चीनतिर हुने कुल निर्यातभन्दा तीनगुना बढी मूल्यको स्याउ नेपाल आयात

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल राष्ट्र ब्याङ्कको नयाँ प्रतिवेदनले विगत १० महिनामा नेपालबाट चीनमा हुने निर्यातमा ६८ प्रतिशतले वृद्धि भएको देखाएको छ।

अर्को छिमेकी देश भारत र अन्य देशहरूमा निर्यात घटिरहँदा उत्तरी छिमेकी चीनमा भने दुई वर्षअघिभन्दा तीन गुनाले निर्यात बढेको राष्ट्र ब्याङ्कको तथ्याङ्कले सङ्केत गर्छ।

सन् २०२१-२२ को १० महिनामा चीनमा ६७ करोड रुपैयाँको निर्यात गरेको नेपालले यो आर्थिक वर्षको १० महिनामा दुई अर्ब २७ करोड रुपैयाँको निर्यात गरेको हो।

चीनमा निर्यात बढाइरहेको नेपालको चीनसँगको व्यापार असन्तुलन थप बढ्दो छ।

नेपालले विगत १० महिनामा चीनबाट दुई खर्ब ४० अर्ब रुपैयाँको आयात गरेको छ। नेपालले चीनमा निर्यात गरेको कुल रकमको तीन गुनाको त चीनबाट स्याउ मात्रै आयात गरेको छ। राष्ट्र ब्याङ्कका अनुसार चीनबाट गत साउनयता छ अर्ब २६ करोड रुपैयाँको स्याउ मात्रै आयात भएको छ।

नेपालले चीनमा निर्यात गरेर आर्जन गरेको कुल दुई अर्ब रुपैयाँभन्दा तीन गुना बढी रकम स्याउ किन्न मात्रै खर्च हुनु अर्थतन्त्रका लागि सुखद नरहेको अर्थशास्त्री पोषराज पाण्डे बताउँछन्।

“हामीले आयात र निर्यातबीचको खाडल हेर्ने हो भने हामीले चीनसँगको व्यापारमा कति गुमाइरहेका छौँ भन्ने देखिन्छ,” पाण्डे भन्छन्।

किन बढ्यो चीनसँगको निर्यात

सबै देशमा निर्यात घटिरहेको नेपालको चीनसँग मात्रै निर्यात बढ्नुको कारण थाहा पाउन दुई वर्षअघिको अवस्थामा फर्केर हेर्नुपर्ने अर्थविद्‌हरू बताउँछन्।

“चीनले कोभिडको कारण देखाउँदै तातोपानी र रसुवा दुवै नाका लामो समयसम्म बन्दैजस्तो राख्यो। त्यसले सडकमार्गबाट हुने हाम्रो निर्यात हुन सकेको थिएन। उताबाट पठाउने सामान अलिअलि पठाएको थियो तर यताबाट जान सकेन,” अर्थशास्त्री पाण्डे भन्छन्।

“हाम्रो उत्पादन बढेर चीनमा निर्यात बढेको होइन। नाका खुला भएको भएर बढेको हो।”

नेपाल चीन च्याम्बर अफ कमर्सका व्यवस्थापक रोनिश शाक्यका अनुसार नेपालबाट निर्यात हुने अधिकांश वस्तुहरू सडक मार्गबाट चीन पुग्छन्।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्ट भने व्यापारिक नाका खुला भएसँगै नेपाल आउने चिनियाँ पर्यटकहरूको सङ्ख्यामा भएको वृद्धिले पनि निर्यात बढाउन सहयोग पुर्‍याएको बताउँछन्।

“रकममा हेर्दा सानो देखिए पनि प्रतिशतका आधारमा चीनमा हुने निर्यातमा धेरै वृद्धि भएको छ। त्यसको एउटा कारण कोभिड रोक्न लगाइएका प्रतिबन्ध हट्नु हो र अर्को चाहिँ नेपालमा चिनियाँ पर्यटकहरूको आगमन बढ्नु हो। उनीहरूले यहाँ आउँदा हस्तकलाका सामग्रीहरू अर्डर गरेर जान थालेको पनि देखिन्छ,” भट्ट भन्छन्।

भट्टले भने जस्तै नेपालबाट चीनमा हस्तकलाका सामग्रीको निर्यातमा अघिल्लो वर्षको यही अवधिको तुलामा ३५९ प्रतिशतले वृद्धि भएको छ।

नेपालले चीनमा के बेचिरहेको छ?

नेपाल राष्ट्र ब्याङ्कले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत १० महिनामा नेपालले २४ करोडको हस्तकला सामग्री चीन निर्यात गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३५९ प्रतिशतले बढी हो।

दुई वर्षअघि करिब नौ करोड रुपैयाँको हस्तकला सामग्री निर्यात गरेको नेपालले गत आर्थिक वर्ष १० करोडको हस्तकला सामग्री मात्रै निर्यात गरेको थियो।

अघिल्लो आर्थिक वर्ष समाप्त हुनुभन्दा दुई महिनाअघि जम्मा पाँच करोड रुपैयाँको हस्तकलाका सामग्री चीन निर्यात गरेको नेपालले यो आर्थिक वर्षको त्यही अवधिमा २४ करोड रुपैयाँको सामग्री चीन निर्यात गरेको हो।

नेपाल चीन च्याम्बर अफ कमर्सका व्यवस्थापक शाक्य ऐतिहासिक रूपमा नै नेपाली हस्तकलाका सामग्री चिनियाँहरूले मन पराउने बताउँछन्।

“नेपालको ल्हासासँगको ऐतिहासिक व्यापार पनि हस्तकलाका सामग्रीसँग जोडिएको छ। नेपाली हस्तकलाका सामग्री कलात्मक मात्रै नभएर गुणस्तरीय पनि हुने भएकाले चिनियाँहरूले मन पराउँछन्,” उनले भने।

राष्ट्र ब्याङ्कको तथ्याङ्कअनुसार नेपालबाट चीनमा अगरबत्तीको निर्यात पनि बढेको छ।

दुई वर्षअघि ३० लाख रुपैयाँको अगरबत्ती निर्यात भएको थियो। यो वर्ष १० महिनामा एक करोड ६० लाख रुपैयाँको अगरबत्ती निर्यात भइसकेको छ।

नेपाल-चीन च्याम्बर अफ कमर्सका अनुसार परम्परागत शैलीमा बनाइने धूपको माग तिब्बतबाट हुने गरेको छ।

चिनियाँहरूले नेपालबाट पस्मिना र उनीका तयारी कपडाहरू मगाउने गरेका छन्।

यी दुवै किसिमका उत्पादनहरूको व्यापार बढ्दो देखिएको छ। अघिल्लो वर्ष घटेको गलैँचाको व्यापार पनि यो वर्ष बढेको छ।

नेपालले चीनमा निर्यात गरेर सबैभन्दा धेरै आर्जन गरेको व्यापार गलैँचाको हो। विगत १० महिनामा नेपालबाट ३६ करोड रुपैयाँको गलैँचा चीनमा निर्यात भएको छ।

नेपालले गलैँचा बनाउन चाहिने कच्चा ऊन भने चीनबाटै ल्याउने गरेको छ। दश महिनामा २४ करोड रुपैयाँको ऊन चीनबाट आयात भएको देखिन्छ।

यस बाहेक नेपालबाट यो वर्ष चिया पनि चीनमा निर्यात भएको छ। दुई वर्षअघि चीनमा दुई लाख रुपैयाँको चिया निर्यात गरेको नेपालले गत वर्ष १० लाख रुपैयाँ र यो वर्षको १० महिनामा ९ लाख रुपैयाँको चिया निर्यात गरेको छ।

चीनसँगको व्यापारमा चुनौती के छन्?

नेपालबाट चीनमा निर्यात हुने सामग्रीमा ढुवानीका लागि लाग्ने महँगो खर्च र लामो समयावधि प्रमुख चुनौती रहेको व्यवसायीहरू बताउँछन्।

“तर सडक पूर्वाधार राम्रो नभएका कारण गन्तव्यमा पुर्‍याउनुअघि नै हामीले चीन पठाएका सामग्रीहरू टुटफुट हुने जोखिम नेपाली पक्षलाई छ,” नेपाल-चीन च्याम्बर अफ कमर्सका व्यवस्थापक शाक्य भन्छन्।

तर व्यापार घाटाको खाडल

नेपालले चीनमा दुई अर्ब रुपैयाँको मात्रै निर्यात गरेको छ। तर दुई खर्ब रुपैयाँको आयात गर्दा व्यापार घाटामा भने ठूलो असन्तुलन देखिएको छ।

अर्कोतर्फ चीनसँगको व्यापार घाटा निरन्तर बढ्दो क्रममा छ। नेपालले गत आर्थिक वर्ष सुरुका १० महिनाको तुलनामा यो आर्थिक वर्षमा सुरुका १० महिनामा चीनबाट थप ३४ प्रतिशत बढी रकमको आयात गरेको छ।

भारतसँगको आयातमा भने तीन प्रतिशतले घटेको छ।

भारतबाट नेपालले १० महिनामा आठ खर्ब रुपैयाँको आयात गरेको छ भने यही अवधिमा ८६ अर्ब रुपैयाँको निर्यात गरेको छ। भारतसँगको आयातसँगै निर्यातमा पनि ५.६ प्रतिशतले कमी आएको छ।

नेपालले चीनबाट सबैभन्दा धेरै रकमको दूरसञ्चारसँग सम्बन्धित उपकरण भित्र्याएको छ भने त्यसपछि क्रमशः मशीनरी सामग्री, तयारी पोसाक, लत्ताकपडा, विद्युतीय सामग्री र अन्य उपकरण छन्।

यो आर्थिक वर्षको पहिलो १० महिनामा नेपालको व्यापार घाटा ११ खर्ब रुपैयाँ पुगिसकेको छ।

कुल निर्यात ३.६ प्रतिशतले घटेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालको व्यापार १७० भन्दा धेरै देश तथा भौगोलिक क्षेत्रहरूमा फैलिएको छ। गत वर्ष नेपालको व्यापार केवल ३७ देशसँग मात्रै नाफामा थियो।

कसरी कम गर्ने व्यापार घाटा

राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट कृषि, ऊर्जा जस्ता उत्पादनमूलक क्षेत्रमा सहुलियत कर्जा र ऋण लगानीमा प्रोत्साहन गर्ने नीति राष्ट्र ब्याङ्कले बनाएको बताउँछन्।

“कृषि, ऊर्जा, साना मझौला घरेलु उद्यमहरूमा ब्याङ्कहरूलाई निश्चित प्रतिशत कर्जा लगानी गर्नुपर्छ भनेर तोकिएको छ। कृषिमा ब्याङ्कहरूले आफ्नो कुल कर्जा लगानीको १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत गर्नुपर्छ भनेर निर्देशन दिइएको छ,” भट्ट भन्छन्।

तर अर्थशास्त्री पाण्डे नेपालमा निर्यातयोग्य वस्तुहरूको उत्पादनमै कमी रहेको बताउँछन्।

“हामीसँग उत्पादन गरेर वस्तु भए न निर्यात गर्ने हो। हामीसँग उत्पादन नै भएन भने के निर्यात गर्ने?”

“हाम्रो उत्पादन क्षमता नै भएन। हामीसँग निर्यातयोग्य वस्तु उत्पादन गर्ने उद्योगहरूले पनि आफ्नो क्षमताको आधा मात्रै उत्पादन गरिरहेका छन्,” पाण्डे भन्छन्।

“सरकारले घरेलु उत्पादन बढाउनुपर्‍यो। त्यसो भए या त त्यसले विदेशबाट हुने आयातलाई प्रतिस्थापन गर्देला या निर्यात बढाएर सहयोग गर्छ।”

“स्याउकै कुरा हेर्ने हो भने पनि हामीले आफ्नो देशमा उत्पादन बढाउने हो भने या त चीनबाट हुने आयात कम हुन्थ्यो या त अर्को देशमा निर्यात भएर व्यापार सन्तुलन हुन्थ्यो होला,” अर्थविद् पाण्डे भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।