प्रतिबन्धबाट जोगिन अमेरिकामा टिकटकले अलग्गै कम्पनी खोल्ने सम्झौता

टिकटकको ग्राफिक्स तस्बिर।

तस्बिर स्रोत, Getty Images

भिडिओ प्ल्याटफर्म टिकटकले आफूमाथिको प्रतिबन्ध छल्नलाई अमेरिकामा एउटा अलग्गै सहायक कम्पनी स्थापना गर्ने गरि १४ अर्ब डलर बराबरको सम्झौता गरेको छ।

उक्त संयुक्त लगानीको कम्पनीको सिर्जनालाई अमेरिका र चीन दुवैले अनुमोदन गरेका छन् र त्यसमा अधिकांश स्वामित्व अमेरिकी लगानीकर्ताको हुनेछ।

सो सम्झौताले बेइजिङ मुख्यालय रहेको टिकटकको माउ कम्पनी बाइट्डान्सलाई करिब २० प्रतिशत स्वामित्व कायम राख्न अवसर दिनेछ।

अमेरिकामा उक्त भिडिओ शेअरिङ एपका दश करोड भन्दा बढी प्रयोगकर्ता छन्।

सन् २०२४ मा अमेरिकी कंग्रेसले एउटा कानुन पारित गरेको थियो जसले उक्त प्ल्याटफर्म या त अमेरिकी क्रेतालाई बेच्नुपर्ने या प्रतिबन्ध लगाउनुपर्ने सर्त राखेको थियो।

चिनियाँ सरकारसँग उक्त प्ल्याटफर्मको सम्बन्ध रहेको जनाउँदै राष्ट्रिय सुरक्षाका चिन्ताहरू उक्त निर्णय लिँदा व्यक्त गरिएका थिए।

टिकटक सम्झौताबारे हामीलाई अहिलेसम्म के थाहा छ?

टिकटकले भनेको छ, अमेरिकास्थित उसको व्यवसायका अधिकांश स्वामित्व सिल्भर लेक, ओरेकल, र एमजीएक्सजस्ता लगानीकर्ताहरूले खरिद गरेका छन्। ती प्रत्येक कम्पनीको १५-१५ प्रतिशत स्वामित्व हुने भनिएको छ।

यूएसडीएस नामक उक्त संयुक्त संरचनामा बाइट्डान्सको १९.९ प्रतिशत शेअर रहने छ। बाँकी रहेको ३५.१ प्रतिशत स्वामित्व चाहिँ डेल फ्यामिली अफिस, भासटिमिर स्ट्रयाटिजिक इन्भेस्टमेन्ट्स, अल्फा वेभ पार्टनर्स, रिभोल्युसन, मेरिट वे, भिआ नोभो, भर्गो ली र एनजेजे क्यापिटलको रहने भनिएको छ।

टिकटकले सात सदस्यीय स्वतन्त्र निकायले उक्त व्यापारिक संरचनाको सञ्चालन गर्ने भनेको छ। सञ्चालक समितिमा अधिकांश अमेरिकीहरू छन्।

एक जना व्यक्तिले मोबाइल समाइरहेका छन् जसको स्क्रिनमा टिकटकको लोगो देख्न सकिन्छ

तस्बिर स्रोत, Getty Images

टिकटकले एउटा विज्ञप्तिमा सम्झौताले २० करोड भन्दा बढी अमेरिकी र ७५ लाख व्यवसायीहरूलाई 'आफ्नो जीवन्त विश्वव्यापी समुदाय र अनुभव'सँग निरन्तर जोडिन र फस्टाउन मौका दिने उल्लेख गरेको छ।

नयाँ स्वामित्व लिएको निकायले अमेरिकी सरकारले तोकेका अमेरिकी प्रयोगकर्ताको तथ्याङ्क, एप र एल्गोरिदम्‌को सुरक्षा 'विस्तृत तथ्याङ्क गोपनीयता र साइबर सुरक्षा सम्बन्धी कदमहरू'मार्फत गर्ने बताएको छ।

उक्त घोषणा अनुसार अमेरिकि प्रयोगकर्ताको तथ्याङ्क यूएसडिएसको संयुक्त संरचनाले संरक्षण गर्नेछ र त्यसलाई ओरेकलको क्लाउडमा सुरक्षित राखिनेछ। अल्गोरिदम् सुरक्षालाई अमेरिकी प्रयोगकर्ताको हकमा परीक्षण र अद्यावधिक गरिने र ओरेकलको क्लाउडमा सुरक्षित गरिने भनिएको छ।

उक्त निकायले नै विश्वसनीयता, सुरक्षा नीति र कन्टेन्ट मोडरेशनबारे पनि निर्णय लिने भनिएको छ।

बीबीसीकी एशिया व्यापार सम्वाददाता सुरञ्जना तेवारी भन्छिन् पछिल्लो घोषणाले अमेरिकामा टिकटकको एल्गोरिदममा ठूलो परिवर्तन हुने पुष्टि गरेको छ।

उनका अनुसार विश्वका अन्य स्थानमा प्रचलनमा रहेको एप भन्दा फरक ढङ्गले त्यहाँ टिकटक सञ्चालन हुनेछ र अमेरिकी प्रयोगकर्ताका तथ्याङ्कलाई मात्रै ध्यान दिन त्यसलाई निर्देशित गरिनेछ।

विज्ञहरूले त्यसका कारण कम विविधतायुक्त तथ्याङ्कको असर प्रयोगकर्ताले खेप्नुपर्नेहुनसक्छ। एल्गोरिदम्‌ले अहिलेको प्ल्याटफर्म जस्तो गरी कन्टेन्ट सुझाव नदिनसक्छ त्यही भएर विश्वव्यापी एप प्रयोग गर्दाको भन्दा केही फरक अनुभव गर्नुपर्ने हुन्छ।

तथ्याङ्क अमेरिकामा भण्डार गरिने र यो प्ल्याटफर्म त्यहीँबाट सञ्चालन हुने भएकाले चिनियाँ इन्जिनिअरहरूसँग अल्गोरिदम्‌को सञ्चालन, सुरक्षा वा अद्यावधिक गर्ने विषयबारे विगतको जस्तो दैनिक नियन्त्रण भने हुनेछैन्।

बीबीसीकी एशिया व्यापार सम्वाददाता सुरञ्जना तेवारी थप्छिन्, "यो सम्झौताले उक्त एपलाई समाप्त पारिदिएको छैन् तर यसले अमेरिकामा सञ्चालन हुने भर्सन र अर्बौँ मानिसहरूले के हेर्छन् भन्ने निर्धारण गर्ने शक्तिशाली प्रणालीलाई परिवर्तन गरिदिएको छ।"

अमेरिका र चीनले यसलाई कसरी लिनसक्छन्?

आलोचकहरूले सन् २०२४ मा राष्ट्रपति बाइडनको समयमा ल्याइएको सुरक्षा कानुनलाई नयाँ व्यवस्थाले पूर्ण कार्यान्वयन नगरेको बताइरहेका छन्।

यसअघि अमेरिकी अधिकारीहरूले टिकटकले चिनियाँ सरकारसँग तथ्याङ्क साझा गर्ने दाबी गर्दै आएका थिए जसलाई बाइटडान्सले सधैँ अस्वीकार गरिरहेको छ।

कतिपय सम्भावित लगानीकर्ताहरूले यसअघि बीबीसीलाई आफूहरूले टिकटक चिनियाँ प्रविधि र उसको शक्तिशाली एल्गोरिदम् बिना सञ्चालन भएको आफूले हेर्न चाहेको बताएका थिए।

अमेरिकी कानुन अनुसार बाइटडान्सले अमेरिकी टिकटकसँग कुनै पनि 'सञ्चालनसँग सम्बन्धित सम्बन्ध' राख्न पाउँदैन्। तर पछिल्लो सम्झौता अनुसार स्थापना गरिएको संयुक्त व्यापारिक संरचनाले राष्ट्रपति ट्रम्पले गएको सेप्टेम्बरमा हस्ताक्षर गरेको कार्यकारी घोषणाको पालना गरेको टिकटकले जनाएको छ।

राष्ट्रपति ट्रम्प र राष्ट्रपति सी जिनपिङको फाइल तस्बिर।

तस्बिर स्रोत, Reuters

पहिलो कार्यकालमा ट्रम्पले टिकटकमाथिको प्रतिबन्धलाई समर्थन गरेका थिए तर यसपालि उनले प्रतिबन्धप्रति आफ्नो विरोध रहेको बताएका थिए।

अमेरिकी राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनमा आएपछि सन् २०२५ ज्यानुअरी १८ मा अमेरिकामा टिकटक अवरुद्ध भएको थियो। एकदिनपछि, राष्ट्रपति निर्वाचित ट्रम्पले उक्त एपलाई ७५ दिन मौका दिनका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएपछि त्यो पुन: सञ्चालनमा आएको थियो।

यसअघि ह्वाइट हाउसले गैर चिनियाँ कम्पनीलाई बिक्री नगरिएको खण्डमा उक्त एपलाई बन्द गर्ने चेतावनी दिएको थियो।

सेप्टेम्बर महिनामा राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच टिकटकको सञ्चालनलाई अमेरिकामा निरन्तरता दिनेबारे अमेरिका र चीनबीच सहमति भएको र त्यसप्रति चिनियाँ राष्ट्रपति सी जिनपिङको पनि समर्थन रहेको बताएका थिए।

बीबीसीकी चीन संवाददाता लाउरा बिकर भन्छिन्, "विश्वका दुई अर्थतन्त्रबीचको जटिल सम्बन्ध थप अप्ठेरोमा नपुगोस् भन्नका लागि पनि सम्झौता अपेक्षा गरिएको थियो। यसले दुई देशहरू वार्ता गर्न इच्छुक छन् र आफूहरूले चाहेको खण्डमा सम्झौता पनि गर्न सक्छन् भन्ने देखाउँछ।"

उनले थपिन्, "दुवै पक्षले यसलाई जितका रूपमा प्रस्तुत गर्न खोज्नेछन्। यसले चीनको प्रविधिप्रतिको आकर्षण र बेइजिङको प्रभावलाई देखाउँछ। डोनल्ड ट्रम्पले यसलाई आफ्नो निर्णय क्षमताको प्रमाणका रूपमा प्रचार गर्न सक्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।