड दिइयो।

तस्बिर स्रोत, Getty Images
"त्यसरी छानिने अफिसरहरू क्याप्टेन तहका हुन्छन्," भूतपूर्व गोर्खा क्याप्टेन राईले भने।
यस्ता अधिकृतहरूले महारानी वा अहिलेका हकमा राजा कुनै औपचारिक समारोहमा सहभागी हुँदा उनीहरूको दायाँबायाँ गार्डका रूपमा बस्नुपर्छ।
"कुनै पनि समारोहमा सहभागी हुँदा हामी पछाडि बसेर उभिइरहनु पर्छ," राईले भने।
"एक हिसाबले भन्दा हामी सेरेमोनियल गार्ड्स् हौँ। त्यस्तै सामाजिक कार्यका लागि चन्दा उठाउने कुरामा पनि हामी कहिलेकाहीँ सहभागी हुन्छौँ।"
त्यसरी समारोहमा महारानीको अर्दली बन्दाको उनको अनुभव सुनाउँदै राईले भने, "महारानीले पदकहरू बाँड्ने समारोहमा हामीले एक घण्टाजति उभिनुपर्थ्यो। उहाँले त्यस्तो गर्न नभ्याएका बेलामा अहिलेका राजा चार्ल्सले पदक बाँड्नुहुन्थ्यो।"
"रानीले पदक बाँड्दा एक घण्टामा सकिने कार्यक्रम चार्ल्सले बाँड्दा डेढ घण्टा लाग्थ्यो किनकी उहाँले पदक पाउनेलाई 'ल राम्रो गर्नुभयो वा खुसी हुनुहुन्छ?' जस्ता भलाकुसारी गर्दै पदक बाँड्नुहुन्थ्यो।"









