सलमान खानलाई भएको मस्तिष्कसम्बन्धी एन्युरिजम् कस्तो रोग हो?

तस्बिर स्रोत, Getty Images
बलीवूड अभिनेता सलमान खानले आफू ब्रेन एन्युरिजम् नामक नसासम्बन्धी रोगबाट जुझिरहेको बताएका छन्।
'द ग्रेट इन्डिअन कपिल शो' मा आफ्नो स्वास्थ्य अवस्थाबारे कुरा गर्दै उनले चलचित्र सिकन्दरको छायाङ्कनका क्रममा आफ्नो करङ्गमा चोट लागेको बताए।
सो क्रममा उनले ब्रेन एन्युरिजम् हुँदाहुँदै आफूले काम गरिरहेको बताउँदै अगाडि भनेः "हिँड्न गाह्रो हुन्छ, तथापि मैले नृत्य गर्ने गरेको छु। मेरो जिन्दगीमा यही सब चलिरहेको छ।"
अभिनेता खानले आफ्नो समस्या सार्वजनिक गरेपछि भारतमा ब्रेन एन्युरिजम् बारे मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न थालेका छन्। खासमा ब्रेन एन्युरिजम् के हो र यो कति खतरनाक हुन्छ त?
ब्रेन एन्युरिजम् के हो?
नसा (रक्तनली) फुल्ने समस्यालाई एन्युरिजम् भनिन्छ। नसा कमजोर हुने कारणले फुल्ने समस्या हुन्छ, खास गरी नसा दुई भागमा बाँडिने ठाउँमा त्यो समस्या उत्पन्न हुन्छ।
त्यो कमजोर हिस्सा भएर जब रगत प्रवाह हुन्छ, तब त्यसको दबावले बलुन जसरी नसा फुल्न पुग्छ।
एन्युरिजम् शरीरको जुनसुकै नसामा हुन सक्छ। यद्यपि दुई ठाउँमा बढी हुने गर्छः मुटुबाट शरीरमा रगत प्रवाह गर्ने धमनी र मस्तिष्क।
मस्तिष्कमा हुने एन्युरिजम् लाई ब्रेन एन्यूरिज्म भनिन्छ। ब्रेन एन्यूरिज्म तीन प्रकारको हुन्छ।
साक्यूलर एन्युरिजम्
यसलाई बेरी एन्युरिजम् पनि भनिन्छ। यो एन्युरिजम् अङ्गुरजस्तो देखिन्छ। रगतले भरिएको एउटा थैली जस्तो हुन्छ जुन कुनै मुख्य धमनी वा त्यसको कुनै शाखाबाट बाहिर निस्केको हुन्छ। धेरैजसो यही एन्यूरिज्म हुने गर्छ।
फ्यूजिफर्म एन्युरिजम्
यो किसिमको एन्युरिजम् धमनीको चारैतिर फुल्छ अर्थात् यो हुँदा धमनीको सबै हिस्सा सुन्निन्छ।
माइकोटिक एन्युरिजम्
यो एन्युरिजम् कुनै किसिमको सङ्क्रमणका कारण हुन्छ। कुनै सङ्क्रमणले मस्तिष्कका धमनीहरूलाई प्रभावित गर्दा त्यसले धमनीको भित्तालाई कमजोर बनाइदिन्छ अनि एन्युरिजम् हुन पुग्छ।

फुटेपछि ब्रेन एन्युरिजम् का लक्षण
फुटेपछि ब्रेन एन्युरिजम् खतरनाक हुन्छ। ब्रेन एन्युरिजम् फुट्नुलाई 'सबरएक्नोइड हेमोरेज' भनिन्छ। त्यसबाट मस्तिष्कमा रगत फैलिन पुग्छ र मस्तिष्कमा क्षति पुग्न सक्छ। यसका लक्षण:
- अचानक तीव्र र असह्य टाउको दुखाइ (कसैले टाउकोमा प्रहार गरेको जस्तो महसुस हुन्छ)
- गर्दन अररो हुने
- बान्ता हुने
- उज्यालोतिर हेर्न गाह्रो हुने
यदि सानो छ भने नफुटेको ब्रेन एन्युरिजम् को सामान्यतया कुनै लक्षण देखिँदैन।
तर यदि ठूलो छ भने नजिकका नसामाथि दबाव सिर्जना गर्छ जसका कारण टाउको दुख्ने, आँखाको ज्योतिमा परिवर्तन अथवा अनुहार सुन्निने लक्षण देखिन सक्छ।
ब्रेन एन्युरिजम् किन हुन्छ?
रक्तनली किन कमजोर हुन पुग्छन् भन्नेबारे अनुसन्धानकर्ताले ठ्याक्कै भन्न सकेका छैनन्, तर त्यो हुनुका केही कारण छन्।
- धूमपान
- उच्च रक्तचाप
- परिवारमा कसैलाई ब्रेन एन्युरिजम् भएको (आनुवंशिक कारण)
- जन्मदेखि नै रक्तनली कमजोर हुनु
- टाउकोमा चोट लागेको हुनु
- मदिरा तथा नशालु पदार्थको सेवन
ब्रेन एन्युरिजम् जुनसुकै उमेरमा जसलाई पनि हुन सक्छ, तर ४० वर्षभन्दा बढी उमेरका मानिसमा बढी यो समस्या पाइन्छ। पुरुषमा भन्दा महिलामा यो समस्या बढी देखिन्छ।
ब्रिटेनको न्याश्नल हेल्थ सर्भिसका अनुसार प्रत्येक वर्ष इङ्ग्ल्यान्डमा करिब १५ हजार व्यक्तिमध्ये एकजनामा ब्रेन एन्युरिजम् फुट्ने गरेको देखिन्छ।
संयुक्त राज्य अमेरिकास्थित ब्रेन एन्युरिजम् फाउन्डेशनका अनुसार अमेरिकामा हरेक वर्ष एक लाख जनामध्ये आठदेखि दशजनामा यो समस्या देखिने गरेको छ।
उपचार के छ?
अमेरिकास्थित मायो क्लिनिकका अनुसार फुटेको ब्रेन एन्युरिजम् को हकमा दुई सामान्य उपचार छः सर्जिकल क्लिपिङ र एन्डोभास्कुलर ट्रीटमेन्ट।
नफुटेको कुनैकुनै एन्युरिजम् को हकमा पनि यो उपचार विधि अपनाउन सकिन्छ, तर त्यसबाट फाइदाभन्दा बढी हानि पुग्न सक्छ।
सर्जिकल क्लिपिङ
यो प्रक्रियामा एन्युरिजम् लाई बन्द गरिन्छ। टाउकोको एउटा हड्डी हटाएर न्यूरोसर्जनहरू एन्युरिजम् सम्म पुग्छन्। त्यसपछि एन्यूरिज्मलाई रगत प्रवाह गर्ने रक्तनलीलाई खोज्छन्। त्यहाँ एउटा सानो धातुको क्लिप लगाइन्छ ताकि एन्युरिजम् मा रगत नपुगोस्।
सर्जिकल क्लिपिङलाई निकै प्रभावकारी मानिन्छ। क्लिपिङ गरिएको एन्युरिजम् फेरि पलाउँदैन। त्यसको जोखिम चाहिँ मस्तिष्कमा रक्तस्राव हुने अथवा रगत प्रवाह रोकिने हुन सक्छ।
सर्जिकल क्लिपिङबाट निको हुनमा चारदेखि ६ हप्तासम्म लाग्न सक्छ। यदि एन्युरिजम् फुटेको होइन भने बिरामी एक वा दुई दिनमै अस्पतालबाट डिस्चार्ज हुन सक्छन्। फुटेको एन्युरिजम् को हकमा अस्पतालको बसाइ लम्बिन सक्छ।
इन्डोभास्कुलर ट्रीटमेन्ट
सर्जिकल क्लिपिङको तुलनामा यसमा थोरै चिरफार हुन्छ र धेरै पटक यो सुरक्षित हुन सक्छ। यो प्रक्रियाअन्तर्गत रक्तनलीमार्फत् एउटा क्याथेटर पुर्याइन्छ र त्यसमा विशेष धातुको कोयल हालिन्छ।
सर्जिकल क्लिपिङमा जस्तै यो प्रक्रियामा पनि मस्तिष्कमा रक्तस्राव हुने वा रगत प्रवाह रोकिने जोखिम रहन्छ। त्यसका साथै एन्युरिजम् फेरि पलाउन सक्छ।
फ्लो डाइभर्सन
यो पनि एक किसिमको इन्डोभास्कुलर उपचार हो। यो विधिअन्तर्गत स्टेन्ट लगाइन्छ ताकि रगतको प्रवाह एन्युरिजम् देखि अर्को दिशामा होओस्।
यो विधि ठूलो एन्युरिजम् वा शल्यक्रिया अथवा कोयलिङबाट निको पार्न गाह्रो हुने एन्युरिजम् का लागि उपयोगी हुन्छ।
ब्रेन एन्युरिजम् बाट कसरी बच्ने?
एन्युरिजम् बाट बच्ने अथवा एन्युरिजम् ठूलो हुने र फुट्ने खतरा कम गर्न रक्तनलीलाई हानि पुर्याउन सक्ने क्रियाकलापदेखि आफूलाई टाढा राख्नु श्रेयकर हुन्छ। यी कुराबाट बच्नुपर्छः
- धूमपान
- धेरै चिल्लोपिरो खाना
- उच्च रक्तचाप
- धेरै तौल अथवा मोटोपन
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








