ह्यारी र मेगनको चर्चित अन्तर्वार्ता किन विवादास्पद

तस्बिर स्रोत, Harpo Productions - Joe Pugliese
ब्रिटिश राजकुमार ड्यूक अफ ससेक्स ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको जिम्मेवारीबाट पन्छिएको एक वर्षभन्दा लामो समय भएको छ।
अहिले अमेरिकामा बसिरहेका उनीहरू आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा अलग भएका छन् र टेलिभिजनमा एउटा लामो अन्तर्वार्ता दिएका छन्।
किन ओप्रा विन्फ्रेसँगको सो अन्तर्वार्ता अहिले चर्चामा छ? के उनीहरू अझै राजपरिवारका सदस्य हुन्?
ह्यारी र मेगनको अन्तर्वार्ताको विषय के हो?
सन् २०१८ मा ह्यारी र मेगनको विवाह समारोहमा ओप्रा विन्फ्रे सहभागी भएकी थिइन् र अहिले क्यालिफोर्नियामा उनीहरूनजिकै बस्ने बताइन्छ।
यो अन्तर्वार्ता आइतवार अमेरिकामा र सोमवार यूकेमा प्रसारण हुँदैछ।
अन्तर्वार्तामा उनीहरू अमेरिका सर्नुअघि राजपरिवारका सदस्यको रूपमा अनुभवको विस्तृत विवरण हुने मानिएको छ।
अहिले सार्वजनिक भएको एउटा अंशमा मेगनले भनेकी छन्: "मलाई थाहा छैन यो सबै समयपछि पनि राजपरिवारले हाम्रा बारेमा गलत कुराहरू फैलाइरहँदा पनि कसरी उनीहरू हामी चुप लागेर बस्छौँ भनेर सोच्छन्।"
अन्तर्वार्ता किन विवादास्पद?
यो अन्तर्वार्ताको प्रसारण समय राजपरिवारका लागि अप्ठेरो अवस्थासँग जुधेको छ।
ह्यारीको हजुरबुबा राजकुमार फिलिप मुटुको उपचारका लागि अस्पतालमा छन्।
अन्तर्वार्ता प्रसारण हुने समयभन्दा केही दिनअगाडि द टाइम्स समाचारपत्रमा प्रकाशित सामग्रीका अनुसार मेगन राजपरिवारको सक्रिय सदस्य रहँदा उनीमाथि कामदारमाथि गलत व्यवहार गरेको आरोप लगाइएको छ।

तस्बिर स्रोत, Getty Images
आरोपीले उनलाई दुई व्यक्तिगत सहयोगीलाई घरबाट निकालेको र तेस्रोको आत्मविश्वासलाई गिराउने काम गरेको आरोप लगाएका छन्।
मेगनको प्रवक्ताका अनुसार चरित्रमाथि गरिएको पछिल्लो आक्रमणबाट उनी दुःखी भएकी छिन्।

तस्बिर स्रोत, Getty Images
दरबारले यो विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
महारानीले आफ्नो व्यक्तिगत विषयमा विरलै सार्वजनिक रूपमा बोल्ने हुँदा यसअघि पनि राजपरिवारका सदस्यहरूले आफ्नो व्यक्तिगत जीवन र पारिवारिक कुराहरू बोल्दा दरबारलाई मन नपरेका उदाहरण छन्।
ह्यारी र मेगनको सुरुदेखि नै ब्रिटिश सञ्चारमाध्यमसँग राम्रो सम्बन्ध छैन।
मेगनले हालै मेल अन सन्डे पत्रिकाविरुद्ध आफ्नो पितालाई लेखेको पत्र प्रकाशित गरेर आफ्नो गोपनीयता भङ्ग गरेको भन्ने बारेको मुद्दा जितेकी छन्।
के ह्यारी र मेगन अझै राजपरिवारका सदस्य हुन्?
हुन्। तर उनीहरू सक्रिय छैनन्।
राजपरिवारका वरिष्ठ सदस्यहरूले महारानीको तर्फबाट केही औपचारिक जिम्मेवारीहरू पूरा गर्नुपर्छ।
ती भनेका विदेश यात्रामा श्रीपेचको प्रतिनिधित्व गर्ने, राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व लिने र अन्य संस्थाहरूलाई सहयोग गर्ने हुन्।
सन् २०२० को सुरुमा ह्यारी र मेगनले यी जिम्मेवारीबाट हट्ने र उत्तर अमेरिकामा सर्ने घोषणा गरे। सो कुराको पुनरावलोकन १२ महिनामा गरिने योजना थियो।

तस्बिर स्रोत, Getty Images
यो वर्षको फेब्रुअरीमा महारानीले वक्तव्य प्रकाशित गर्दै उनीहरू सो जिम्मेवारीबाट स्थायी रूपमा मुक्त भएको बताइयो।
उनीहरू महारानीले दिएको पद ड्यूक र डचेज अफ ससेक्सका रूपमा रहिरहनेछन् तर उनीहरूलाई सम्बोधन गर्दा रोयल हाइनेस भन्नु पर्दैन।
ह्यारी जन्मिँदा नै राजकुमार भएकाले अझै पनि त्यहीँ रहन्छन् र उनी सिंहासनका लागि छैटौँ दाबेदार पनि रहिरहनेछन्।

तस्बिर स्रोत, Getty Images
राजकुमार ह्यारी र मेगनको सम्बन्ध
राजकुमार ह्यारीले सन् २०१६ मा मेगनलाई पहिलो पटक भेट्दा उनी सुट्स नामक सफल टेलिचलचित्रकी कलाकार थिइन्। उनीहरूको परिचय कुनै साथीले गराइदिएको र त्यसयता परोपकारी कार्यले जोडिएको बताइन्छ।
उनीहरूले सन् २०१७ मा इङ्गेजमेन्टको घोषणा गरेका थिए र सन् २०१८ मा विवाह गरेका थिए। उनीहरूको विवाह समारोह यूकेमा मात्रै एक करोड ८० लाख मानिसले टेलिभिजनमा प्रत्यक्ष हेरेका थिए।
राजपरिवारको जिम्मेवारीबाट अलग्गिएपछि उनीहरू केही समयका लागि क्यानडामा रहे र त्यसपछि मेगानको आमा भएको क्यालिफोर्नियामा पुगे।
सन् २०१९ मा उनीहरूको पहिलो सन्तानको रूपमा आर्चीको जन्म भयो। मेगन अहिले गर्भवती रहेको बताइन्छ।










