राजकुमार ह्यारीको पुस्तकमा विभिन्न सनसनीपूर्ण दाबी

राजकुमार ह्यारी र मेगन

तस्बिर स्रोत, KARWAI TANG

तस्बिरको क्याप्शन, राजकुमार ह्यारी र मेगन
    • Author, जेम्स ग्रेगरी र शन कख्लन, शाही संवाददाता
    • Role, बीबीसी न्यूज

ब्रिटेनका राजकुमार ह्यारीको प्रकाशोन्मुख आत्मवृत्तान्तमा उल्लिखित सनसनीपूर्ण दाबी र आरोपहरू सञ्चारमाध्यममा चुहिएका छन्।

'स्पेअर' नामक पुस्तकमा ब्रिटिश राजपरिवारसँग सम्बन्धित गुनासाहरू र कटुता समाविष्ट छन्।

पुस्तकमा ह्यारीले आफू र आफ्ना दाजु राजकुमार विलियमले बुवा चार्ल्सलाई कमिलासँग विवाह नगर्न आग्रह गरेको दाबी गरिएको छ।

ह्यारीले पुस्तकमा दाजु विलियमले आफूमाथि शारीरिक आक्रमण गरेको प्रसङ्ग लेखेका छन्। यस विषयमा 'गार्डिअन' ले पहिलो पटक समाचार सार्वजनिक गरेको थियो।

केन्सिङ्टन दरबार र बकिङ्गम दरबार दुवैले यसबारे कुनै टिप्पणी नगर्ने जनाएका छन्।

स्पेनमा बीबीसीले 'स्पेअर'को एक प्रति हात पारेको छ र त्यसको अनुवाद भइरहेको छ।

गार्डिअन पत्रिकाले उक्त पुस्तक हात पारेर बिहीवार त्यसको अंश प्रकाशन गरेको थियो। द सन पत्रिकासहित अरूले पनि उक्त पुस्तकको स्पेनी संस्करण हात पारेका छन्।

ज्यानुअरी १० तारिखमा पुस्तक आधिकारिक रूपमा प्रकाशित हुनुअगावै स्पेनी संस्करण सार्वजनिक भएको हो। 

गार्डिअनमा पहिलो पटक सामग्री प्रकाशित भएपछि पुस्तकमा गरिएका थप दाबीहरू पनि सार्वजनिक भएका छन्। एउटा प्रसङ्गमा आफू नाजीहरूले लगाउने पोसाक लगाएर एउटा पार्टीमा जान लागेको देख्दा राजकुमार विलियम र क्याथरीन हाँसेको ह्यारीले लेखेका छन्।

ह्यारीले आफूले लागुऔषध प्रयोग गरेको तथा अफगानिस्तान द्वन्द्वका क्रममा हेलिकप्टर पाइलटका रूपमा बटुलेको अनुभव पनि पुस्तकमा लेखेका छन्।

पुस्तकको चुहिएको अंश हेर्दा राजपरिवारमा मेलमिलाप र सहमतिको सम्भावना छैन। ह्यारीले गरेका दाबीहरूमा दुःख, गुनासा र आरोपहरू छन्।

उक्त पुस्तकमा ह्यारीका दाजु, भाउजू, बुवा र सौतेनी आमाबारे निकै व्यक्तिगत प्रसङ्गहरू लेखिएका छन्। ह्यारीको दाबीमा आक्रोश प्रतिबिम्बित हुन्छ। अनि अर्को पटक ह्यारीलाई राजपरिवारसँग देखिँदा यी कुरा बेवास्ता गर्न असम्भव हुनेछ।

राजा चार्ल्सको राज्याभिषेक अबको केही महिनामा हुन लागेको छ। त्यो समारोहमा ह्यारी उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषय चाखलाग्दो हुनसक्छ।

उक्त पुस्तकमा उल्लिखित केही महत्त्वपूर्ण दाबी र खुलासा यहाँ प्रस्तुत गरिएको छ।

red line

कमिलासँग बिहे नगर्न ह्यारी र विलियमको आग्रह

द सन पत्रिकाले जनाएअनुसार ह्यारी र विलियमले "दुष्ट सौतेनी आमा" हुने डरका कारण बुवा राजकुमार चार्ल्स (अहिले राजा) लाई कमिला (अहिले क्वीन कन्सोर्ट) सँग विवाह नगर्न बिन्ती गरेका थिए।

आधिकारिक रूपमा प्रकाशित हुनुअगावै झुक्किएर सार्वजनिक भएको पुस्तकको स्पेनी संस्करण प्राप्त गरेको द सनका अनुसार पुस्तकमा ह्यारीले आफू र दाजु विलियमले कमिलासँग उनी राजपरिवारको सदस्य हुनुअघि छुट्टाछुट्टै भेटेको दाबी गरेका छन्।

ह्यारीले कमिला कुनै दिन “दुष्ट सौतेनी आमा” बन्न सक्नेबारे विचार गरेको भए पनि उनले बुवा चार्ल्सलाई खुसी पार्न सके आफू र दाजु विलियमले कमिलालाई "मनबाटै" क्षमा दिन तयार रहेको दाबी गरेका छन्।

तर त्यो भेट कहिले भएको थियो वा त्यो भेट हुँदा ह्यारीको उमेर कति थियो भन्ने कुराको विवरण भने उल्लेख गरिएको छैन।

red line

आमा डायनाको सन्देश 'प्रवाह गर्न सक्ने शक्ति भएकी महिला'को शरणमा

पुस्तकमा आफ्नी आमा राजकुमारी डायनाको मृत्यु भएपछि शोकाकुल ह्यारीले कसरी "विशेष शक्ति" भएको मानिने एक महिलाको सहयोग लिन खोजेका थिए भन्ने प्रसङ्ग पनि छ।

“तिम्री आमा आफूले चाहे जसरी बाँच्न नपाएको जीवन तिमीले बाँचिरहेको बताउँछिन्,” ती महिलाले ह्यारीलाई भनिन्। “तिमी उनले चाहे जस्तै गरी जीवन बाँचिरहेका छौ।”

सन् १९९७मा प्यारिसमा भएको कार दुर्घटनामा डायनाको मृत्यु भएको थियो। त्यस बेला ह्यारी १२ वर्षका थिए।

आफ्नी दिवङ्गत आमासँग भएको भनिएको कुराकानीबारे धेरै लामो व्याख्या भने पुस्तकमा नगरिएको गार्डिअनले जनाएको छ।

ती महिलासँग कहाँ र कहिले भेट भएको थियो भन्ने कुरा पनि खुलाइएको छैन।

red line

राजकुमार विलियमले भाइ ह्यारीलाई 'भुइँमा पछारे'

राजकुमार ह्यारीले एक पटक वादविवाद हुँदा लन्डनस्थित आवासमा आएका दाजु विलियमले आफ्नो कठालो समातेको, सिक्री चुँडाइदिएको र भुइँमा पछारेको दाबी गरेका छन्।

पुस्तकमा दाजुभाइबीच विवाद भएको प्रसङ्ग छ। विलियमले मेगन मार्कलबारे टिप्पणी गरेपछि सुरु विवाद भएको ह्यारीको दाबी छ।

ह्यारीले आफ्ना दाजु मेगनबारे आलोचनात्मक रहेको जनाएका छन्।

विलियमले उनलाई “अप्ठ्यारी”, “अशिष्ट” र “रूखी" को सङ्ज्ञा दिएको ह्यारीले लेखेका छन्।

राजकुमार ह्यारी र विलियम

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, राजकुमार ह्यारी र राजकुमार विलियम

गार्डिअनका अनुसार विवाद बढ्दै गएपछि दाजु विलियमले “प्रेसको भाषा दोहोर्‍याएको” ड्यूक अफ ससिक्स ह्यारीले जनाएका छन्।

त्यसपछि दाजुभाइबीच हातपात भएको विवरण पनि ह्यारीले लेखेको देखिन्छ।

“उनले (पानी रहेको) गिलास बिसाए। मलाई गाली गरे अनि झम्टिए। यो सबै निकै छिटो भयो। अत्यन्तै छिटो।"

"उनले मेरो कठालो समाते, मेरो सिक्री चुँडिनेगरी अनि मलाई भुइँमा पछारे।"

"म कुकुरले खाने भाँडोमा लडेँ, त्यो मेरो ढाडमा चर्कियो र त्यसका टुक्रा मेरो शरीरमा बिझे। म त्यहाँ केही बेर लडेँ, स्तब्ध भएर। अनि म उभिएँ र उनलाई बाहिर जान भनेँ।"

red line

नाजी पोसाकबारे विलियम र क्याथरीनले खिसी गरे

सन् २००५ मा ‘फ्यान्सी ड्रेस’ लगाउनुपर्ने एउटा पार्टीमा सहभागी हुन जानुअघि नाजी पोसाकमा घर पुग्दा विलियम र क्याथरीनले आफ्नो खिसी गरेको पुस्तकमा उल्लेख गरिएको छ।

कुन लुगा लगाउने भनेर दोमन भएका बेला आफूले दाजुभाउजूसँग सल्लाह माग्दा त्यस्तो भएको उनले बताएका छन्।

नाजी पोसाक र विमानचालकको पोसाकमा एउटा छान्नुपर्ने भएको उनको भनाइ छ।

पुस्तकमा उनले लेखेका छन्: “मैले विल र केटलाई उनीहरूको धारणा सोधेको थिएँ।”

“नाजी पोसाक,” उनीहरूले भने।

“अमिल्दो जुँगासहित पोसाक भाडामा लिएर म घर पुगेको थिएँ।”

“विली र केट हाँसिरहेका थिए। विलीको चितुवाबुट्टे पोसाकभन्दा त्यो नराम्रो थियो। अझ धेरै नराम्रो।"

ह्यारीले नाजी पोसाक लगाएको तस्बिर द सन पत्रिकाले प्रकाशन गर्दा उनी २० वर्षका थिए। 

red line

१७ वर्षको हुँदा कोकेन प्रयोग र इटनमा गाँजा सेवन

ह्यारीले आफू १७ वर्षको हुँदा कसैको घरमा आफूलाई कोकेन दिइएको र आफूलाई मन नपरे पनि कैयौँ पटक सेवन गरेको खुलासा गरेका छन्।

उनले लेखेका छन्: “मलाई त्यो खास्सै मन पर्दैनथ्यो र अरूलाई जस्तो मलाई त्यसले खुसी पनि बनाउँदैनथ्यो।"

"तर त्यसले मलाई फरक अनुभूति दिन्थ्यो र त्यो नै मुख्य उद्देश्य थियो।”

उनले सानो छँदा इटन कलेजको शौचालयमा गाँजा सेवन गरेको पनि लेखेका छन्।

त्यस बेला आफ्ना अङ्गरक्षकले भवनको बाहिरी भागमा पहरा दिएको पनि उनले लेखेका छन्।

red line

तस्बिर स्रोत, Getty Images

अफगानिस्तानमा २५ तालिबान लडाकु मारेको दाबी

सन् २०१२-१३ मा अफगानिस्तानमा हेलिकप्टर पाइलटका रूपमा काम गर्दा छवटा सैन्य मिशनमा आफू सहभागी भएको अनि ती सबैमा केही मानिसको मृत्यु भएको र त्यसलाई आफूले न्यायोचित ठानेको उनले लेखेका छन्।

“यो तथ्याङ्कले मलाई गर्व महसुस गराउँदैन तर त्यसका लागि म लज्जित पनि छैन,” उनी लेख्छन्।

राजकुमार ह्यारी

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, सन् २०१२ मा अफगानिस्तानमा राजकुमार ह्यारी

"लडाइँको ताप र अन्योलमा आफू परेको बेला मैले ती २५ जनाबारे सोचिनँ। उनीहरू चेसबोर्डबाट प्यादा थिए। असल मानिसलाई तिनले मार्नुभन्दा पहिल्यै मेटिएका खराब मानिसहरू," उनले लेखेका छन्।