राजकुमार ह्यारीले ल्यान्डमाइनबारे आमा डायनाको पदचिह्नलाई पछ्याउनुका कारण

ह्यारी

तस्बिर स्रोत, EPA

सन् १९९७ मा राजकुमारी डायना घातक ल्यान्डमाइनहरू छरपस्ट भएका एङ्गोलाको एउटा मैदानमा हिँडिन्। त्यो तस्बिर विश्वभरि चर्चित बन्यो।

दक्षिणी अफ्रिकाको आफ्नो भ्रमणका क्रममा राजकुमार ह्यारीले पनि ल्यान्डमाइन अर्थात् जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थ हटाउन र नष्ट पार्न भइरहेका प्रयासलाई प्रकाशमा ल्याउन एङ्गोलाको भ्रमण गर्दैछन्।

कैयौँ देशमा ल्यान्डमाइन विस्फोटमा परेर हजारौँ मानिसले ज्यान गुमाउने क्रम रोकिएको छैन।

उसो भए संसारमा ल्यान्डमाइन कहाँ छन् त? त्यसमा के प्रगति भएको छ? अनि राजकुमार ह्यारीले आफ्नी आमाको पदचिह्नलाई किन पछ्याउन खोजेका हुन्?

राजकुमारी डायनाले सन् १९९७ मा किन एङ्गोलाको भ्रमण गरिन्?

प्रिन्सेस डायना

तस्बिर स्रोत, Getty Images

राजकुमारी डायना परोपकारका काम र प्रायःजसो सर्वसाधारण मान्छेका दृष्टिमा नपर्ने मुद्दा उठाउने कामका लागि परिचित थिइन्।

उदाहरणका लागि सन् १९८७ मान उनले यूकेको पहिलो एचआईभी/एड्स क्लिनिक खोलिन्। त्यसले मान्छेको धारणा परिवर्तन गर्न सहयोग गर्‍यो।

प्रिन्स अफ वेल्ससँग सन् १९९६ मा सम्बन्धविच्छेद गरेपछि उनले उठाएको पहिलो मुद्दा ल्यान्डमाइनबारे जनचेतना जगाउनु थियो।

द्वन्द्वका क्रममा दशकौँसम्म ल्यान्डमाइनको प्रयोग भयो।

युद्धका बेला विस्फोट नभएर छुटेका ल्यान्डमाइन पछि विस्फोट हुँदा मान्छेहरू मरिरहेका छन् र भुलवश खुट्टाले टेक्दा वा बम चलाउँदा मान्छे घाइते हुने गरेका छन्।

एङ्गोलामा खुट्टा गुमाएका मानिसहरूसँगको उनका तस्बिरहरूले ल्यान्डमाइनले पुर्‍याइरहेका क्षतिलाई दर्शाएका थिए।

राजकुमार ह्यारीले किन त्यही काम गरिरहेका छन्?

ह्यारी

तस्बिर स्रोत, PA Media

आफ्नो एङ्गोला भ्रमणका क्रममा राजकुमार ह्यारीले ल्यान्डमाइन निष्क्रिय बनाउने प्रयासबारे सिकिरहेका छन् र आफ्नी आमाले थालेको कामलाई अगाडि बढाउन चाहिरहेका छन्।

दक्षिणपूर्वी नगर डिरिकोस्थित एउटा पुरानो अस्त्रकेन्द्रमा सुरक्षा कवच लगाइरहेको ह्यारीको तस्बिर सार्वजनिक भएको छ।

ल्यान्डमाइन हटाउने परोपकारी संस्था द हालो ट्रस्टले काम गरेको र आफ्नी आमा गएकै ठाउँ राजकुमार ह्यारी पनि पुगेका हुन्।

सो क्षेत्रमा खप्पर र हड्डी भएको खतराको सङ्केतचित्र देखियो, त्यही दृश्य जुन २२ वर्षअघि उनकी आमा जाँदा देखिएको थियो।

त्यो ठाउँमा गत अगस्टदेखि उक्त परोपकारी संस्थाका कर्मचारीले काम गरिरहेको छन्।

प्रिन्सेस डायना

तस्बिर स्रोत, Getty Images

सन् २००० मा अस्त्र केन्द्रबाट हट्न लागेपछि सरकारविरोधी फौजले ल्यान्डमाइन बिच्छ्याएका थिए।

अक्टोबर महिनाको अन्त्यसम्ममा त्यहाँबाट ल्यान्डमाइन हटाउने सो संस्थाको लक्ष्य रहेको छ।

आफ्नो भ्रमणका क्रममा राजकुमार ह्यारीले एउटा ल्यान्डमाइनलाई नियन्त्रित विस्फोट प्रक्रियाबाट नष्ट पारे।

आफ्नो एउटा भाषणका क्रममा राजकुमार ह्यारीले द हालो ट्रस्टले समुदायलाई "शान्ति खोज्न" सघाइरहेको बताए।

"ल्यान्डमाइन युद्धका नपुरिएका घाउ हुन्। ल्यान्डमाइन हटाएर हामीले समुदायलाई शान्ति खोज्न सघाउन सक्छौँ र शान्तिसँग अवसर आउँछ," उनले भने।

"त्यसका अतिरिक्त हामीले कुइटो नदीमा भर पर्ने विविध र भिन्न वन्यजन्तुलाई संरक्षण गर्न सघाउनेछौँ।"

ह्यारीलाई सुरक्षाबारे जानकारी गराइएको थियो र ल्यान्डमाइन हटाइएको ठाउँभन्दा अन्यत्र नजान तथा केही नछुन भनिएको थियो।

ल्यान्डमाइन के हुन् र त्यसबाट कति मान्छे मर्छन् तथा घाइते हुन्छन्?

ल्यान्डमाइन विस्फोटक हुन्छन्। त्यसमा सङ्केत दिने प्रणाली हुन्छ र सम्पर्कमा आएपछि त्यसले प्रतिक्रिया जनाउँछ। ल्यान्डमाइन जमिनमुनि वा माथि पनि राखिन्छ।

मुख्यतया ल्यान्डमाइन दुई थरीका हुन्छन् - मान्छेलाई मार्ने वा घाइते पार्ने एन्टी-पर्सनेल ल्यान्डमाइन र सवारीसाधन ध्वस्त पार्ने एन्टी-ट्याङ्कमाइन।

प्रथम विश्वयुद्धमा ल्यान्डमाइन प्रयोग भएको थियो, तर सन् १९६० को दशकयता त्यसको प्रयोगले व्यापकता पायो।

सन् २०१७ मा ल्यान्डमाइन विस्फोटनका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति बेहोर्ने देशहरू. . यो तथ्याङ्कमा गम्भीर घाइते र मृत्यु भएका व्यक्तिको सङ्ख्या समावेश गरिएको छ। .

ठाउँठाउँमा ल्यान्डमाइन बिछ्याउनु सैनिक रणनीतिको एउटा हिस्सा नै बन्न पुग्यो र धेरै मान्छेका लागि त्यसले जोखिमपूर्ण वातावरण सिर्जना गर्‍यो।

करिब ६० वटा देश तथा क्षेत्रमा अझै एन्टी-पर्सनेल ल्यान्डमाइन रहेको बताइन्छ।

ल्यान्डमाइन मोनिटरले गरेको अनुसन्धान अनुसार सन् १९९९ देखि २०१७ को बीचमा ल्यान्डमाइनमा परेर एक लाख २० हजारभन्दा बढी मानिस मरेका छन् अथवा घाइते भएका छन्।

त्यसमध्ये करिब आधाजति बालबालिका छन्। मृत्यु हुनेमा ८७ प्रतिशत सर्वसाधारण छन्।

सबैभन्दा बढी कुन देशमा ल्यान्डमाइन छ?

विश्वभरि हजारौँ सङ्ख्यामा ल्यान्डमाइन छन्।

सन् १९७५ देखि २००२ सम्म गृहयुद्ध झेलेको एङ्गोला विश्वमा धेरै ल्यान्डमाइन भएको देशमा पर्छ।

A map of the world showing countries with anti-personnel mines

द हालो ट्रस्टका अनुसार एङ्गोलामा कति सङ्ख्यामा ल्यान्डमाइन छ भन्ने कुरा यकिन गर्न गाह्रो छ, तर सन् १९९४ यता करिब एक लाख ल्यान्डमाइन उसले हटाइसकेको छ।

एङ्गोलाका अधिकारीहरूका अनुसार करिब १२ सय ल्यान्डमाइन क्षेत्र छन्।

ल्यान्डमाइन हटाउने कार्य निकै महँगो र खतरनाक हुन्छ।

अहिलेकै दरमा विश्वभरिबाट पूर्ण रूपमा ल्यान्डमाइन हटाउन सयौँ वर्ष लाग्न सक्छ।

ल्यान्डमाइन धेरै भएका देशमा चाड, अफगानिस्तान, कम्बोडिया, थाईल्यान्ड, अजर्बैजान, बोस्निया र हर्जगोभिना, क्रोएशिया, टर्की, इराक, यमन र वेस्टर्न सहारा पर्छन्।

ल्यान्डमाइनबाट धेरै मान्छे मर्न नदिन के गरिएको छ?

ल्यान्डमाइनविरुद्ध सञ्चालित अभियानमा राजकुमारी डायनाको संलग्नता विश्वव्यापी प्रतिबन्धका लागि एउटा आह्वान थियो।

उनको निधनको तीन महिनापछि १२२ मुलुकले ओटावा सन्धिमा हस्ताक्षर गरे।

उक्त सन्धिले ल्यान्डमाइनको प्रयोग, उत्पादन, भण्डारण र एन्टी-पर्सनेल ल्यान्डमाइनको प्रसारमा प्रतिबन्ध लगाएको छ।

हस्ताक्षर गर्ने मुलुकहरूले हस्ताक्षरको मितिदेखि १० वर्षभित्र ल्यान्डमाइन हटाउनुपर्ने र चार वर्षभित्र भण्डारण नष्ट गर्नुपर्ने उल्लेख छ।

अहिले यूकेसहित १६४ देश सो सन्धिका पक्षधर राष्ट्र छन्।

संसारभरि छरिएका एन्टी-पर्सनेल माइन हटाउने काम. . .

यद्यपि धेरै भण्डारण रहेका संयुक्त राज्य अमेरिका, चीन, भारत र रुससहित संयुक्त राष्ट्रसङ्घका ३२ वटा सदस्य राष्ट्रले त्यसमा हस्ताक्षर गरेका छैनन्।

अधिकांशले समयसीमा भेटाउन सकेका छैनन् र अझै ल्यान्डमाइन राख्ने क्रमन रोकिएको छैन।

ओटावा सन्धिमा हस्ताक्षर नगरेको म्यान्मारमा एन्टीपर्सनेल ल्यान्डमाइनको अहिले प्रयोग भइरहेको बताइन्छ।

गैरसरकारी फौजहरूले पनि ल्यान्डमाइन को प्रयोग गर्ने गरेका छन्।

उदाहरणका लागि बोको हराम लडाकु समूहले सन् २०१४ यता पूर्वोत्तर नाइजिरियामा ल्यान्डमाइन को प्रयोग गर्दै आएको छ।