राजपरिवारको कोष त्यागेर राजकुमार ह्यारी र मेगन आत्मनिर्भर बन्न सक्छन्?

ह्यारी र मेगन

तस्बिर स्रोत, Getty Images

शाही जिम्मेवारीबाट पछि हट्ने घोषणा गरेर ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलले सामाजिक सञ्जाललाई खुसी बनाएका छन् तर राजपरिवारलाई भने खिन्न बनाएका छन्।

ड्यूक र डचिस अफ ससिक्सले आफ्नो इन्स्टाग्राम खातामा आफूहरू "शाही परिवारको वरिष्ठ सदस्यको नरहने र आर्थिक रूपमा आत्मनिर्भर हुन" चाहेको बताएका थिए।

आर्थिक रूपमा आत्मनिर्भन हुने भन्ने कुरा बुझ्न उनीहरूको खर्च कहाँबाट आइरहेको छ भन्ने बुझ्नु जरुरी छ।

राजपरिवारमा रहुञ्जेल उनीहरूलाई खर्चका लागि कहाँबाट पैसा आइरहेको छ र उनीहरूले त्यो छोडेर कहाँबाट खर्च जुटाउन सक्छन् त?

ह्यारी र मेगनको खर्च कहाँबाट?

ह्यारी र मेगनले अहिले उनीहरूको कार्यालयको ९५ प्रतिशत खर्च प्रिन्स अफ वेल्स अर्थात् ह्यारीका पिता चार्ल्सबाट आउने बताएका छन्।

उनले ह्यारी र मेगनको सार्वजनिक कार्यक्रमको साथसाथै राजकुमार विलियम र केटको निजी खर्चका लागि केही पैसा दिन्छन्।

मेगन राजपरिवारसँग जोडिएको सन् २०१८-२०१९ मा चार्ल्सले त्यसरी तिर्ने रकम ६५ लाख डलर रहेको थियो।

उक्त रकम राजकुमार चार्ल्सको व्यापारिक संस्था डची अफ कोर्नवलबाट आम्दानी हुन्छ।

सम्पत्ति र आर्थिक लगानीसम्बन्धी काम गर्ने सो संस्थाले गत वर्ष दुई करोड ८२ लाख डलर कमाएको थियो।

शाही परिवार

तस्बिर स्रोत, Getty Images

यसका साथै ससिक्स दम्पतीको पाँच प्रतिशत आम्दानी सरकारले राजपरिवारलाई दिने अनुदानबाट पनि आउँछ।

यो खर्चमा सुरक्षाका लागि लाग्ने रकम समावेश गरिएको छैन। त्यसको छुट्टै व्यवस्था गरिन्छ।

सो अनुदान महारानीको स्वामित्वमा रहेको क्राउन इस्टेट भनिने व्यापारिक सम्पत्तिबाट हुने नाफाबाट जुटाइन्छ।

ह्यारी र मेगनको सम्पत्ति कति छ?

फर्च्युन पत्रिकाका अनुसार मेगनको सम्पत्ति करिब ५० लाख डलर रहेको छ।

यो उनले अमेरिकी टेलिभिजन टेलिभिजन कार्यक्रम सुट्समा अभिनय गर्दा कमाएको हो।

उनले प्रतिकार्यक्रम ५० हजार डलर लिने गरेको बताइन्छ।

मेगनले जीवनशैलीसम्बन्धी एउटा भिडिओ ब्लग चलाउँछिन् र क्यानडाको एउटा ब्रान्डको लागि फ्यासन डिजाइन पनि गर्छिन्।

मेगन मार्कल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टेलिभिजन कार्यक्रम 'सुट्स'का लागि मेगनलाई प्रतिकार्यक्रम ५० हजार डलर दिइएको बताइन्छ

विश्वका धनी मानिसहरूको विवरण राख्ने वेल्थ एक्सका अनुसार ह्यारीको चाहिँ कम्तीमा दुई करोड ५० लाख डलर सम्पत्ति रहेको छ।

उनी र उनका दाइ विलियमले आमा प्रिन्सेस अफ वेल्स डायनाले छाडेर गएको रकम पनि पाएका थिए।

सन् २०१४ मा ३० वर्षका भएपछि ह्यारीले आमा डायनाले खडा गरेको कोषबाट एक करोड डलर पाएको फर्च्यून म्यागाजिनले जनाएको छ।

"आर्थिक रूपमा आत्मनिर्भर" हुनुको अर्थ

ह्यारी र मेगनले सरकारबाट राजपरिवारले पाउने रकमबाट आउने पैसा लिन बन्द गर्ने बताएका हुन्।

उनीहरूले राजकुमार चार्ल्सबाट र अन्य स्रोतबाट पाउने पैसा लिने कि नलिने भन्ने स्पष्ट गरेका छैनन्।

ह्यारी र मेगनलाई प्रहरीबाट प्राप्त हुने सुरक्षासम्बन्धी खर्च चाहिँ कायमै हुन्छ जुन करदाताले तिरेको रकम हो।

तर त्यो खर्चमा कति हुन्छ भन्ने खुलाइएको छैन।

ह्यारी र मेगनको उत्तर अमेरिका र ब्रिटेन आउनेजाने गर्दा त्यो खर्च बढ्न सक्छ।

तर त्यो खर्च निकै धेरै हुने भए उनीहरूले नै बेहोर्ने सम्भावना पनि छ।

आफ्ना सबै निजी भ्रमणहरूमा आफैँले खर्च गर्ने गरेको यो जोडीले बताउने गरेको छ।

यसको अर्थ औपचारिक भ्रमणको खर्च करदाताबाट उठेकै रकमबाट जानेछ।

उनीहरूले युकेस्थित घर विन्डसोरस्थित फ्रगमोर कटेज आफैँसँग राख्नेछन् जसको गत वर्ष सरकारी पैसाको ३१ लाख डलर खर्चमा मर्मत गरिएको थियो।

शाही सदस्य आफैँ पैसा कमाउन पाउँछन्?

राजपरिवारको वरिष्ठ सदस्यका हैसियतले ह्यारी र मेगनले आफैँ कमाउन पाउँदैनन्।

शाही सदस्यहरू विवाह समारोहमा

तस्बिर स्रोत, Getty Images

यो जोडीले राजपरिवारमा अन्य सदस्य जस्तै जागिर खाने बताएका छन्।

उदाहरणका लागि राजकुमारी बेएट्रिस र राजकुमारी युझनी 'कामकाजी शाही सदस्य' होइनन्। राजकुमारी बेएट्रिस आर्थिक क्षेत्रमा काम गर्छिन् भने राजकुमारी युझनी एउटा आर्ट ग्यालरीकी निर्देशक हुन्।

तर पनि उनीहरूको केही खर्च करदाताको रकमबाट हुन्छ। सन् २०१८ मा भएको राजकुमारी युझनीको विवाहमा सुरक्षा खर्च करदाताकै रकमबाट खर्च भएको थियो।

ह्यारी र मेगनले कसरी पैसा कमाउन सक्छन्?

शाही खर्चबारे पुस्तक लेखेका डेभिड म्याक्लुअर भन्छन्: "मलाई लाग्छ उनीहरूले किताब लेखेर पैसा कमाउन सक्छन् वा टेलिभिजन आर्थिक स्रोत हुनसक्छ।"

"ह्यारी र मेगनले ओपरा विनफ्रेसँग एउटा सम्झौता गर्दैछन् भन्ने विषय आइरहेको छ भनेपछि पैसा आम्दानी गर्ने एउटा सम्भावित तरिका त्यो पनि हुनसक्छ।"

सन् २०१९ मा भएको एउटा दक्षिण अफ्रिकी भ्रमणका क्रममा मेगन र ह्यारी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मेगन र ह्यारीले परोपकारी कामहरू गर्ने योजना गरेको बताएका छन्

ह्यारी र मेगनले आफ्नो विज्ञप्तिमा एउटा नयाँ परोपकारी काम थाल्नु आफ्नो भविष्यको प्राथमिकता रहेको बताएका छन्।

गतवर्ष उनीहरूले ड्यूक एण्ड डचेस अफ क्रेम्ब्रिजसँग मिलेर खोलेको रोएल फाउण्डेसन छोड्ने निर्णय गरेका थिए।

सन् २००९ मा खोलिएको रोएल फाउण्डेसनले मानसिक स्वास्थ्य, संरक्षण र सशस्त्र फौजमा केन्द्रित काम गरेको छ।

ब्रान्डको व्यापार

गएको जूनमा यो जोडीले खेल र शैक्षिक सामाग्रीलगायतका दर्जनौँ सामानहरूमा रोएल ससिक्स ब्रान्ड चलाउन दिएको थियो।

यो जोडीको ब्रान्ड विश्वको महङ्गो ब्रान्ड बन्न सक्ने सम्भावना छ।

उनीहरूको इन्स्टाग्राममा एक करोडभन्दा बढी फलोअर्स छन्।

गत वर्ष मेगन यूकेमा गुगलमा सबैभन्दा बढी खोजिएकी व्यक्ति बनेकी थिइन्।

तर जसरी उनीहरू आत्मनिर्भर बन्ने कुरामा फरक विचारहरू छन्, यी सबै आम्दानीका स्रोतहरूमा फरक विचारहरू हुन सक्छन्।