नेपाली नागरिकता: आफ्ना नागरिकले देश छाड्दै, तर विदेशी किन नेपाली बन्न चाहिरहेका छन्?

    • Author, शरद केसी
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

देश छाड्ने नेपाली युवाको लर्को देखिन्छ तर भारत-चीन जस्ता सम्पन्न देशका कतिपय नागरिक नेपाली बन्न खोजेको पाइन्छ, त्यस्तो के छ जसले उनीहरूलाई नेपालले तानिरहेको छ?

  • प्रहरीले असार २ गते काठमाण्डूबाट एक ३६ वर्षीय पुरुषलाई पक्राउ गर्‍यो। उनीसँग सोनाम गुरुङको नामको नेपाली नागरिकता भेटियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार शेरब ग्याल्मो भन्ने ती व्यक्ति त चिनियाँ नागरिक भएको पत्तो लाग्यो। प्रहरीका अनुसार चीनको तिब्बतस्थित आम्दोका स्थायी बासिन्दा उनी भारतमा शरण लिएका तिब्बती हुन्। बहुचर्चित ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा उनीसँगै पक्राउ परेका चीन र अन्य देशका नागरिकले नेपाली नागरिकता प्राप्त गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार पक्राउ परेका करिब एक दर्जन चिनियाँ नागरिकमध्ये आठ जनाले नेपाली नागरिकता लिएको भेटिएको छ। गैर-नेपाली तिब्बतीहरूलाई 'नेपाली नागरिकता दिलाउन सक्रिय गिरोह’ भन्दै काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले एक वर्षअघि पाँच जना नेपालीलाई पक्राउ गरेको थियो।
  • त्यसको डेढ महिनापछि त्यही कार्यालयले २०८० साल वैशाख २३ गते काठमाण्डूका विभिन्न ठाउँबाट १० जनालाई गिरफ्तार गर्‍यो। प्रहरीले भन्यो: नेपाली नागरिकता लिने १० भारतीय नागरिकहरूको समूह पक्राउ। उनीहरूविरुद्ध झूटो विवरण दिएर नागरिकता लिएको आरोपमा जिल्ला अदालतमा मुद्दा चलाइयो। जिल्ला प्रहरी परिसर काठमाण्डूले जिल्ला प्रशासन कार्यालय काठमाण्डूबाट ‘झूटा विवरण पेस गरी वंशजको नागरिकता लिन खोजेको’ भन्दै यही जेठ २९ गते तीन जनालाई पक्राउ गरेको छ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार पाकिस्तान, भुटान, बाङ्गलादेश, म्यानमार लगायतका देशका नागरिकहरूले पनि नेपाली नागरिकता लिएका घटनाहरू फेला परेका छन्। तर कुन देशका कति नागरिकले किर्ते गरेर लिएका नेपाली नागरिकता खारेज गरियो भन्ने विवरण अधिकारीहरू दिन चाहँदैनन्।

महान्यायाधिवक्ता कार्यालयका अनुसार नागरिकतासम्बन्धी कसुरमा पछिल्लो १० वर्षमा ७४७ वटा मुद्दा देशभरका जिल्ला अदालतहरूमा दर्ता भएकोमा करिब २१ सय जनालाई प्रतिवादी बनाइएको थियो। त्यसमा गलत विवरण पेस गरी नागरिकता लिएका नेपालीहरूको सङ्ख्या पनि समावेश रहेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए। तर स्थानीय प्रशासन र गृह-मन्त्रालयको अनुसन्धानपछि सरकारले सिधै खारेज गरेका नागरिकता लिएका विदेशीको सङ्ख्या त्यसमा समेटिएको छैन।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म १८५१ वटा नागरिकता रद्द गरिएको छ भने २७२६ वटा नागरिकता बदर गरिएको छ।

अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएर नेपालबाट विदेश गएका थिए। पीआर लिएर १०९ वटा देशमा नेपालीहरू पुगेका एउटा सरकारी आँकडाले देखाएको छ।

‘भारतीय नागरिक’ छँदै नेपाली नागरिकता: अदालतद्वारा ‘मान्यता’

भारतीयहरूले मूलत: दुई प्रकारले नेपाली नागरिकता लिएको देखिन्छ। एकथरीले संविधानले दिएको अवसरको लाभ लिएको पाइन्छ। सिरहा जिल्लाको एउटा उदाहरणले त्यो देखाउँछ।

सिरहा मिर्चैयाबाट नागरिकता लिई काठमाण्डू शङ्खमूल बस्दै आएका थिए, भरतप्रसाद गुप्ता। जन्मको आधारमा नागरिकता लिएका भरत र उनकी श्रीमती तथा वंशज नागरिकता लिएका दुई छोराहरू (राहुल र रोहित) विरुद्ध सिरहा जिल्ला अदालतमा मुद्दा चल्यो। विद्यालय शिक्षादेखि चिकित्सा शास्त्रमा स्नातक तहसम्मको अध्ययन नेपालमै पूरा गरेको छोराहरूले बयान दिए। आमाबुवाको नागरिकताको आधारमा आफूहरूले नागरिकता लिएको दाबी गरेका उनीहरूले सफाइ पाए।

सरकारी वकिलका अनुसार भरतप्रसाद गुप्ताले दिएको बयानमा ६०/६५ वर्ष अघि उनका बुवा र आमा भारत उत्तर प्रदेशको बलिया जिल्लाबाट सिरहा आए र त्यसको ४/५ वर्षपछि आफू जन्मिएको बताएका छन्। गुप्ताले ३६/३७ वर्ष पहिला आफ्नो बुवासँगै काठमाण्डू आएर विभिन्न स्थानमा तरकारी व्यापार, चिया र खाजा पसलको व्यापार व्यवसाय गरी जीवन यापना गर्दै आएको उल्लेख गरेका छन्। अदालतमा दिएको बयानमा उनले भनेका छन्, “२०६३ सालमा घुम्ती नागरिकता टोली आउँदा नेपालमा जन्मिएको आधारमा नागरिकता प्राप्त गरेको हुँ।” उनले अन्तरिम संविधान-२०६३ ले दिएको अवसर छोपेका हुन्।

संविधानमा लेखिएको थियो, “संवत् २०४६ साल चैत्र मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुनेछ।”

तर नेपाली नागरिकता लिएपछि समेत उनको नामको भारतीय आधार कार्ड, आयकर विभागको कार्ड, भारतीय राजदूतावास काठमाण्डूबाट भारतीय नागरिक भएको सिफारिस पत्र, भारतीय राहदानी, निर्वाचन आयोग पहिचान पत्र रहेको ठहर भएको थियो। उनी आफैले पनि आफ्नो बुवा भारतीय रहेकाले भारतको ठेगानाबाट भारतीय प्रमाणहरू लिएको, नेपाली नागरिकता लिनुअघि भारतीय आधार कार्ड बनेको र पछि सन् २०२२ मा ती प्रमाणहरू त्यागेर नागरिकतालाई वैधानिकता दिएको बयान दिएका छन्।

त्यसैले उनी भारतीय नागरिक रहेको प्रमाण कायमै रहेको देखिएको ठहर गर्दै न्यायाधीश मनोज केसीको इजलासले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको ठहर गर्दै भरतका दम्पत्तिलाई जनही ७५ हजार रुपियाँ जरिबाना गर्‍यो। “निजहरूले झूटा विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेको कसुर बाहेक अन्य कसुर गरेको नदेखिएको, हाल भारतीय नागरिकको हैसियत त्याग गरेको सम्बन्धी कागजात देखिएकाले….७५ हजार जरिवाना हुने ठहर्छ”, फैसलामा भनिएको छ। तर नागरिकता कायमै रह्यो।

ससुरालाई बुवा बनाए तर दोस्रो विवाह गर्न खोज्दा…

अर्काथरी अभ्यासमा नागरिकता लिन विवरण नै झूठो पेस गरेको पाइन्छ।

घटना छ वर्षअघिको हो। नेपालगञ्जका मोहम्मद सलमान हल्वाईले भैरहवाबाट बिहे गर्ने तरखर गर्दै थिए। निम्तो कार्ड बाँडिसकेका थिए। उनको त्यो दोस्रो बिहे हुँदै थियो। ससुराले आफ्नै छोरीमाथि ज्वाइँले सौता हाल्न लागेको चाल पाए। उनको उजुरीपछि बेहुला बन्ने सुरसार कसीरहेका हल्वाई बिहेको ठिक अघि पक्राउ परे।

तर त्यो बहुविवाह गर्न खोज्दा भएको घटना थिएन। झुटा विवरण पेश गरेर ज्वाइँले आफूलाई बुवा बनाएर नेपाली नागरिकता लिएको ससुराको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। खासमा ती ज्वाइँ सीमापारी भारत नबाबागञ्ज निवासी रहेछन्।

उनले नक्कली नेपाली बनेर सक्कली नागरिकता लिएका थिए।

दश वर्षअघि एक भारतीय नागरिकले सप्तरी पुगेर नेपाली नागरिकता बनाए। त्यसको दुई वर्षपछि उनले आफ्नो साथीलाई पनि नागरिकता बनाइ दिने भन्दै जिल्ला सदरमुकाम राजविराज लिएर गए। प्रहरीका अनुसार भारत उत्तर प्रदेश निवासी दुवै बुटवलमा सानो तिनो व्यवसाय गर्थे।

दोस्रो पटक नागरिकता बनाउँदा उनीहरू २०७२ सालमा राजविराजको एउटा लजबाट पक्राउ परे। किन कि उनीहरूले पाएको नागरिकता हेर्दा दुरुस्त सक्कली भए पनि नक्कली थिए। जिल्लाका तत्कालीन प्रहरी प्रमुख (हाल एआईजी) भीम ढकाल सम्झिन्छन्, “नक्कली नागरिकता बनाउन प्रयोग भएका सर-सामान र कागजातहरू सहित नागरिकता लिने र बनाइदिने समूहका केही व्यक्तिलाई पक्राउ गरेका थियौँ।”

भारतीयले नेपाल रोज्नुको कारण के?

नेपाली नागरिकता लिएको आरोपमा मुद्दा बेहोर्नेमा सीमावर्ती भारतीय प्रान्तका धेरै पाइन्छन्। पछिल्लो दशकमा त्यहाँ विकाश र सामाजिक सुरक्षामा तीव्र प्रगति भइरहेको जानकारहरू बताउँछन्। तै पनि भारतीय नागरिक किन नेपाली नागरिकता लिन चाहन्छन्?

एकजना विज्ञका अनुसार यसबारे समग्र तथ्याङ्क सहितको विश्लेषण हुनुपर्छ तर त्यो भएको छैन। तैपनि प्रशासक, पत्रकार, समाजशास्त्री, कानुनविद् लगायतको विश्लेषणमा व्यक्तिहरूका फरक फरक स्वार्थ र अपेक्षाहरू पाइन्छन्। दशकौँदेखि नेपालमै रहेका र जन्मिएकाहरूले संविधानले दिएको अधिकार प्रयोग गरेर नागरिकता लिएका छन्।

अधिकारीहरूका अनुसार नेपालमा विद्यालय र विश्वविद्यालयमा लामो समयदेखि पढाउने, कामकाज र व्यवसायमा संलग्नहरूले नेपाली बन्दा सजिलो हुने भएकाले नागरिकता लिन चाहेको देखिन्छ। मधेश प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाको बुझाइमा नेपाल ‘भर्जिन ल्यान्ड’ हो। त्यसैले व्यापार-व्यवसायमा सम्भावना बढी देखेर नेपाली नागरिकता लिन चाहेको हुनसक्ने उनको आकलन छ। नेपालमा आएर राम्रै आर्थिक हैसियत बनाएकाहरूको उदाहरण देख्दा पनि कतिपय भारतीयहरूले नेपाली नागरिकता लिन खोजेको बयान दिने गरेको अधिकारीहरू बताउँछन्।

एक वर्षअघि काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीले एउटा अप्रेसन चलाए। त्यस क्रममा विभिन्न स्थानबाट नेपाली नागरिकता लिएका भारतीय भन्दै १० जना समातिए। हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) को रूपमा कार्यरत उनले बताए अनुसार उस बेला पक्राउ भएका व्यक्तिहरू राम्रै आर्थिक हैसियतका थिए। “राम्रो व्यापार व्यवसाय गरेका व्यक्तिहरू थिए, काठमाण्डूमा घरजग्गा जोडेका थिए, केहीको त तीन वटा घरजग्गा सम्म थियो”, डिआइजी केसीले भने।

जानकारहरूका भनाइमा नेपालमा सामाजिक सुरक्षाको लाभ साथै ऋण पाउन र उद्योग-धन्दा सञ्चालनमा सहज हुनु पनि अर्को आकर्षणको कारण हो। सिमाना नजिक विहेबारी पनि निकै हुने गर्छ। त्यसले बनाएको पारिवारिक र सामाजिक सम्बन्धले पनि कतिपयलाई नेपाल डोर्‍याउने गरेको बताइन्छ। कसैको हकमा बुहारीले श्रीमानलाई नेपाल त कतै छोरीका कारण नेपाल आउन चाहनेहरू पनि प्रहरी अनुसन्धानहरूले देखाएको अधिकारीहरूको अनुभव छ।

वीरगन्जस्थित पत्रकार चन्द्र किशोरका भनाइमा त्यस्ताको हकमा भारतमा पनि प्रश्न उठ्न थालेको छ। “यता पनि मतदाता छ, नेपालमा व्यापार गर्छ, नागरिकता लिएर दुबै तर्फको सुविधा लिएको छ भनेर विरोध हुन थालेको छ”, भारतीय सीमावर्ती राज्य सरकारले अनुदान र अन्य खालका लाभहरू दिन थालेको बताउँदै उनी भन्छन्, “अब नेपालको नागरिकता लिने आकर्षण घट्दै गएको पाएको छु।” उनका अनुसार दोहोरो नागरिकको हैसियतमा रहेका कतिपय त भारत पनि फर्किन थालेका छन्। पेसा र व्यवसाय गर्दा नेपालमा पनि विभिन्न खालका झन्झट र दुरुत्साहन बढेको गुनासो सुनेको उनले बताए।

सप्तरी, सर्लाही, महोत्तरी र बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी रहिसकेका एक प्रशासक कृष्णबहादुर कटुवालको अनुभव पनि मिल्दो जुल्दो छ। “पछिल्लो चरणमा भारतीयहरूले नेपाली नागरिकता लिन मरिहत्ते गरेको खासै देखिन”, उनले भने, “यता मुद्दा मामिला खेप्नु पर्ने देखेर पनि फर्किने गरेका हुनसक्छन्।”

उद्देश्य र कारण जे सुकै भएपनि अधिकारीहरूका अनुसार भारतीय आधार कार्ड समेत रहेको भनेर जन्मको आधारमा नागरिकता लिएकाहरू विरुद्ध धेरै उजुरी पर्ने गरेको बताइन्छ। त्यस्ता उजुरीबारे नेपाल सरकारले भारतसँग त्यो व्यक्ति भारतीय नागरिक भएर नभएको बारे जानकारी माग्छ। तर धेरैजसोको जबाफ नपाइने गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए। ती अधिकारीले भने, “नागरिकता लिइसकेपछि प्रश्न गर्न पाइँदैन। भारतीय नागरिक भएको पुष्टि भए मात्रै त्यस्तो नागरिकता खारेज हुने हो। हामीले खारेज गर्दा तँ यो देशको नागरिक होस् भन्न सक्नु पर्‍यो नि। नत्र कसैलाई राज्य विहीन बनाउन पाइँदैन।”

तर नेपालीहरूले पनि भारतमा गएर आधार कार्ड बनाउने गरेको सन्दर्भमा त्यो लिएपनि नेपाली नागरिक भएको अन्य प्रमाण भए नागरिकता दिन परिपत्र नै गरिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

आरक्षणको आकर्षण र शक्तिमा पुग्ने अवसर

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार २०६३ सालको संविधानको व्यवस्थाअनुसार एक लाख ९० हजारभन्दा धेरैले नागरिकता पाएका छन्। त्यही वर्षको राजनीतिक परिवर्तनपछि नेपालमा मधेशी, महिला, दलित, जनजाति, दुर्गम क्षेत्रका बासिन्दा र अपाङ्गता भएकाहरू लगायतलाई अध्ययन, सरकारी सेवाका साथै प्रदेश र सङ्घीय संसद लगायतका क्षेत्रमा आरक्षणको व्यवस्था छ।

“नेपालमा रहेको अवसर लिन र पकड बनाउन पनि हो”, त्रिभुवन विश्वविद्यालय मैथिली केन्द्रीय विभागका प्रमुख रहिसकेका अवकाशप्राप्त सहप्राध्यापक परमेश्वर काप्रीले बीबीसीलाई बताए, “आज हाम्रो देशको नागरिक बन्यो, १० वर्षपछि चुनाव लड्छ, ऊसँग अकुत सम्पत्ति हुन्छ र उसले हाम्रो राजनीतिलाई कब्जा गर्छ।”

कतिपय नेताहरूको नागरिकतालाई लिएर पनि बेला बखत प्रश्न उठ्ने गरेको पाइन्छ। पत्रकार चन्द्र किशोर नेपाली ‘नवनागरिक’ भनिनेहरूले अवसरको लाभ लिएको ठान्छन्। भारतमा सरकारी जागिर लगायतका हरेक क्षेत्रमा कडा प्रतिस्पर्धा हुने तर नेपालमा तुलनात्मक रुपमा सहज रहेको उनको भनाइ छ। “आरक्षण पाउँछु नै भनेर त होइन, बाबुबाजेले नागरिकता लिएका कारण नागरिकता पाएका युवाले अहिले आरक्षणको लाभ पनि पाइरहेका छन्”, उनले भने, “कतै वडा अध्यक्ष होलान्, कतै राजनीतिमा राम्रै स्थान पाएका होलान्, किन कि उनीहरूसँग साधन स्रोत पनि यथेष्ट छ।”

यस्ता उदाहरण देखिन थालेपछि देशका विभिन्न प्रदेशमा रैथाने नेपालीको अवसर खोसिएको बुझाइ बढ्दै गएको देखिन्छ। अधिवक्ता दीपेन्द्र झा भन्छन्, “पाउनु पर्नेले नागरिकता नपाउने र भएका अवसरहरू पनि कम कम हुँदै जाने दुई खालको मारमा परेका छन्।”

दुई छाक टार्नै हम्मे पर्ने अवस्थाका गरिब र तराईमूलका पिछडिएका वर्ग त्यसमा पनि मूलत: दलित समुदायका नेपालीले नागरिकता नपाइरहेको आवाज उठ्दै आएको छ। तर अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय त्यो कुरा मान्दैनन्। “वास्तविक नेपाली जो सुकैले सजिलै नागरिकता पाउँछ”, उनले भने।

अन्य विदेशी पनि नेपाली बन्न किन चाहन्छन्?

अपवाद बाहेक भारतीयले नागरिकता लिएको भनि पर्ने धेरै मुद्दा अङ्गिकृत र जन्मको आधारमा लिइएका नागरिकतासँग सम्बन्धित छन्। तर अन्य अधिकांश विदेशीले वंशजकै नागरिकता लिने गरेको पनि भेटिने गरेको अधिकारीहरू बताउँछन्।

बहुचर्चित सुन काण्डमा प्रहरीले तिब्बती मूलका बेल्जियन दावा छिरिङ र चिनियाँ दावाजिन वाङलाई पक्राउ गर्‍यो। त्यसपछि खुल्यो, उनीहरूले काभ्रे जिल्ला प्रशासनबाट वंशज नागरिकता लिएका रहेछन्।

तिब्बती मूलका अन्य चिनियाँ नागरिकले पनि नागरिकता लिएको भेटिएको अधिकारीहरू बताउँछन्। त्यस प्रकरणमा सरकारी कर्मचारी पनि गिरफ्तार भएका छन्। चिनियाँ नागरिकले नेपाली नागरिकता लिएका घटनाहरू पछिल्ला दिनहरूमा छरपस्ट भएका हुन्। तर अपराधमा संलग्नहरूले नेपाली नागरिकता लिने गरेका घटना पहिले पनि उजागर हुने गरेका थिए।

गृहमन्त्रालयका अधिकारीहरूका अनुसार झूटो विवरण पेश गरेर नेपाली नागरिकता लिएका वा लिन चाहनेहरूमा भारत र चीनका साथै म्यानमार, बांग्लादेश, भुटान र पाकिस्तानका नागरिकहरू पनि भेटिने गरेका छन्।

अधिकारीहरूका अनुसार लामो समयदेखि बसिरहेका कतिपय तिब्बती र भुटानी शरणार्थीहरूका साथै पाकिस्तान, बांग्लादेश र म्यानमार लगायतका देशबाट आएकाहरूले पनि वैध नेपाली बन्न चाहेको भेटिन्छ।

“लागु औषध ओसार पसार, तस्करी लगायतका अपराधमा संलग्नले नेपाललाई 'हब', केन्द्र बनाउन खोजेको देखिन्छ, कतिपयले पहिचान लुकाएर अपराध गर्ने उद्देश्य पाइन्छ”, गृह प्रशासनका एक अधिकृत भन्छन्, “आफ्नो देशका हुने हिंसा र अशान्ति अनि शासकको ज्यादतीबाट जोगिन नेपाल शान्त छ भनेर नेपाली बन्न चाहनेहरू पनि भेटिन्छन्।”

अधिवक्ता दीपेन्द्र झाको बुझाइमा गैरकानुनी काम गर्नेहरूलाई लुक्न, नेपाललाई ट्रान्जिट बिन्दुको रूपमा प्रयोग गर्न अनि सुरक्षा निकाय र प्रशासनलाई प्रभावित गर्न सजिलो हुनु पनि त्यसको कारण हो।

प्रहरी मुख्यालयका एक उच्च अधिकृत भन्छन्, “अपराध गर्ने मनशाय भएका विदेशीले नागरिकताको आडमा आफ्नो गैरकानुनी कृयाकलाप सहज बनाउन, विभिन्न निकाय र व्यक्तिलाई प्रभावमा पार्न र भोली त्यस्तै परे भाग्न सजिलो हुने ठानेको हुनसक्छ।”

चर्चित अपराधसँग नेपाली नागरिकताको सम्बन्ध

तीन दशक अघि पनि भारतमा चर्चित अपराधीको पहिचान पाएका बब्लु श्रीवास्तवले नेपाली नागरिकता लिएको तथ्य फेला परेको थियो। उनले २०४९ सालमा कपिलवस्तु जिल्लाबाट अरुण अग्रवालको नाममा लिएको नागरिकता सरकारले खारेज गरिदिएको अधिकारीहरू बताउँछन्।

नेपाली नेता मिर्जा दिलशाद बेगले नै सुरुमा उनलाई भारत विरोधी गतिविधिमा संलग्न दाउद इब्राहिमसँग सम्पर्क गराएको र नेपाली राहादानी दिलाउन सघाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए। मुम्बईमा भएको बम आक्रमणपछि बब्लु र छोटा राजनले दाउदबाट अलग भएको खबर प्रशारण गर्थे। उनीहरूले दाउदको नेपाली प्रतिनिधिको रूपमा चित्रण गर्ने पूर्वमन्त्री मिर्जा २५ वर्षअघि काठमाण्डूमै मारिए।

उनको हत्यामा संलग्नले पनि नेपाली नागरिकता लिएको विवरणहरू त्यस बेला सार्वजनिक भएका थिए। भारतीय सञ्चार माध्यमहरूले मिर्जालाई सन् ८० को दशकसम्म भारतको देवरिया जिल्लाको बासिन्दाको रूपमा प्रस्तुत गर्दथे। उनी आपराधिक गतिविधिमा संलग्न भएको र भारतीय प्रहरीले निशाना बनाएपछि नेपालको कपिलवस्तु आएर नेपाली नागरिकता लिएको ती सञ्चारमाध्यमहरूले उल्लेख गर्ने गरेका छन्। दाउद इब्राहिम र छोटा राजन जस्ता विभिन्न आपराधिक समूहसँग सम्बद्धहरूले पनि नेपाली नागरिकता पाएको चर्चा निकै हुने गर्दथ्यो।

एक अवकाश प्राप्त प्रहरी अधिकारीलाई एउटा रोचक घटनाको सम्झना छ। उनका अनुसार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०६७ साल असारमा एक भारतीय नागरिकलाई समात्यो। र, ‘गोप्य रूपमा’ भारतीय प्रहरीलाई बुझाइयो। उनी थिए, पूर्वोत्तर भारतमा सशस्त्र आन्दोलन चलाएको डीएचडी (जे) समूहका एक कमाण्डर निरञ्जन होजाई। उनलाई लिन भारतीय प्रहरीको विशेष टोली काठमाण्डू आएको थियो। अधिकारीहरूका अनुसार भारतलाई बुझाउन तत्कालीन सरकारको दबाव पनि थियो।

करिब एक वर्षपछि थाहा भयो, उनले सुनसरीको धरानबाट निर्मल राईको नामबाट वंशज नागरिकता लिएका रहेछन्। सिन्धुपाल्चोककी महिलासँग बिहे भएको रहेछ। उनले मलेसिया र सिङ्गापुरबाट नेपाली बैङ्कमा पठाउने गरेको ठूलो रकमबारे अनुसन्धान गर्दा उनकी नेपाली पत्नी समातिएपछि त्यो रहस्य खुलेको हो। भारतमा राष्ट्रिय जाँच एजेन्सीको विशेष अदालतले आतङ्कवादमा लगानी गरेको आरोपमा उनलाई जन्मकैदको सजाय सुनायो। भारतको गुवाहाटी उच्च अदालतले एक वर्षअघि उनलाई सफाइ दियो। उनी भारतीय जनता पार्टीका नेता पनि बनेका छन्।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार आपराधिक क्रियाकलापमा संलग्नहरूको सञ्जाल र पहुँच बलियो हुन्छ। पैसा जति पनि दिन सक्छन्। जानकारहरूका अनुसार त्यसको लोभमा स्थानीय तहदेखि नागरिकता जारी गर्ने अधिकारीसम्म पर्ने गरेको पाइन्छ।

गृह प्रशासनमा लामो समयदेखि रहेका उपसचिव कृष्णबहादुर कटुवाल पनि गैर नागरिकलाई नागरिकता दिने समग्र प्रकरण आर्थिक लाभसँग जोडिने कुरा अस्वीकार गर्दैनन्। उनले गैरनेपालीलाई नागरिकता दिएको एउटा प्रकरणको छानबिन पनि गरेका थिए। उनी भन्छन्, “कहिले काहीँ झुक्किएर पनि दिएको हुनसक्छ तर धेरै घटनामा आर्थिक प्रलोभन, आश्वासन वा दबावै कारण हो जस्तो लाग्छ।”

नागरिकता मुद्दा: भारतमाथि सधैँ शङ्का

नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि वास्तविक नेपालीले नागरिकता पाउन निकै समस्या रहेको आवाज उठ्दै आएको छ। त्यसको अध्ययन गर्न भनेर सरकारले पनि पटक पटक नागरिकता आयोग बनायो।

पछिल्लो पटक २०६३ सालको राजनीतिक परिवर्तनपछि अन्तरिम संविधानमा नागरिकता सम्बन्धि नयाँ व्यवस्था गरेपछि त्यस्तो आवाज सुनिन छाडेको छ। जन्मको आधारमा नागरिकता दिने प्रावधानको नियतमाथि कैयौँले प्रश्न उठाए। पूर्व कानुन सचिव मोहन बन्जाडे भन्छन्, “जति पटक संविधान परिवर्तन भए, त्यति पटक नागरिकताका सर्तहरू फेरिन्छन्।”

अधिवक्ता झाले नागरिकताको मुद्दालाई ‘व्यक्तिको अधिकारभन्दा पनि राजनीतिक अस्त्रको रूपमा प्रयोग गरिएको’ ठान्छन्। सात दशकदेखिको कानुनी प्रावधान हेर्दा नागरिकता पाउने व्यवस्था खुकुलो रहेको बताउने र त्यो बिस्तारै कसिलो बनाइएको उनले बताए, “नागरिकता भन्ने बित्तिकै भारतीयहरू आएर सानो देश छ, थिचोमिचो गर्छ कि भन्ने छलफल पहिलेदेखिकै हो त्यसको शिकार खासगरेर तराईबस्तीमा बस्नेहरू बढी हुने गर्छन्।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय खुला सिमाना अनि भेष-भूषा र रहन-सहन मिल्दो जुल्दो भएकाले पनि अरु देशका नागरिकहरूभन्दा पनि भारतीयहरू नै नेपाली नागरिक बन्ने जोखिम रहेको ठान्छन्। त्यसमाथि मूल रूपमा भारतबाट आएर नेपालमा बसोबास गरिरहेकाहरूका निम्ति जन्मको आधारमा नागरिकता दिने व्यवस्था २०६३ सालको संविधानमा राखिएको उनले टिप्पणी गरे।

“भारत ठूलो देश छ तर त्यहाँ धेरै गरिब पनि छन्, यहाँ राम्रो र शान्त देखेर आउन चाहन्छन्”, उनी भन्छन्।

नेपालको नागरिकतालाई मुद्दा दशकौँदेखि भारतसँग जोड्ने गरिएकै थियो।

पछिल्ला दिनहरूमा अपराधका घटनासँगै चीन लगायतका देशका नागरिकहरूले समेत नेपाली नागरिकता लिने क्रम बढेको तथ्य उजार भएका छन्।

“बेलाबखत आपराधिक र आतङ्कवादी गतिविधिमा नेपाली नागरिकता र राहदानीको दुरुपयोग भएको देखिन्छ, तर सरकार संवेदनशील देखिन्न”, पूर्व डीआईजी हेमन्त मल्लले सरकारलाई सचेत तुल्याउँदै भने, “हाम्रो पुलिसिङ प्रभावकारी हुनुपर्छ अन्यथा उनीहरूनै पुलिसिङ गर्न आइपुग्छन्। हामी गम्भीर नभए नागरिकताको विषय राष्ट्रिय सुरक्षासँग जोडिन पुग्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।