महारानी एलिजाबेथ द्वितीया: चिनियाँ प्रतिनिधिमण्डललाई वेस्टमिन्स्टर हलमा श्रद्धाञ्जलि दिन जान पनि 'प्रतिबन्ध'

तस्बिर स्रोत, Reuters
महारानी एलिजाबेथ द्वितीयाको सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुनबाट चिनियाँ सरकारी प्रतिनिधिमण्डललाई प्रतिबन्ध लगाएको बीबीसीले बुझेको छ।
ब्रिटेनको तल्लो सदनका पाँच र माथिल्लो सदनका दुई गरी सात सांसदलाई चीनले प्रतिबन्ध लगाएको प्रतिक्रियास्वरूप हाउस अफ कमन्सका सभामुख सर लिन्जी होयलले वेस्टमिन्स्टर हलमा चिनियाँ प्रतिनिधिमण्डललाई प्रवेश गर्ने अनुमति दिन गरिएको आग्रह अस्वीकार गरेका पलिटिकोले जनाएको छ।
सोमवार हुने अन्तिम संस्कारअघि महारानी एलिजाबेथको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि वेस्टमिन्स्टरमा राखिएको छ।
बीबीसीको जिज्ञासामा हाउस अफ कमन्सले सुरक्षा मामिलामा प्रतिक्रिया नदिने बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले आफूहरूले प्रतिबन्धबारे कुनै समाचार नदेखेको प्रतिक्रिया दिएका छन्।
"आतिथेयका रूपमा यूके पक्कै पनि अतिथिलाई ग्रहण गर्ने विषयमा कूटनीतिक मर्यादाबारे परिचित छ," माओ निङले भने।
चीनमाथि उइगर मुसलमानहरूविरुद्ध दुर्व्यवहार गरेको आरोप लगाउने सात सांसदसहित नौ ब्रिटिश नागरिकहरूमाथि गत वर्ष चीनले यात्रा प्रतिबन्ध र सम्पत्ति रोक्काको निर्णय गरेको थियो।
प्रतिक्रियास्वरूप यूकेस्थित चिनियाँ राजदूतमाथि संसद्मा जान प्रतिबन्ध लगाइएको थियो। अहिले महारानी एलिजाबेथलाई श्रद्धाञ्जलि प्रकट गर्न जान समेत चिनियाँ प्रतिनिधिमण्डललाई रोक लगाइएको छ।

तस्बिर स्रोत, PA Media
चीनका उपराष्ट्रपति अन्तिम संस्कारमा सहभागी हुने
यसअघि नै चिसिएको यूके र चीनबीचको सम्बन्ध यो प्रतिबन्धपछि थप खस्किने अनुमान गरिएको छ।
यद्यपि चीनका उपराष्ट्रपति सोमवार हुने अन्तिम संस्कारमा सहभागी हुने अपेक्षा गरिएको छ। उक्त संस्कार संसद् भवननजिकै वेस्ट्मिन्स्टर एबीमा हुनेछ। वेस्टमिन्स्टर एबी ब्रिटेनका राजा र रानीलाई राजमुकुट पहिराइने ऐतिहासिक गिर्जाघर हो।
वेस्टमिन्स्टर हल दरबारले नियुक्त गरेका लर्ड ग्रेट च्याम्बरलिन र दुवै सदनका सभामुखले साझा रूपमा प्रयोग गर्ने निर्णय महारानी एलिजाबेथले सन् १९६५ मा गरेको अर्स्किन मे भनिने संसदीय नियमपुस्तिकामा उल्लेख छ।
सार्वजनिक श्रद्धाञ्जलिमा वेस्टमिन्स्टरमा पहुँचका लागि कसले अनुमति दिने भन्नेबारे स्पष्ट व्यवस्था नभए पनि 'वेस्टमिन्स्टर हलमा सम्बोधनका लागि आउने विदेशी विशिष्ट पाहुनालाई' 'सामान्यतया' तीन जनाको सहमतिमा अनुमति दिइने गरिएको छ।
प्रतिबन्धको शृङ्खला
गत सेप्टेम्बरमा सर लिन्जी र माथिल्लो सदनका सभामुख लर्ड मक्फलले बेइजिङको प्रतिबन्धका कारण यूकेका लागि चिनियाँ राजदूत संसद्मा उपस्थित हुन नसक्ने बताएका थिए।
आफ्ना राजदूतलाई लगाइएको रोकको आलोचना गर्दै चीनको सरकारले त्यसलाई "निन्दनीय र कायर" भनेको थियो।
बिहीवार मात्रै चिनियाँ प्रतिबन्धमा परेका सात सांसदहरूले यूकेका विदेशमन्त्रीसँग महारानीको अन्तिम संस्कारमा सहभागिताका लागि चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई पठाइएको निमन्त्रणा फिर्ता लिन आग्रह गरेका थिए।
चीनको मानवाधिकार अभिलेखका कारण महारानीको अन्तिम संस्कारमा चीनको उपस्थिति अनुपयुक्त हुने उनीहरूको तर्क थियो।
तीमध्येका एक सांसद टिम लटनले बीबीसी न्यूजसँग भने, "अत्याचार, उइगर मुसलमानहरूको नरसंहार र तिब्बतमा विगत ६०/७० वर्षदेखि र अहिले हङ्कङमा दमनमा संलग्न भएको देशसँग हामीले सुनौलो युगको जस्तो साधारण सम्बन्ध राख्न सक्दैनौँ।"
अल्पसङ्ख्यक उइगर मुसलमान समुदायको अधिकार हनन गरेको आरोपपछि धेरै पश्चिमा देशहरूले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन्।
चीनले उत्तर पश्चिमी क्षेत्रमा रहेको शिन्जियाङस्थित उनीहरूको क्याम्पबाट उइगर मुसलमानहरूलाई नियन्त्रणमा लिएर यातना दिएको, बलपूर्वक श्रममा लगाएको र यौन दुर्व्यवहार गरेको आरोपहरू लागेका छन्।
सी जिन्पिङलाई निम्तो
यद्यपि चीनले दुर्व्यवहारको आरोपको खण्डन गर्दै यस्ता क्याम्पहरू आतङ्कवादको प्रतिरक्षाका लागि "पुनः शिक्षा" दिने स्थलहरू भएको बताएको छ।
महारानीको अन्तिम संस्कारमा सहभागी हुने पाहुनाहरूको सूचीमा चिनियाँ राष्ट्रपति सी को नाम पनि समावेश भए पनि उनी उपस्थित नहुने ठानिएको छ।
ब्रिटिश अधिकारीहरूले चिनियाँ उपराष्ट्रपति अन्तिम संस्कारमा सहभागी हुने अपेक्षा गरेका छन्।
यूकेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले यूकेसँग कूटनीतिक सम्बन्ध भएका देशहरूलाई अन्तिम संस्कारमा आमन्त्रण गर्ने प्रचलन रहेको बताए।

हङ्कङमा शोक
यसैबीच, हङ्कङमा मानिसहरू घण्टौँ लाइनमा बसेर महारानीको निधनमा शोक व्यक्त गर्न गएका छन्।
यूकेबाहिर हङ्कङमा नै महारानीप्रति त्यति ठूलो सद्भाव र सम्मान प्रकट गरिएको मानिएको छ। हङ्कङमा अहिले महारानीप्रति अभिव्यक्त सम्मानले चीनलाई केही सन्देश दिएको कतिपयको मान्यता छ।
पहिला ब्रिटेनको उपनिवेश रहेका स्थानमा मौन प्रतिक्रिया देखिएको छ। तर ब्रिटिश कन्सुलेट रहेको हङ्कङको एड्मिरल्टी क्षेत्रमा लागेका लामो लाइन तथा फूल र कार्डको थुप्रोले त्यहाँ स्थिति भिन्न रहेको देखाउँछन्।
"एक देश, दुई प्रणाली" अन्तर्गत रहनेगरी हङ्कङ फिर्ता लिँदा चीनले त्यहाँ कम्तीमा ५० वर्ष नागरिक स्वतन्त्रता दिने वाचा गरेको थियो।
तर विरोधप्रदर्शनमा दमन गरेको, आफ्नो राष्ट्रिय सुरक्षा कानुन बलपूर्वक लागु गराएको र "राष्ट्रवादी"हरूलाई मात्र शासन गर्ने अनुमति दिएको हुँदा चीनले आफ्नो वाचा भङ्ग गरेको धेरैले ठानेका छन्।








