चीनमा जनताको 'थैली खुलाउन' सरकारको अर्बौँ खर्च, कारण यस्तो छ

    • Author, यी मा
    • Role, बीबीसी न्यूज

चीन सरकारले सुस्ताउँदो अर्थतन्त्र माथि उकास्न बालबालिकाको हेरचाहका लागि अनुदानदेखि अतिरिक्त ज्याला र तलबी बिदामा सुधारसहितका सुविधाहरू दिने वाचा गरेको छ।

भाँडा माझ्ने, घर सजाउनेदेखि विद्युतीय सवारी साधन र स्मार्टवाचसम्म खरिदका लागि घोषणा गरिएको कुल ४१ अर्ब अमेरिकी डलर बजेटको सहुलियत कार्यक्रमपछि यस्तो वाचा गरिएको हो।

बेइजिङले चिनियाँ मानिसहरूलाई आफ्नो खल्ती खोल्न खर्चको लहर चलाइरहेको छ। तर सरल अर्थमा चिनियाँहरूले धेरै खर्च गरिरहेका छैनन्।

यसैबीच गत महिना केही सकारात्मक समाचार आए।

सरकारी तथ्याङ्कले खुद्रा बिक्री सन् २०२५ को पहिलो दुई महिनामा ४ प्रतिशतले बढेको देखायो। उपभोगको तथ्याङ्कमा यो सकारात्मक सङ्केत थियो।

शाङ्घाईलाई छोड्ने हो भने बाँकी सहरहरूमा नयाँ र आकर्षक घरहरूको मूल्य गत वर्षको तुलनामा निरन्तर घट्दो छ।

मूल्य सस्तिने क्रम

अमेरिका र अरू शक्ति राष्ट्रहरू कोभिड महामारीपछिको मूल्यवृद्धिसँग सङ्घर्ष गरिरहँदा चीनले ठिक विपरीत अवस्थाको सामना गरिरहेको छ। त्यहाँ मूल्य सस्तिने क्रममा छ। मूल्यवृद्धिको दर शून्यभन्दा कम भएको अवस्थालाई मूल्य घटेको मानिन्छ।

पछिल्ला दुई वर्षको अवस्था हेर्दा चीनमा लगातार १८ महिनादेखि वस्तुको मूल्य सस्तो हुने क्रममा छ।

उपभोक्ताहरूका लागि भाउ घट्ने कुरा राम्रो खबर जस्तो लाग्न सक्छ। तर मानिसहरूको उपभोगमा निरन्तर कमी आउनुले गहिरो आर्थिक समस्याको सङ्केत गर्छ।

जब मानिसहरूले खर्च गर्न छोड्छन्, व्यवसायहरूले क्रेतालाई आकर्षित गर्न मूल्य घटाउँछन्। यो क्रम बढ्दै जाँदा उनीहरूले कम पैसा कमाउँछन् र यसको असर रोजगारीमा पर्छ। उनीहरूले कम मानिसहरूलाई रोजगारी दिन्छन्, ज्याला बढाउँदैनन् र आर्थिक गति अवरुद्ध हुन्छ।

चीनले अहिले यो चक्र छल्न चाहिरहेको छ। यसअघिबाटै सम्पत्ति बजारमा लम्बिएको सङ्कट, सरकारी ऋणको भारी र बेरोजगारीका कारण सुस्त भएको वृद्धिसँग चीन जुधिरहेको छ।

कम खपतको कारण स्पष्ट छ। चिनियाँ उपभोक्ताहरूसँग कि त पर्याप्त पैसा छैन वा आफ्नो भविष्यको बारेमा निर्धक्क हुन नसकेका कारण उनीहरू खर्च गरिरहेका छैनन्।

तर खर्चका लागि उनीहरूको यो अनिच्छा संवेदनशील समयमा देखिएको छ। यो वर्ष पाँच प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको चीनका लागि उक्त लक्ष्य भेटाउन खपत बढाउनु राष्ट्रपति सी जिन्पिङको प्रमुख प्राथमिकता बनेको छ। आन्तरिक खपत बढाउन सके अमेरिकाले चीनबाट आयात हुने वस्तुमा बढाएको करका कारण देशको निर्यातमा पर्ने असर कम गर्न सकिने आशा राष्ट्रपतिको छ।

त्यसो भए के बेइजिङको योजनाले काम गर्ला त?

खर्चका मामलामा गम्भीर बन्दै चीन

शिथिल अर्थतन्त्र र कमजोर आन्तरिक मागसँग जुझ्नका लागि केही साताअघि सकिएको चीनको 'न्याश्नल पीपल्स कङ्ग्रेस'ले सामाजिक कल्याणका कार्यक्रमहरूमा लगानी बढाउने निर्णय गर्‍यो। यो निर्णय सन् २०२५ का लागि तय गरिएको चीनको विशाल आर्थिक योजनाअन्तर्गत थियो।

गत महिना रोजगारी सहयोग योजनाजस्ता त्यसभन्दा पनि ठूला वाचाहरू आए।

कतिपयले यसलाई सकारात्मक कदम भनेका छन्। चिनियाँ नेताहरूले यस्तो सहयोगलाई अझै बढाउनुपर्ने उनीहरूको बुझाइ छ। यद्यपि बलियो उपभोक्ता बजारबारे चीनको चेतना यसले सङ्केत गरेको बुझ्न सकिन्छ।

उच्च ज्याला र बलियो सामाजिक सुरक्षा सञ्जालले मानिसहरूलाई बचतको सट्टा खर्च गर्न सुरक्षित महसुस गराउन सक्छ।

चीनको एक चौथाइ कामकाजी जनशक्ति आफ्नो वासस्थानभन्दा अन्यत्रै गएर कम ज्याला पाउने काम गर्छन्। उनीहरूसँग सहरी सुविधाहरूको पूर्ण पहुँच हुँदैन।

यसकारण उनीहरू कोभिड १९ जस्ता महामारीका समयमा थप जोखिममा रहन्छन्।

घरजग्गा कारोबारको सम्बन्ध

सन् २०१० मा ज्यालावृद्धिको निर्णयले यस्तैखाले समस्याको समाधान भएको थियो। त्यसले वार्षिक औसत आय करिब १० प्रतिशतले बढाउन सहयोग पुग्यो।

तर सन् २०२०को दशक आरम्भ भएदेखि नै ज्याला वृद्धि सुस्त भयो र कामकाजी मानिसहरूले जीवन धान्न पुनः बचतमा जोड दिए।

यद्यपि चीन सरकार सामाजिक सुविधाहरूको विस्तार गर्नभन्दा खपत बढाउने अल्पकालीन उपायमा लागेको छ।

र्‍यान्ड थिङ्क ट्याङ्कका वरिष्ठ अनुसन्धानदाता जेरार्ड डाइपिपो चीनले अझै आधारभूत समस्याको समाधानमा ध्यान नदिएको बताउँछन्।

"प्रतिघर आय अझै न्यून छ अनि बचत उच्च छ," उनी भन्छन्।

घरजग्गा कारोबार धराशायी बनेका कारण पनि चिनियाँ उपभोक्ताहरू जोखिम लिन तयार देखिँदैनन् र उनीहरूले खर्च कटौती गरेका छन्।

"घरजग्गा व्यवसाय वास्तविक आर्थिक गतिविधिका लागि मात्रै नभई घरपरिवारको भावनाका हिसाबले पनि महत्त्वपूर्ण छ। चिनियाँ परिवारहरूले आफ्नो सम्पत्तिको धेरै अंश आफ्नो घरमा खर्च गर्छन्," डाइपिपो भन्छन्।

"घरपरिवारको प्राथमिकतामा रहेको घरजग्गा जोड्ने आवश्यकता पूरा नहुँदासम्म बजारमा खपत बढ्छ भन्ने मलाई लाग्दैन।"

चीनमा नयाँ समस्या होइन

कतिपय विश्लेषकहरू सन्तान हुर्काउने खर्चमा आएको वृद्धिसँगै घट्दो जन्मदरजस्ता दीर्घकालीन चुनौती सामना गर्ने बेइजिङका तयारीबाट उत्साहित छन्।

सन् २०२४ मा चिनियाँ थिङ्क ट्याङ्क 'यु वा'ले गरेको एक अध्ययनले एक जना बच्चालाई वयस्क हुँदासम्म हुर्काउन चीनमा हाल रहेको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको ६.८ गुणा बढी खर्च हुने देखाएको थियो। यो दर विश्वमै सबैभन्दा उच्चमध्ये एक हो।

यस्तो आर्थिक दबावले बचत गर्ने संस्कारलाई थप बढावा दिएको छ। आर्थिक सङ्घर्षका बावजुद चिनियाँ परिवारहरू सन् २०२४ मा आफ्नो खर्चयोग्य आयको ३२ प्रतिशत बचत गर्न सफल भएका छन्।

चीनको हकमा यो आश्चर्यको कुरा चाहिँ होइन। यहाँ कहिल्यै पनि खपत उल्लेख्य मात्रामा उच्च छैन।

अमेरिका र यूकेमा देशको आर्थिक वृद्धिमा आन्तरिक खपतको योगदान ८० प्रतिशत र भारतमा ७५ प्रतिशत छ। चीनमा विगतका दशकहरूमा पनि यसको हिस्सा ५० देखि ५५ प्रतिशत मात्रै थियो।

तर हालसम्म पनि यो समस्याको रूपमा देखा परेको थिएन।

जब किनमेल घट्यो र बचत बढ्यो

कुनै यस्तो समय पनि थियो, जतिबेला ई-कमर्समा गरिएका छल्नै नसक्ने प्रचारबारे चिनियाँ पसलेहरूबीच 'हात काट्ने' भन्ने भनाइ चर्चित थियो। हात काटिदियो भने मात्रै त्यहाँको सामान किन्नबाट मान्छे रोकिन्छ भन्ने उनीहरूको ठट्टाको आशय थियो।

बढ्दो आयले उनीहरूको खर्च गर्ने क्षमतामा बल पुगेको थियो। चीनमा ११ नोभेम्बर अर्थात् ११-११ को दिनलाई विश्वमै किनमेलको व्यस्त दिनको उपमा दिइएको थियो।

सन् २०१९ मा जम्मा २४ घण्टामा ४१० अर्ब चिनियाँ युआनको किनमेल भएको थियो।

तर पछिल्लो वर्षको यो दिन "बेकार भएको" बेइजिङमा रहेर अनलाइन माध्यममा कफीका दाना बिक्री गर्ने एक जनाले बीबीसीसँग भने।

कोभिड महामारीपछि चिनियाँ उपभोक्ताहरू मितव्ययी भएका छन्। सन् २०२२ मा कोभिड महामारीका प्रतिबन्धहरू खुलाइए पनि उपभोक्ताले अपनाइरहेको सावधानीमा कमी आएन।

त्यही वर्षबाट अलिबाबा र जेडीले बिक्रीको विवरण सार्वजनिक गर्न छोडे। त्यसअघि सर्वाधिक बिक्रीको कीर्तिमान बनाएर समाचार बनेका कम्पनीहरू नै आफ्नो आय सार्वजनिक नगर्ने अवस्थामा पुगे।

उपभोक्ताको आत्मविश्वासमा थप कमी आउने चिन्ताका कारण चिनियाँ अधिकारीहरूले नै यस्तो विवरण सार्वजनिक नगर्न सजग गराएको यसबारे जानकार स्रोतले दाबी गरेको छ।

सस्तो विकल्पको खोजी

मानिसहरूको खर्च गर्ने बानीमा आएको कमीले गत वर्ष चल्तीका ब्र्यान्डहरूलाई पनि असर गर्‍यो।

चिनियाँ सामाजिक सञ्जाल 'रेडनोट'मा 'घट्दो खपत' बारे गरिएको एउटा पोस्टले पछिल्ला महिनाहरूमा अर्बौँ 'भ्यू' पाइसकेको छ।

यसमा प्रयोगकर्ताहरूले महँगा सामानको सट्टा कसरी सस्तो मूल्यका विकल्पले पनि काम चलाउन सकिन्छ भनेर जानकारी आदानप्रदान गरिरहेका छन्।

"टाइगर बाम अहिले मेरो लागि कफीसरह भएको छ," एक जना प्रयोगकर्ता भन्छन्।

अर्का एक जनाले आफूले अत्तर पनि नाक र ओठका बीचमा मात्रै लगाउन थालेको टिप्पणी गरेका छन्।

उत्कर्षमा पुगेको समयमा पनि चिनियाँ उपभोक्ताले देशको निर्यातको छेउछाउ हुने गरी पनि खर्च गरेका छैनन्।

चिनियाँ राज्यको लगानीमा बनिरहेका राजमार्ग, बन्दरगाह तथा विशेष आर्थिक क्षेत्रको उद्देश्य पनि व्यापार बढाउनु हो।

चीन कम ज्यालामा काम गरिरहेका श्रमिक र सकेसम्म बचत गरिरहेका परिवारहरूमा निर्भर छ तर उनीहरूले नै खर्च कम गरिरहँदा समस्या भएको छ।

'सांस्कृतिक रूपान्तरण जरुरी'

अहिले भूराजनीतिक अनिश्चितता पनि यसमा थपिएको छ। कैयौँ देशहरूले आफ्नो आपूर्ति प्रणालीलाई चीन बाहिरका देशहरूमा विस्तार गरेर चीनसँगको परनिर्भरता घटाइरहेका छन्। पूर्वाधारमा ठूलो खर्च गर्नका लागि ऋण लिएका स्थानीय सरकारहरू ऋणको मारमा परेका छन्।

राष्ट्रपति सी जिन्पिङले आर्थिक वृद्धिको उचाइमा पुग्न आन्तरिक मागलाई मुख्य आधार मानेका छन्।

चीनको न्याश्नल पीपल्स कङ्ग्रेसका प्रतिनिधि काइयुन वाङ भन्छन्, "एक खर्ब चार अर्ब जनसङ्ख्या भएको देशमा एक प्रतिशत जनसङ्ख्यामा मात्रै माग बढ्यो भने पनि त्यसले एक करोड ४० लाख मानिसहरूलाई समेट्न सक्छ।"

तर बेइजिङको योजना समस्यारहित भने छैन।

विश्लेषकहरू कोभिडको समयमा स्नातक गरेको पुस्ता अझै पनि जागिर पाउन वा घर किन्नका लागि सङ्घर्ष गरिरहेका कारण उपभोक्ताको विश्वास जित्न चिनियाँ कम्युनिस्ट पार्टीले मेहनत गर्नुपर्ने बताउँछन्। त्यसका लागि बचत गर्नेबाट खर्च गर्ने संस्कृतिमा रूपान्तरण जरुरी भएको उनी बताउँछन्।

"चीनको असाधारण खपत स्तर कुनै दुर्घटना होइन," एक अनुसन्धान संस्थाका वरिष्ठ अनुसन्धाता माइकल पेटस भन्छन्। "देशको आर्थिक विकासको स्वरूपको आधारका रूपमा रहेको तीनदेखि चार दशकको राजनीतिक, आर्थिक, कानुनी र व्यवसायिक संस्थाहरू विकासलाई परिवर्तन गर्न सहज छैन।"

बेइजिङको नीतिबारे आशङ्का

चिनियाँ परिवारहरूले धेरै खर्च गर्न सुरु गरे भने राज्य नियन्त्रित ब्याङ्कहरूमा बचत कम हुन्छ र देशका प्रमुख उद्योगहरूमा गर्ने लगानीका लागि अभाव हुन सक्छ। चीनले अहिले आर्टिफिशिअल इन्टेलिजन्स (एआई) देखि नवीन प्रविधिहरूमा लगानी गरिरहेको छ। यो लगानी बेइजिङका लागि वाशिङ्टनविरुद्ध आर्थिक र रणनीतिक हतियार बनेको छ।

त्यसकारण चिनियाँ नेताहरूले उपभोक्तामा आधारित अर्थतन्त्रको विकास गर्न चाहनेमा कतिपय विश्लेषकहरूले आशङ्का गरेका छन्।

"मेरो विचारमा चीनको उद्देश्य परिवारहरूको कल्याण गर्ने भन्दा पनि देशको कल्याण गर्ने हो," च्याटम हाउसका अनुसन्धाता डेभिड लुबिन भन्छन्।

बेइजिङले राज्यबाट व्यक्तिमा शक्ति रूपान्तरण गर्न नचाहेको हुन सक्छ।

विगतमा चिनियाँ नेताहरूले पनि त्यसो गरेनन्। उनीहरूले विश्वमा व्यापार सुरु गर्दा व्यवसायहरूलाई प्रोत्साहित गरे र विदेशी लगानीलाई स्वागत गरे। यो कदमले देशको अर्थतन्त्रमा रूपान्तरण पनि ल्यायो। तर अहिलेको मुख्य प्रश्न राष्ट्रपति सी जिन्पिङ फेरि त्यसो गर्न चाहन्छन् वा चाहँदैनन् भन्ने हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।