ह्यारी र मेगन सवार कार न्यू योर्कमा पापाराजीहरूको निशानामा

ह्यारी मेगन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेगन आफ्नी श्रीमान् र आमासहित उक्त समारोहमा पुरस्कार ग्रहण गर्न उपस्थित भएकी थिइन्

राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको उनीहरूका प्रवक्ताले बताएका छन्।

ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलवार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको थियो।

एउटा विज्ञप्तिमा उनीहरूका प्रवक्ताले निरन्तर दुई घण्टा भन्दा बढी समयसम्म कारलाई पछयाइएको र त्यसका कारण एक भन्दा बढी दुर्घटना हुने अवस्था झण्डै निम्तिएको जनाएका छन्।

न्यू योर्क प्रहरीका प्रवक्ताले कसैलाई पनि पक्राउ नगरिएको र कोही पनि घाइते नभएको जनाएका छन्।

'खतरनाक'

बीबीसी न्यूजले सबै विवरणहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। तर बुधवार दिनभर त्यसबारे विभिन्न किसिमका बयान र सूचनाहरू प्राप्त भइरहेका थिए।

न्यू योर्क प्रहरीले ह्यारी र मेगनसँग सम्बन्धित घटना भएको र कैयौँ फोटोग्राफरहरूले ‘उनीहरूको सवारीलाई चुनौतीपूर्ण बनाएको’ बताएको छ।

बकिङ्गम प्यालेसले कुनै प्रतिक्रिया दिएको छैन।

मनोरञ्जनसम्बन्धी फोटो एजेन्सी ब्याकग्रीडले कैयौँ स्वतन्त्र पत्रकारहरूमाथि अनुसन्धान गरिरहेको जनाउँदै घटनाबारे उनीहरूले प्राप्त गरेका प्रारम्भिक विवरण फरक रहेको जनाएको छ।

“फोटोग्राफरहरूले उक्त जोडी कुनै पनि बिन्दुमा तत्कालै जोखिममा नरहेको विवरण दिएका छन्,” उसले भनेको छ।

यसअघि आधा दर्जन कारहरूले पछयाउदा लापरबाहीपूर्ण ढङ्गले गाडी चलाइएको दाबी गरिएको थियो।

रातो बत्ती बलेको समयमा कार गुडाइएको, सडक पेटीबाट पनि कार कुदाइएको, बाटोमा अवरोध पुर्‍याउन खोजेको, एकतर्फी बाटोमा गैरकानुनी ढङ्गले सवारी चलाएको र गाडी चलाउँदा तस्बिर खिचिएको दाबी गरिएको थियो।

रेड लाइन
रेड लाइन

बीबीसीले बुझे अनुसार ह्यारी र मेगन साथीको घरमा बसिरहेका छन्। सुरक्षा चुनौती थपिने गरी उनीहरू सोझै आफू बस्ने स्थानमा फर्किएनन्।

उक्त जोडी र मेगनकी आमा डोरियाले पापाराजीहरूबाट जोगिन म्यानह्याटनको प्रहरी स्टेसनमा आश्रय लिने प्रयास गरेको पनि जनाइएको छ।

त्यसपछि उनीहरूले न्यू योर्कको ट्याक्सी प्रयोग गर्ने योजना बनाए। उक्त ट्याक्सी र त्यहाँभित्र ह्यारी, मेगन, डोरिया र सुरक्षाअधिकारी बसेको फोटोग्राफरहरूले देखेपछि उनीहरू आफ्नै सवारी साधनमा फर्किएका थिए।

मेगन र ह्यारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेगन र ह्यारी मंगलवार रातिको कार्यक्रमबाट बाहिरिदैँ

कारका चालक सुखचरन सिंहले आफ्नो कारमा चार जना चढेको बीबीसीलाई बताए।

केही पर गइसकेपछि उक्त कारलाई फोहोर बोक्ने ट्रकले रोकेको भन्दै उनले अकस्मात् पापाराजीहरू आएर तस्बिर लिन थालेको बताए।

उनले त्यतिबेला उनीहरूले आफूलाई पुग्नुपर्ने गन्तव्यबारे जानकारी दिन लागेको जनाउँदै त्यसपछि सो क्षेत्रको एक फन्को मार्न भनेको बताए।

उनीहरूलाई ‘असल मानिसहरू’ भन्दै उनले ‘केही आत्तिएको’ देखिएको जनाए।

उनले ‘खतरनाक ढङ्गले कार पिछा गरिएको’ दाबी बढाइ चढाइ हुनसक्ने भन्दै पापाराजीहरू आक्रामक भएको आफूलाई नलागेको बताए।

“उनीहरू हाम्रो पछाडि थिए….. उनीहरूले दुरी कायम राखेका थिए।”

न्यू योर्कमा प्रत्येक कुनामा प्रहरी चौकी रहेको भन्दै उनले उक्त ठाउँ सुरक्षित रहेको जनाए।

उनले छोटो यात्राका लागि उक्त जोडीले ५० डलर तिरेको जानकारी दिए।

रेडलाइन
यो पनि पढ्नुहोस्
रेडलाइन

सुरक्षा टोलीका सदस्य के भन्छन्

ह्यारी र उनकी पत्नीका प्रवक्ताले दुई घण्टाको पीडादायी अवस्था भनी चित्रण गरेको घटनाको जम्मा १० मिनेट सिंहले व्याख्या गरेको परिस्थितिसँग जोडिन्छ।

ती ड्राइभरको व्याख्या ह्यारी र मेगनको सुरक्षा टोलीका सदस्य क्रिश सान्चेजको विवरणसँग पूर्ण रूपमा अमिल्दो सुनिन्छ। सान्चेजले सीएनएनलाई ‘एकदमै अस्तव्यस्त दृश्य’ रहेको जनाएका छन्।

सर्वसाधारणहरू धेरै पटक जोखिममा परेको भन्दै उनले उक्त परिस्थिति घातक बन्न सक्ने अवस्था देखिएको उल्लेख गरे।

रेडलाइन
रेडलाइन

उनीहरू मिस फाउन्डेशन वीमिन अफ भिजन अवार्डस् नामक एउटा पुरस्कार वितरण समारोहमा भाग लिएर फर्किदा यो घटना भएको हो।

राजा चार्ल्सको राज्याभिषेकपछि उक्त जोडी पहिलो पटक संयुक्त रूपमा कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएको थियो।

न्यू योर्क सिटीका मेयर एरिक एडम्सले यस्तो घटनामा दुई जना प्रहरी घाइते हुनसक्ने वा कुनै निर्दोष प्रत्यक्षदर्शी गुमाउनु पीडादायी हुने टिप्पणी गरे।

राजकुमार ह्यारी र मेगनको विज्ञप्तिले तीव्र गतिमा कारलाई पछयाएको कहिल्यै पनि उल्लेख गरेको छैन। उसले निरन्तर दुई घण्टा पछ्याइएको चर्चा गरेको छ।