ओमानमा पाँच दशक 'निरङ्कुश शासन' गरेका लोकप्रिय सुल्तान कबूसको मृत्यु

सुल्तान कबूसले ओमानमा पाँच दशकन शासन गरे

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सुल्तान कबूसले ओमानमा पाँच दशक शासन गरे

अरब राष्ट्रमा सबैभन्दा लामो समय शासन गर्ने कीर्तिमान बनाएका ओमानका सुल्तान काबूस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा मृत्यु भएको छ।

सन् १९७० मा उनले ब्रिटिश सहयोगमा रक्तपातहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए। त्यसपछि ओमान खनिज तेलको प्रयोग गरी विकासपथमा लम्कियो।

निरङ्कुश भए पनि उनलाई ओमानमा लोकप्रिय शासक मानिन्थ्यो।

शुक्रवार निधन भएको भए पनि उनको मृत्युको कारण खुलाइएको छैन। उनको अन्तिम संस्कारको प्रक्रिया सुरु भएको छ।

उत्तराधिकारी

उनका नातेदार हैथम बिन तारिक अल सइद नयाँ सुल्तान घोषित भएका छन्।

राजपरिषद्को बैठकपछि पूर्वसंस्कृतिमन्त्री हैथमले सुल्तानको शपथ ग्रहण गरेको सरकारले जनाएको छ।

ओमानमा सुल्तान सर्वेसर्वा हुन्छन्। उनले प्रधानमन्त्री, सबै सैन्य बलका प्रमुख, रक्षामन्त्री, अर्थमन्त्री तथा विदेशमन्त्रीको भूमिका निर्वाह गर्छन्।

सुल्तान कबूसका कुनै उत्तराधिकारी थिएनन् र उनले आफ्नो शेषपछि नयाँ सुल्तान हुने व्यक्ति चयन पनि गरेका थिएनन्।

सन् १९७० मा पितालाई हटाएर कबूस सुल्तान बनेका थिए

तस्बिर स्रोत, Keystone

तस्बिरको क्याप्शन, सन् १९७० मा पितालाई हटाएर कबूस सुल्तान बनेका थिए

गत महिना सुल्तान कबूसले स्वास्थ्योपचारका लागि एक हप्ता बेल्जियममा बिताएका थिए। उनलाई क्यान्सर भएको विवरण प्रकाशित भएको थियो।

ओमानले तीन दिनको राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

तटस्थ नीति

सुल्तान कबूसले झन्डै पाँच दशक ओमानमा शासन गरे।

ओमानमा अहिले ४६ लाख मानिस बस्छन्। तीमध्ये ४३ प्रतिशत विदेशी छन्।

उनन्तीस वर्षको उमेरमा उनले आफ्ना पिता सइद बिन तैमुरलाई सत्ताबाट हटाएका थिए।

Presentational grey line
Presentational grey line

सइद अतिरूढिवादी शासक थिए। उनले रेडिओ सुन्न र सनग्लास लाउन पनि प्रतिबन्ध लगाएका थिए। कसले बिहे गर्न, पढ्न र देशबाहिर जान पाउँछ त्यसको निर्णय उनी आफैँ गर्थे।

आफू सुल्तान बनेपछि कबूसले आधुनिक सरकार बनाउने र तेल बेचेर हुने आयबाट देशको विकास गर्ने घोषणा गरे।

त्यतिबेला ओमानमा पक्की बटो केवल १० किलोमिटर थियो भने देशमा जम्मा तीनवटा विद्यालय थिए।

ओमान

तस्बिर स्रोत, Getty Images

ब्रिटिश सैनिकको सहयोगमा उनले देशको उत्तरी भेगमा तत्कालीन मार्क्सिस्ट पीपल्स डेमक्र्याटिक रिपब्लिक अफ यमनको समर्थनमा आदिवासीहरूले गरेको विद्रोह दमन गरे।

उनलाई चामत्कारिक र दूरदर्शी मानिन्थ्यो। उनले तटस्थ परराष्ट्रनीति अवलम्बन गरेका थिए।

सन् २०१३ मा अमेरिका र इरानबीच भएको गोप्य वार्ताको मध्यस्थता उनले गरेका थिए। सो वार्ताको दुई वर्षपछि दुई पक्षबीच परमाणु सम्झौता भएको थियो।

निरङ्कुश शासन

सन् २०११ मा अरब देशमा 'अरब स्प्रिङ' लहर चल्दा ओमानमा पनि शासनव्यवस्थाप्रति केही असन्तुष्टि देखियो।

सुल्तान कबूसको शव राकिएको पेटिका

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सुल्तान कबूसको अन्तिम संस्कारको प्रक्रिया सुरु भएको छ

त्यहाँ ठूलो परिवर्तन नभए पनि हजारौँ मानिसहरू राम्रो तलब, थप रोजगारी र भ्रष्टाचारको अन्त्यको माग राख्दै सडकमा ओर्लिए।

Presentational grey line
Presentational grey line

सुरक्षाकर्मीले सुरुसुरुमा त्यस्ता प्रदर्शन हुने दिए पनि पछि दमन गरे। प्रदर्शनकारीमाथि अश्रुग्यास तथा गोली प्रहार गरिँदा दुई जनाको मृत्यु भयो भने कैयौँ व्यक्ति घाइते भए।

गैरकानुनी रूपमा भेला भएको र सुल्तानको अपमान गरेको अभियोगमा सयौँ जनालाई मुद्दा चलाइयो।

प्रदर्शनका कारण खासै ठूलो परिवर्तन भएन। तर सुल्तान कबूसले लामो समय सत्तामा बसेका र भ्रष्ट ठानिएका मन्त्रीहरूलाई पदमुक्त गरिदिए।

उनले परामर्श परिषद्को शक्ति विस्तार गरिदिए र सार्वजनिक सेवामा थप रोजगारीको अवसर सिर्जना गर्ने वाचा गरे।

त्यसयता ओमानमा सरकारको आलोचना गर्ने स्वतन्त्र पत्रपत्रिकालाई बन्देज लगाउने, पुस्तक जफत गर्ने, अभियानकर्मीहरूलाई दु:ख दिने गरिएको ह्यूमन राइट्स वाचले जनाएको छ।