राजकुमार विलियम: आमा डायनाको मृत्युको दुखदायी सम्झनाबाट 'भावविह्वल'

तस्बिर स्रोत, Reuters
ब्रिटेनका राजकुमार विलियमले आफू बाबु बनेपछि आफ्नी आमाको मृत्यु भएका बखतको दु:खदायी समय सम्झना हुने गरेको बताएका छन्।
राजकुमार विलियम १५ वर्षको हुँदा सन् १९९७ मा प्यारिसमा आमा डायनाको कार दुर्घटनामा ज्यान गएको थियो।
श्रीमती केटबाट तीन बच्चाका बाबु बनेका ड्यूक अफ केम्ब्रिजले भने, 'त्रासदीपूर्ण' घटना आफू बाबु बन्दा फेरि सम्झना आउँदो रहेछ।
उनले मानसिक स्वास्थ्यबारे बीबीसीले तयार पारेको डक्युमेन्ट्रीमा त्यसबेलाको कुरा सम्झेर आफू कैयौँपटक 'भावविह्वल' बन्ने गरेको बताएका छन्।
ढाडस
राजकुमार विलियमले कठिन घडीहरूमा क्याथरिन र आफूले एक अर्कालाई ढाडस दिने गरेको बताए।
उनले फुटबलका पूर्वखेलाडी मार्भिन सर्डेलसँग पुरुषको मानसिक स्वास्थ्य र फुटबलमा केन्द्रित कार्यक्रममा कुराकानी गरेका हुन्।
बोल्टन वान्डरर्स क्लबका पूर्वस्ट्राइकर सोर्डेलले बाबु बनेको समय आफ्नो 'जीवनको सबैभन्दा कठिन' भएको बताए।
उनले आफू बाबुसँग नहुर्किएकाले कैयौँपटक आफूलाई असाध्यै गाह्रो हुने गरको बताए।
ड्यूक अफ केम्ब्रिजले भने, "बच्चा पाउनु भनेको साँच्नै नै जीवन नै फेरिदिने घडी हो। र म तपाईँसँग सहमत छु।"
"तपाईँ बाबुविना हुर्कनुपर्यो र म सानै छँदा मेरी आमाको मृत्यु भयो। जीवनमा कुनै अवसादपूर्ण घटना भोग्नुपरेपछि कुनै-कुनै बेला आफ्ना भावना उर्लिएर आउँछन् किनभने यो जीवनको फरक चरण हो।"

तस्बिर स्रोत, Reuters
"र त्यहाँ तपाईँलाई सहयोग गर्न कोही पनि छैन जस्तो लाग्ने गर्छ। म साँचिकै कुनै-कुनै बेला भावविह्वल हुने गर्छु।"
त्यस्तो संवेदना पहिले नै भोगिसकेको सोचेपनि अचानक बेलाबखत आउने गरेको राजकुमार विलियमले बताए।
बाबुआमा बन्नुको जिम्मेवारीबारे उनले भने, "यो जीवनको अद्भुत समय हो, तर डरलाग्दो समय पनि हो।"
राजकुमार विलियम र उनका भाइ ह्यारी मानसिक स्वास्थ्यसम्बन्धी अभियानमा सरिक हुने गरेका छन् र आफ्नी आमाको निधनबाट आफूलाई परेको असरबारे धेरै बोल्न थालेका छन्।








