राजकुमार ह्यारीको नेपाल साइनो

तस्बिर स्रोत, KENSINGTON PALACE
संयुक्त अधिराज्यका राजकुमार ह्यारीको विवाहबारे विश्वभरि नै व्यापक चर्चा भयो।
उनी ब्रिटिश शाही परिवारका यस्ता सदस्य हुन् जसको नेपालसँग गहिरो सम्बन्ध रहेको जानकारहरू बताउँछन्।
त्यो, नेपाल-ब्रिटेनको दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको बेला भएको उनको नेपाल यात्रामा होस् वा गोर्खा सैनिकप्रति उनले दर्शाएको सद्भावमा झल्कने धेरै ठान्छन्।
लगाव
महारानी एलिजाबेथपछि ब्रिटिश राजपरिवारका सदस्यहरूले पटकपटक नेपाल भ्रमण गरेका छन्।

ह्यारीकी आमा डायना र पिता चार्ल्स पनि नेपाल आएका थिए।
तर नेपाल गणतन्त्र भइसकेपछि यहाँ आउने उनी ब्रिटिश शाही परिवारका एक मात्र प्रमुख सदस्य हुन्।
नेपाल-ब्रिटेन दौत्य सम्बन्धको द्विशतवार्षिकीको मौका पारेर दुई वर्षअघि नेपाल आएका राजकुमार ह्यारीले त्यतिबेला भूकम्पको पीडाबाट विस्तारै तङ्ग्रिँदै गरेको नेपाललाई आफ्नो सद्भाव देखाए।
उनले भनेका थिए, "जो भूकम्पमा मारिए उनीहरूप्रति म श्रद्धाञ्जली व्यक्त गर्छु। नेपाली जनताको सङ्कल्प र सहनशीलतामा साथ दिन म जे गर्न सक्छु, त्यो गर्नेछु।"
भूकम्पप्रभावित स्थानहरूको भ्रमण पनि गरेका उनले परोपकारी कामका लागि भन्दै आफ्नो बसाइ लम्ब्याएनन् मात्रै, सानातिनो पुनर्निर्माणमा आफैँ खटिए पनि।
विशेष गरी गोर्खा सैनिकप्रतिको लगाव उनका टिप्पणीहरूमा झल्किन्छ।
अफगानिस्तानमा खटिँदा ब्रिटिश गोर्खासँग समय बिताएका ह्यारी उनीहरूको साहसबाट निकै प्रभावित भएको प्रतीत हुन्छ। त्यसैले गर्दा नेपालप्रति उनको लगाव झन् गाढा बनेको भनी अर्थ्याउनेहरू पनि पाइन्छन्।

तस्बिर स्रोत, AFP
इतिहास
इतिहासविद् डक्टर रमेश ढुंगेल त्यो लगावलाई ब्रिटिश शाही परिवार र नेपालको ऐतिहासिक सम्बन्धको कसीमा राखेर हेर्न रुचाउँछन्।
उनी भन्छन्, "प्रकृतिप्रति उनीहरूको रुचि हो। सबैभन्दा बढी चाहिँ पहिलेदेखिनै ब्रिटिश गोर्खाप्रति उनीहरूको ममता छ। जङ्गबहादुर राणाको पालोदेखि नै नेपाल-ब्रिटेन सम्बन्धले औपचारिकता पाएको हो। त्यतिबेला ब्रिटिशहरूलाई नेपाल चाहिएको थियो र नेपालका शासकहरूलाई उनीहरू। त्यसैले स्वार्थ पनि मिल्न गयो।"
मूलत: ब्रिटिश राजपरिवार अहिले आलाङ्कारिक भूमिकामा छ र विदेश नीतिमा उसको प्रत्यक्ष प्रभाव नदेखिएला।
तर अहिले पनि ब्रिटिश राजपरिवारप्रति देशभित्र मात्रै होइन, बाहिर पनि सम्मान पाइन्छ र उक्त परिवारको कुनै न कुनै प्रकारको नेपाल साइनोलाई कम आँक्न नमिल्ने तर्क गर्नेहरू पनि प्रशस्तै छन्।










