चीनमा सात दशकपछि अवकाशको उमेर हद बढाइँदै

    • Author, केली एनजी
    • Role, बीबीसी न्यूज

ज्येष्ठ नागरिकहरूको बढ्दो जनसङ्ख्यासँगै उपदान रकम जुटाउन दबाव बेहोरिरहेको चीनले अब चरणबद्ध रूपमा अवकाशको उमेर बढाउने भएको छ।

नेपालको उत्तरी छिमेकी देशले सन् १९५०को दशकपछि पहिलो पटक अवकाशको उमेर बढाउन लागेको हो।

चीनको सबैभन्दा उच्च विधायकी निकायले अनिवार्य अवकाशको कानुनी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

स्वीकृत प्रस्ताव अनुसार अब 'ब्लू कलर जब' भनिने श्रमको काम गर्ने महिलाहरूको अवकाश उमेर ५० बाट बढेर ५५ वर्ष पुगेको छ।

'ह्वाइट कलर जब' भनिने बौद्धिक काम गर्ने महिलाहरूले यसअघि ५५ वर्षमा अनिवार्य अवकाश पाउँदै आएकामा अब ५८ वर्षबाट अनिवार्य अवकाश पाउनेछन्।

पुरुषहरूको अवकाश उमेर ६० बाट बढाएर ६३ बनाइँदैछ।

चीन अहिले विश्वमै कम उमेरमा अवकाश दिने देशहरूमध्येमा पर्छ।

नयाँ वर्षबाट लागु हुँदै

शुक्रवार पारित भएको अवकाश योजना आगामी २०२५ को ज्यानुअरी १ बाट लागु हुने भनिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार अवकाशको उमेरहद केही महिनाको अन्तरालमा आगामी १५ वर्षसम्म निरन्तर बढाउँदै लगिनेछ।

कानुनले दिएको उमेर हद भन्दा अगाडी अवकाशमा रोक लगाइएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

यद्यपि कर्मचारीहरूले आफ्नो अवकाश उमेर हद भन्दा थप तीन वर्षसम्म रोजगारी गर्न पाउने बताइएको छ।

पेन्सन पाउनका लागि सन् २०३० बाट कर्मचारीहरूले सामाजिक सुरक्षा प्रणालीमा अहिले भन्दा धेरै योगदान गर्नुपर्ने छ।

त्यस्तै सन् २०३९ बाट पेन्सन पाउनका लागि उनीहरूले २० वर्ष योगदान दिनुपर्ने नियम बनाइएको छ।

चीनको सरकारी प्रतिष्ठान चाइनिज एकेडेमी अफ सोसल साइन्सेसले सन् २०१९ मा देशको प्रमुख उपदान कोषको रकम सन् २०३५ बाट रित्तिने जनाएको थियो।

उक्त आकलन चीनको अर्थतन्त्र नराम्ररी बिथोलिएको कोभिड-१९ महामारी भन्दा अगाडीको हो।

किन आयो अवकाश उमेर बढाउने निर्णय

समाचार संस्था सिन्ह्वाका अनुसार अवकाश उमेरमा हेरफेर गर्ने निर्णय “मानिसहरूको औसत आयु, स्वास्थ्य अवस्था, जनसङ्ख्याको संरचना, शिक्षाको अवस्था र बजारमा काम गर्ने मानिसहरूको उपलब्धताबारे भएको एक वृहत्” अध्ययनका आधारमा भएको थियो।

यो घोषणाबारे चिनियाँ इन्टरनेट सञ्जालमा केही आशङ्का र असन्तुष्टिहरू देखा परेका छन्।

"अर्को १० वर्षमा अर्को कानुन प्रस्ताव गरेर हाम्रो अवकाश उमेर ८० वर्ष बनाउँछन्," चिनियाँ सामाजिक सञ्जाल विबोमा एक जना प्रयोगकर्ताले लेखेका छन्।

"यो कस्तो दुखद् वर्ष! अधबैँसे कामदारहरूको तलबमा कटौती भयो र अवकाश उमेर बढाइयो। बेरोजगारहरूका लागि जागिर पाउन थप कठिन हुँदै गएको छ,” अर्का प्रयोगकर्ताले लेखेका छन्।

अन्य कतिपयले भने यस्तो घोषणा अपेक्षित नै रहेको उल्लेख गरेका छन्।

"यो अपेक्षित नै थियो। यसमा बहस गरिरहनु आवश्यक छैन, "विबोमा एक जना प्रयोगकर्ताले लेखेका छन्।

"अधिकांश युरोपेली देशहरूमा पुरुषहरूले ६५ वा ६७ वर्षमा र महिलाले ६० वर्षमा अवकाश पाउँछन्। हाम्रो देशमा पनि यही हुनेवाला छ।"

घट्दो जन्मदरका कारण चीनको ठूलो जनसङ्ख्या लगातार दोस्रो पटक सन् २०२३ मा पनि घट्दो क्रममा देखिएको छ।

यसैबीच यहाँको औसत आयु बढेर ७८.२ वर्ष पुगेको अधिकारीहरूले यो वर्षको आरम्भमा बताएका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०४० सम्म चीनको एक तिहाइ जनसङ्ख्या ६० वर्ष भन्दा माथिका मानिसहरूको हुनेछ।

सन् २०१९ मा ६० वर्षभन्दा बढी उमेर भएका मानिसहरूको जनसङ्ख्या २५ करोड रहेकोमा २०४० मा यो जनसङ्ख्या ४० करोड पुग्ने प्रक्षेपण गरिएको छ।

नजिकिँदै जनसाङ्ख्यिक सङ्कट

बीबीसीकी चीन संवाददाता लरा बिकरका अनुसार अर्थतन्त्रमा देखिएको मन्दी, सरकारी सुविधामा कटौती र दशकौँसम्म लागु भएको ‘एक सन्तान’ नीतिका कारण चीनमा जनसाङ्ख्यिक सङ्कट बढ्दो छ।

आठ वर्ष अघिबाट चीनमा यो नीति खारेज भइसकेको छ।

चीनको उपदान ढुकुटी रित्तिँदै गइरहेको छ र ज्येष्ठ नागरिकहरूको बढ्दो जनसङ्ख्यालाई हेरचाह गर्नका लागि आवश्यक रकमको जोहो गर्न उक्त देशसँग पर्याप्त समय पनि छैन।

अहिले ५० देखि ६० वर्षबीचमा रहेका करिब ३० करोड मानिसहरूले अबको एक दशकभित्र जागिरबाट अवकाश पाउँदैछन्।

देशको सबैभन्दा ठूलो यो जनसाङ्ख्यिक समूह अमेरिकाको पूरै जनसङ्ख्या बराबर हो।

यति धेरै मानिसहरूलाई अवकाशपछि कसले हेरचाह गर्छ त? यसको जवाफ ठाउँ अनुसार फरक-फरक पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।