तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'अरू सबैभन्दा अगाडि' : चीनको १० वर्षे उच्च प्रविधि योजनाले दिएको प्रतिफल
- Author, जो टाइडी
- Role, साइबर संवाददाता, बीबीसी विश्व सेवा
चिनियाँ एआई च्याटबट डीपसीकले संसारमा तहल्का मच्चाएको छ तर चीनलाई नियालिरहेकाहरू भने यसबाट अचम्ममा परेका छैनन्।
चीनले 'मेड इन चाइना २०२५' नाम दिइएको महत्त्वाकाङ्क्षी योजनाअन्तर्गत विगत १० वर्षदेखि एआईलगायत उच्च प्रविधियुक्त उत्पादनहरूमा आफ्नो विज्ञता बिस्तारै बढाउँदै आएको छ।
विश्लेषकहरूका लागि डीपसीकको सफलताले चिनियाँहरूको बृहत् योजना सफल भएको थप प्रमाण मिलेको छ।
'मेड इन चाइना'
चिनियाँ सरकारले सन् २०१५ मा धूमधामले 'मेड इन चाइना २०२५' को घोषणा गरेको थियो।
दैनिक लाखौँको सङ्ख्यामा उत्पादन भएका सामानहरूबारे विश्वभरि रहेको कम गुणस्तरको छविलाई उच्च गुणस्तर र उच्च प्रविधिको रूपमा सर्वव्यापी बनाउने अवधारणा राखेर उक्त अभियान थालिएको थियो।
चीनले सन् २०२५ सम्ममा आफ्नो प्रभुत्व देखाउनका लागि १० प्राविधिक उद्योगहरूलाई मुख्य क्षेत्रका रूपमा चयन गरेको थियो।
विस्तृत दस्ताबेजमा एआई, क्वान्टम कम्प्युटिङ, विद्युतीय कार, नवीकरणीय ऊर्जा र ब्याटरीसम्बन्धी प्रविधिहरू भनी उल्लेख गरिएको थियो।
यी धेरै क्षेत्रमा चीनले मुख्य खेलाडीका रूपमा सफलता हासिल गरेको छ र केहीमा त आफूले हासिल गर्ने आशा गरेको लक्ष्यलाई पनि पार गरिसकेको छ।
"'मेड इन चाइना २०२५' मेरो विचारमा धेरै हदसम्म सफल रह्यो," किङ्ग्स कलेज लन्डनस्थित डिभेलप्मन्ट ईकनोमिक्सकी विज्ञ डाक्टर युन्दन गोङले भनिन्।
"थुप्रै उद्योगहरूमा चीन अग्रणी स्थानमा पुग्न खोज्दै छ भने केहीमा त अग्रणी स्थानमा नै छ," उनले भनिन्।
भूमिदेखि आकाशसम्म
चीनले सवारी साधन उत्पादनका विगतका केन्द्रहरू (जर्मनी, जापान र अमेरिका)लाई पछि पारेको छ र अहिले अन्य कुनै देशले भन्दा बढी कारहरू बिक्री गरिरहेको छ। त्यस्ता कारमा अधिकांश बीवाईडीजस्ता विद्युतीय कारहरू रहेका छन्।
विद्युतीय गाडीहरूमा धेरै सफलता चीनसँग जोडिएको छ र अहिले ऊ विश्वको सबैभन्दा ठूलो ब्याटरी निर्माता पनि बनेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजन्सी (आइईए)का अनुसार नवीकरणीय ऊर्जा क्षेत्रमा चीनले विश्वभरिका सौर्य प्यानल आपूर्ति प्रणालीको अनुमानित ८० देखि ९० प्रतिशत ओगटेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार चीन नवीकरणीय ऊर्जा क्षेत्रमा एक शक्ति बनिसकेको छ र सन् २०२८ सम्म चीनमा विश्वको ६० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन हुने उनीहरूले अनुमान गरेका छन्।
ड्रोन उत्पादनमार्फत् पनि चीनले आकाशमा राज गरिरहेको छ। बीबीसी रिसर्चका अनुसार विश्वका उत्कृष्ट १० ड्रोन निर्माताहरू चिनियाँ हुन् र विश्वव्यापी रूपमा शेङ्जेनमा रहेको डिजेआईको ७० प्रतिशत बजार शेअर रहेको छ।
चीनको कम्युनिस्ट पार्टीले आफ्नो उद्देश्य हासिल गर्न २५०भन्दा बढी सानाखाले लक्ष्यहरू तय गरेको छ। साउथ चाइना मर्निङ पोस्टको विश्लेषणअनुसार ती मध्ये ८६ प्रतिशत हासिल भइसकेका छन्।
"सरकार समर्थित पूँजीवादको नमुना प्रयोग गर्न चीन केमा सफल भइसकेको छ भने अनुसन्धान सरकारले अघि सार्छ र त्यसका लागि आर्थिक सहायता गर्छ," जर्मन मार्शल फन्डकी प्रबन्ध निर्देशक लिन्जी गोर्मनले भनिन्। उनी अमेरिकी पूर्वराष्ट्रपति जो बाइडनकी सल्लाहकारसमेत रहेकी थिइन्।
गोर्मनले चीनको विदेशी प्रतिभाहरूलाई लोभ्याउने र विदेशी कम्पनीहरूलाई चिनियाँ कम्पनीहरूसँग मिलेर काम गर्न प्रोत्साहित गर्ने क्षमता रहेको उल्लेख गरिन्।
नियन्त्रण गर्ने पश्चिमा प्रभाव
यस्तो सफलता हात पार्न चीनले ठूलो रकम पनि खर्च गरेको छ। अमेरिकी कङ्ग्रेसको अनुसन्धानअनुसार चिनियाँ सरकारले अनुसन्धान, विकास वा विदेशी कम्पनी खरिदका लागि अनुदानमा १.५ ट्रिलिअन डलर उठाउने वा खर्च गर्ने योजना गरेको थियो।
प्रतिवेदनका अनुसार सन् २०२० सम्ममै ६२७ अर्ब डलरभन्दा बढी रकम खर्च भइसकेको थियो।
'मेड इन चाइना २०२५' यति सफल भयो कि केही वर्षमै सरकारले यो शब्द प्रयोग गर्न बन्द गरिदियो। यसले प्रतिस्पर्धीहरूलाई चिढ्याइरहेको कारण उसले प्रयोग गर्नै छोडेको थियो।
तर त्यो ढिलो भइसकेको थियो र हालैका वर्षहरूमा पश्चिमी धेरै देशहरूले चीनमा आफ्ना प्रविधिको निर्यातमा कडा प्रतिबन्ध लागू गरेका छन्।
उनीहरूको योजना भनेको विकासलाई ढिलो बनाउनु थियो र माइक्रोचिप बनाउने जस्ता केही क्षेत्रहरूमा भने यसले काम गरिरहेको देखिन्छ।
तर अन्य क्षेत्रहरूमा भने प्रतिबन्धका कारण चीन प्रेरित भएको हुन सक्ने केही विश्लेषकहरू ठान्छन्। आखिरमा 'मेड इन चाइना २०२५' का लागि डोर्याउने मुख्य कुरा भनेकै पहिलो नजरमै थप आत्मनिर्भर हुनु थियो।
"चीनमा एउटा पुरानो भनाइ छ - 'जीवनले जहिले पनि आफ्नो मार्ग आफैँ पत्ता लगाउँछ'," कार्डिफ यूनिभर्सिटी बिज्निस स्कूलस्थित एप्लाइड इकोनोमिक्सका प्राध्यापक पेङ्ग जाऊले भने।
"प्रतिबन्ध र हस्तक्षेपले केवल जड परिवर्तन गर्छ, उसको दिशा नै होइन," उनले भने।
प्राध्यापक जाऊजस्ता विज्ञहरू डीपसीकलाई यसको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्छन्। अमेरिकाबाट निर्यात नियन्त्रणका कारणले आफ्नो मोडललाई तालिम दिन कम्पनीले सबैभन्दा शक्तिशाली चिप प्राप्त गर्न सकेन।
बरु उसले पुराना र कम शक्तिशाली चिपहरू प्रयोग गरेर कम मूल्य र कम उपकरणमा प्रभावशाली बट बनाउन नयाँ प्रविधिको आविष्कार गर्यो।
यी दाबीहरूलाई केही प्रतिस्पर्धाहरूले चुनौती दिइरहेका छन् तर डीपसीक अमेरिकाका लागि झट्काको रूपमा आएको छ र राष्ट्रपति डोनल्ड ट्रम्पले देशको एआईका ठूला कम्पनीहरूलाई "जनाउको घण्टी" दिएको भनी व्याख्या गरेका छन्।
चिनियाँ एआई कम्पनीहरूले अन्य कुनै देशले भन्दा धेरै पेटेन्ट जारी गर्छन् अनि चीनकै अलिबाबा र बाइटड्यान्सजस्ता प्रविधिका ठूला कम्पनीहरूले गुगल र ओपन एआईजति नै पैसा आफ्ना उत्पादनहरूमा लगाइरहेका छन्।
तर 'मेड इन चाइना २०२५' को बाबजुद अमेरिकालाई अहिले पनि विश्वमा एआईको अग्रणीका रूपमा लिइन्छ।
चिनियाँ वैज्ञानिकहरूले 'क्वान्टम'सम्बन्धित थप अनुसन्धानहरू अन्य देशले भन्दा वार्षिक रूपमा धेरै प्रकाशित गरे पनि क्वान्टम कम्प्युटिङमा अमेरिका धेरैजसो क्षेत्रमा अगाडि नै छ।
चिनियाँ चुनौतीसँग जुध्न अमेरिका पनि माइक्रोचिप निर्माण र विज्ञान अनि एआई संरचनामा निजी र सार्वजनिक गरी अर्बौँ डलर लगानी गर्दै छ।
चीनका लागि अर्को सम्भावित बाधा भनेको राष्ट्रिय सुरक्षा चासोलाई लिएर छ। यसै कारण अमेरिकाबाहेकको पहिलो सामाजिक सञ्जालका रूपमा टिकटकको विश्वव्यापी सफलतालाई अहिले अमेरिकाको सम्भावित प्रतिबन्धले चुनौती दिइरहेको छ। चिनियाँ टेम्यू र शीइनजस्ता 'ई-कमर्स' एपहरूसँगै डीपसीक पनि सङ्कटमा पर्न सक्छ।
यद्यपि चिनियाँ टेलिकम कम्पनी ह्वावेई हेरिसकेपछि थाहा हुन्छ पश्चिमा जगत्भन्दा बाहिर पनि जीवन छ। यो कम्पनी सन् २०१९ को सुरुमा राष्ट्रिय सुरक्षाको चिन्ताका कारण प्रतिबन्धमा परेको थियो, त्यति नै बेला उक्त कम्पनी फाइभजी उपकरण र मोबाइल फोन निर्माणमा अग्रणीका रूपमा उत्कृष्ट समयमा थियो।
अहिले यो कम्पनीले विश्वका अन्य भागहरूमा ध्यान केन्द्रित गर्दै आफ्नै माइक्रोचिप बनाउँदै छ र हालसालै मात्रै उसले आयमा १० करोड डलर वृद्धि गरेको छ। उसले पश्चिमा प्रतिबन्धको ढाँचाबाट मुक्त हुन सङ्घर्ष गरिरहेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।