तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानी र्यापरले नेपालमा भारतीय झण्डा फहराउँदा उठेको विवाद: 'मेरो कलाको कुनै सिमाना छैन'
नेपालमा भएको एक सांगितिक प्रस्तुति, कन्सर्टमा पाकिस्तानी गायक तल्हा अंजुमले भारतीय तीनरङ्गी झण्डा फहराएकोमा उनले स्वदेशमा आलोचना खेप्नु परिरहेको छ।
कन्सर्टका केही भिडिओ भाइरल बनेपछि यो विषय बहसमा आएको हो। भाइरल भिडियोमा उर्दू र्यापर तल्हा अंजुमको हातमा भारतीय झण्डा देखिन्छ।
तल्हाले आफ्नो बचाउमा आफ्नो मनमा कसैका प्रति घृणालाई ठाउँ नरहेको बताएका छन्, "मेरो कलाको कुनै सिमाना छैन।"
भारत या पाकिस्तानमा अर्को देशप्रति सद्भावना प्रकट गर्नेलाई आलोचनाको निशाना बनाइएको यो पहिलो पटक भने होइन।
पाकिस्तानी अभिनेत्री हानिया आमिर अभिनित चलचित्र 'सरदार जी ३' भारतमा रिलीज हुन पाएन र त्यसलाई नहेर्न अभियान चलाइयो।
यसै वर्ष जम्मू-कश्मीरको पहलगाम इलाकामा पर्यटकमाथि चरमपन्थी हमलापछि मे महिनामा दुई देशबीच चारदिनसम्म सैन्य सङ्घर्ष चलेको थियो।
त्यस सन्दर्भमा पाकिस्तानका कैयौँ खेलाडी, कलाकार र पत्रकारका सोसल मिडिया अकाउन्ट्समाथि भारतमा रोक लगाइएको थियो।
त्यसबेला इन्स्टाग्राम र यूट्यूबमा तल्हा अंजुम र उनका गायक साथी तल्हा यूनुसका अकाउन्टमाथि पनि प्रतिबन्ध लगाइएको खबर आएको थियो।
तल्हा अंजुमले भारतीय झण्डा किन हल्लाए?
केही दिनअघि पाकिस्तानका गायक तल्हा अंजुमले नेपालमा आफ्नो लाइभ कन्सर्टमा उनको लोकप्रिय गीत 'कौन तल्हा' गाइरहेका बेला अचानक भीडबाट उनलाई कसैले भारतीय झण्डा दिए जसलाई उनले एक हातले समाते।
यो कन्सर्टको भिडियोमा देखिन्छ- गीत गाउँदै गर्दा तल्हाले त्यो झण्डा आफ्नो काँधमा राखेर गीत पूरा गरे र पछि त्यो झण्डा खोलेर भीडतर्फ लहराइदिए।
फेरि उनले त्यो झण्डा आफ्नो काँधमा ओढे र आफ्नो गीतको बोल दोहोर्याए "इफ यू नो, यू नो- कौन तल्हा, कौन तल्हा।"
र त्यसपछि उनले त्यो झण्डा दर्शकदीर्घामै फिर्ता गरिदिए।
पाकिस्तानी गायकले आफ्नो बचाउमा सोसल मिडियामा एक सन्देश जारी गरेका छन्। उनको भनाइ छ, "मेरो मनमा कुनै घृणा छैन, मेरो कलाको कुनै सिमाना छैन।"
उनी भन्छन्, "यदि मेरो तर्फबाट भारतीय झण्डा लहराउँदा विवाद खडा हुन्छ भने भइरहोस्। म त्यस्तो दोस्रो पटक पनि गरौँला। मैले कहिल्यै मीडिया, जङ्गी सङ्घर्षमा सामेल सरकारहरू र उनीहरूको प्रोपोगान्डाको फिक्री गर्दिनँ।"
तल्हा अंजुमले आफ्नो सन्देशको अन्तिममा भनेका छन्, "उर्दू र्यापको कुनै सिमाना छैन र हमेशा यस्तै हुने छ।"
पाकिस्तानी गायकको आलोचना किन भइरहेको छ?
सन् २०२४ मा तल्हा अंजुम स्पटिफाईमा सबभन्दा धेरै सुनिएका पाकिस्तानी गायक थिए। अहिले स्पटिफाईका अनुसार हरेक महिना उनको गीत सुन्नेको सङ्ख्या लाखौँ छ। कराची र लाहोर जस्ता शहरका अतिरिक्त उनका प्रशंसक भारतमा पनि छन्।
तल्हाको भनाइमाथि पाकिस्तानी र भारतीय सोसल मीडिया प्रयोगकर्ताले कमेन्ट गरेका छन्।
दानिश अमीनले लेखेका छन्, "सङ्घर्ष त भइरहन्छ, तर हाम्रो गीत रोक्न हुँदैन।"
तल्हाको बचाउमा नवाब असद जटले लेखेका छन्, "कुनै देशको झण्डा लहराउनुले तपाईँलाई पाकिस्तान विरोधी बनाउँदैन।"
केही भारतीय र पाकिस्तानी प्रयोगकर्ताले पहलगाम हमलापछि तल्हा अंजुमको एक संदेश सम्झाए जसमा उनले एक मात्र बाटो शान्तिको रहेको बताएका थिए।
यशराज शर्मा नामका प्रयोगकर्ताले 'तल्हा अंजुम भारतमा निकै लोकप्रिय छन्' भने।
तल्हा अंजुम को हुन्?
'कौन तल्हा' नामबाट यी पाकिस्तानी गायकले एक गीत पनि बनाएका छन्। गत वर्ष बीबीसीलाई दिएको एक अन्तर्वार्तामा तल्हाले आफ्नो सङ्गीत यात्राबारे बताएका थिए।
उनी र उनका सहकर्मी तल्हा यूनुस एकै स्कूलमा पढेका हुन् र 'यङ स्टनर्स' सांगितिक समूहमा पार्टनर हुन्। उनीहरूलाई र्यापरका गीत सुन्न र उर्दूमा शायरी गर्ने सोख थियो।
सन् २०१३ मा रिलीज भएको गीत 'बर्गर-ए-कराची' ले उनी र तल्हा यूनुसलाई चिनाइदिएको थियो। पछिल्लो दश वर्षमा उनीहरूका दर्जनौँ गीत रिलीज भएका छन्।
फेब्रुअरी २०२५ मा स्पटिफाईको 'ग्लोबल इम्प्याक्ट लिस्ट'मा ३० राम्रा गीतमा तल्हा अंजुमका १७ 'हिप हप' परेका थिए। सन् २०२४ मा उनी पाकिस्तानमा स्पटिफाईमा सुनिने सबभन्दा लोकप्रिय गायक हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।