बिग ब्याङ सिद्धान्तलाई चुनौती दिने यी भारतीय वैज्ञानिक, जो अब हामीबीच रहेनन्

तस्बिर स्रोत, BBC/Sharad Shankar Badhe
- Author, प्राची कुलकर्णी
- Role, बीबीसी न्यूज, मराठी
सन् १९८३ को आफ्नो विज्ञानकथामा एक भारतीय खगोलभौतिकशास्त्रीले सन् २०५० मा स्कूलहरू कस्तो देखिने छन् भनेर भविष्यवाणी गरेका थिए।
जयन्त नारलीकरले मानिसहरूको बीचमा एउटा एलिअनसमेत ठूलो स्क्रिनका अगाडि बसेर अनलाइन कक्षाहरूमा भाग लिएको एउटा दृश्यको कल्पना गरेका थिए।
यद्यपि मानिसमाझ एलिअनहरू अझै प्रकट भएका छैनन्, तर अनलाइन कक्षाहरू विद्यार्थीका लागि एकदमै तीव्र रूपमा वास्तविक बनेका थिए। अनि ती कक्षाहरू सन् २०२० को कोभिड-१९ महामारीका बेला महामारीजस्तै गरी संसारभरि फैलिए।
नारलीकरले बिग ब्याङ सिद्धान्तको विकल्प प्रस्ताव गरेका थिए र त्यसले निकै प्रसिद्धि पाएको थियो। उनले ब्रह्माण्ड एकै पटक एकै बिन्दुबाट उत्पन्न भएको थियो भन्ने बिग ब्याङभन्दा फरक सिद्धान्तलाई अघि सारेका थिए।
उनले के विश्वास गर्थे भने ब्रह्माण्ड सधैँ अस्तित्वमा थियो र अनन्तसम्म यो निरन्तर विस्तार हुँदै गइरहेको छ।
गत मङ्गलवार उनको निधन भएसँगै भारतले आफ्ना सबैभन्दा प्रसिद्ध खगोलभौतिकशास्त्रीमध्येका एकलाई गुमाएको छ। नारलीकरको ८६ वर्षको उमेरमा निधन भएको हो।
उनी आफू बाँचेको समयभन्दा धेरै अगाडि थिए र विज्ञानसम्बन्धी शिक्षामा आफ्नो जीवनभरिको समर्पणमार्फत् भारतीय अनुसन्धानमा पुस्तौँसम्मका लागि गुन लगाउने व्यक्ति थिए।
उनको अन्तिम संस्कारमा स्कूले विद्यार्थीदेखि प्रख्यात वैज्ञानिकहरू र उनका कर्मचारीहरूसम्म सयौँले उपस्थिति जनाए। त्यसले उनको समाजमा कति गहिरो प्रभाव थियो भन्ने झल्को दियो।
सन् १९३८ जुलाई १९ मा भारतको पश्चिमी राज्य महाराष्ट्रको कोल्हापुरमा जन्मिएका नारलीकर प्राज्ञिक पारिवारिक पृष्टभूमिमा हुर्केका थिए।
उनका बुवा विष्णु नारलीकर प्राध्यापक र गणितज्ञ थिए भने आमा सुमती संस्कृत भाषाकी विद्वान् थिइन्।
पारिवारिक पृष्ठभूमि
आफ्ना आमाबाबुको पाइला पछ्याउँदै अध्ययनशील नारलीकर उच्च अध्ययनका लागि क्याम्ब्रिज विश्वविद्यालय गए।
त्यहाँ उनी उच्च प्रतिष्ठित गणितसम्बन्धी कोर्समा सर्वोकृष्ट बने र त्यसपछि उनले खगोलभौतिकशास्त्र एवं ब्रह्माण्डसमब्न्धी विज्ञानमा गहिरो रुचि देखाए।
तर क्याम्ब्रिजमा उनको सबैभन्दा महत्त्वपूर्ण सङ्गत उनका पीएचडी गाइड भौतिकशास्त्री सर फ्रेड होएलसँगको सम्बन्ध बन्न पुग्यो।
ती दुवै मिलेर लोकप्रिय बिग ब्याङ सिद्धान्तविपरीतको क्रान्तिकारी विकल्पका लागि आधार तयार ती दुई भौतिकशास्त्रीहरूले बिग ब्याङ सिद्धान्तको खण्डन गरे।
उनीहरूको सिद्धान्तले ब्रह्माण्डमा सबै पदार्थ र ऊर्जा लगभग १३.८ अर्ब वर्ष पहिले एकै क्षण अस्तित्वमा आएको मान्छ।
होएल-नारलीकर सिद्धान्तले दृढतापूर्वक अनन्त ब्रह्माण्डमा नयाँ पदार्थको निरन्तर उत्पत्ति भइरहन्छ भन्ने प्रस्ताव पनि राख्यो।
उनीहरूको सिद्धान्त अर्ध-स्थिर अवस्थासम्बन्धी मोडेल भनिने विषयमा आधारित थियो।
आफ्नो आत्मकथा 'माई टेल अफ फोर सिटीज'मा नारलीकरले सिद्धान्तको व्याख्या गर्न ब्याङ्किङ उपमाको प्रयोग गरेका छन्।
त्यसमा उनले लेखेका छन्, "यस अवधारणालाई राम्रोसँग बुझ्नको लागि निश्चित चक्रमा वृद्धि हुने ब्याज दिने ब्याङ्कमा लगानी गरिएको पुँजीको बारेमा सोच्नुहोस्। त्यसमा सञ्चित ब्याज निरन्तर पुँजीमा थपिन्छ, जुन ब्याजसँगै बढ्छ।"
उनले त्यस्तो ब्याजदरसँगै बढ्ने पुँजीजस्तै ब्रह्माण्ड विस्तार भएको उनले व्याख्या गरेका छन्। यद्यपि 'स्टिडी स्टेट' अर्थात् 'स्थिर अवस्था' भनेर नामले सङ्केत गरेझैँ हेर्नेहरूका निम्ति ब्रह्माण्ड सधैँ उस्तै देखिन्छ।

तस्बिर स्रोत, Getty Images
आफ्नो सिद्धान्तप्रति प्रतिबद्ध
खगोलशास्त्री सोमक रायचौधरीका अनुसार नारलीकरको सिद्धान्त बिग ब्याङ जत्तिकै लोकप्रिय नभए पनि अझै यो सान्दर्भिक छ।
"उनले अनन्त ब्रह्माण्डमा पदार्थको निरन्तर सिर्जना र नष्ट गर्न सकिने संयन्त्रलाई थप परिस्कृत बनाए," रायचौधरीले भने।
"बिग ब्याङ मोडेलले व्यापक स्वीकृति प्राप्त गरे पनि 'स्टिडी स्टेट' मोडेलका लागि विकसित धेरै उपकरण आज पनि उपयोगी छन्।"
रायचौधरीका अनुसार होएलले बिग ब्याङ सिद्धान्तका तत्त्वहरूमा रमाउन थालेपछि पनि नारलीकर आफ्नो सिद्धान्तप्रति प्रतिबद्ध रहेका थिए।
उनको कार्यालय बाहिरको एउटा लेखाइले पनि भन्छ, "बिग ब्याङ एउटा विस्फोटक मिथक हो।"
नारलीकर सन् १९७१ सम्म किङ्स कलेजमा फेलो र इन्स्टिच्यूट अफ थ्योरिटिकल एस्ट्रोनमीका संस्थापक सदस्यको रूपमा यूकेमा बसे।
खगोलभौतिकशास्त्र क्षेत्रमा विश्वव्यापी ख्याति कमाउँदै जाँदा भारतको विज्ञान समुदायले उनको उपलब्धिहरूमा ध्यान दिन थाल्यो।
स्वदेश फिर्ती
सन् १९७२ मा उनी भारत फर्किए र प्रतिष्ठित टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चको थ्योरिटिकल एस्ट्रोफिजिक्स ग्रुपको जिम्मेवारी लिए। त्यसको उनले सन् १९८९ सम्म नेतृत्व गरे।
भारतमा उनको सबैभन्दा ठूलो योगदान अत्याधुनिक अनुसन्धान र विज्ञानको लोकतान्त्रिकीकरणमा समर्पित संस्थाको निर्माण थियो। उनको त्यो सपना पनि सन् १९८८ मा साकार भयो।
नारलीकरले अन्य प्रतिष्ठित वैज्ञानिकहरूसँग मिलेर पश्चिमी भारतको पुणे सहरमा इन्टर-युनिभर्सिटी सेन्टर फर एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स (आईयूसीएए) स्थापना गरे।
एक सय वर्ग फिटको साधारण कोठाबाट सुरु भएको आईयूसीएए खगोल विज्ञान र खगोलभौतिकशास्त्रका लागि अन्तर्राष्ट्रिय रूपमा सम्मानित संस्था बनेको छ।
नारलीकरले सन् २००३ सम्म उक्त संस्थाको संस्थापक निर्देशकका रूपमा काम गरेका थिए। त्यसपछि पनि उनले त्यहाँ इमिरटस प्रोफेसरका रूपमा काम गरिरहे।
उनले आईयूसीएएमा स्कूले बालबालिका र आम मानिसलाई लक्षित कार्यक्रमहरू समावेश गर्नुपर्नेमा जोड दिए। त्यसैले त्यहाँ मासिक रूपमा हुने व्याख्यान, विज्ञान शिविर र कार्यशालाहरू नियमित भई रहन्छन्।
उक्त संस्थाका लागि नारलीकरको दृष्टिकोणलाई सम्झँदै विज्ञानका अध्यापक अरविन्द गुप्ता भन्छन्, "उनी पीएचडी विद्वानहरू आकाशबाट खस्दैनन् र तिनीहरूलाई सानै उमेरमा समात्नुपर्छ भन्थे। उनले मलाई बस्नको लागि ठाउँको प्रस्ताव गरे र मलाई ६ महिनासम्म बालविज्ञान केन्द्र चलाउने प्रयास गर्न भने अनि म ११ वर्षसम्म त्यहाँ बसेँ। उनले मलाई उड्नका लागि पङ्ख लगाइदिए।"
तीन सयभन्दा बढी अनुसन्धानपत्रहरू प्रकाशित गर्ने एक प्रख्यात विद्वान् भए पनि नारलीकरले आफूलाई कहिल्यै पनि एकजना वैज्ञानिकका रूपमा मात्र सीमित राखेनन्।

तस्बिर स्रोत, Arvind Paranjpye
लेखकका रूपमा वैज्ञानिक
उनले धेरै विज्ञानकथाका पुस्तकहरू पनि लेखे र ती धेरै भाषाहरूमा अनुवाद गरिएका छन्। ती कथाहरू प्रायः वैज्ञानिक सिद्धान्तहरूमा आधारित छन्।
सन् २०१५ मा प्रकाशित भाइरस नामक कथामा उनले संसारभरि महामारी फैलने कल्पना गरेका छन्।
उनको सन् १९८६ को पुस्तक 'वामन परत ना आला' (वामनको फिर्ती)ले आर्टिफिशल इन्टलिजन्सको नैतिक दुविधालाई सम्बोधन गरेको छ।
सन् २०१५ मा भौतिक रूपमा गुरुत्वाकर्षण तरङ्गहरू पत्ता लगाउन योगदान पुर्याउने भारतीय टोलीका सदस्य रहेका सञ्जीव धुरन्धरले नारलीकरले उनलाई अति कल्पनाशील हुने प्रयास गर्न कसरी प्रेरित गरे भनेर स्मरण गरेका छन्।
धुरन्धरले भने, "मैले अनुसन्धान सुरु गर्दा उनले मलाई एउटा जटिल समस्या दिए। मैले एक साता सङ्घर्ष गरेपछि उनले १५ मिनेटमै बोर्डमा त्यसलाई समाधान गरेर देखाए। उनले आफ्नो श्रेष्ठता देखाउन त्यसो गरेका थिएनन् बरु मलाई मार्गदर्शन गर्न र प्रेरणा दिन गरेका थिए। गुरुत्वाकर्षण तरङ्गहरूप्रतिको उनको खुला विचारले मलाई त्यसलाई पछ्याउने साहस प्राप्त भयो।"
एकजना प्रसिद्ध तर्कवादी नारलीकरले स्युडोसाइन्स अर्थात् छद्मविज्ञानलाई चुनौती दिने जिम्मेवारी पनि लिए।
सन् २००८ मा उनले तथ्याङ्कीय विधि प्रयोग गरेर ज्योतिष विद्यालाई चुनौती दिने एउटा अनुसन्धानपत्रको सहलेखन गरेका थिए।
रायचौधरीका अनुसार छद्मविज्ञानलाई चुनौती दिने उनको प्रेरणा वैज्ञानिक आधार नभएका सबै कुरामाथि प्रश्न उठाउने उनको अटुट विश्वासबाट आएको देखिन्थ्यो।
तर विज्ञानको कुरा आउँदा उनी सम्भावनाहरूको व्यापक गहिराइमा पुगेर अन्वेषण गर्ने कुरामा विश्वास गर्थे।
आफ्ना अन्तिम दिनहरूमा पनि नारलीकरले आफूलाई सबैभन्दा मन पर्ने काम बालबालिकाका पत्रहरूको जबाफ दिने र आफ्नो ब्लगमा विज्ञानबारे लेख्नेजस्ता कामहरू गरिरहे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








