ह्यारी र मेगनः दुई जनाको भावी भूमिकासम्बन्धी वार्तामा 'प्रगति'

तस्बिर स्रोत, Getty Images
ड्यूक र डचिस अफ ससिक्सले ब्रिटिश राजपरिवारले भविष्यमा आफ्नो भूमिका के हुन्छ भन्ने विषय वार्तामार्फत् ढिलोचाँडो टुङ्गो लगाउने आफ्नो विश्वास रहेको बताएको एउटा स्रोतले पीए समाचारसंस्थालाई जनाएको छ।
बैठकहरू सकारात्मक ढङ्गले अघि बढिरहेको बताइएको छ।
ह्यारी र मार्कलले आफूले राजपरिवारको 'वरिष्ठ सदस्य' को भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरिसकेका छन्।
वार्ताहरू जारी रहँदा मेगन क्यानडा फर्केर छोरा आर्चीसँग बसिरहेकी छन्।
शाही भूमिकाबाट छ साता बिदा लिएर मङ्गलवार यूके फर्कनुअघि यो परिवारले क्रिस्मस क्यानडामा मनाएको थियो।
बीबीसीका शाही संवाददाता निकोलस विचलका अनुसार महारानी, प्रिन्सेस अफ वेल्स र ड्यूक अफ केम्ब्रिजले ससिक्स दरबारमा कार्यरत वरिष्ठ कर्मचारी तथा सरकारलाई केही दिनभित्रै समाधान खोज्न भनेका छन्।
ड्यूक र डचिसबारे कुरा गर्दै एउटा स्रोतले पीए समाचारसंस्थालाई भन्योः "अरूलाई जस्तै उहाँहरूलाई पनि यसको समाधान ढिलोचाँडो निस्कने विश्वास रहेको छ।"
"समाधान सबैको हितमा छ र त्यो छिट्टै होओस्। तर नतिजा निकाल्नैका लागि सम्झौता गर्न नपरोस्।"
यसैबीच यी दम्पतीको आधिकारिक इन्स्टाग्राम खातामा उनीहरूका तस्वीर सार्वजनिक गर्न थालिएको छ।
पश्चिमी लन्डनको केन्सिङ्गटनस्थित एउटा सामुदायिक भान्सामा पुगेका दम्पतीको एउटा तस्वीर सार्वजनिक भएको छ।
सो भान्सामा ग्रेनफल टावरमा भएको आगलागीका कारण विस्थापित भएका मानिसहरूका लागि खाना बनाउने गरिएको छ।
बुधवार जारी गरेको एउटा वक्तव्यमा ड्यूक र डचिसले सञ्चारमाध्यमसँग कुराकानी गर्न र सामाजिक सञ्जाल इन्स्टाग्राम चलाउन परिमार्जित शैली अपनाउने बताएका थिए। इन्स्टाग्राममा उनीहरूका एक करोडजति फलोअर छन्।
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवार "आहत" भएको बताइएको छ।
बीबीसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार जे घोषणा भयो त्योभन्दा पनि विनापरामर्श भएकाले राजपरिवार बढी दु:खित भएको हुन सक्छ।
बुधवार साँझ आफ्नो वक्तव्यमा उनीहरूले भनेका थिए, "हामी राजपरिवारका 'वरिष्ठ' सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौँ। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ।"
महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन्।
"यो भौगोलिक सन्तुलनले हामीलाई हाम्रा छोरालाई शाही परम्पराको सम्मान गर्दै हुर्काउन समर्थ बनाउनेछ। त्यसो गर्दा हाम्रो परिवारलाई नयाँ परोपकारी संस्थाको आरम्भ गर्न सहित नयाँ अध्यायमा केन्द्रित हुन ठाउँ दिनेछ।"

क्रिस्मसको बेला राजपरिवारको जिम्मेवारीबाट छ हप्ताको बिदा लिएर छोरासहित ह्यारी दम्पती क्यानडा गएका थिए।
उनीहरूका छोरा आर्चीको जन्म गत मे महिनामा भएको हो। उनीहरू मङ्गलवार यूके फर्किएका हुन्।
त्यसपछि ३५ वर्षीय ह्यारी र ३८ वर्षीया मेगन लन्डनस्थित क्यानडाको उच्च आयोग गएर आतिथ्यका लागि धन्यवाद दिएका थिए।

भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन्।
अमेरिकी टेलिचलचित्र 'सूट्स'मा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन्।
राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि ब्रिटेनमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोष 'सोभ्रिन ग्र्यान्ट'बाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन्।
औपचारिक शाही उत्तरदायित्व वहन गर्दा राजपरिवारका सदस्यलाई सोभ्रिन ग्र्यान्ट भनिने सार्वजनिक कोषबाट रकम उपलब्ध गराइन्छ।

ह्यारी र मेगनको सम्बन्ध

तस्बिर स्रोत, Reuters
- ८ नोभेम्बर २०१६ - केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गरी राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको जानकारी
- २८ नोभेम्बर २०१७ - ह्यारी र मेगन विवाहका लागि तयार भएको भनाइ
- १५ डिसेन्बर २०१७ - केन्सिङ्टन प्यालेसले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको जानकारी
- १९ मे २०१८ - ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान
- १५ अक्टोबर २०१८ - केन्सिङ्टन प्यालेसद्वारा मेगन गर्भवती भएको जानकारी
- ६ मे २०१९ - मेगनको कोखबाट छोरा आर्चीको जन्म
- ८ ज्यानुअरी २०२० - परिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा








