व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास, सम्झौताको खाकामा 'टिकटक पनि'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै

तस्बिर स्रोत, Reuters

संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ। यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्।

बेसेन्टले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएअनुसार अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज पदार्थहरूमा चीनले कायम गरेको नियन्त्रण स्थगित गर्ने निर्णय "अन्तिम सम्झौता"का लागि तयार छन्।

उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमा प्रस्ताव गरेको १०० प्रतिशत कर लागु हुने सम्भावना आफूले नदेखेको बताए। चीनले अमेरिकाबाट ठूलो परिमाणमा भटमास खरिद पुनः सुरु गर्ने विषय पनि समेटिएको बेसेन्टले बताएका छन्।

दुवै देशहरू विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको 'व्यापार युद्ध'लाई थप चर्किन नदिने प्रयासमा देखिएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच बिहीवार दक्षिण कोरियामा भेट हुने तय भएको छ। अमेरिकी अर्थमन्त्री बेसेन्टले मलेशियामा दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन 'आसियान'को सम्मेलनका बेला चिनियाँ वरिष्ठ अधिकारीहरूसँग भेट गरेका थिए।

एशियाको भ्रमणमा रहेका ट्रम्प पनि उक्त सम्मेलनमा उपस्थित भएका थिए। बेइजिङले छलफल "रचनात्मक" भएको बताएको छ।

बेसेन्टले दुई देशहरूबीच "दुई नेताको भेटका लागि ठोस खाकामा सहमति जुटेको" बताएका छन्। उनले "करहरू रोकिने" पनि बताएका छन्।

चिनियाँ सरकारले एक विज्ञप्तिमा दुवै वार्तारत पक्ष "आफ्नो चासो सम्बोधन गर्ने सम्झौताका लागि प्रारम्भिक सहमतिमा पुगेको" जनाएको छ।

"दुवै पक्षले खास विवरण टुङ्गो लगाउने पनि सहमति गरेका छन्," चीनले भनेको छ।

ट्रम्पको ट्यारिफ रणनीति

दोस्रो पटक राष्ट्रपति बनेर ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले धेरै देशबाट आयात हुने सामग्रीमा ठूलो ट्यारिफ अर्थात् आयात शुल्क लगाए। यो नीतिले अमेरिकी उत्पादन र रोजगारी दुवै वृद्धि हुने उनको तर्क थियो।

ट्रम्पले नयाँ ट्यारिफ लगाएपछि यूके सहितका धेरै देशहरूले अमेरिकासँग नयाँ व्यापार सम्झौता गरे।

ट्रम्पले चीनमाथि सबैभन्दा चर्कोमध्येको कर लगाएका छन्। प्रतिक्रियामा बेइजिङले पनि आफूलाई अनुकूल हुने गरी उपायहरू अवलम्बन गरेको छ। नयाँ व्यापार सहमतिसँगै दुवै देशले एकअर्काबाट आयात हुने सामग्रीमा लागु गरिएको कर कटौती गर्ने तयारी गरेका छन्।

ट्रम्पले केही समयअघि नोभेम्बरबाट चिनियाँ सामानमा शतप्रतिशत कर लगाउने बताएका थिए। चीनले कैयौँ विद्युतीय उपकरणमा प्रयोग हुने 'रेअर अर्थ' भनिने दुर्लभ खनिज पदार्थको निर्यातमा कडाइ गरेपछि ट्रम्पले यस्तो चेतावनी दिएका थिए। उनले चीनमाथि "धेरै शत्रुतापूर्ण" व्यवहार गरेको र विश्वलाई "बन्धक" बनाउन खोजेको आरोप समेत लगाएका थिए।

चीनले विश्वको ९० प्रतिशत रेअर अर्थ प्रशोधन गर्दै आएको छ। सौर्य ऊर्जाका प्यानलदेखि स्मार्टफोन बनाउनसम्म प्रयोग हुने उक्त खनिज अमेरिकी उत्पादकलाई आपूर्ति गर्ने विषय दुई देशबीच प्रमुख मोलमोलाइको विषय बनेको छ।

ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बनेसँगै चिनियाँ सामानमा ट्यारिफ बढाएलगत्तै चीनले पनि रेअर अर्थको निर्यातमा कडाइ गरेको थियो। यस्तो खनिजमा निर्भर कैयौँ अमेरिकी कम्पनीहरूले त्यसमा आक्रोश पोखेका थिए।

अमेरिकी अर्थमन्त्री बेसेन्टले चीनले यो कडाइ एक वर्षका लागि खुकुलो बनाउन लागेको बताएका छन्।

दुई देशबीच विवादको अर्को विषय भटमास हो। चीन विश्वमै भटमासको सबैभन्दा ठूलो खरिदकर्ता देश हो। अमेरिकासँग व्यापार युद्ध सुरु भएपछि चीनले भटमासको सबै खरिद आदेश फिर्ता लियो। जसले अमेरिकी कृषकहरूको चित्त दुख्यो।

अमेरिकी अर्थमन्त्रीले यो समस्या छिट्टै समाधान हुने बताए पनि विस्तृतमा खुलाएका छैनन्।

टिकटक सञ्चालनबारे कस्तो सम्झौता होला

अमेरिकी अर्थमन्त्री बेसेन्टले भिडिओ शेअरिङ प्ल्याट्फर्मको अमेरिकी शाखाको स्वामित्वबारे पनि सम्झौताका लागि सहमति भएको बताएका छन्।

अमेरिकाले चिनियाँ स्वामित्वको बाइटड्यान्सका कारण राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै अमेरिकामा उक्त एप सञ्चालन हुने शाखा खरिद गर्न चाहेको छ।

टिकटकलाई यसअघि स्वामित्व बिक्री नगरिए अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो। तर ट्रम्पले प्रतिबन्धमा ढिलाइ गर्दै वार्ता अघि बढाएका छन्।

पछिल्लो पटक प्रतिबन्धका लागि डिसेम्बरको समयसीमा तोकिएको छ। ह्वाइट हाउसले गत महिना टिकटकको अल्गोरिदम अमेरिकी कम्पनीको नियन्त्रणमा हुने र अमेरिकामा सञ्चालन हुने एपको सञ्चालक समितिमा सात जनामध्ये छ जना अमेरिकी हुने बताएको थियो।

आफ्नो पहिलो कार्यकालमा टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका ट्रम्पले अहिले अडान फेरेका हुन्। उनले अघिल्लो वर्ष आफ्नो चुनावी अभियानमा युवा अमेरिकीहरूसम्म पुग्न निकै लोकप्रिय यो सामाजिक सञ्जालको यथेष्ट उपयोग गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।