ब्रिटिश राजपरिवारः मेगन र ह्यारी दोस्रो सन्तानको प्रतीक्षामा

ह्यारी र मेगन

तस्बिर स्रोत, MISAN HARRIMAN

ड्यूक र डचिस अफ ससिक्स दम्पतीले दोस्रो सन्तानको अपेक्षा गरिरहेको उनीहरूका प्रवक्ताले जनाएका छन्।

ह्यारी र मेगनले छोरा आर्चीका भाइ वा बहिनीको स्वागत गर्ने तयारी गरिरहेका छन्। गत मे महिनामा आर्ची एक वर्ष पुगेका थिए।

ह्यारी र मेगनका प्रवक्ताले उक्त दम्पती "अत्यन्तै खुसी" रहेको बताएका छन्।

बकिङ्घम दरबारका प्रवक्ताले महारानी, ड्यूक अफ एडिन्बरा तथा प्रिन्स अफ वेल्स तथा राजपरिवारका सबै जना "हर्षित भएको र उनीहरूलाई शुभेच्छा व्यक्त गरेको" जनाएका छन्।

ह्यारी र मेगनले एउटा श्यामश्वेत तस्बिर सार्वजनिक गरेका छन् जसमा एउटा रूखमुनि ह्यारीले आफ्नो हात मेगनको टाउकोमा राखेको र मेगनले आफ्नो हात पेटमा राखेको देखिन्छ।

उनीहरूका बच्चा राजगद्दीको उत्तराधिकारमा आठौँ स्थानमा रहनेछन्।

मेगनले दोस्रो बच्चालाई कहिले जन्म दिनेछिन् भन्ने कुरा खुलाइएको छैन।

ह्यारी र मेगन

तस्बिर स्रोत, PA

तस्बिरको क्याप्शन, सन् २०१९को मे ६ तारिखमा आर्चीको जन्म भएको थियो

गत जुलाईमा आफ्नो गर्भ तुहिएको जानकारी मेगनले नोभेम्बरमा प्रकाशित एउटा लेखमार्फत् दिएकी थिइन्।

ह्यारी र मेगन पहिलो पटक भेट भएको १६ महिनापछि विवाह बन्धनमा बाँधिएका थिए। सन् २०१८को मे महिनामा विवाह बन्धनमा बाँधिएका उनीहरूले सन् २०१९को मे ६ तारिखमा पहिलो सन्तानलाई जन्म दिएका थिए।

सन् २०२०को मार्च महिनामा ह्यारी र मेगनले आफूले राजपरिवारको 'वरिष्ठ सदस्य' को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए।

लगत्तै बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको थियो।

हाल उनीहरू क्यालिफोर्नियामा बस्छन्।