राजकुमार ह्यारी र मेगन: ड्यूक र डचिस अफ ससिक्सको भावी भूमिकाबारे छलफल गर्न ब्रिटिश राजपरिवारमा बैठक

तस्बिर स्रोत, Getty Images
आफ्नो शाही भूमिका परित्याग गरेको घोषणा गरेका ड्यूक र डचिस अफ ससिक्सको विषयमा महारानी एलिजावेथ द्वितीयाले सोमवार राजपरिवारका वरिष्ठ सदस्यहरूसँग छलफल गर्दैछिन्।
राजकुमार ह्यारी, ड्यूक अफ केम्ब्रिज राजकुमार विलियम र प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स उक्त छलफलमा सहभागी हुनेछन्। राजकुमार ह्यारीकी पत्नी मेगनले फोनमार्फत् क्यानडाबाट छलफलमा भाग लिने अपेक्षा गरिएको छ।
गत हप्ता ह्यारी र मेगन दम्पतीले एउटा विज्ञप्ति जारी गरेपछि उनी क्यानडा गएकी थिइन्।
बीबीसीका शाही संवाददाता जोनी डाइमन्डले सोमवारको बैठकलाई "भविष्यको शाही इतिहास" भनेका छन्।
छलफलबाट ह्यारी र मेगन दम्पतीको राजपरिवारसँग कस्तो सम्बन्ध बाँकी हुन्छ त्यो छलफलबाट निर्धारण हुने अपेक्षा गरिएको छ। महारानीले उक्त विषयको समाधान निकाल्नुपर्ने इच्छा व्यक्ति गरेकी थिइन्।
तर बीबीसी संवाददाताका अनुसार कुनै सहमतिमा पुग्न केही समय लाग्न सक्छ।
ह्यारी र मेगनले कति कोष प्राप्त गर्ने, उनीहरूका शाही उपाधि यथावत् रहने कि नरहने र उनीहरूका कस्ता शाही जिम्मेवारीलाई निरन्तरता दिने विषयमा छलफल हुने सम्भावना छ।

तस्बिर स्रोत, Getty Images
महारानीको नोर्फकस्थित दरबारमा हुने लागेको बैठकलाई "स्यान्ड्रिङ्गम समिट" भनिएको छ।
गत हप्ता बुधवार ह्यारी र मेगनले आफूखुसी राजपरिवारको 'वरिष्ठ सदस्य' को भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए। उनीहरूले यूके र उत्तर अमेरिकामा बराबर समय व्यतीत गर्ने आफ्नो योजना भएको बताएका थिए।
"यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ," विज्ञप्तिमा उल्लेख थियो।
उक्त घोषणापछि राजपरिवार स्तब्ध भएको थियो। त्यसपछि राजकुमार ह्यारीसँग महारानीको पहिलो पटक भेट हुन लागेको हो।
बैठकका लागि राजकुमार चार्ल्स ओमानबाट फर्किएका छन्। उनी दिवङ्गत सुल्तान कबूस बिन सइद अल सइदप्रति श्रद्धा व्यक्त गर्न आयोजित समारोहमा सहभागी हुने ओमान गएका थिए।

विन्डसरस्थित आफ्नो निवासस्थान फ्रग्मोर कटेजबाट ह्यारी स्यान्ड्रिङ्गम जाने बुझिएको छ।
कुनै सहमति भए पनि त्यो कार्यान्वयन हुन समय लाग्ने धेरैको बुझाइ छ।
पत्रपत्रिकामा प्रकाशित विवरणहरूका अनुसार आफूलाई चित्त नबुझ्ने निर्णय भएमा ह्यारी र मेगन दम्पतीले टेलिभिजनमा हानिकारक अन्तर्वार्ता दिन सक्नेछन्।
सन्डे टाइम्समा लेख्दै उनीहरूका पारिवारिक मित्र तथा प्रसारक टम ब्र्याड्बीले टेलिभिजनमा कस्तो अन्तर्वार्ता आउँदैछ भन्ने थाहा भएको र त्यसको विषयवस्तु प्रिय नहुन सक्ने जनाएका छन्।
उनले बत वर्ष ह्यारी र मेगन दम्पत्तीबारे एउटा वृत्तचित्र बनाएका थिए।
उक्त शाही दम्पती क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। छोरालाई त्यहीँ छोडेर स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा आफ्नो घोषणा गरेका थिए।
भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन्।
अमेरिकी टेलिचलचित्र 'सूट्स'मा अभिनय गर्दा उनी क्यानडाको टोरन्टोमा बस्थिन्।









