विश्वकपको तयारीमा रहेको नेपालले कतारलाई हराउँदै हात पार्‍यो पहिलो जित

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

पाँच महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको राष्ट्रिय क्रिकेट टोलीले हङकङमा आज बुधवारबाट सुरु भएको चार राष्ट्र सम्मिलित टी २० आई प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो।

नेपाल आगामी वर्ष हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुने अभियानमा छ।

त्यसको लागि टोलीले यसै वर्षको अक्टोबरमा हुने एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्दै छ।

हाल राष्ट्रिय टोली सम्हालेका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रतियोगितामा सहभागिता जनाउनुअगाडि भनेका थिए, " नेपालको लागि यो खेल विश्वकप तयारीको पहिलो खुड्किलो हुनेछ र हामी यसमा प्रशस्त आत्मविश्वास बटुल्न चाहन्छौँ।"

हङकङले आयोजना गरेको यो शृङ्खलामा नेपाल र कतारसहित हङकङ र कुवेत सहभागी छन्।

राउन्ड रोविन लीग (प्रतियोगितामा सहभागी हरेकले हरेकसँग खेल्ने) को खेलपछि शीर्ष दुई टोलीले प्रतियोगिताको फाइनल खेल्ने छन्।

सहज विजय

ओपनर कुशल भुर्तेलको सर्वाधिक ३८ रन र आसिफ शेखको ३३ रन तथा कप्तान रोहित पौडेल (३७ रन) र बसिर अहमदको (३० रन)को अविजित पारीको मद्दतले नेपालले खेल १७.२ ओभरमा सहजै जित हात पारेको हो।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट लिएर नेपाललाई १५२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो।

कतारका लागि कप्तान इक्रमुल्लाह खानले ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० रन बनाएका थिए।

नेपालको तर्फबाट करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १/१ विकेट लिएका थिए।

नन्दन यादवको डेब्यू

नेपालको राष्ट्रिय क्रिकेट टीमको नयाँ प्रशिक्षकका रूपमा अस्ट्रेलियाका पूर्व ब्याटर स्टुआर्ट ल नियुक्त भइसकेका छन्।

तर उनी उपलब्ध भइनसकेकाले पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा केही नयाँ खेलाडीहरूलाई समेटेका छन्।

नन्दनले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन्।

नन्दन यसअघि एक दिवसीय टीममा परे पनि डेब्यू भने गर्न बाँकी थियो। टी-२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।

जसमा बसिर अहमद, लोकेश बम र शाहब आलमले टोलीमा पुनरागमन गरेका छन् भने नन्दन यादव टी-२०आई टोलीमा पहिलो पटक परेका हुन्।

डेब्यू खलेमा नै नन्दनले विकेट लिन सफल भए।

उनले १८ औँ ओभरमा इक्रमउल्लाहलाई बोल्ड गरेका थिए।

हालै काठमाण्डूमा सुरु भएको नेपाल प्रिमिअर लीग एनपीएल मा प्रभावकारी प्रदर्शन गरेपछि उनी राष्ट्रिय टोलीमा परेका थिए।

दोस्रो खेल कुवेतसँग

पछिल्लो पटक राष्ट्रिय क्रिकेट टोलीले गत नोभेम्बरमा अमेरिका र स्कटल्यान्डविरुद्ध आइसीसी विश्वकप लीग २ को शृङ्खला खेलेको थियो ।

त्यसै बेला टोलीले टी-२०आई शृङ्खला पनि खेलेको थियो।

त्यसपछि नेपाली टोली घरेलु लीगमा व्यस्त भयो।

जहाँ टोलीले फ्रेन्चाइज लीग नेपाल, प्रिमिअर लीग तथा प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता, दुई दिवसीय जय ट्रफी र अर्जुन ट्रफी खेल्यो।

यी प्रतियोगिता पछि एक हप्ताभन्दा कमको तयारी गर्दै टोली हङकङ प्रस्थान गरेको हो।

नेपालले दोस्रो खेल आगामी बिहीवार कुवेतसँग खेल्ने छ ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।