तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'साढे ४ हजारलाई अंगीकृत नागरिकता'
अंगीकृत नागरिकताको विषयलाई लिएर संविधान संशोधनमा व्यापक बहस र विवाद भइरहेकै बेला त्यस्ता नागरिकता लिनेको संख्या भने केही समययता ह्वात्तै बढेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अधिकारीहरुका अनुसार नयाँ संविधान जारी भएपछिको यो करिब १४ महिनाको अवधिमा झण्डै साढे चारहजार जनालाई वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ।
त्यस्ता नागरिकता प्राप्त गर्नेहरु प्राय: जसो नेपालीसँग विवाह गरेका भारतीय महिलाहरु छन् ।
तथ्याङ्क
गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकका अनुसार संविधान जारी भएपछि गएको मंसिर महिनासम्म ४ हजार ३ सय ३८ जना महिलाले वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र पाएका थिए।
मन्त्रालयमा पुस महिनाको विवरण आइनसकेको भएपनि पाठकका अनुसार पुस महिनामा पनि त्यो संख्या अझै बढेको हुनसक्छ ।
यसरी वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरणमा तराईको जिल्ला रुपन्देही सबैभन्दा अगाडि देखिएको बताइन्छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहका अनुसार संविधान जारी भएदेखि यही पुसको दोस्रो सातासम्म रुपन्देहीबाट करिब १ हजार ६ सय यस्ता नागरिकता वितरण गरिएको छ ।
कारण
अंगीकृत नागरिकता लिनेहरुको संख्या बढ्नुको कारणबारे प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले भने, "अहिले बीचमा वैवाहिक नागरिकता प्राप्त हुँदैन भन्ने बढी हल्ला फिजाइयो। त्यो विस्तारै हटेर चेतना बढेको छ। पहिले दुईवटा बच्चा भइसकेपछि मात्रै नागरिकता लिने आउँथे भने अहिले विवाह गर्नेबित्तिकै वैवाहिक अंगीकृतका लागि आवेदन दिने चलन देखिन्छ"।
रुपन्देहीपछि नवलपरासी, कपिलवस्तु, पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरुमा पनि वैवाहिक अंगीकृत नागरिकता लिनेहरुको संख्या बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा साढे तीन लाखभन्दा बढीलाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिसकिएको छ।
यसरी नागरिकता पाउनेमा केही अन्य मुलुकका समेत भएपनि अधिकांश भने नेपालीसँग विवाह गरेका भारतीय महिलाहरु नै छन्।