अरब आन्दोलनले नेपालको अर्थतन्त्र खलबलिने चिन्ता

- Author, सञ्जय ढकाल
- Role, बीबीसी सम्वाददाता
वार्षिक देश भित्रिने अढाई खर्ब रुपियाँ पठाउने नेपाली कामदारहरुमध्ये आधा रहेका खाडी देशहरुमा हालै चर्किएको आन्दोलनले उनीहरुको सुरक्षा स्थितिको साथै रेमिटेन्समा निर्भर नेपाली अर्थतन्त्रको भविष्य अन्योलमा परेको विज्ञहरुले बताएका छन्।
तीन महिना अगाडि ट्युनीसीयाबाट शुरु भएको आन्दोलनको लप्काले एकपछि अर्को गर्दै अरब मुलुकहरु इजिप्ट, लिबिया, यमन, ओमान, बहराइनलाई छोपेको बेला खासगरी खाडी क्षेत्रमा कार्यरत दश लाख नेपाली कामदारहरुको भविष्यबारेको चिन्ता बढेको हो।
चेतावनी
गएको झण्डै एक दशकयता विदेशमा काम गर्नेहरुले पठाउने गरेको पैसा नै नेपाली अर्थतन्त्रको सबैभन्दा दह्रो खम्बा बनेको छ।
यस मानेमा, झण्डै बीस लाख त्यस्ता कामदार मध्ये आधी कार्यरत खाडीका अरब मुलुकहरुको स्थिरता, आर्थिक हिसाबले, नेपालका लागि नेपालभित्रकै आन्तरीक राजनीतिक स्थिरता जत्तिकै महत्वपूर्ण छ।
तर गएको तीन महिना यता अरब मुलुकहरुमा फैलिएको आन्दोलनको ज्वालाले त्यो स्थिरता डगमगाउन थालेको छ।
विशेषगरि ती आन्दोलनमा राष्ट्रवादी नाराहरु लाग्न थालेकाले भविष्यमा त्यस क्षेत्रमा विदेशी कामदार नमगाउन त्यहाँका शाषकहरु वाध्य हुन सक्ने विश्लेषकहरुको भनाई छ।
“यसले नेपाललाई दुरगामी असर पार्ने निश्चित छ। आन्दोलन फैलिएर त्यसले बहराईन, कुवेत, संयुक्त अरब इमिरेट्स जस्ता देशमा शासकीय परिवर्तन ल्यायो भने नयाँ सरकारले वैदेशिक रोजगारीप्रति कस्तो रवैया देखाउला भन्नेबारे हामीले कुनै आधिकारिक विश्लेषण गरेका छैनौं। यसले दुर्भाग्यपूर्ण स्थिति निम्त्याउन सक्छ,” एकजना विदेश नीति विश्लेषक निश्चलनाथ पाण्डेले बताए।
आर्थिक ‘भुईंचालो’
त्यस्तो स्थिति असम्भव नभएको स्वीकार्दै अर्थविदहरुले त्यसको आर्थिक असर गम्भीर हुने चेतावनी दिएका छन्।
एकजना अर्थविद डा विश्वम्भर प्याकुर्यालले भने, “अहिले अरबमा भएका आन्दोलनका कारण नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको रेमिटेन्स तल माथि भए त्यसले आर्थिक भुईंचालो ल्याउन सक्छ। त्यसले नेपालमा अर्को राजनीतिक विष्फोट हुने सम्भावना देखिन्छ।”
ताजा आँकडा अनुसार गल्फ कोअपरेशन काउन्सील अन्तर्गतका ६ वटा खाडी देशहरुमा करीब दश लाख नेपाली कामदार छन्।
हाल आन्दोलन चर्किएको बहराईनमा मात्रै बीस हजार नेपाली छन् भने छिटफुट विरोध प्रदर्शन हुने गरेको साउदी अरेबीयामा त साढे चार लाख नेपाली कामदार छन्।
देशले रेमिटेन्सबाट कमाएको कुल आर्जनमध्ये आधी खाडी देशहरुबाट भित्रिने गरेको छ।
त्यसमाथि लिबियामा जस्तो स्थिति खराब भएमा त्यत्तिका धेरै नेपालीहरुको तुरुन्ता तुरुन्तै उद्वार गर्न सकिने स्थितिको त अधिकारीहरु कल्पना गर्न पनि डराउँछन्।







