तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल चार देशीय क्रिकेट खेलको फाइनलमा
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
वर्षाले खेल बिथोलिएर हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली हङ्कङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
कतार र कुवेतबीचको अघिल्लो दुई खेल जितेर आरामदायी अवस्थामा रहेको नेपालले शनिवार एक अङ्क प्राप्त गरेसँगै शीर्षस्थान ओगट्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। फाइनलमा नेपालले कुवेतसँग खेल्नेछ।
आयोजक हङ्कङको फाइनल पुग्ने सम्भावना भने पूरा हुन पाएन।
तीन खेलमा दुईमा जित हात पार्दै चार अङ्क बटुलेको कुवेतको रनरेट नेपालभन्दा राम्रो स्थितिमा थियो।
यो अवस्थामा यदि शनिवारको खेलमा हङ्कङले नेपाललाई पराजित गर्न सकेको भए फाइनलमा पुग्न सक्थ्यो।
पानी पर्नुअघिको अवस्था
वर्षाका कारण शनिवार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले आयोजक हङ्कङलाई ब्याटिङको निम्तो दिएको थियो।
नौ ओभरमा हङ्कङले तीन विकेट गुमाइ ६८ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल स्थगित हुन पुगेको थियो।
यसबीच स्पिनर ललित नारायण राजवंशीले दुई विकेट तथा नन्दन यादवले एक विकेट लिएका थिए।
पानी नरोकिएपछि खेल अवरुद्ध भएको घोषणा गरिएको थियो।
युवालाई मौका
जारी प्रतियोगितालाई नेपालले आगामी विश्वकप टी-२० को छनोट यात्राको प्रारम्भिक तयारीको रूपमा लिएको छ।
त्यहाँ टोलीले नन्दन यादव, रिजन ढकाल, किरण ठगुन्ना, लोकेश बम जस्ता खेलाडीहरूलाई टिममा समावेश गरेको थियो।
त्यसमा भिसा समस्याका कारण बम हङ्कङ पुग्न सकेनन्। उनको स्थानमा टिममा समावेश भएका किरण ठगुन्ना भने पहिलो रोजाइमा अझै पर्न सकेका छैनन्।
कार्यवाहक प्रशिक्षक ज्ञानेन्द्र मल्लले मौका दिएमा ठगुन्नाका लागि अब फाइनल खेल्ने मौका बाँकी छ।
रिजन ढकालले भने शनिवार टोलीमा स्थान पाएका थिए। कार्यवाहक प्रशिक्षक ज्ञानेन्द्र मल्लले करण केसीलाई बेन्चमा राख्दै उनलाई मौका दिएका थिए।
नन्दन यादवले पनि आफ्नो विकेट लिने क्रमलाई जारी नै राखे।
उनले १७ रन बनाएर खेलिरहेका हङ्कङका भेट्रान खेलाडी अंशुमन रथको विकेट लिएका थिए। रिजन ढकालले उनको क्याच लिएका थिए।
फाइनल खेल
फाइनल खेल आइतवार नेपाल र कुवेतबीच हुने छ।
यसअघि लिग चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।
सो खेलमा कुवेतले नेपाल विरुद्ध १८५ रन बनाएर बलियो चुनौती पेस गरेको थियो।
यद्यपि कुशल भुर्तेल र आशिफ शेखको प्रारम्भिक जोडीले शानदार ब्याटिङ गरेर टोलीलाई जित दिलाएका थिए।
आइतवारको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।