नेपाली चियामा चिनियाँ चासोबाट व्यवसायीहरू यसकारण उत्साहित

यो साता सञ्चारमाध्यमहरूमा चिनियाँ व्यवसायीहरूले नेपाली चिया किन्न रुचि देखाएका खबरहरू आएपछि त्यसले यहाँका व्यवसायीहरू उत्साहित भएका छन्।

एकलौटी खरीदकर्ताका रूपमा रहेको भारत भरपर्दो बजारका रूपमा विकसित हुन नसकेको र अहिले पनि नयाँनयाँ झमेला आइरहेको व्यवसायीहरूको गुनासो छ।

नयाँ बजार विस्तार हुन नसके सम्पूर्ण चिया उद्योग नै सङ्कटमा पर्न सक्ने खतरा उनीहरूले औँल्याएका छन्।

चिनियाँ चासो कति विश्वसनीय?

केही साताभित्र चिनियाँ व्यवसायीहरूले इलाममा दुई पटक भ्रमण गरेर अर्थोडक्स चिया किन्न रुचि देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनाथ पौडेलले बताएका छन्।

“उनीहरूले तत्कालै यति परिमाणमा किनिहाल्ने भन्ने जानकारी त छैन तर फेरि दुई सातापछि आउने भनेका छन्,” सञ्चारमाध्यममा उनीहरूले एक लाख किलोग्राम चियाको अर्डर दिएका भन्ने खबरबारे उनले भने।

सो खबरले नेपाली व्यवसायीहरू भने निकै उत्साहित भएका छन्।

अहिले घरेलु आवश्यकताभन्दा करिब दोबर परिमाणमा नेपालले चिया उत्पादन गरिरहेको नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष शिवकुमार गुप्ताले बताए।

वार्षिक करिब ४ अर्ब रुपैयाँको चिया नेपालले निर्यात गर्दै आएकोमा झन्डै ९० प्रतिशत भारतमै निकासी भएको राष्ट्र ब्याङ्कको आँकडाले देखाउँछ।

जबकि चीनमा वार्षिक ११ लाख रुपैयाँको मात्र निकासी भएको अघिल्लो वर्षको आँकडामा देखिन्छ।

“नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी अनि ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्छ। निर्यातको तस्बिर हेर्दा सीटीसीको ९९ प्रतिशत अनि अर्थोडक्सको ८५ प्रतिशत बजार भारत नै छ,” गुप्ताले भने।

भारत एकमात्र क्रेता भएकाले उसका सर्तहरू बेलाबखत मनखुसी फेरबदल भइरहँदा अर्को भरपर्दो बजारको खाँचो टड्कारो भइसकेको गुप्ताले सुनाए।

“त्यसैले चिनियाँ व्यवसायीहरूले देखाएका चासोले हामी उत्साहित भएका छौँ। उनीहरूको चासो रणनीतिक हो वा वास्तविक हो भन्ने चाहिँ थाहा छैन,” उनले भने।

भारतको व्यवहार

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पनि चिनियाँ बजार प्रवर्द्धन गर्न चाहिरहेको बताएको छ।

चियाको निम्ति अर्को बजार विकास गर्न जरुरी भइसकेको र चीन त्यस्तो विकल्प हुन सक्ने आफूहरूलाई लागिरहेको बोर्डका निर्देशक दीपक खनालले बताए।

“भारत अहिले हाम्रो लागि एक खालको एकाधिकारवादी बजार जस्तो भएको छ। अन्य ठाउँमा हाम्रो चिया जान पनि नदिने अनि हाम्रो चियाको गुणस्तर कमसल रहेको भन्ने प्रवृत्ति छ। त्यस पछाडिको उद्देश्य चाहिँ हाम्रो चिया कम मूल्यमा लिने उसको आशय देखिन्छ,” खनालले भने।

नेपाली चियाको निर्यातको भरपर्दो विकल्प चीन हुनसक्ने उनी ठान्छन्।

“अहिले सीटीसी तथा अर्थोडक्स गरी औसत ५०० रुपैयाँ प्रति किलोग्राम हामीले भारतबाट पाइरहेका छौँ भने त्यही गुणस्तरको अर्थोडोक्स चिया चीन पठाउन सकिए तीन हजारदेखि पैँतीस सय रुपैयाँसम्म सरदर कमाउन सकिन्छ,” उनले भने।

भारतको बजार अनिश्चित् बनिराखेको यथार्थलाई बेलैमा बुझ्नुपर्ने व्यवसायीहरूले बताउँदै आएका छन्।

“अब फेरि आगामी दिनमा नेपाली चिया व्यवसायीहरूले भारतको बजारमा थप झमेला बेहोर्नुपर्ने देखिएको छ। अहिले उनीहरूले नेपाली चिया रोक्ने अनौपचारिक प्रयास गरिरहेको हामीले अनुभव गरिरहेका छौँ,” चिया उत्पादक सङ्घका उपाध्यक्ष शिवकुमार गुप्ताले भने।

उनका अनुसार भन्सारमा हरेक ट्रिपको चियाको नमूनाको गुणस्तर जाँच्ने भनेर कोलकाताको प्रयोगशालामा पठाउने र त्यसका कारण हप्ता-दश दिन गाडी त्यत्तिकै खडा राखिराख्नुपर्ने स्थिति आउँदै गरेको उनले सुनाए।

“आगामी दिनमा नेपाली चिया उद्योग सङ्कटमा पर्ने देखिन्छ।”

चिनियाँ चासोको पृष्ठभूमि

अहिले चिनियाँ व्यवसायीहरूले नेपाली चियाप्रति देखाइरहेको चासोको पृष्ठभूमि लामो रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पूर्व कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए।

बोर्डको प्रयासपश्चात् केही समयअगाडि चिनियाँ सरकारको भन्सारसम्बन्धी निकाय जीएसीसीले बोर्डमा आबद्ध नेपाली व्यवसायीहरूको चियालाई त्यहाँ प्रवेश दिने निर्णय भइसकेको उनले बताए।

“चिनियाँ क्रेताहरूले हाम्रो चिया राम्रो रहेको बताउने गरेका छन्। हाम्रा अर्थोडक्स चिया चिनियाँ ग्राहकहरूको रुचि अनुसार कै छ। त्यसैले त्यो बजार हाम्रो निम्ति ठूलो सम्भावना हो,” भट्टराईले भने।

नेपाली उत्पादकहरूले चिया उत्पादन गर्ने मेशीन पनि प्राय: चिनियाँ नै प्रयोग गर्ने गरेको उनी बताउँछन्।

“यदि चिनियाँ बजारमा हामीले प्रवेश गर्न सक्यौँ भने हाम्रो चिया निर्यात वार्षिक ४ अर्ब रुपैयाँको आकारबाट बढेर १२ अर्ब रुपैयाँको पुग्न सक्छ,” उनले भने।

चीनबाहेक युरोपेली बजार अनि खासगरी सीटीसी चियाको हकमा पाकिस्तान पनि विकल्प बन्न सक्ने उनले औँल्याए।

“पाकिस्तानको कुरा गर्दा त्यहाँ प्रतिव्यक्ति वार्षिक चिया खपत १ किलोग्राम रहेछ जबकी हामीकहाँ जम्मा ३०० ग्राम मात्र छ। त्यहाँ पनि बजारको सम्भावना छ,” भट्टराईले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।