अस्ट्रेलियामा इन्स्टाग्रामले किशोरकिशोरीको अकाउन्ट बन्द गर्ने

तस्बिर स्रोत, Getty Images
- Author, डेरबेल जोर्डन र साइमन एट्किन्सन
अस्ट्रेलियाले १६ वर्ष मुनिका निम्ति सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै गर्दा त्यहाँका किशोरकिशोरीलाई तिनको इन्स्टाग्राम, फेसबुक र थ्रेड्स अकाउन्ट बन्द गरिन लागेको जानकारी दिइएको छ।
ती तीनथरी सामाजिक सञ्जालको मालिक कम्पनी मेटाले भनेको छ उसले १३ देखि १५ वर्ष उमेरकाहरूलाई उनीहरूको अकाउन्ट डिसेम्बर ४ देखि निष्क्रिय बन्ने सूचना टेक्स्ट, इमेल वा एपमार्फत् दिन थालेको छ।
अस्ट्रेलियामा सो प्रतिबन्ध डिसेम्बर १० देखि लागु हुँदैछ।
किन लगाइयो प्रतिबन्ध?
उक्त प्रतिबन्धले टिकटक, यू ट्यूब, एक्स र रेडिटलाई पनि समेट्छ।
प्रधानमन्त्री एन्थनी अल्बानेजीका अनुसार 'विश्वकै पहिलो' त्यस्तो प्रतिबन्ध 'बच्चाहरूलाई बच्चाकै रूपमा रहन दिन' लक्षित छ। मेटा तथा अन्य कम्पनीहरूले प्रतिबन्धको विरोध जनाए तर त्यसलाई मान्ने बताए।
अस्ट्रेलियाको इन्टरनेट नियामक निकायले त्यहाँ १३-१५ वर्ष उमेर समूहका १,५०,००० फेसबुक प्रयोगकर्ता तथा ३,५०,००० इन्स्टाग्राम प्रयोगकर्ता रहेको अनुमान गरेको छ।
डिसेम्बर ४ देखि १६ वर्ष मुनिका उमेर समूहकाले मेटाका कुनै पनि सामाजिक सञ्जाल अकाउन्ट खोल्न पाउने छैनन्।
कम्पनीले किशोरकिशोरीहरूलाई तिनको सम्पर्क विवरण उपलब्ध गराउन भनेको छ ताकि तिनको उमेर पुग्नासाथ उसले अकाउन्ट खोल्न सकिने सूचना उपलब्ध गराउने छ।
अहिलेका लागि उनीहरूले आफ्ना बन्द गर्न लागिएका अकाउन्टलाई डाउनलोड गर्न सक्ने छन्। तिनका पोस्ट, भिडिओ तथा मेसेजहरू पनि कतै सेभ गरेर राख्न सक्ने छन्।
उमेरको प्रमाणीकरण

तस्बिर स्रोत, Getty Images
इन्स्टाग्राम, फेसबुक र थ्रेड्स प्रयोग गर्न आफ्नो उमेर पुगेको ठान्ने किशोरकिशोरीहरूलाई मेटाले फ्यासिअल एज स्क्यानका लागि 'भिडिओ सेल्फी' दिन भनेको छ। वा उनीहरूले सवारी चालक अनुमतिपत्र वा अन्य सरकारी पहिचान पत्र दिन सक्ने छन्।
प्रमाणीकरणका यी विधिहरूलाई अस्ट्रेलियन सरकारले अह्राएको प्रतिवेदनअन्तर्गत यूकेस्थित एज चेक सर्टिफिकेसन स्कीम (एसीसीएस)ले यसै वर्ष परीक्षण गरेको थियो।
एसीसीएसले सो प्रतिवेदनमा सबै विधिहरूको आ-आफ्नै फाइदा रहेको तर "सबै मामिलामा उपयुक्त हुने एउटै समाधान फेला नपारेको" उल्लेख गरेको छ।
१६ वर्ष मुनिका उमेर समूहकालाई प्रतिबन्ध लगाउने 'यथोचित कदम' नचालेमा त्यस्ता सामाजिक सञ्जालका प्ल्याटफर्महरूलाई ५ करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिराइन सक्छ।
"डिसेम्बर १० भित्रै १६ वर्ष मुनिका सबै प्रयोगकर्तालाई हटाउन हामी परिश्रम गरिरहेका छौँ। तर कानुनको पालनाको यो प्रक्रिया निरन्तर गरिरहनु पर्ने र जटिल प्रक्रिया पनि हो," मेटाका उपाध्यक्ष तथा ग्लोबल हेड अफ सेफ्टी एन्टिगोन डेभिसले रोएटर्स फाइनान्सियललाई भने।
मेटाले चाहिँ १६ वर्ष मुनिकाहरूलाई सामाजिक सञ्जालमा अकाउन्ट खोल्न अभिभावकहरूको स्वीकृति आवश्यक बनाइने विधि उचित हुने बताइरहेको छ।
उसले अस्ट्रेलियाको सेभेन न्यूजलाई भन्यो: "किशोरकिशोरीहरू चतुर हुन्छन् र तिनले यस्ता नियम तोड्ने उपाय पहिल्याउन सक्छन्।"
"हामी कानुनको पालनामा प्रतिबद्ध छौँ अनि त्यसका लागि आवश्यक कदम चाल्दै छौँ।"
अस्ट्रेलियाको इ-सेफ्टी कमिश्नर जुली इन्मान ग्रान्टले उक्त प्रतिबन्ध किशोरकिशोरीहरूलाई 'सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गर्दा हुने दबाव तथा जोखिमबाट जोगाउन' लक्षित भएको बताइन्।
के के मा प्रतिबन्ध?
अस्ट्रेलियाको इ-सेफ्टी कमिश्नरले उमेरजन्य प्रतिबन्धले कुन कुन सामाजिक सञ्जाल प्रभावित हुने छन् भनेर सूची प्रकाशित गरेको छ।
ती हुन्:
- फेसबुक
- इन्स्टाग्राम
- किक
- रेडिट
- स्न्यापच्याट
- थ्रेड्स
- टिकटक
- एक्स (ट्वीटर)
- यू ट्यूब
प्रतिबन्धले नसमेटेका सञ्जाल निम्न छन्:
- डिस्कोर्ड
- गिटहब
- गुगल क्लासरूम
- लेगो प्ले
- मेसेन्जर
- रोब्लक्स
- स्टिम एन्ड स्टिम च्याट
- ह्वाट्सएप
- यू ट्यूब किड्स
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








