साउदी राजा अब्दुल्लाहको अन्त्येष्टि

तस्बिर स्रोत, AP
साउदी अरेबियामा दिवंगत राजा अब्दुल्लाहलाई परम्परागत समारोहका माझ समाधिस्थ गरिएको छ।
नयां राजा, सलमान बीन अब्दुल अजीज अल साउदले, आफूले बिहीबार निधन भएका आफ्ना पूर्ववर्ती राजा अब्दुल्लाका नीतिहरुलाई निरन्तरता दिने बताएका छन्।
आफ्नो पहिलो टेलिभिजन सम्बोधनमा नयां राजाले इस्लामिक विश्वमा एकताको लागि पनि आह्वान गरे।
साउदी अरेबियामा राजा अब्दुल्लाहको अन्त्येष्टि समारोह चलिरहंदा उनको ढाकिएको शवलाई समाधिस्थ गरिनु अघि विभिन्न क्षेत्रीय नेताहरुको उपस्थितिमा राजधानी रियाधस्थित एउटा मस्जीदमा लगिएको थियो।
एकताको आह्वान
त्यसअघि उनका उत्तराधिकारी तथा नयां राजा सलमानले इस्लामिक विश्वमा एकताको आह्वान गर्दै आफूले पूर्व नरेशका नीतिहरुलाई नै अघि बढाउने बताएका थिए।
नयां सरकारमा विदेश मामिला, तेल तथा वित्त जस्ता महत्वपूर्ण मन्त्रालयहरुमा पुरानै मन्त्रीहरु कायम रहेका बताइएको छ।
एउटा महत्वपूर्ण कदमका रुपमा राजा सलमानले देशका आन्तरिक मामिला मन्त्री राजकुमार मोहम्मद बीन नयेफलाई उप युवराज घोषित गरेका छन्।
साउदी परिवारको तेस्रो पुस्ताबाट त्यस्तो वरिष्ठ पद प्राप्त गर्ने उनी पहिलो व्यक्ति हुन्।
त्यस्तो कदमलाई भावी उत्तराधिकारीहरुको क्रमलाई स्पष्ट पार्ने प्रयासका रुपमा हेरिएको छ।
समवेदना
राजा अब्दुल्लाहको निधनप्रति थुप्रै देशहरुले समवेदना सन्देश पठाएका छन्, तिनमा साउदी अरेबियाको क्षेत्रीय प्रतिद्वन्द्वी इरान पनि छ।
तर मानव अधिकारवादी समूहहरुले साउदी अरेबियाको आलोचनालाई दोहो-याएका छन् भने इस्लामवादी उग्रवादीहरुले राजा अब्दुल्लाहको निधनमा उनलाई अमेरिकीहरुको गुलाम भन्दै सामाजिक संजालका वेबसाइटहरुमार्फत खुशी मनाएका छन्।
पछिल्लो समय फोक्सोमा संक्रमण देखिएको भनिएका साउदी अरेबियाका राजा अब्दुल्लाह बिन अब्दुल अजिजको शुक्रबार निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको थियो।
राजाको निधन भएको घोषणा गर्नुअघि सरकारी टेलिभिजनमा इस्लामिक धर्मग्रन्थ कुरानका श्लोकहरुको उच्चारण रोकिएको थियो।
साउदी अरेबियामा शाही परिवारका कुनै वरिष्ठ सदस्यको निधन भएको बेला त्यसो गर्ने गरेको बताइन्छ।
फोक्सोमा देखिएको संक्रमणका कारण ९० वर्षीय राजा अब्दुल्लाहलाई केही हप्तादेखि अस्पतालमा भर्ना गरिएको थियो।
सन् २००५ मा राजगद्दी सम्हालेका अब्दुल्लाह केही वर्षयता पटक-पटक बिरामी हुँदै आएका थिए।
नयाँ राजा घोषणा गरिएका ७९ वर्षीय पूर्व युवराज सलमानले हालै राजाका जिम्मेवारीहरु सम्हालेका थिए।
युवराज
शाही विज्ञप्ति अनुसार राजाका अर्का भाइ मुक्रिनलाई नयाँ युवराज घोषणा गरिएको छ।
उनीहरु तीनै जना आधुनिक साउदी अरेबियाका संस्थापक राजा अब्दुल अजिजका छोरा हुन्।
इब्न साउद पनि भनिने अब्दुल अजिजको सन् १९५३ मा निधन भएको थियो।
अमेरिकी राष्ट्रपति बराक ओबामाले व्यक्तिगत र अमेरिकी जनताको तर्फबाट राजा अब्दुल्लाहको निधनप्रति शोक व्यक्त गरेका छन्।
संवाददाताहरु भन्छन्, साउदी अरेबियामा अब्दुल्लाहलाई एक सुधारवादी राजाको रुपमा हेरिन्छ।







