चर्चित पाकिस्तानी गीत बलीवुड चलचित्रमा, भारतमा यस्तो प्रतिक्रिया

पाकिस्तानमा गत वर्ष निकै चर्चित बनेको एउटा पप गीत अहिले बलीवुड चलचित्रमा भिन्न रूपमा प्रयोग भएपछि भारतीयहरूले त्यसबारे विभिन्न प्रतिक्रियाहरू व्यक्त गरिरहेका छन्।

पहिला अलि सेठी र शे गिलले उक्त गीत गाएका थिए। पाकिस्तानमा लामो समयदेखि चल्दै आएको लोकप्रिय साङ्गीतिक कार्यक्रम 'कोक स्डुडिओज पाकिस्तान' मा उक्त गीत समाविष्ट भएको थियो।

उक्त गीतको भारतीय संस्करण सोमवार सार्वजनिक भएको छ। त्यसबारे भारतीय दर्शक तथा सङ्गीत पारखीहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्।

धेरै जनाले उक्त अनुवाद अनावश्यक रहेको टिप्पणी गरेका छन्। तर अरूले नयाँ संस्करणको शैली आफूलाई मन परेको बताएका छन्।

'पसूरी नु' शीर्षक दिइएको उक्त गीतको भारतीय संस्करण निर्माणाधीन बलीवुड चलचित्र 'सत्यप्रेम की कथा' को अङ्ग हुने छ। बहुचर्चित कलादारद्वय कार्तिक आर्यन र कियारा आडवाणी उक्त चलचित्रका मुख्य पात्र हुन्।

यूट्यूबमा सोमवार सार्वजनिक भएपछि उक्त गीतको म्यूजिक भिडिओ ९० लाखभन्दा बढी पटक हेरिएको छ।

यो गीतको भारतीय संस्करण भारतका प्रसिद्ध पार्श्वगायक अरिजित सिंहले गाएका छन्। सेठी र भारतीय लेखिका गुरप्रीत सैनीले संयुक्त रूपमा यो गीतको रचना गरेका हुन्।

यो गीतमा मौलिक कोरस र श्रोतालाई आकर्षित गर्न कर्णप्रिय पप शैली कायम राखिएको छ। यद्यपि यसमा अतिरिक्त रोमान्टिक रङ्ग दिइएको छ।

सेठीको आवाजको अनुकरण गर्दै सिंह गाउँछन् - आग लवाँ तेरिया मजबूरियाँ नु (आफ्ना बाध्यताहरूमा आगो लगाइदेऊ)। यो गीतको भिडिओमा कलाकारहरूले पछाडि सेता हिमाल देखिने ठाउँमा नाच्छन् र अङ्कमाल गर्दछन्।

तर सोमवार यो गीतको पछिल्लो म्यूजिक भिडिओ बनाउँदा मौलिक स्वाद बिगारिएको भन्दै धेरै भारतीयहरूले आलोचना गरेका छन्।

"राम्रो प्रयास, तर फेरि त्यसो नगर्नुहोस्," सामाजिक सञ्जालमा एक जनाले लेखे।

"अरिजित सिंह गजबका गायक हुन् भन्नेमा द्विविधा छैन। तर तपाईँले राम्रा गीतहरू बिगार्न छोड्नुपर्छ," अर्का एक जनाले लेखे।

अरूहरूले पुराना चलचित्र र गीतहरूलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने बलीवुडको बानीसँग आफू दिक्क भएको टिप्पणी गरेका छन्।

"के तिमीहरू मौलिक कुरालाई मौलिकै रहन दिन सक्दैनौ?" एक जनाले प्रश्न गरेका छन्।

तर केही अरूले यो गीतको भारतीय संस्करणको प्रतिरक्षा गर्दै आलोचकहरू निर्दयी बनेको आरोप लगाएका छन्।

"पसूरीको यो संस्करण मन पर्‍यो," एक जनाले लेखेका छन्। "अरिजितले गाएको पसूरी सबै सङ्गीत पारखीका लागि उत्कृष्ट उपहार हो।"

पसूरी पञ्जाबी शब्द हो। यसको अर्थ 'जटिलताले भरिएको जालो' भन्ने लाग्छ।

गत वर्ष कोक स्टूडिओ पाकिस्तानको १४औँ संस्करणमा यो गीत सार्वजनिक भएको थियो।

कोक कम्पनीले उत्पादन गर्ने उक्त कार्यक्रममा पाकिस्तानका ख्यातिप्राप्त कलाकारहरूले स्टूडिओमा गर्ने प्रस्तुतिलाई रेकर्ड गरेर देखाइन्छ।

उक्त कार्यक्रम भारतमा पनि निकै प्रसिद्ध छ।

पसूरी भारतमा पनि निकै लोकप्रिय बनेको थियो। उक्त गीत करोडौँ पटक हेरियो भने धेरै सातासम्म म्यूजिक चार्टहरूमा शीर्ष स्थानमा रहेको थियो।

भारतमा त्यो गीतका अनेकौँ संस्करण पनि बनेका थिए।