'स्क्रीन टाइम' ले बच्चाहरूको मस्तिष्कमा जे असर पार्छ भनिन्छ समस्या त्योभन्दा धेरै जटिल छ

- Author, जोइ क्लाइनमन
- Role, प्रविधिमामिला सम्पादक
एक दिन म घरको केही काम गर्दै थिएँ। मैले मेरो सानो बच्चालाई व्यस्त राख्न उसको बाबाको आईप्याड दिएँ।
तर केही समयपछि उसले कति बेरदेखि आईप्याड चलाइरहेको छ र त्यसमा के हेरिरहेको छ भन्ने ख्याल नगरेकाले मलाई असहज महसुस भयो। त्यसैले मैले उसलाई आईप्याड बन्द गर्ने समय भइसक्यो भनेँ।
त्यसपछि उसको आक्रोशयुक्त लडीबुडी सुरु भयो। उसले लात्ताले हान्यो, करायो, आईप्याड समातिराख्न चाह्यो र मलाई आक्रोशका साथ अर्कातिर धकेलिदियो। यो एक अभिभावकका लागि राम्रो पक्कै थिएन र उसको त्यस्तो चर्को प्रतिक्रियाले मलाई चिन्तामा पार्यो।
मेरा अलि बढेका बच्चाहरू सोसल मिडिया हेरिरहेका छन्, भर्चुअल रियालिटी र अनलाइन गेम खेलिरहेका छन्, त्यसले पनि मलाई कहिलेकाहीँ गम्भीर बनाउने गरेको छ। उनीहरूले कहिलेकाहीँ एक अर्कालाई गिज्याउँदै प्राविधिक उपकरणहरूमा समय नबिताएर बाहिर निस्केर "घाँस छुन" जाऊ भन्ने गरेको पनि सुनेकी छु।
आईप्याड बनेपछि एपलका तत्कालिन प्रमुख कार्यकारी स्टीभ जब्सले आफ्ना बच्चालाई त्यसमा पहुँच दिएनन्। बिल गेट्सले पनि उनका छोराछोरीलाई प्रविधिमाथिको पहुँचमा रोक लगाएको बताएका छन्।
'स्क्रीन टाइम' नराम्रो कुराको पर्याय बनेको छ। त्यसलाई बच्चाहरूमा डीप्रेसन अर्थात् मानसिक अवसाद, व्यवहारगत समस्या र निन्द्रा कम हुने समस्याका लागि जिम्मेवार ठहर्याइएको छ।
प्रसिद्ध न्यूरो वैज्ञानिक ब्यारोनेस सुसन ग्रीनफील्डले त इन्टरनेटको प्रयोग र कम्प्युटर गेमले किशोर किशोरीको मस्तिष्कलाई नोक्सान पुर्याउन सक्छ पनि भनेकी छन्।
सन् २०१३ मा उनले लामो समयसम्म स्क्रीनका अगाडि समय बिताउँदाको नकारात्मक प्रभावको तुलना जलवायु परिवर्तनको सुरुआती दिनसँग गरेकी थिइन्: त्यस्तो महत्त्वपूर्ण परिवर्तन जसलाई सुरुमा मानिसहरूले गम्भीरतापूर्वक लिएका थिएनन्।
धेरै मानिसले अहिले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन्छन्। तर नराम्रो पक्षबारे चेतावनी दिनुले मात्रै पूर्ण कथा भन्दैन।
ब्रिटिश मेडिकल जर्नलको एक सम्पादकीयमा मस्तिष्कका बारेमा ब्यारोनेस ग्रीनफील्डका दाबी "प्रमाणहरूको वैज्ञानिक मूल्याङ्कनमा आधारित नभएको र आमाबाबा र आम सर्वसाधारणलाई गलत जानकारी दिने किसिमको छ," भन्ने तर्क गरिएको छ।
अहिले यूकेका वैज्ञानिकहरूको अर्को समूहले स्क्रीन टाइमको नराम्रो पक्षबारे वैज्ञानिक प्रमाणको अभाव रहेको दाबी गरेको छ। त्यसो भए के हामी आफ्ना बच्चाको बारेमा चिन्ता गर्ने र उनीहरूको ट्याब्लेट र स्मार्टफोनमा पहुँच रोक्ने मामिलामा गलत छौँ?

तस्बिर स्रोत, Justin Sullivan/Getty Images
के त्यो देखिए जति नै नराम्रो छ?
बाथ स्पा विश्वविद्यालयमा मनोविज्ञानका प्रोफेसर पीट एट्चेल्स तिनै प्राज्ञहरूमध्ये एक हुन् जसले त्यसमा प्रमाणको कमी छ भन्ने तर्क गरिरहेका छन्।
उनले स्क्रीन टाइम र मानसिक स्वास्थ्यबारे सयौँ अध्ययनको विश्लेषण गरेका छन्। साथै उनले युवा र उनीहरूको स्क्रीन हेर्ने बानीसँग जोडिएका विशाल तथ्याङ्कको विश्लेषण पनि गरेका छन्। उनको किताब 'अनलक्ड: द रियल साइन्स अफ स्क्रीन टाइम' मा आकर्षक शिर्षकवाला निष्कर्ष पछाडिको विज्ञान मिश्रित किसिमको छ र कैयौँ मामिलामा त्रुटिपूर्ण पनि छ भन्ने तर्क उनले गरेका छन्।
उनी लेख्छन्, "स्क्रीन टाइमसँग जोडिएका भयानक परिणामबारेका कथाहरूलाई पुष्टि गर्ने प्रमाण छैन।"
अमेरिकन साइकोलोजी एसोसियशनले सन् २०२१ मा प्रकाशित गरेको अनुसन्धान रिपोर्टले पनि त्यस्तै कथा भन्छ।
विश्वभरका विभिन्न विश्वविद्यालय सम्बद्ध १४ लेखकहरूले सन् २०१५ देखि २०१९ सम्म प्रकाशित ३३ अध्ययनको विश्लेषण गरेका थिए। स्क्रीन प्रयोग भन्नाले स्मार्टफोन प्रयोग, सोसल मिडिया र भिडियो गेम खेल्ने भन्ने बुझिन्छ तर तिनको मानसिक स्वास्थ्य समस्यामा सानो मात्र भूमिका रहेको उनीहरूले पाए।
केही अध्ययनले स्क्रीनबाट निस्कने निलो प्रकाशले निद्रा लाग्नमा समस्या उत्पन्न गर्ने बताउँछन्। किनभने त्यसले निन्द्राको कारक मेलाटोनिन होर्मोन उत्पादनलाई दबाउँछ भन्ने गरिन्छ। तर संसारभर गरिएका ११ त्यस्ता अध्ययनबारे सन् २०२४ मा गरिएको एक समीक्षाले अध्ययनहरूमा सुत्नुभन्दा अघि स्क्रीन लाइट हेर्दा निन्द्रा आउँदैन भन्ने पुष्टि गरिएको पाएन।

तस्बिर स्रोत, Arthur Debat/ Getty Images
विज्ञानमा समस्या
प्रोफेसर एट्चेल्स बताउँछन् स्क्रीन टाइमसँग जोडिएका धेरैजसो तथ्याङ्क "स्व रिपोर्टिङमा" धेरै हदसँग निर्भर छन्। अर्को शब्दमा भन्नुपर्दा अनुसन्धानकर्ताहरूले युवाहरूलाई उनीहरू कति घण्टा स्क्रीन अगाडि बसेर समय बिताउँछन् र त्यसबाट उनीहरूलाई कस्तो महसुस भएको सम्झना छ भनेर सोधेका छन् र त्यसैमा प्राप्त जबाफलाई तथ्याङ्कमा ढालेका छन्।
ती विशाल तथ्याङ्कहरूको विश्लेषण गर्ने अनेकौँ सम्भावना हुने तर्क उनी अगाडि सार्छन्। उनी भन्छन्, "हामीले तथ्याङ्कको सम्बन्ध विश्लेषण गर्दा सावधान हुनुपर्छ।"
उनले गर्मी मौसममा आइसक्रीमको बिक्री र छालाको क्यान्सर दुवै बढ्ने उदाहरण प्रस्तुत गर्छन्। दुवै गर्मी मौसमसँग सम्बन्धित भए पनि एक अर्कासँग सम्बन्धित नभएको औँल्याउँदै उनी भन्छन्: तर आइसक्रीमबाट छालाको क्यान्सर हुँदैन।

तस्बिर स्रोत, Universal Archive/Universal Images Group via Getty Images
उनले एकजना जीपी (पारिवारिक डाक्टर) प्रेरित एक अनुसन्धान आयोजना सम्झँदै भन्छन्- जीपीले दुई कुरा देखेका थिए - युवाहरूसँग मानसिक अवसाद तथा चिन्ताका बारेमा धेरै कुराकानी र प्रतीक्षा कक्षमा रहेका धेरै युवाहरूले गर्ने फोनको प्रयोग।
उनले भने, "हामीले ती डाक्टरसँग मिलेर काम गर्यौँ र भन्यौँ - ल यसलाई परीक्षण गरौँ न त - हामीले तथ्याङ्कको प्रयोग गरेर स्क्रीन टाइम र अवसादको सम्बन्धबारे बुझ्ने प्रयास गरौँ।"
दुबैबीच सम्बन्ध भए पनि त्यहाँ अर्को एक थप कारक पनि थियो - अवसादग्रस्त र चिन्तित मानिसहरूले कति समय एक्लोपनमा बिताएका थिए भन्ने।
अन्त्यमा स्क्रीन टाइमभन्दा पनि एक्लोपन नै उनीहरूको मानसिक स्वास्थ्य समस्याको कारक भएको पाइयो।

तस्बिर स्रोत, John Nacion/Getty Images
नकारात्मक वा उत्साहवर्धक 'स्क्रीन टाइम'
त्यसबाहेक 'स्क्रीन टाइम' को प्रकृतिबारेको विवरण पनि त्यहाँ थिएन: प्रोफेसर एट्चेल्सको तर्क छ त्यसैले त्यो असाध्य अस्पष्ट छ।
के त्यो स्क्रीन टाइम उत्साहवर्धक थियो ? के त्यो उपयोगी थियो? या जानकारीमूलक थियो वा नकारात्मक थियो? के युवा व्यक्ति एक्लै थिए कि साथीहरूसँग अनलाइनमा कुराकानी गरिरहेका थिए?
हरेक कारकले फरक अनुभव दिन्छ।
अमेरिका र ब्रिटेनका अनुसन्धानकर्ताले गरेको एक अध्ययनमा ९ देखि १२ वर्ष उमेरका ११,५०० बच्चाहरूको मस्तिष्कको स्क्यान र उनीहरूको स्वास्थ्यको मूल्याङ्कन तथा उनीहरूले बताएको स्क्रीन टाइमको उपयोगबारे हेरिएको थियो।

तस्बिर स्रोत, Matt Cardy/Getty Images
स्क्रीन प्रयोगको प्रवृत्ति र मस्तिष्कका क्षेत्रहरू जोडेर हेरिन्छ तर अध्ययनमा स्क्रीन टाइमको सम्बन्ध खराब मानसिक स्वास्थ्य या संज्ञानात्मक समस्यासँग जोडिएको कुनै प्रमाण भेटिएन। दिनमा कैयौँ घण्टा स्क्रीन टाइम उपयोग गर्नेहरूमा पनि त्यस्तो प्रमाण भेटिएन।
सन् २०१६ देखि २०१८ सम्म गरिएको उक्त अध्ययन अक्सफर्ड विश्वविद्यालयका प्रोफेसर एन्ड्रु प्रीजीबिल्स्कीको सुपरिवेक्षणमा गरिएको थियो जसले भिडिओ गेम र सोसल मिडियाले मानसिक स्वास्थ्यमा पर्ने असरबारे अध्ययन गरेका छन्। उनका समकक्षीहरूले समीक्षा गरेको अध्ययनमा दुवैले स्वास्थ्यलाई खतरामा पार्नेभन्दा राम्रो गर्ने सङ्केत गरेका छन्।
प्रोफेसर एट्चेल्स भन्छन्: "यदि तपाईँलाई स्क्रीनले मस्तिष्कलाई नराम्ररी प्रभावित गर्छ जस्तो लाग्छ भने, यस प्रकारको विशाल तथ्याङ्कले त्यस्तो सङ्केत गर्दैन। तर तपाईँ त्यो मान्नुहुन्न …मलाई स्क्रीनले मस्तिष्कलाई लगातार या स्थायी रूपमा नराम्ररी प्रभावित गरिरहेको छ जस्तो लाग्दैन। "
उनकै जस्तो विचार कार्डिफ विश्वविद्यालयका ब्रेन सिमुलेशनका प्रोफेसर क्रिस च्याम्बर्सको पनि छ। प्रोफेसर एट्चेल्सको किताबमा उनलाई उद्धृत गर्दै भनिएको छ यदि मस्तिष्कको क्षमतामा गिरावट आएको भए त्यो स्पष्ट देखिन्थ्यो।
"पछिल्लो १५ वर्षमा भएका अनुसन्धानको विश्लेषणपछि ठम्याउन सजिलो होला …यदि हाम्रो संज्ञानात्मक प्रणाली वातावरणमा हुने परिवर्तनप्रति यति कमजोर हुँदो हो त हामी अहिले यहाँ हुने नै थिएनौँ।र हामी धेरै लामो समयअगाडि नै लोप हुनेमा पर्थ्यौँ होला।"

तस्बिर स्रोत, Matt Cardy/Getty Images
मानसिक स्वास्थ्यका लागि नराम्रो सूत्र
प्रोफेसर प्रीजीबिल्स्की र प्रोफेसर एट्चेल्स अनलाइनले पुर्याउने केही हानीः जस्तो कि हुर्काइ र नराम्रो वा हानिकारक विषयवस्तुबारे एकमतमा छैनन्। तर दुवै जनाको तर्क छ - अहिलेको बहसले अनलाइन प्रयोगलाई अझ भूमिगत बनाइदेला कि भन्ने खतरामा पारेको छ।
ती उपकरणको पहुँच सीमित पार्ने वा प्रतिबन्ध लगाउने भन्नेबारे प्रोफेसर प्रीजीबिल्स्की चिन्तित छन्, त्यसले झन् समस्या बढाउने उनी ठान्छन्।
तर कैयौँ अरू सहमत छैनन्। यूके अभियान समूह स्मार्टफोन फ्री चाइल्डहूड भन्छ - अहिलेसम्म १ लाख ५० हजार मानिसले १४ वर्ष मुनिका बच्चाहरूलाई स्मार्टफोनमा प्रतिबन्ध लगाउनु पर्ने र १६ वर्ष नपुगी सोसल मिडियामा पहुँच हुन नहुने भन्ने अभियानमा हस्ताक्षर गरेका छन्।
स्यान डीएगो विश्वविद्यालयमा साइकोलोजीका प्रोफेसर जीन ट्वेन्जले अमेरिकी किशोर किशोरीमा बढ्दो ड्रीपेशन दरबारे अनुसन्धान थालेकी छन्।उनले मलाई बताइन्, अनुसन्धान सुरु गर्दा उनको उद्देश्य सोसल मिडिया र स्मार्टफोन खराब छन् भन्ने साबित गर्नु थिएन। तर उनले यो साझा कुरा रहेको पाइन्।
आज, बच्चा र स्क्रीनलाई छुट्याएर राख्नुपर्छ भन्ने कुरा सबैले बुझेकै कुरा हो जस्तो भन्ने उनको विश्वास छ। उनले बच्चा र स्मार्टफोनलाई सकेसम्म टाढै राख्न आमा बाबुलाई सुझाव दिन्छिन्।
उनको तर्क छ, "(बच्चाहरूको) मस्तिष्क १६ वर्षको उमेर पुग्दा धेरै विकसित र परिपक्व हुन्छ।र स्कूल तथा साथीहरूको समूहमा सामाजिक वातावरण १२ वर्षको उमेरमा भन्दा १६ वर्षको उमेरमा धेरै स्थिर हुन्छ। "
युवाहरूको स्क्रीनको उपयोगबारे सङ्कलन गरिएको तथ्याङ्क धेरै हदसम्म आफैले रिपोर्ट गरिएको विवरणमा आधारित भन्नेमा भने उनी सहमत छन् तर त्यसले प्रमाणलाई कमजोर नबनाउने उनको तर्क छ।
सन् २०२४ मा प्रकाशित एक डेनिश अध्ययनमा ८९ परिवारका १८१ बच्चालाई सामेल गराइएको थियो। दुई हप्तासम्म तीमध्ये आधा जसोलाई एक हप्तामा तीन घण्टाको स्क्रीन टाइमको सीमा दिइयो र त्यसपछि ट्याब्लेट र स्मार्टफोन फिर्ता गर्न भनियो। त्यो अध्ययनको निष्कर्षमा स्क्रीन मिडिया कम गर्दा "बच्चा र किशोरहरूको मनोवैज्ञानिक लक्षणमा सकारात्मक प्रभाव पर्यो" र उनीहरूको "सामाजिक व्यवहार"मा सुधार भयो। र भनियो यसमा थप अनुसन्धानको आवश्यकता छ।
एक ब्रिटिश अध्ययनमा सहभागीहरूलाई स्क्रीन समयको रेकर्ड राख्न भनियो र सोसल मिडिया ज्यादा प्रयोग गर्ने केटीहरूमा अवसादको भावना बढेको बताइयो।
प्रोफेसर ट्वेन्ज भन्छिन् , "तपाईँ हेर्नोस्: ज्यादा समय स्क्रीनको अगाडि र ज्यादा समय एक्लै बिताउँदा सुत्ने समय र साथीहरूसँग बिताउने समय कम हुने भयो। यो मानसिक स्वास्थ्यका लागि नराम्रो स्थिति हो।"
"यसमा किन विवाद गरिन्छ मलाई थाहा छैन।"

तस्बिर स्रोत, Emily Elconin/Bloomberg via Getty Images Jenny Radesky,
'मातापिताको आग्रहयुक्त भनाइ'
म र प्रोफेसर एट्चेल्स भिडियो च्याट मार्फत् कुराकानी गरिरहेका बेला उनका एक बच्चा र उनको कुकुर भित्र बाहिर गरिरहेका थिए। मैले उनलाई स्क्रीन टाइमका कारण के साँच्चै नै बच्चाहरूको मस्तिष्कमा परिवर्तन भइरहेको छ भनेर सोध्दा उनले हाँसेर भने - हरेक कुराले मस्तिष्कलाई परिवर्तन गरिरहेको हुन्छ त्यसैबाट त मान्छेले सिक्ने हो।
तर उनी सम्भावित हानिबारे बाबुआमाको त्रासप्रति पनि सहानुभूति राख्छन्।
यसबारे असाध्यै कम मार्गदर्शनहरू रहेकाले बाबुआमालाई कुनै मद्दत पुग्दैन र यो विषय पूर्वाग्रहबाट भरिएको छ।
मिसिगन विश्वविद्यालयमा बाल रोग विशेषज्ञ जेनी रेडस्कीले परोपकारी संस्था डाना फ़ाउन्डेशनमा आफ्नो भाषणमा यो बारे सारांश प्रस्तुत गरेकी थिइन्। उनको तर्क छ "बाबुआमाबीच बहस बढ्दै गइरहेको छ। "
पछाडि फर्केर हेर्दा त्यसबेला आईप्याडबारे मेरो सानो बच्चाले प्रकट गरेको आक्रोशले मलाई चिन्तित बनाइदिएको थियो तर मैले उसको गैर स्क्रीन गतिविधिमा पनि त्यस्तै प्रकारको बानी अनुभव गरेकी छु जस्तो कि आफ्ना दाजुहरूसँग लुकामारी खेलेको समयमा र सुत्नका लागि तयार हुनै नचाहने उनको बानी।
अरू अभिभावकसँग पनि स्क्रीन टाइमबारे हाम्रो कुराकानी भइरहन्छन्। तीमध्ये कोही असाध्यै कडा पनि छन्।
आधिकारिक सल्लाह अहिलेलाई समान छैन। त अमेरिकन एकेडेमी अफ पीडीयाट्रिक्स या ब्रिटेनको रोयल कलेज अफ पीडीयाट्रिक्स एन्ड चाइल्ड हेल्थ, दुवैले बच्चाहरूका लागि कुनै खास समय सीमा तय गर्न सुझाव दिएका पनि छैनन्।
विश्व स्वास्थ्य सङ्गठनले यसैबीच एक वर्षभन्दा कम उमेरको बच्चालाई 'स्क्रीन टाइम' नदिन र चार वर्षभन्दा कमको बच्चालाई प्रतिदिन एक घण्टाभन्दा ज्यादा 'स्क्रीन टाइम' मा नराख्न सुझाव दिन्छ। त्यो नीति पढ्दा त्यसको उद्देश्य शारीरिक गतिविधिलाई प्राथमिकता दिनु हो भन्ने बुझिन्छ।
खासमा निश्चित सुझाव दिनका लागि पर्याप्त वैज्ञानिक कारण उपलब्ध छैन र सामाजिक दबाव बमोजिम बच्चाहरूलाई स्क्रीन टाइम कम गर्नुपर्ने भन्ने कुराले वैज्ञानिक समुदायलाई विभाजित गरिदिएको छ।

तस्बिर स्रोत, FABRICE COFFRINI/AFP via Getty Images
र कुनै निश्चित दिशा निर्देश बिना के हामी बच्चाहरूका लागि असमान खेल मैदान तयार गरिरहेका छौँ जो वयस्क हुँदासम्म प्रविधिका जानकार भइसकेका हुन्छन्? र जो प्रविधिका जानकार छैनन् के ती अधिक असुरक्षित छन् ?
जे भए पनि समस्या ठूलै छ। यदि स्क्रीनले बच्चाहरूलाई नोक्सान पुर्याएको छ भने त्यो प्रमाणित गर्न विज्ञानलाई वर्षौँ लाग्न सक्छ। या त्यस्तो होइन भन्ने निष्कर्ष निक्ल्यो भने यो प्रक्रियामा हामीले ऊर्जा र पैसा बरबाद गरेका हुनेछौँ र बच्चाहरूलाई त्यस्तो चीजबाट टाढा राख्ने कोसिस गरिरहेका हुनेछौँ जुन उनीहरूका लागि असाध्यै उपयोगी हुन सक्छ। यसैबीच स्क्रीन चस्माजस्तै बन्न थालेका छन्, सोसल मिडिया सानो सानो समुदायमा सीमित हुँदै गएको छ र मानिसहरूले होमवर्क या थेरापीमा समेत एआई च्याटबोटका प्रयोग गर्न थालेका छन्। हामीले बच्चालाई प्रयोग गर्न दिए पनि नदिए पनि हाम्रो जीवनमा आइसकेको प्रविधि तीव्र गतिमा विकसित भइरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








