उत्तर कोरियाले सैन्य परेडमा देखाएका क्षेप्यास्त्रहरूले 'दिन सक्छन् अमेरिकालाई चुनौती'

किम जङ-अन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, छोरीसँगै क्षेप्यास्त्र प्रदर्शनी हेर्दै सर्वोच्च नेता किम जङ-अन

उत्तर कोरियाले अहिलेसम्मकै ठूलो सङ्ख्यामा आफ्ना अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रदर्शन गरेको छ।

केही विश्लेषकहरूले ती क्षेप्यास्त्रहरूले संयुक्त राज्य अमेरिकाको प्रतिरक्षा प्रणालीलाई चुनौती दिन सक्ने ठानेका छन्।

बुधवार आयोजित सैन्य परेडमा लामो दूरीमा प्रहार गर्न मिल्ने एक दर्जनभन्दा बढी आईसीबीएम देखाइएको थियो।

मध्यराति आयोजित परेडमा देशका सर्वोच्च नेता किम जङ-अन आफ्नी छोरी किम चु-एसँगै उपस्थित भएका थिए।

छोरीलाई किमले आफ्नो उत्तराधिकारीका रूपमा स्थापित गर्न खोजेको अनुमान गरिएको छ।

सैन्य परेडमा प्रदर्शित लामो दूरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रहरूको सङ्ख्याका कारण उत्तर कोरियाबाहिर चासो र चिन्ता बढेको छ। सिद्धान्ततः ती क्षेप्यास्त्रहरू अमेरिकी भूमिसम्म पुग्न सक्छन्।

विश्लेषकहरूका अनुसार यदि प्रत्येक क्षेप्यास्त्रमा धेरैवटा युद्धशीर्ष राख्ने हो भने अमेरिकी पारमाणविक रक्षाप्रणालीले त्यति सङ्ख्यामा ती क्षेप्यास्त्रहरूलाई छेक्न सक्दैन।

उत्तर कोरियाली सञ्चारमाध्यमहरूले ती क्षेप्यास्त्रबारे विस्तृत जानकारी दिएका छैनन्।

तर तिनले प्रदर्शित अस्त्रभण्डारले देशको "युद्ध निवारण र प्रत्याक्रमण गर्ने ठूलो सामर्थ्य" देखाएको दाबी गरेका छन्।

बिहीवार बिहान उत्तर कोरियाली सञ्चारमाध्यमले प्रकाशित गरेका तस्बिरहरूमा एक दर्जन वटाभन्दा बढी आईसीबीएम क्षेप्यास्त्रहरू प्योङ्याङको मध्यभाग हुँदै अगाडि बढेको देखिन्छ।

ती क्षेप्यास्त्रसँगै सैनिकहरू पैदल हिँडेका थिए।

स्याटलाइट खिचिएको तस्बिरमा एउटा विशेष खालको क्षेप्यास्त्र लन्चर पनि देखिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्याटलाइटबाट खिचिएको तस्बिरमा एउटा विशेष खालको क्षेप्यास्त्र लन्चर पनि देखिन्छ

भूउपग्रहबाट खिचिएका तस्बिरहरू नियालेपछि उत्तर कोरियाबारे विज्ञता भएका केही विश्लेषकहरूले उक्त प्रदर्शनीमा एउटा नयाँ 'आईसीबीएम लन्चर' पनि समाविष्ट थियो भनेका छन्।

ठोस इन्धनयुक्त क्षेप्यास्त्र प्रहार गर्नका लागि उक्त विशेष खालको उपकरण बनाइएको ठानिएको छ।

तरल इन्धन प्रयोग गरिने क्षेप्यास्त्रभन्दा ठोस इन्धनयुक्त क्षेप्यास्त्रहरू चाँडै प्रहार गर्न सकिन्छ। त्यसैले ठोस इन्धनयुक्त क्षेप्यास्त्रहरूका कारण प्रत्याक्रमण गर्ने क्षमतामा ठूलो अभिवृद्धि हुन्छ।

तर किमको सेनाले ठोस इन्धनयुक्त क्षेप्यास्त्रहरूको सफल परीक्षण गरिसकेको छैन।

"उत्तर कोरियाको यो आधुनिकीकरणको एउटा ठूलो उद्देश्य हो," कार्नेगी एन्डाउमन्ट फर इन्टर्न्याश्नल पीसमा कार्यरत परमाणुनीतिका विशेषज्ञ अङ्कित पान्डाले भने।

"आगामी महिनाहरूमा हामी लामो दूरीका ठोस इन्धनयुक्त क्षेप्यास्त्रहरूको परीक्षण हुनसक्ने अनुमान गर्न सक्छौँ," उनले बीबीसीसँग भने।

उनका अनुसार उत्तर कोरियाको आईसीबीएम अस्त्रभण्डार ठूलो हुनुको अर्थ त्यसबाट द्वन्द्व भएका खण्डमा अमेरिकालाई "सैन्य योजनामा गम्भीर चुनौती" पुग्नु हो।

"किनभने उत्तर कोरियाका सबै गतिशील आईसीबीएम क्षेप्यास्त्रहरू फेला पार्न र तिनलाई ध्वस्त पार्न अमेरिकाका लागि कठिन हुन्छ।"

पत्नी र छोरीसँग एउटा भोजमा सहभागी हुँदै किम

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पत्नी र छोरीसँग एउटा भोजमा सहभागी हुँदै किम

संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्ध उल्लङ्घन गर्दै उत्तर कोरियाले गत वर्ष सर्वाधिक सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको थियो।

उत्तर कोरियाका गतिविधिका कारण कोरियाली प्रायःद्वीपमा तनाव बढ्ने गरेको छ।

उत्तर कोरिया सरकारको स्वामित्वमा रहेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार उक्त सैन्य परेडले "पारमाणविक अस्त्रलाई पारमाणविक अस्त्रबाट नै, भिडन्तलाई भिडन्तबाट नै" उत्तर कोरियाका शत्रुहरूलाई परास्त गर्ने सङ्केत गरेको छ।

सार्वजनिक भएका तस्बिरहरूमा सैन्य टोली र क्षेप्यास्त्र यूनिटहरू परेड खेल्दै अगाडि बढेको बेलामा कालो कोट लगाएका किमले सङ्गिन बोकेका सैनिकहरूको लहरलाई निरीक्षण गरेको र सलाम गरेको देखिन्छ।

एउटा बार्दलीजस्तो ठाउँबाट किमले छोरीसँगै उभिएर परेड अवलोकन गरेको तस्बिर पनि सार्वजनिक भएको छ।

छोरीको सहभागिताबारे धेरैको चासो

किमकी छोरी अहिले १०-११ वर्षकी भइन्।

सामरिक महत्त्व भएको यस्तो कार्यक्रममा उनलाई सहभागी गराइनुलाई पर्यवेक्षकहरूले अर्थपूर्ण रूपमा हेरेका छन्।

परेडभन्दा अगाडि आयोजित एउटा भोजमा पनि उनी आफ्ना आमाबुवासँगै देखा परेकी थिइन्। सो भोजमा वरिष्ठ सैन्य अधिकारीहरू उपस्थित थिए।

भोजन गर्ने बेलामा उनी आमाबुवाको बीचमा बसेकी थिइन्। त्यो ठाउँमा प्रायः किम बस्ने गर्थे।

त्यहाँ खिचिएको तस्बिरमा किम, उनकी पत्नी र छोरीलाई प्रफुल्ल मुद्रामा देखिन्छ।

किमकी पत्नी रीको गलामा क्षेप्यास्त्रको आकृति भएको सिक्री देखिन्छ। उक्त लर्कन प्योङ्याङले गत वर्ष परीक्षण गरेको ह्वासङ-१७ आईसीबीएमको प्रतिकृति हो।

केही विश्लेषकहरूले किमले छोरीलाई आफ्नो उत्तराधिकारीका रूपमा अघि सार्न खोजेको सङ्केत पाइएको बताएका छन् भने केहीले उनले आफूलाई परिवारमा रमाउने मानिसका रूपमा प्रस्तुत गर्न खोजेको बताएका छन्।

"भोजमा किमकी छोरीको उपस्थिति बेवास्ता गर्न सकिँदैनथ्यो। उत्तरी कोरियाका सरकारी प्रचारबाजहरूले पक्कै पनि किम जङ-अनलाई परिवारमा रमाउने व्यक्तिका रूपमा चित्रित गर्न खोजेका छन्। तर उनकी अर्की छोरीको अनुपस्थिति उत्सुकताको विषय हो," स्टिम्सन सेन्टरसँग आबद्ध वरिष्ठ विज्ञ मार्टिन विलियम्सले भने।

किम जङ‍-अनका कम्तीमा तीन सन्तान भएको विवरणहरू आएका छन्। तीमध्ये जेठा सन्तान चाहिँ छोरा हुन्। किम चु-‍ए दोस्री सन्तान हुन्।

किम चु-ए पहिलो पटक तीन महिनाअघि सार्वजनिक कार्यक्रममा देखा परेकी थिइन्। क्षेप्यास्त्र प्रक्षेपण गरेको हेर्न किमले उनलाई लिएर गएका थिए।

उत्तराधिकारको विषयबारे अहिले नै निष्कर्षमा पुग्नु निकै चाँडो हुने विलियम्सको धारणा छ।

केही महिनादेखि किम चु-एबारे भइरहेको चर्चाबाट किमले पारमाणविक अस्त्रको विषयलाई आफ्नो परिवारभित्र अर्को पुस्तामा सार्न खोजेको सङ्केत पाइएको पान्डाले बताए।