राजकुमार ह्यारीद्वारा गोर्खा सैनिकको प्रशंसा

तस्बिर स्रोत,
ब्रिटेनका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ पाँच दिने नेपाल भ्रमणको निम्ति काठमाण्डू पुगेका छन्।
दुई देशबीचको दौत्य सम्बन्ध दुई सय वर्ष पुगेको अवसरमा राजकुमार ह्यारी ब्रिटिश महारानीको प्रतिनिधिको रुपमा नेपाल आएका हुन्।
उनी ८९ वर्षिया ब्रिटिश महारानी एलिजाबेथ द्वितीयका नाति हुन्।
ब्रिटिश राजपरिवारका सदस्य गणतन्त्रात्मक नेपालको भ्रमणमा आएको यो पहिलो पटक हो।
सम्झना
राजकुमार ह्यारीले भ्रमणको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा ब्रिटिश गोर्खा सैनिकको प्रंशसा गर्दै केही सम्झना सुनाएका थिए।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार गत वर्ष मात्र १० वर्ष लामो सैनिक जीवनबाट अवकाश लिएका राजकुमारले आफू अफगानिस्तान जाँदा गोर्खा सैनिकसँग भएको भेटको स्मरण गरेका थिए।
रिमालले भने, "राजकुमारले खासगरी ब्रिटिश गोर्खा फौजले निर्वाह गरेको भूमिका र बहादुरीको प्रशंसा गर्दै नेपाली जनतालाई धन्यवाद दिनु भयो।"
नेपाल सरकारको तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्ने क्रममा पनि उनले उक्त प्रसंग झिक्दै भनेका थिए, "म ती विशिष्ठ क्षमताका फौजी जन्माउने र हुर्काउने समुदायसँग भेटघाट गर्ने अवसरको प्रतिक्षामा छु।"
दुई देशबीचको सम्बन्ध दरिलो बनाउन मुख्य भूमिका रहेका ठानिने गोर्खा फौजका करिव चालिस हजार सदस्यले पहिलो र दोश्रो विश्व युद्धमा ज्यान गुमाएको बताइन्छ।
प्रतिष्ठित मानिने भिक्टोरिया क्रसबाट एक दर्जन गोर्खा सैनिक सम्मानित समेत भएका छन्।
योजना
महारानी एलिजाबेथ द्वितीयले राजा महेन्द्र र राजा विरेन्द्रका पालामा नेपाल भ्रमण गरेकी थिइन्।
उनका पति फिलिप, जेठा छोरा चार्ल्स र बुहारी डायनाले पनि नेपाल भ्रमण गरिसेकेका छन्।
झण्डै दुई दशकपछि ब्रिटश राजपरिवारका सदस्यको रुपमा नेपाल आएका राजकुमार ह्यारीले आफु नेपाल आउँदा खुशी र गौरवान्वित भएको बताए।
उनले भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धन्जली अर्पण गर्दै आफ्नो नेपाल भ्रमणले विश्वभरका मानिसलाई नेपाल आउने सन्देश दिने उद्देश्य राखेको उल्लेख गरेका छन्।
पाँच दिने भ्रमणका क्रममा ह्यारीले बर्दिया, पोखरा र लमजुङ भ्रमण गर्ने र काठमाण्डूमा भूकम्पले क्षति पुर्याएका ऐतिहासिक सम्पदाको अवलोकन गर्ने योजना रहेको बताईएको छ।








